Friday, January 7, 2022

एमालेका प्रतिनिधिले पूर्वमाओवादीलाई भोट हाल्लान्?

एमालेका प्रतिनिधिले पूर्वमाओवादीलाई भोट हाल्लान्?

काठमाडौं। चितवनमा जारी एमाले दशौँ महाधिवेशनमा पूर्वमाओवादी पक्षका तीन जनालाई केपी शर्मा ओलीले पदाधिकारीमा प्रस्ताव गरे। ओलीले रामबहादुर थापा बादललाई उपाध्यक्ष तथा टोपबहादुर रायमाझी र लेखराज भट्टलाई सचिवमा प्रस्ताव गरे।

तर, सर्वसहमतिका लागि पूर्ण केन्द्रीय कमिटीको प्रस्ताव गरेका ओली आफैं सर्वसम्मत भएनन्। उनलाई नवौँ महाधिवेशनका निर्वाचित उपाध्यक्ष भमि रावलले चुनौती दिएका छन्।

ओलीसँगै पूर्वमाओवादीको भागमा परेको उपाध्यक्ष र सचिवमा पनि निर्वाचन हुँदैछ। उपाध्यक्षमा घनश्याम भुसाल तथा सचिवमा भीम आचार्य र टंक कार्कीले पनि उम्मेदवारी दिएपछि चुनाव हुन लागेको हो।

यसमा रोचक त के छ भने बादल उम्मेदवार रहेको उपाध्यक्ष पदमा भुसालले तथा रायमाझी र भट्ट उम्मेदवार रहेको सचिव पदमा आचार्य र कार्कीले उम्मेदवारी दिएका छन्। अध्यक्ष ओलीबाहेक पदाधिकारीमा पूर्वमाओवादी नेता रहेका पदमा मात्रै चुनाव हुन लागेको हो।

जसअनुसार अब ६ जना उपाध्यक्षमा बादलसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र भुसालबीच चुनावी प्रतिस्पर्धा हुनेछ। जसमध्ये एक उम्मेदवारले पराजय ब्यहोर्नेछन्।

यता सात सचिवमा पूर्वमाओवादी रायमाझी र भट्टसँगै रघुवीर महासेठ, योगेश भट्टराई, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, पद्मा अर्यालसहित आचार्य र कार्कीले चुनावी प्रतिस्पर्धा गर्नेछन्।

यस्तो अवस्थामा ओलीले भोट नदिई न १० बुँदेवाल भुसालले जित्छन्, न त पूर्वमाओवादी बादलले। उसो भए ओली समूहका एमालेले बादललाई भोट हाल्लान् कि भुसाललाई? १० बुँदेवाललाई भोट हालेर जिताउलान् कि पूर्वमाओवादीलाई? राजनीतिमा चासो राख्नेबीच जिज्ञासा चुलिएको छ।

पूर्वमाओवादीको तर्क छ, एकताको सन्देश दिन पनि भोट दिनेछन्। ओली समूहले भोट नहाले माओवादी पनि भएको एमालेमा भावनात्मक एकताको सन्देश जान्न। यसले गलत सन्देश प्रवाह हुन्छ। उसो भए, ओली एमालेले पूर्वमाओवादीलाई भोट हाल्छन् त?

“एकताको भाव दिन पनि भोट दिनुपर्छ। होइन भने त कसरी पार्टी एक भएको भन्ने ठहर्छ त”, एमाले केन्द्रीय सदस्य उम्मेदवार एवं यसअघि एमाले प्रदेश दुईकी अध्यक्ष रहेकी ज्वाला साहले भनिन्। साहका अनुसार त एमालेले बादल नेतृत्वको पूर्वमाओवादीलाई भोट हालेमात्र पार्टी एकताको सन्देश जानेछ।

एमाले महाधिवेशनमा पूर्वमाओवादीको भोट १० प्रतिशतको हाराहारीमा छ। दुई हजार प्रतिनिधिले भाग लिएको महाधिवेशनमा ओली समूहले भोट नहाली पूर्वमाओवादीका कुनै पनि उम्मेदवारले जित्दैनन्। ओलीले प्रतिनिधिहरुलाई पूर्वमाओवादीलाई भोट हाल्न ‘ह्विप’ जारी गर्छन् कि गर्दैनन्?

एमाले केन्द्रीय सदस्यमा निर्वाचित गोकुल घर्तीमगरले भोट हाल्दा एमाले प्रतिनिधिले ‘विवेक पुर्‍याउने’ तर्क गरे। उनका अनुसार यसअघिका महाधिवेशनमा जसरी नै विवेक पुर्‍याउने र पूर्वमाओवादी उम्मेदवारले जित्नेछन्।

“आठौँ महाधिवेशनमा झलनाथ खनाललाई अध्यक्ष पदमा जिताए तर केपी ओलीलाई तल बहुमत दिएर। नवौँ महाधिवेशनमा ओलीलाई अध्यक्ष जिताए तर माधव नेपाललाई गतिलो स्थान दिएर”, केन्द्रीय सदस्य घर्तीमगरको तर्क थियो, “ओली कमरेडले पार्टी निर्णय यही हो है भनेपछि त दायाँबायाँ कसरी हुनु? हलले भनेकै ठाउँमा भोट जान्छ।”

घर्तीमगरले भनेको ‘विवेक प्रयोग’ले भने दोहोरो अर्थ बोक्छ। ओलीले हिजो रोपेको माओवादीविरोधी सेन्टिमेन्ट ओली एमालेमा अझ जब्बर छ। ओली खेमामै सबैभन्दा बढी माओवादी विरोधी छन्। माओवादी विरोधी ओली स्कुलिङमा खाइखेली हुर्केका एमालेले भोट हाल्दा पूर्वमाओवादीलाई रोज्लान् कि १० बुँदेवाललाई? एमाले कार्यकर्ताले विवेक प्रयोग गर्दा पूर्वमाओवादी नजिक ठान्लान् कि १० बुँदेवालाललाई? हेर्न बाँकी छ।

माधव नेपालले पार्टी फुटाएर नयाँ दल बनाएको र संघसहित सबै प्रदेशमा सरकार गुमेको तातो रिस १० बुँदेवालप्रति होला। तर, त्योभन्दा कम रिस पूर्वमाओवादीलाई होला भन्न सकिन्न।

अध्यक्षमा ओलीको जीत निश्चितप्रायः नै छ। तर, पूर्वमाओवादीलाई दिइएका पदको चुनावमा ओली प्यानलबाट भए पनि भोट दिन्नन् कि भन्ने आशंका चर्कै छ। पूर्वमाओवादीको मात्र भोटले जित्ने अवस्था छैन। अध्यक्ष ओलीको प्यानलमै भए पनि पूर्वमाओवादी पदाधिकारी चुनिने कुरामा संशय बाँकी नै छ।

“पूर्वमाओवादीलाई भोट दिन्छन् कि दिन्नन्? यसै भन्न सकिन्न। गोप्य मत हो। त्यसैले भोट हाल्दा ओलीको निर्देशन नमान्न पनि सक्छन्”, रोल्पाबाट प्रतिनिधि बनेका पूर्ण बुढामगर (विमर्श)ले भनेका थिए।

माओवादी थलोमा ओली नजर

पूर्वमाओवादी थलोमा ओलीको नजर परेको छ। माओवादी राजधानी मानिने रोल्पालाई चार केन्द्रीय सदस्य दिएका छन्। पूर्वमाओवादीबाट नवीन रोकामगरलाई प्रस्ताव गरेको ओलीले गोकुल घर्तीमगर, कुमार दशौदी र ईश्वरी जीएमलाई पनि प्रस्ताव गरेका छन्।

घर्तीमगर एमाले पोलिट्ब्यूरो सदस्य र सचेतक थिए भने रोकामगर मगर संघका केन्द्रीय अध्यक्ष हुन्। दशौदी एमाले सचिव पद्धतिमा रहेका बेलाका सचिव हुन् भने जीएम पत्रकारिता पृष्ठभूमिकी युवा नेता हुन्।

माओवादीको अर्को थला दुई रुकुमबाट एक एकजना केन्द्रीय सदस्यमा परेका छन्। रुकुम(पूर्व)बाट खेममान खड्का छन् भने रुकुम पश्चिमबाट तिर्था गौतम। तिर्था यदु गौतमपत्नी हुन्। यदुलाई माओवादीले मारेका थिए। खड्का रुकुमका पूर्वसभापति हुन्।

बादलले हारे के हुन्छ?

एमाले र माओवादी एक हुँदा सचिवालय सदस्य थिए, बादल। माओवादी बहुपदीयमा गएपछि बादल महासचिव।

एमाले गोदावरी विधान महाधिवेशन र चितवन राष्ट्रिय सम्मेलनका कमाण्डर हुन्, बादल। बादलले हार्दा माओवादी विरोधी नेताको रुपमा स्थापित ओली छवि झन् माओवादीविरोधी हुने छ, जसले उनको दलमा आएका पूर्वमाओवादीको सेन्टिमेन्ट जित्न गाह्रो पर्नेछ। पूर्वमाओवादीलाई एमालेमा तान्न गाह्रो हुनेछ।

पदाधिकारीमा बादललाई नदेखी पूर्वमाओवादी एमालेमै बस्लान् त?

बादल नहुँदा ओलीले कसलाई देखाएर एमालेमै थाम्नु, नआएका पूर्वमाओवादीलाई एमालेमा तान्नु? एमालेका दुवै महाधिवेशनमा बादल नै कमाण्डर भएपछि पूर्वमाओवादी एमालेमै रहेका हुन्। नेतृत्वको रुपमा बादललाई देखेरै एमालेमा अडिने पनि छन्।

“हामी नेताले पो कुनै कमिटमेन्ट गरेका छौं, तलका साथीहरु त नेतृत्व नभए विकल्प खोज्छन्”, यसअघि एमाले स्थायी समिति सदस्य मणि थापाले भनेका थिए। त्यसैले बादलले हार्नु माओवादीलाई एमालेमा स्पेश छैन भन्ने सन्देश जानु हो। बादलले हार्नु एमाले त माओवादीसहितको एकताको पक्षमा छैन भन्नु हो।

यसको एउटै कारण छ, त्यो हो– एमालेमा अहिले तीन मनोविज्ञानमा आधारित संगठन छ। एक, ओली एमाले। दुई, १० बुँदे एमाले। तीन, पूर्वमाओवादी। बादलले हार्नु नै त्यो मनोविज्ञान नस्वीकार्नु हो। नस्वीकार्नु माओवादीलाई एमालेले आफ्नो मान्दैन, नेता मान्दैन भन्ने हो। बादलले हार्नु पहिले जसरी ओली एमाले माओवादीप्रति आलोचक थियो, आज पनि उस्तै छ भन्ने सन्देश जानु हो। सबभन्दा ठूलो कुरो त, बादलले हार्नु नै ओलीको सर्वाधिकारमाथि प्रश्न उठ्यो है भन्ठान्नु हो। ओली बाहिरबाट जति शक्तिशाली देखिएका छन्, खासमा कार्यकर्ताले ओली आदेश उल्लंघन गरे भन्ने अर्थ लाग्नु हो।

खासमा खसखस बाँकी नै छ। त्यो हो, ओली एमालेले भोट हाल्लान् त पूर्वमाओवादीलाई? जति नै तीतो भए पनि भुसाल, कार्की र आचार्यलाई भोट नहाली पूर्वमाओवादीलाई हाल्लान् र? खासमा बादललाई भोट हाल्लान्? बादलले हारेर ओलीले अध्यक्ष जित्दा ओलीको जित खल्लो हुन्न र?

0
0
0
0
0
0

No comments:

Post a Comment