Friday, January 7, 2022

माओवादीको नजिकिँदो राष्ट्रिय सम्मेलन, औपचारिकता मात्रै

वैचारिक बहस नहुनुका केही कारण

 

नवीन विभास

1.9kShares
facebook sharing button
twitter sharing button
messenger sharing button
माओवादीको नजिकिँदो राष्ट्रिय सम्मेलन, औपचारिकता मात्रै

काठमाडौं। राष्ट्रिय सम्मेलनको तयारीमा रहेको सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले शनिबार देशैभर एकसाथ वडा सम्मेलन गरेको छ।

माओवादीले पुसमा राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ। वडा हुँदै राष्ट्रिय सम्मेलनको मिति नजिकिए पनि “कस्तो पार्टी बनाउने”, “कस्तो कार्यदिशा”, “कस्तो कार्यदिशाले नेपालमा समाजवाद ल्याउला”, “अबको नेतृत्व कस्तो हुने” यसबारे नेता-कार्यकर्तामाझ वैचारिक मन्थन भएको छैन।

पुरानै नेतृत्व र विचारलाई मलजल हुनेगरी पार्टी नेता र कार्यकर्ताका तनमन पद प्राप्तिमै सीमित देखिन्छ। कांग्रेस र एमालेमाजस्तै किन माओवादीमा पनि वैचारिक बहस चलको छैन ? किन चुपचाप छन् ?

एक, बाबुराम भट्टराई छैनन्

माओवादीले लिएको विचार एक्काइसौं शताब्दीको जनवाद हो। यो सारमा एमालेको बहुदलीय जनवादको नयाँ संस्करण हो। तर, माओवादीमा कस्तो स्थिति सिर्जना भयो भने, एक्काइसौं शताब्दीको जनवादको व्याख्या गर्ने र त्यसको अपनत्व लिएका बाबुराम भट्टराईले नै माओवादी छाडिसके।

छाड्ने मात्र होइन, उनले त नेपालमा कांग्रेस र कम्युनिष्टजस्ता दुई पुराना शक्तिको काम छैन भन्दै नयाँ शक्ति बनाए। अहिले जनता समाजवादी पार्टीमा पुगेका छन्। जसले जुन विचार बनाए तिनै नेताले नै माओवादी ‘गोत्र’ त्यागेर हिँडेपछि एक्काइसौं शताब्दीको जनवादबारे माओवादीमा बहस गर्नेको खँडेरी परेको छ।

“एक्काइसौं शताब्दीको जनवादको व्याख्याता र निर्माता बाबुराम भट्टराईले नै माओवादी छाडेर गइसकेपछि कसले व्याख्या र छलफल गर्नु,” माओवादी विदेश विभाग सदस्य पुष्प न्यौपानेले भने।

एक्काइसौं शताब्दीको जनवादले कुनकुन चरण पार गरेरले “समाजवाद” पार्टीले अँगाल्ने कुरा गरेको हो ? यसबारे छलफल, बहस भएको छैन। न्यौपानेअनुसार मोहन वैद्य किरण र रामबहादुर थापा बादलले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टी छाडेपछि यसको एउटा चरण सकियो।

त्यसैगरी, गणतन्त्र र धर्मनिरपेक्ष, समावेशी र समानुपातिक सम्बोधनले यसको राजनीतिक कार्यभार पनि पूरा भयो। न्यौपानेले थपे, “यसको वैचारिक र दार्शनिक छलफल छैन।”

दुई, नेता-कार्यकर्ताको आँखा पद प्राप्तिमा मात्र छ

रमाइलो त के भने, वैचारिक बहस र छलफल हुनुपर्छ भनेर नेता-कार्यकर्ताले न कसैले पहलकदमी लिएका छन् न त माग नै छ। चुपचाप छन्।
“सबैलाई पद प्राप्तिको चाह छ। सबैका आँखा पदमाथि हो,” नेता न्यौपानले भने, “यसमा फेरि पार्टी र नेतृत्वले जरुरी ठानेको पनि छैन। पहिलो पुस्ताको लागि यो स्वर्णिम युग हो।” उनका अनुसार त खोज अनुसन्धान नयाँ अवधारणा फरक मत छ भन्ने नेता/कार्यकर्ताको खडेरी छ।

“मन्त्री बनाइदे, केन्द्रीय समिति राख भन्नेमात्र छन्। चुनौती दिने नै छैनन्,” न्यौपानेले भने, “अध्यक्षले प्रस्ताव राख्ने र बाँकीले ताली बजाउने हो। औपचारिकताका लागि मात्र दुई-तीन दिन सम्मेलन राख्ने हो।”

तीन, पुरानै नेतृत्व र विचार यथावत्

माओवादीमा वैचारिक बहस नहुनु पार्टी र नेतृत्वलाई यथास्थितिमा राख्नु हो। माओवादी यस्तै राख्नु र अध्यक्षमा दाहाललाई राखिराख्नु हो। भन्छन् नि, विचारविहीन राजनीति पुरानो विचारलाई यथावत् राख्नु हो। माओवादी स्थायी ससमति सदस्य राम कार्कीले भने, “हुँदाहुँदै कम्युनिष्ट पार्टीभित्र पनि वैचारिक छलफल नहुने भयो। अहिलेको कार्यदिशा के हो ? कस्तो पार्टी बनाउने हो ? केही बहस छैन।”

उनका अनुसार यसो हुनु गणतन्त्रलाई संक्रमित गर्दै लानु हो। कार्कीले थपे, “कसरी समाजमा गणतन्त्रलाई बिस्तार र संस्थागत गर्ने हो ? यो छलफल हुुनुपर्थ्यो। तर कार्यदिशाबारे छलफल नै नहुने भयो।”

माओवादीलगायत कम्युनिष्ट पार्टीको चलनअनुसार त राष्ट्रिय सम्मेलन र महाधिबेसन हुनुअघि नै पार्टीको दस्ताबेज तल्लो समितिमा पुग्थ्यो। अध्ययन र छलफल हुन्थ्यो।

“पहिलेका महाधिवेशन र राष्ट्रिय सम्मेलनअघि नै दस्ताबेज पुग्थ्यो। पार्टीको नेता, कार्यकर्ताले त्यसबारे अध्ययन मनन गर्थे। आफ्नो धारणा बनाउँथे। त्यसको संश्लेषण महाधिवेशन, राष्ट्रिय सम्मेलनमा आउँथ्यो,” नेता न्यौपानेले भने, “सम्मेलन वा महाधिवेशनले त्यसैअनुरूप कार्यदिशा, कार्यक्रमअनुसार राजनीतिक बाटो तय गर्छ। तर अहिले त्यस्तो भएको देखिन्न।”

चार, शक्ति जति नेतृत्व केन्द्रित भयो। सबैले नेतृत्वको मुख ताक्ने चलन चल्यो। कस्तो पार्टी बनाउने भनेर सोच्ने नै भएनन्। “विचारको हकमा त नेतृत्व केन्द्रित भए। यो चिन्ताजनक कुरा हो। त्यसो हुनुहुुँदैनथ्यो,” अध्यक्ष दाहालका स्वकीय सचिव एवं माअ‍ोवादी युवा नेता रमेश मल्लले भने, “यसको निकास खोज्नुपर्छ।” विचारको कुरा उठाए आफ्नो राजनीतिक भविष्य नै असुरक्षित हुन्छ कि भन्ने नेता कार्यकर्तामा भय पनि छ।

पाँच, दास उत्पादन गर्ने नेतृत्वको सामन्ती मानसिकता

माओवादी पार्टी र नेतृत्वले किन छलफल बहसको वातावरण गराएन ? के थियो यसको कारण ? त्यो हो, नेकपा एमालेमा केपी ओलीले जसरी “एसमेन”हरूको उत्पादन गर्नु। त्यसपछि आफू पार्टी सत्तामा टिकिरहने नियत राख्नु।

“छलफल र बहस नगराउनु र नहुनु भनेको त अहिलेको विचारलाई चुनौती नहोस् भने हो,” नेता कार्की कथन थियो, “हुँदाहुँदै कम्युनिष्ट पार्टीभित्र पनि वैचारिक छलफल नहुने भयो। अहिलेको कार्यदिशा के हो ? कस्तो पार्टी बनाउने हो ? केही बहस छैन।” उनका अनुसार यसो हुनु गणतन्त्रलाई संक्रमित गर्दै लाने हो। उनले भने, “एउटै मेसिनले तयार पारेका मान्छेमा पनि विचार र छलफल त हुन्छ। पार्टीमा त झन् छलफल र बहस हुनुपर्ने। भएको छैन।”

वैचारिक छलफल नभए पार्टी नै नरहने हो र ?

एक, पार्टीले गति लिन्न।

राजनीतिक दलमा वैचारिक बहस र छलफल नभएपछि पार्टी त यथास्थितिमै बस्छ। अन्तमा बिलाउँछ। माओवादी केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले भने, “राजनीतिक दलको जीवनमा गति आउँदैन। पार्टी गतिहीन हुन्छ। राजनीतिक दिशा पकड्न सक्तैन। जो अहिले त दलहरूमा त्यस्तैमा सकिन्छ। अगाडि जे आउँछ क्वाप्प खाने। त्यसैलाई कार्यनीति पनि भन्ने कार्यदिशा मान्ने।”

दुई, गणतन्त्र चाउरिन्छ

कस्तो पार्टी र नेतृत्व बनाउनेबारे छलफल र बहस नै नभएपछि गणतन्त्रको स्थायित्व र विकासमै असर पर्छ। माओवादी स्थायी समिति कार्कीले भने, “फेरि गणतन्त्र सुक्दै चाउरिँदै जाने हो। फेरि गणतन्त्रका लागि नयाँपिँढी लड्नुपर्ने स्थिति निम्त्याउने हो।”

तीन, एक व्यक्तिको तजबिजमा पार्टी चल्ने हुन्छ

जो अहिले भएको छ। शक्ति नेतृत्वमा केन्द्रित गरी एउटा मानिसको हातबाट पार्टी चल्ने चलन चल्छ। “नयाँ पुँजीवाद एक मान्छे नेतृत्वमा चल्ने हो, एउटा व्यक्तिको प्रतापले चल्ने पार्टी भयो। पुँजी र बजारको सेवा गर्ने हो। ठूलो समिति बनाउने त देखाउनलाई बिस्कुन फिँजेजस्तो मात्र हो। छलफल नहुने हो। सामूहिकतामा नचल्ने हो,” कार्कीले भने, “अन्तमा एक्लै निर्णय गर्ने हो, नेतृत्वले।”

चार, निरंकुशता हाबी हुन्छ।

आलोचनात्मक चेतको मृत्यु हुन्छ। बहस र छलफल नहुँदा एमालेमा अध्यक्ष ओली र माओवादीमा अध्यक्ष दाहालको हालीमुहाली छ। यो संस्कृति मौलाउँदैजाँदा तिनका निरंकुशता पार्टीभित्र झन पलाउने छ।

“छलफल र बहस नहुँदा निरंकुशता पलाउँछ। एउटा नेताले भन्ने अरुले चुपचाप ताली बजाउने हुन्छ। यसो हुनु, आलोचनात्मक चेतको अन्त हो,” राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भने।

पाँच, नयाँ विचार पलाउँदैन। नयाँ नेतृत्व आउँदैन।

यसरी नयाँ नआएपछि के हुन्छ ? पुरानै विचार र पुरानै नेतृत्व दोहोरिन्छ। श्रेष्ठ कथन थियो, “वैचारिक बहस हुँदा पार्टी सत्तामा भएकालाई फाइदा हुन्छ नि। नयाँ विचार र नेतृत्व नपलाएपछि त पुरानै विचार र नेतृत्वज्यूँका त्यूँ रहन्छ।”

छ, ताली बजाउने !

पार्टीभित्र छलफल र बहस नभएपछि कार्यकर्तामा कसरी आलोचनात्मक चेत पलाउनु। कसरी अध्ययन र मन्थनको विकास हुनु। फलस्वरूप पार्टी नेतृत्वले जे भन्छ, त्यसैमा ल्याप्चे लगाउने संस्कृति मौलाउँछ। माओवादी राष्ट्रि सम्मेलन हलमा अध्यक्ष दाहालले लेखेर ल्याउनेछन्, देशभरबाट भेला भएका प्रतिनिधिले ताली बजाउनेछन्।

“यसरी त हुने भनेको राष्ट्रिय सम्मेलन थलोमै सीएम (अध्यक्ष)ले दुईचार पन्ना लिएर आउने हो। अध्यक्षले लिएर आएपछि त सक्कियो नि। “यै हो क्रान्ति, यै हो समाजवाद र यै हो साम्यवाद” भनेर ताली बजाउने हो,” माओवादी विदेश विभाग सदस्य पुष्प न्यौपानेले भने।

0
0
0
0
0
0

No comments:

Post a Comment