जग हालेको जमिन
“हिजो परिवारमा पनि सल्लाह गरेँ, अब गाउँतिर जाने तयारी गरौँ भन्ने भएको छ। म आफैँले पनि सोच्ने गरेको छु, एक महिना गएर रोल्पामा बिताएँ भने के होला ? मलाई त्यो अनुभव लिन मन छ।”
११ पुसदेखि काठमाडौंमा जारी नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा आफूले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने।
प्रचणडको यो भनाई ‘नेता कार्यकर्तालाई रोल्पा जान्छु’ भनेर थम्थम्याउने नियतमात्र हो कि यसको अन्तर्यमा गहिरो कुरा छ? माओवादी आलोचकहरूलाई लगाएको प्रचण्डको घुर्कीमात्र हो कि उनले साँच्ची भने? यसबारे अलग्गै बहस होला। तर माओवादीले अहिले टेकेको धर्तीमा उभिएर प्रचण्ड हिजो टेकेको धर्ती सम्झेर नोष्टाल्जिक भएको भने सत्य हो। कारण हो, प्रचण्ड संकट पर्दा जहिल्यै रोल्पा रोल्पा भनेर रोल्पा जप्छन्।
प्रचण्डले किन रोल्पा जप्छन्? यसको जबाफ खोज्न गंगा कार्की ‘विश्व’को संस्मरण किताबबाट निम्न अंश सान्दर्भिक हुनसक्छः
‘७० बर्षकी एउटी आमासँग आधा डढेको घरबाट बाहिर निस्किँदै गर्दा मेरो भेट भयो। मैले ती मगर्नी आमालाई ‘नमस्ते आमा’ भनेँ।
‘नानी को हो’ भनिन्।
मैले ‘केन्द्रीय समितिको बैठक सकेर प्रचण्डको भाषण सुन्न आमसभामा आएको, मेरो घर दोलखा हो’ भनेँ। उनले ‘यता बस्नू बाबु’ भनेर छेउ डढेको काठको पिर्का दिइन्।
‘नानीलाई भोक लाग्यो होला’ भनेर पोलेको कलिला दुई घोगा मकै पनि दिइन्। मैले खाँदै आमाको अवस्था हेरेर नमीठो अनुभूतिसहित कुरा सुरु गरेँ, “दुस्मनले घरमा आगो लगाइदिएछ, आमा।”
आमाले हाँस्दै भनिन्, “घर डढे के भो, मन डढेको छैन। पार्टीले दह्रोसँग खुट्टा टेके भैहाल्यो नि।”
ती मगर्नी आमाको पहिलो फायरमै खुत्रुक्क भएँ।
आमा र म दुवैजना कार्यक्रम हुने ठाउँमा पुग्यौं। त्यो आमसभामा प्रचण्डले के बोले मलाई याद छैन। तर आमाले भनेका वचन अहिले पनि उत्तिकै चोटिलोरूपमा मनमा गढेको छ। जनतामा त्यति धेरै विश्वास थियो र पो जनयुद्धले त्यो उचाइ हासिल गर्न सकेको थियो। (कार्की, ‘दुसाध्य जनयुद्ध’, पृष्ठ ३२६–२७)
विश्वले संस्मरणमा उल्लेख गरेको मगर आमा रोल्पा थबाङकी हुन्। माओवादी थलोको रूपमा परिचित रोल्पा र रोल्पाको पनि थबाङको गाउँ, बस्ती र त्यहाँको जनजीवनबारे उनले बयान गरेका छन्। थबाङमा तत्कालीन शाही नेपाली सेनाले जलाएका घरमध्ये एउटाकी मगर आमाको प्रसंग थियो त्यो। तिनै गरिब, उत्पीडित, मगर आमाहरूको त्यागको मलमा माओवादी मौलाएको हो भन्ने उनको तर्क छ। तिनै मगर आमाहरूका सपना, आशा, भरोसा, कामना, त्याग र बलिदानमै माओवादी बिउ रोपिएको थियो। रोल्पामा सल्केको माओवादी आन्दोलनको त्यो बिउ डढेलो भएर देशभर फैलियो।
०००
पहिलो संविधानसभाको चुनावमा प्रचण्डले रोल्पा(२)बाट जिते। त्यही रोल्पा जुन माओवादी जनयुद्धको बिम्ब बनेको थियो। रोल्पा माओवादी जनयुद्धको पर्याय थियो। यसको कारण थियो, जनयुद्ध बिउ त्यहीँ रोपियो। त्यसपछि देशभर फैलियो।
रोल्पा रुकुम कसरी माओवादीले टेक्ने धर्ती बन्यो? रुकुमबासी नेकपा नेता हेमन्तप्रकाश ओली पृष्ठभूमि सुनाउँछन्, “किरण(मोहन वैद्य), बादल(रामबहादुर थापा) र प्रचण्ड देशभर घुमे। बिदेशी संस्थाले खोज गरेको रापतीमा तिनका आँखा अल्झियो। ती संस्थाका सर्वेक्षणमा रहेछ, रापती क्षेत्र उत्पीडनमा परेको छ। त्यति हुँदाहुँदै पनि २०३८ मा चुनाव बहिष्कार भएपछि रोल्पा थबाङमा दमन भयो। त्यसअघि नै रुकुम हिलका कामी बुढामगरले विद्रोह गरिसकेका थिए। पोखराभन्दा पश्चिम विकास भएको थिएन। त्यस्तो उत्पीडन देखेपछि मोहनविक्रम सिंह, वैद्य, वादल र प्रचण्ड रोल्पातिर लागेका हौँ भन्थे।”
ओलीले त्यसैमा थपे, “रोल्पा र रुकुमका उत्पीडित बस्तीमा माओवादी रोप्न बादलले महत्वपूर्ण रोल खेले। धेरै मेहनत गरे। जसले गर्दा रोल्पा रुकुम माओवादी आधार बन्यो।”
बादलको कार्यक्षेत्र रापती थियो। उनै बादल र लोकेन्द्र रोल्पा, रुकुम र जाजरकोटका डाँडाकाँडा घुमेर जनयुद्ध जग खन्ने काम गरेका थिए।
“बादल र मैले रोल्पा रुकुमका प्रायः सबै डाँडापाखा चहार्यौँ। कसरी नेपालमा जनयुद्ध थाल्ने होला भनेर छलफल गर्दै हिँड्यौँ। कहिले भेरी किनारैकिनार त कहिले रापती किनारैकिनार खुबै हिँडियो”, विष्टमगर सम्झन्छन्।
माओवादीले १ फागुन २०५२ रोल्पाको होलेरी र रुकुमको रारीजिउला पुलिसचौकी हानेर जनयुद्ध थाल्यो। थप अर्को पुलिसचौकी थियो, सिन्धुलीको सिन्धुलीगढी।
स्मरणीय त के भने, रोल्पा, रुकुमलाई माओवादी धर्ती बनाउने जस कांग्रेसलाई पनि जान्छ।
२०४६ को परिवर्तनपछि रोल्पा र रुकुम कांग्रेस प्रभावमा रह्यो। कांग्रेस र तत्कालीन संयुक्त जनमोर्चा नेपालका नेता कार्यकर्ताबीचको सम्बन्ध शत्रुतामा फेरियो। झडप भए। कांग्रेस सरकारमा भएकाले, स्थानीय कांग्रेस पुलिस लिएर जनमोर्चा नेता कार्यकर्ताविरुद्ध उत्रिए भने जनमोर्चा कार्यकर्ता कांग्रेसविरुद्ध। जनमोर्चाका कार्यकर्ताका टाउकोमा मुद्दामाथि मुद्दा थपिए। यति धेरै मुद्दा खेती मौलायो, जनमोर्चाका कार्यकर्ताहरू नयाँ बाटो रोज्न पर्ने बाध्यतामा परे। त्यो बाटो भनेको कि भारत जाने कि भूमिगत हुने।
नेता ओली सम्झिन्छन्, “कांग्रेसले घिउ थप्यो। प्रतिरोध जनमोर्चाले गर्यो। वर्गसंघर्ष नै चल्यो। त्यही संघर्षकै बीचमा माओवादी विद्रोहको गर्भधारण भयो।”
सायद यसैले होला, माओवादी मौलोको रूपमा रहेको रोल्पाको थबाङलाई उसले नेपालको राजधानीकै संज्ञा थियो। युद्ध शान्ति प्रक्रियामा अवतरण भएपछि माओवादी नेतृत्व शहर सवार भयो। अनि भन्न थाल्यो, ‘देशकै त होइन, मगराँतको राजधानी।’ अन्त्यमा के भयो? राजधानी त राजधानी नै भयो तर गाउँपालिकाको।
माओवादीले रोल्पा थबाङ जोड्ने शहीदमार्ग खन्यो। त्यो मार्गबारे अहिले रोल्पाली माओवादीले आ–आफ्नै ढंगले व्याख्या गर्छन्। त्यसबेला आधार इलाका इन्चार्ज नेत्रविक्रम चन्द ‘विप्लव’ थिए। भारतविरुद्ध सुरुङ युद्धको घोषणा गरेका प्रचण्ड भारतबाट रोल्पा आएर बसे। बाटो खन्न थालेपछि प्रचण्ड र विप्लवले थुर्पाधुरीबाट हेरे।
माओवादीको पछिल्लो विकासक्रमबाट लाक्षणिक भाषामा भन्न सकिन्छ– त्यसरी बाटो बनिरहेको हेरेकामध्ये विप्लव त्यही मार्गहुँदै थबाङतिर लागे भने प्रचण्ड लमही पुगेर महेन्द्र राजमार्गबाट सिंहदरबार काठमाडौं पुगे।
जनयुद्धकालमा माओवादीका रोल्पा इन्चार्ज रहेका कुमार शाह किस्सा सुनाउँछन्, “प्रचण्डले थुर्पाधुरीबाट तलतिर हेरे। नुवागाउँ, दहबन, होलेरीहुँदै घोराही र लमही पुगेपछि महेन्द्र राजमार्गहुँदै काठमाडौंको सिंहदरबार पुग्ने। त्यसैले शहीदमार्ग खन्नुपर्छ भनेर भने। विप्लवले थुर्पाधुरीबाट थबाङतिर हेरे। घर्तीगाउँ, राङ्कोट, कुरेली, मिरुहुँदै थबाङ पुग्ने। हेर्नुस् त दृष्टिकोणमा फरक। नभन्दै अध्यक्ष प्रचण्ड शहीदमार्ग खनेपछि त्यही बाटो हुँदै काठमाडौ पुगे। विप्लव ठीक विपरीतिर लागे।”
रोल्पा र रुकुममा सल्केको माओवादी आन्दोलन देशभर फैलियो। तराईको अहिलेको दुई नम्बर प्रदेशमा भने जनयुद्धको रापताप अलिअलिमात्र पुगेको किन नहोस्। ओली कथन छ, “उत्पीडन र समस्या त देशैभर थियो। रोल्पा र रुकुममात्र पुरानो सत्ताविरुद्ध आक्रोश थिएन नि। सबैतिर थियो।”
माओवादीले सेना बनायो। जनमुक्ति सेना। सात डिभिजन बन्यो। जो पछिल्लो समयमा नियमीत सेना थियो। अस्थायी शिविरमा बस्दा ३२ हजार थिए भने दोस्रो प्रमाणिकरणमा पुग्दा १९ हजार।
पुलिसचौकी सदरमुकाम सरे। माओवादीले स्थानीय सत्ता बनायो। जसलाई नाम दियो, जनसत्ता। केन्द्रमा बाबुराम भट्टराई थिए भने रोल्पा जनसरकार प्रमुख सन्तोष बुढामगर भए भने रुकुम जनसरकार प्रमुख पूर्ण घर्तीमगर। गाउँमा गाजस(गाउँ जनसरकार) भन्ने नाम दियो। जनसत्ताले नै प्रशासनिक र न्यायिक काम सम्हाल्यो।
रोल्पाको थबाङमा अजम्मरी जनकम्युन र जेलबाङमा जलजला जनकम्युन, रुकुम छिपखोलामा बलिदान जनकम्युन र जाजरकोट जुर्कनिपानेमा जुनी जनकम्युन बने।
सिंहदरबारको सत्ता जिल्ला सदरमुकाममा सिमित भयो। माओवादीले मुलुकको ८० प्रतिशत भूभागमा कब्जा गरेको दाबी गर्यो।
नेकपा नेता धर्मेन्द्र बाँस्तोला ८० प्रतिशत भूभाग माओवादी कब्जा–किस्सा सुनाउँछन्, “माओवादी–सरकार वार्तामा हाम्रो तर्फबाट बाबुराम भट्टराईहरू थिए। उता(सरकार) पक्षबाट नारायणसिंह पुनहरू। शाही नेपाली सेना पाँच किमीभन्दा बाहिर निक्लन नपाउने सहमति भयो। राज्य भनेकै सेना त हो। सेनाले यसरी कभर गर्ने पाँच किलोमिटरको भूभागबाहेक बाँकी ८० प्रतिशत हुँदोरहेछ। त्यहीबाट माओवादीको असी प्रतिशत भनेर विश्वव्यापी भयो। भावनात्मक र राजनीतिक हिसाबले त असीमात्र होइन, सय प्रतिशत नै हो नि, माओवादी कब्जा। हामीले सत्ता कब्जामात्र गर्न नसकेको स्थिति थियो।”
रोल्पा रुकुमसँग जोडिएर आउने चार सन्दर्भ छन्।
एक, आदिवासी मगर समुदायको आदि भूमि हो। तिनै आदिभूमिवाल रोल्पाजस्ता कर्णाली, मधेसजस्ता उत्पीडित क्षेत्रमात्र होइन, उत्पीडित समुदायमा माओवादी मौलायो।
माओवादी नेता डोरप्रसाद उपाध्याय निर्मलकुमार भन्छन्, “समूहगत हिसाबले जनजाति, महिला, दलितलाई पनि उत्पीडन भेदभाव भोगेकालाई पनि समान व्यवहारमा बदल्यौंँ। लिंगीय असमानतालाई पनि हल गर्ने भन्यौं। मुख्य गरी स्थानीय कुरा भए र मूलरूपमा राजतन्त्र ढालेरमात्र पुरा गर्न सकिन्छ भन्ने कुरा, भोगरिहेको कुरा विरुद्ध केन्द्रीत हुन थाले।”
माओवादीले आत्मनिर्णयको अधिकारको प्रसंग उठायो। त्यो अभ्यासलाई नेपालका उत्पीडित समुदाय र क्षेत्रमा लागु गर्ने भन्यो। मुक्तिको सपना साचेर ती क्षेत्र र समुदायका मानिस माओवादीमा लागे।
जनयुद्धकालीन रोल्पा माओवादी इन्चार्ज कुमार शाह भन्छन्, “लोकतन्त्रभन्दा माओवादीले बढी मुक्ति दिन्छ रे भनेर आदिवासी जनजाति, दलित, महिला सहभागी भए। जनस्तरबाट आए, अब मुक्त हुन्छ र बन्छ भनेर। माओवादी देशभर जुरुक्क उठ्यो। माओवादी नेतृत्व भने सत्ताविरुद्ध प्रयोग गर्न सकिन्छ, फौज देखाउने भनेर मात्र लाग्यो। दलित, जनजाति भने मुक्ति हुन्छ भनेर आएको हो। त्यसबेलामात्र प्रयोग भएको थाहा पायो जब माओवादी नेतृत्वले भने कांग्रेस, एमालेले मानेन भनेर तिनका थाप्लोमा हालेर सबका सब मुद्दा छाड्यो।”
उनका अनुसार रुपान्तरणकारी कार्यक्रम नदिई लड्ने जनशक्ति बनाउन मात्र माओवादी लाग्यो।
दुई, रोल्पा उत्पीडन, गरिबी, पछौटेपनको मूल हो। माओवादी उभिएको जमीनमध्ये एक थियो, उत्पीडन। विश्वले बयान गरेको रोल्पाकी मगर आमालाई राज्यले गरेको उत्पीडन। र, त्यसको बदलामा माओवादीलाई गरेको विश्वास।
माओवादी नेता निर्मलकुमार भन्छन्, “माओवादी उत्पीडनविरुद्ध नारा बनायो। समाजका उत्पीडनविरुद्ध लायो। सबै प्रकारका उत्पीडन अन्त्य गर्छौं भन्यो। पिछडिएको समाजमा जातीय, क्षेत्रीय र भौगोलिक उत्पीडन थिए। त्यसलाई हटाउने भनेर आधार जमायो। नाराले मानिसका मनमा आधार जमायो।”
रोल्पा, रुकुमजस्ता उत्पीडित क्षेत्र र मगर आमाजस्ता उत्पीडित महिला र आदिवासी जनजातिलाई राज्यले विभेद गरेको थियो। विभेदविरुद्ध कहीँबाट निकास निक्लेला कि भनेर जनता पर्खिरहेका थिए। माओवादी टुप्लुक्क पुग्यो।
नेता निर्मलकुमार थप्छन्, “माओवादीले भन्यो, हाम्रो राज्य समानताको राज्य हो र सबैलाई समान व्यवहार गर्छौं, गाउँघरका दुश्मनबाहेक। दलाल, सामान्त नोकरशाहीलाई बाहिर राखेर आम जनताको जसलाई जनसत्ताको अभ्यासको मौका दिएर चलायो। तपाईंहरूको सत्ता तपाईंहरूले नै चलाउने हो, तपाईंहरू नै हो, यो देशको मालिक हो भन्यो। कैयौं ठाउँमा जग्गा पास गरिदियो। चेलीबेटी बेचनबिखनविरुद्ध कारबाही चलायो। यस्ता कुराले दुरदराजका मानिस प्रभावित भए।”
माओवादी वर्गको हिसाबले भुइँमान्छेकहाँ पुग्यो। तिनका गोडाले उभियो।
डा.अमर गिरी भन्छन्, “माओवादीले टेकेको धर्ती सर्बसाधारण जनताको माझ हो। तिनका सुख, दुःखसँग जोडिनु हो। जनताबीचमा काम गरेकाले सफलता पाए। जनता र मुलकको परिवर्तनको मुद्दा उठायो।”
माओवादी नेता कमला रोकामगरका अनुसार माओवादी मौलाएको नै “श्रम र आधारभूत वर्ग”मा हो। रोकामगरको कुरामा होमा हो मिलाउँछिन्, माओवादी नेता जयपुरी घर्तीमगर, “माओवादी उभिएको धर्ती उत्पीडित वर्ग नै हो। उत्पीडित समुदायमा उभिएर अघि बढेको हो।”
उनका अनुसार जनमुक्ति सेनामा महिला सहभागिता नै ४० प्रतिशत थियो। उनको कथन छ, “अहिले भने पार्टी नेतृत्व संविधानमा लेखेकोबाहेक थप कार्यान्वयन गर्ने पक्षमा देखिन्न।”
तीन, राज्यको उत्पीडन केन्द्र। राज्यले पञ्चायतकालमै पनि उत्पीडन गरेको छ। नीति त हुँदै हो, त्यसमा पनि मगर संस्कृति र राजनीतिक विश्वासमाथि चर्को दमन गरेको छ। खासगरी मगर समुदायको जीवनयापनसँग जोडिएको भाङ्ङु(जसलाई चलनचल्तीको भाषामा गाँजा खेती पनि भन्छन्) खेतीमा प्रतिबन्ध लगायो। मगर समुदाय रेसाबाट लुगात्ता, बर्रे, दाम्लो, डोरी बात्ने गर्ने हो भने दानाचाहिँ असार र भुटेर खाजा खाने हो। त्यसको चोपबाट बन्ने अत्तर(जसलाई चल्तीको भाषामा चरेश) औषधीको रूपमा प्रयोग गर्ने हो। यसलाई व्यावसायिक बनाएको त काठमाडौंमा हिप्पी आउन थालेपछि मात्र हो।
चार, रोल्पा विद्रोहको प्रतीक हो, जुन जिल्लाको थबाङले सबभन्दा पहिले २०३८ सालमा राज्यविरुद्ध विद्रोह गरेको थियो। थबाङविरुद्ध मेजर अपरेसन गरेको थियो। त्यही विद्रोहको झिल्कोलाई माओवादीले जनयुद्धको आगो बनायो।
रोल्पा रुकुममा जस्तै असमानता व्यापक थियो। विभेद थियो। बेरोजगारी समस्या थियो। माओवादीले जनयुद्धकालमा एक घर एक रोजगारको नारा पनि दियो। यी सबै असमानता र भेदभाव हटाउने परिवर्तनको मुद्दा माओवादीले उठायो। जात व्यवस्थामा उभिएको हिन्दु संरचनाको संस्कृति, व्यवस्था, संसद, राजतन्त्रविरुद्ध परिवर्तनको मुद्दामा माओवादी उभियो। तिनका परिवर्तन भनेकै मुलुकको परिवर्तन हो।
जसमा जात व्यवस्थाले सबभन्दा पिँधमा पारेको दलितका मुद्दा थिए।
माओवादी नेता युवराज चौलागार्इंका अनुसार माओवादी ठिंग उभिएको दलित गोडाले हो। चौलागार्इं भन्छन्, “पिँधमा परेका दलित र विधवाले छानो र आश्रयमात्र होइन, मन नै दिए। विषय पनि उठायो। दलितको छोरा उपाध्याय बाहुनको घरमा पन्यु चलायो। डरले भने पनि। देउता राखेको सार्वजनिक थलो वा घरमा पनि पसे। माओवादीले डेलिभरी पनि दियो। सुकुम्बासीलाई कागज दियो। बलात्कृत महिलालाई न्याय दियो।”
वर्गको हिसाबले सबभन्दा तलको वर्ग माओवादी साथमा रह्यो।
दुनियाँ हेर्ने हो भने, दास मालिकले पनि समाज हाँके। पुरोहितले पनि समाज हाँके। समाजमा समानता सद्भाव र प्रेम भने कायम हुन सकेन। कसको नेतृत्वमा गरेर मानिस स्वतन्त्र हुन्छ त, भोक, रोग र शोक मुक्त कसरी हुन्छ? पिँधमा रहेका मानिसले पनि खोज्न थाले।
“हाम्रो देशमा औद्योगिक सर्बहाराको न्युनता छ। सापेक्षित रूपमा के खोज्न थालियो भने पिँधमा रहेको वर्ग जसको मुक्त हुँदा केही बाँकी हुन्न। कर्णाली विकास भएको दिन बाँकी ठाउँ रहन्न,” माओवादी नेता राम कार्की इतिहासको कोदालोले चलाउँदै नेपाली समाज खन्छन्, “प्रारम्भिक वर्षमा कम्युनिष्ट तराईका किसानमा पुग्यो। पहिले पेटी बुर्जुवामा थियो। पुष्पलाल श्रेष्ठको पालामा लुम्बिनी गण्डकीका किसानमा पुग्यो। तर, मधेसमाजस्तो होइन। माओवादी कालमा नेपालका दुर्गम भनिने जिल्लाहरूका गरिब किसानमा पुग्यो। किसानमा पाइने सबै कमजोरी विद्यमान थिए। माओवादीले तिनलाई इन्लाइटन गर्दै बढाउनुपर्ने थियो तर कतिपय अवस्थामा तिनका पछौटेपन उपयोग गरेकोमात्र देखियो। जस्तो कर्णालीका दलितलाई मन्त्री बनाइन्छ भने उपयोगमात्र हो। त्यो समुदायलाई समग्रमा उठाउने नीति बनाउने हो भने माक्र्सवाद भयो। एकदुई टिपेर देखाउनेमात्र भयो। माओवादीले हस्तक्षेप गर्न बल गरेन या तागत पुगेन।”
हो, माओवादी कति गर्न सकेको थियो? साँच्ची थियो कि बलबलै थियो? यसको समीक्षा हुँदैजाला। तर, माओवादीले निम्न वर्गको कुरा उठाएपछि त्यही वर्गले माओवादी बोक्यो। नेता चौंलागाईं थप्छन्, “माओवादी निम्न वर्गको मनोविज्ञानमा हो। मूलभूतरूपमा निम्न वर्गको पार्टीको रूपमा आयो।”
अब कहाँ उभिने ?
माओवादी सग्लो रहेन। अहिले विभाजित छ। प्रचण्ड नेतृत्वको माओवादी मूलधारले संसद्मा टेकेको छ। बबुराम भट्टराई र बादल पनि संसद्मै छन्। तर, फरक शिविरमा। मोहन वैद्य, नेत्रविक्रम चन्द र गोपाल किराँतीलगायत नेतृत्वका दल भने संसद्बाहिर छन्।
नेकपा नेता धर्मेन्द्र बाँस्तोला भन्छन्, “संसद्मा गएका कतिपय क्रान्तिकारीलाई हामीले विश्वस्त पार्न सकेका छैनौं।”
उनले नेपाली समाज विकासको प्रसंग उप्काउँछन्, आजको हाम्रो समाज, राजनीतिक कसरी जकडिएको छ भन्नलाई।
“कबिला समाजबाट दास युगमा आयो। सामन्तवादी युगमा र पूँजीवादी युगमा जान पाएन। हजार बर्ष पहिला मुसलमानले आक्रमण गर्दा भागेर आएका खस–आर्यमा सामन्ती चेतमा आइसकेको थियो। तिनले सामूहिक समाजमा हुर्केका जनजातिमाथि हस्तक्षेप गरे। सामन्तवाद लागु भयो। समाज विकासका नियमअनुसार भएन। भुरोटाकुरे राजा रजौटामा आए। पृथ्वीनारायणले विस्तार गरे। महाजन पूँजी बन्न थाल्यो। नेवार वाणिज्यमा अलिकति बिकास के गर्दैथिए, सुगौली सन्धीले कुल्च्यो। पूँजीवादमा विकास गर्न नपाई दलाल पूँजीवादमा गयो। सामन्तवाद नै सत्तामा रह्यो। तर, पुजीको विकास भएन। दलाल पूँजीवादले राज गर्न थाल्यो। पञ्चायतमा पनि महेन्द्र र वीरेन्द्र चीनिया प्रभावमा परे। उद्योगधन्दा खुले। बहुदलपछि दलाल पुजीपतिले जिते। उद्योगधन्दा बेचे। भारतीय समाज्यवादले पूर्ण कब्जा भयो। दलाल पूँजीवाद हाबी भयो। कांग्रेसका शेरबहादुर देउवालाई विनोद चौधरीले किन्ने, अजय सुमार्गीले प्रचण्डलाई किन्ने, केपी ओलीलाई दुर्गा प्रसाईं र गोल्छाले किन्ने भयो। राष्टिय पुजीको बिकास नै भएन,” नेता बाँस्तोलाले भने।
हो, माओवादी मूलधार आधारभूत वर्ग छाडेर यिनै दलाल पुजीपतिसँग घाँटी जोड्यो। शासक वर्गसँग साँठगाठ थाल्यो। भोटको राजनीति थालेपछि शोषक, सामन्त र दलाल पनि रिझाउन थाल्यो। माओवादी नेता कमला रोकामगर भन्छिन्, “अहिले माओवादी आधारभूत वर्गसँग छुट्यो। भुइँका जनता भुल्यो। माओवादी नेतृत्व सुख सुविधामा भुल्यो। कुल मिलाएर वैचारिक हिसाबले विचलन भयो।”
रोकामगरको भनाइमाथि अर्की नेता जयपुरी घर्तीमगरले उकेरा लाइन्, “हिजो र आजको बेस फरक छ। माओवादी पार्टी अहिले दलाल पुजीपतिलाई समात्नेतिर गयो। नारा भन्ने एउटा र कार्यान्वयन गर्ने अर्को गरेर पार्टी सुक्यो।”
०००
माओवादी अध्यक्ष प्रचण्ड पहिलो संविधानसभा जितेको रोल्पा छाडेर काठमाडौं सरे। उनले रोल्पा २ र काठमाडौं १० बाट जितेका थिए। रोल्पा छाड्नुको सिम्बोलिक मिनिङ छ। रोल्पा माओवादी जनयुद्ध र त्यसको आधारभूमि हो। उनले रोल्पा छोड्न र काठमाडौं रोज्नुको अर्थ हो, माओवादीले पुरानो धर्ती छाडेर नयाँ रोज्नु।
दोस्रो संविधानसभा चुनावमा प्रचण्डले काठमाडौं १० बाट हारे। जोरजोलुमसहित सिरहाबाट जिते। यसबाट व्याख्या गर्न सकिन्छ, रोल्पा छाडेर माओवादीले शासक थलो सिंहदरवार रहेको राजधानीमा टेक्न खोज्यो। तर, ढल्यो।
विज्ञान र प्रविधिको विकासले पनि नेपाली समाजको संरचनामा फेरबदल ल्यायो।
नेता शाह भन्छन्, “माओवादी उभिएको धरातल सूचना प्रविधिले यति छिटो फेरियो कि, भत्कियो। माओवादीले तलको धरातल छाडिसक्यो। अर्को छैन। नेतृत्व सही हुने हो भने उकाली चढ्ने बेला गति पो दिन्छ त। विज्ञान प्रविधिले त गज्ज्ब पो गथ्र्याे। साधनले होइन। साध्य अगतिलो भएर पो। झन् मजबुत गराउँथ्यो नि।”
राजनीतिक विश्लेषक डा.गिरीका अनुसार माओवादीले देखाएका स–साना सपना पनि छाड्यो।
“जुन स्वप्नसहित उपलब्धी र सपना दुवैलाई सुरक्षित गर्दै जानुपथ्र्यो, त्यो सकेन। माओवादी त विभाजित भयो। आफ्नो पूँजी सुरक्षित राख्न नसक्दा माओवादी कमजोर भयो। सत्तामा पुगेपछि परिवर्तन देखापरे। उनीहरूले कांग्रेस, एमालेको आलोचना गर्थे। ती पार्टीमा रहेका कमजोरी पनि उनीहरूमा पनि देखिन थाले। उपभोक्तावादी प्रवृत्ति देखिन थाल्योे।”
पार्टी धनी र हुनेखाने पंक्तिमा दरिन थाल्यो। गिरीले थपे, “माओवादी त दुर्गा प्रसाई, अजय सुमार्गीको भयो। यी सबै कुराले माओवादीको टेक्ने जमिन फेरियो। प्रचण्ड दुईपालि प्रधानमन्त्री भए। पहिलोपाली त अपार शक्ति थियो। त्यसबेला पनि केही गर्न नसकेपछि त जनाधार सकिने नै भयो।”
उनका अनुसार सैद्धान्तिकरूपले अब नयाँ के गर्ने हो? स्पष्ट छैन। दृष्टिकोण र प्रवृत्तिमा आएका परिवर्तनले माओवादी कुहिरोको काग भयो।
“संविधानमा समाजवाद भनेको छ। तर प्राप्त गर्ने के हो? मूर्त छैन। चाहेको वैज्ञानिक समाजवाद हो कि कांग्रेसले भनेजस्तो,” गिरी कथन थियो।
नेता निर्मलकुमारको कथन अनुसार त माओवादी पुरानो ठाउँमा पनि छैन, नयाँमा कहाँ उभिने भनेर स्पष्ट दृष्टिकोण बनाएको छैन। उनको भनाइ छ, “टेक्ने धरातल दलदल छ। त्यसैले कुण्ठा, निराशाजस्तो भएको त उभिने ठाउँ नभएर हो। गुट जन्मे। सिधा भन्नुपर्यो, कि त बुर्जुवा पक्षमा उभिने हो। होइन भने अहिलेको परिवेशअनुुुसार नयाँ प्रकारको विद्रोह गर्ने र समाजलाई अर्को ठाउँमा धकेल्ने हो। जो गर्दाखेरि केही समय सत्तामा गइन्छ कि गइन्न टुंगो हुन्न। त्यसको लागि वित्तीय पूँजीवादविरुद्ध उभिनुपर्यो।”
नेता चौलागाईं एक दुई तीन गरी चरणचरणका माओवादीविरुद्ध लागेको भुइँचालोजत्तिकै कडा झट्का देखाउँछन्।
पहिलो झट्का– शान्तिप्रक्रियापछि निम्न वर्ग माओवादीसित एकाएक सशंकित भयो। कारण, माओवादी नेता सुटबुट लगाएर चिल्ला गाडी चढेपछि त्यो वर्गलाई पहिलो झट्का लाग्यो।
दोस्रो झट्का– हिजो माओवादी नेताले वर्ग दुश्मन भनेर चिनाएका र हिजो भुइँमान्छेलाई दमन गरेका मान्छेसँग माओवादीले ‘भोट छ’ चोचोमोचो मिलाउन थालेपछि दोस्रो झट्का लाग्यो।
तेस्रो झट्का– माओवादी सरकारमा गयो। तीनपाली आफ्नै नेतृत्वमा र बाँकी कांग्रेस, एमालेलगायतका दलका नेतृत्वमा त कतिपाली गए कतिपालि। माओवादी सरकारमा गएपछि त्यो वर्गसँग माओवादी झन् टाढियो। माओवादीले तल्लो वर्गका लागि काम गर्नु त कहाँ हो हो कहाँ, गर्ने कोसिस पनि देखिएन। त्यो वर्गमा तेस्रो झट्का लाग्यो। पटकपटक दोहोरिएपछि त्यो वर्ग माओवादीबाट टाढियो।
उसो भए अहिले माओवादी कहाँ उभिएको छ त? अहिले माओवादी जमिनविहिन छ। पहिले उभिएको धर्ती भत्किसक्यो। अब कहाँ उभिने हो, ठेगान छैन।
No comments:
Post a Comment