Friday, January 7, 2022

सुशील कोइराला जो छाया बनेरै नेतृत्वमा उदाए


सुशील कोइराला जो छाया बनेरै नेतृत्वमा उदाए

‘प्रवासको अभावग्रस्त समयमा बनारस जान लागेका बीपी कोइरालालाई कुमुदिनीले आफूसँग भएको एक तोला सुन लुकाएर दिएकी थिइन्। त्यो सुन दिव्याले कसरी आफ्नो कछाडमा सिलाइदिइन् र बनारसमा कसरी बेचियो भन्ने कुराको वर्णन बीपीको आत्मवृत्तान्तको सुरुवाती पृष्ठमा छ। कालान्तरमा उनको बिहे कोइराला परिवारकै बोधप्रसादँग भयो। सुशील जन्मनुअघि नै बीपीलाई कुमुदिनीले ठूलो गुन लगाएकी थिइन्। यसरी सहजै आकलन गर्न सकिन्छ कि, गिरिजाप्रसाद कोइरालाले सुशील कोइरालालाई यत्तिकै पार्टी उत्तराधिकार सुम्पेका थिएनन्’ (शंकर तिवारी, सरलतामा दृढता सुशील कोइराला, पृष्ठ ४९)।

उसो त सुशीलकी आमा कुमुदिनी बीपीका साक्खै सानीमा पनि थिइन्। सुशील उनै कोइराला त थिए, जुन खलकबाट मातृका, बीपी र गिरिजापछि कांग्रेस सभापति र नेपालको प्रधानमन्त्री बन्ने अवसर पाए। कोइराला परिवारका सुशीलको कांग्रेस सभापति र प्रधानमन्त्रीयात्रा के सम्झेजस्तै सरलै थियो त?

०००

तत्कालीन वन अधिकृत बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्र सुशील। जागिरकै सिलसिलामा बोधप्रसाद नेपालगञ्ज पुगे। नेपालगञ्जबासी भए।

‘सुशील २०१० सालदेखि कांग्रेस भए। १९ वर्षको उमेरमा २०१५ मा मन्त्रीको निजी सहायक भएर काम गरे। राजा महेन्द्रले लोकतन्त्र अपहरण गरेपछि शुरुको दुई वर्ष बीपीपत्नी सुशीलासँग नेपाल भारत ओहोरदोहोर गरे। जनमतसंग्रह घोषणा नहुञ्जेल भारतमै बसे। केही वर्ष भारतीय जेलको थुनामा बिताए। ‘तरुण’को सम्पादन र सशस्त्र विद्रोहको तयारीमा सक्रिय रहे’ (शंकर तिवारी, उही, पृष्ठ ३०)।

लेखक जगत नेपालका अनुसार सुशीलले बीपीको नजिक बसेर कोइराला परिवार चलाए। नेपाल भन्छन्, “बीपीको बनारस घर चलाउने, बीपीले लेखेका छाप्ने, कपिराइट बीपीले सुशीललाई दिएका छन्।”

उनका अनुसार बीपीसँगमात्र होइन, उनले उसैगरी गिरिजाप्रसाद कोइरालासँग पनि निकट भएर काम गरे। लेखक नेपालका अनुसार गिरिजाप्रसाद कोइरालालाई सफल बनाउन सुशील पिसिए। गिरिजालाई सफल बनाउन पनि उनले कुनै कसर बाँकी राखेनन्।

सुशील निरन्तर कांग्रेसी राजनीतिमै रहे। २०३५ देखि सुशील केन्द्रीय सदस्य बनेर कांग्रेसको केन्द्रमा पुगे।

२०४२ सालको सत्याग्रह र २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा पनि सुशील सक्रिय रहे। स्मरणीय त के भने, परिवारभित्र शैलजा आचार्य र सुजाता कोइरालालाई यस्तो अवसर दिइएको भए पनि सुशील  भने सन्त, सादगी शैलीमा गिरिजाप्रसाद हुँदै पार्टी कार्यवाहक सभापति भए। महामन्त्री, उपसभापति हुँदा गिरिजालाई अप्ठेरो पार्नेगरी कहिल्यै अख्तियार दुरूपयोग गरेनन्। बरु गिरिजाले आफूले गर्नुपर्ने अलोकप्रिय निर्णयहरू जहिले पनि सुशीलाई ढाल बनाउँदै उनीमार्फत लागू गरे (शंकर तिवारी, उही, पृष्ठ ३२)।

सुशील कांग्रेस महामन्त्री बने। उपसभापति भए। र, गिरिजाप्रसाद कोइरालाले कार्यवाहक सभापति सुशीललाई सुम्पे। पहिलो संविधानसभा चुनाव हुँदा सुशील कांग्रेस कार्यवाहक सभापति बनाइएका थिए। कांग्रेसले हार्‍यो। हारको जिम्मा लिँदै सुशीलले राजीनामा दिए। तर, गिरिजाप्रसाद कोइरालाले राजीनामा स्विकारेनन्। सुशीलले बीपी र गिरिजाप्रसाद कोइराला देशबाहिर हुँदा होस् या देशभित्र हुँदा होस्, तिनका निकट भएर काम गरे। बीपी र गिरिजाका मन जिते।

सुशील–देउवा टक्कर

सुशील कोइराला परिवारका सदस्य। केन्द्रीय सदस्य, महामन्त्री र उपसभपातिहुँदै गिरिजाप्रसाद कोइरालाको छत्रछायामा कार्यबाहक सभापति भए। केही समय र पार्टी सभापतिको रूपमा झण्डै सिंगै कार्यकाल नेतृत्व गरे। संविधान जारी गरे। यस्तो श्रेय २०१५ सालमा बीपी र २०४८, २०५६ मा भट्टराईलाई थियो। गिरिजाप्रसाद कोइरालाले २०५१ र २०६४ मा यस्तो सफलता पाउन सकेनन्। २०७४ मा देउवालाई मिल्न सकेन। २०७० को दोस्रो संविधानसभा चुनाव सुशीलले बाँके र चितवनबाट जिते। कार्यवाहक पार्टी सभापतिको रूपमा गिरिजाका प्रतिछायामात्र थिए। तर गिरिजाको मृत्युपछि सुशीलको व्यक्तित्व मुखरित भयो(शंकर तिवारी, उही, पृष्ठ ५)।

२०४८ र २०५६ का संसदीय चुनावमा सुशील बाँकेबाट चुनिए। २०५१ को संसदीय दलको नेतामा भने शेरबहादुर देउवासँग हारे।

सुशील कांग्रेसमा त्यागी नेताको रूपमा स्थापित भए। त्यही रूपमा सुशील दा भनेर सम्मान पनि गरे। के साँच्ची सुशील त्यागी नै थिए त?

सुशील २०४८ को गिरिजाप्रसाद कोइराला सरकारमा परराष्ट्रमन्त्री हुन चाहन्थे। दिइएन। २०५१ को मध्यावधि चुनाव हारे। २०५६ को चुनाव भने जिते। त्यसबेलासम्म उनका समकक्षी शेरबहादुर देउवा, शैलजा आचार्य र रामचन्द्र पौडेलले सरकारी ओहोदाको छलाङ मारिसकेका थिए। २०५६ को कृष्णप्रसाद भट्टराई सरकारमा पनि पुनः परराष्टमन्त्री आश गरेका थिए। तर, किसुनजीले दिएनन्। …तर कांग्रेसमा त्यागी नेताको रूपमा स्थापित भए (शंकर तिवारी, उही, पृष्ठ १६)।

होलेरी काण्डपछि गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री पदबाट राजीनामा दिए। माओवादीले होलेरी पुलिसचौकी कब्जा गरी ७१ ज्ना पुलिस कब्जा गरेपछि कोइरालाले सेना परिचालन गर्न चाहन्थे। तर, सेना प्रमुख राजाले परिचालन गर्न मानेनन्। त्यसपछि कोइरालाले राजीनामा दिएका थिए। कांग्रेस संसदीय दलमा सुशील भिडे, शेरबहादुर देउवासँग। सुशीलले हारे। रमाइलो त के भने, उनै सुशीलले डेढ दशकपछि देउवासँग बदला लिए। संसदीय दलको नेता पनि भए र प्रधानमन्त्री पनि।

२०६७ असोजमा काठमाडौँमा सम्पन्न बाह्रौं महाधिवेशनमा सुशील कोइराला र शेरबहादुर देउवा सभापतिमा भिडे। त्यसमा कोइरालाले एक हजार ६ सय ५२ र देउवाले एक हजार तीन सय १७ मत पाएका थिए। अर्का प्रत्यासी भीमबहादुर तामाङले ७८ मत ल्याएका थिए। यस महाधिवेशनदेखि पार्टी क्लस्टर अनुरूप समावेशी ढाँचामा गएको थियो (ध्रुव सिम्खडा, सभापति बन्न इतिहासदेखि अहिलेसम्म उस्तै होडबाजी, कान्तिपुर, मंसिर १७, २०७८)।

१३ औं महाधिवेशनमा सुशीललाई टक्कर दिन देउवा उभिएका थिए। तर, महाधिवेशन नहुँदै सुशील बिते।

लेखक नेपाल भन्छन्, “धेरैले कोइरालालाई असक्षम भन्छन्। या कोेटरीको राजनीति गरेको भन्छन्। तर उनी कसरी एकैचोटि प्रधानमन्त्री र पार्टी सभापति भए त? उनको इमान्दारिता, सादगी र कमिटमेन्ट ठूलो गुन हो। आफूले लिएको अडान कहिल्यै छाडेनन्।”

गिरिजाप्रसाद कोइराला सत्तामा पुगेपछि सुशीलले पछाडि फर्केर हेर्नै परेन। गिरिजाप्रसाद कोइरालाको उदयसँगै सुशीलका दिन फिरेका फिर्‍यै भए। शंकर तिवारी लेख्छन्, “२०४८ देखि नै शैलजा आचार्य, रामचन्द्र पौडेल र शेरबहादुर देउवाको नाम दोस्रो पुस्ताका नेता भनेर अग्रपंक्तिमा आयो। आज दुई दसकपछि रामचन्द्र पौडेलको सहयोगमा शेरबहादुर देउवालाई हराएर सुशील पार्टी सभापति भए। त्यतिबेला गिरिजाप्रसाद कोइरालाले सुशीललाई उत्तराधिकार सुम्पेर जालान् भन्ने लागेको थिएन। तर राजनीतिको खेल नै यस्तै हुन्छ (उही, पृष्ठ २९)।

तिवारीले नै प्रदिप गिरिलाई उद्धृत त्यसमा थपेका छन्, “बीपीद्वारा प्रेरित, किसुनजीद्वारा संरक्षित र गिरिजाद्वारा प्रसारित कांग्रेसको प्रशासनिक ढाँचाका सुशील एक प्रमुख स्तम्भ हुन् (सरलतामा दृढता सुशील कोइराला, पृष्ठ १४)।

उसो भए, खास केले दिलायो त सुशीललाई देशको कार्यकारी प्रमुख पद प्रधानमन्त्री र मुलुकको सबभन्दा पुरानो दलको प्रमुख पद कांग्रेस सभापति दिलायो?

तिवारीको दाबी छ, “सुशीलको नेतृत्व कुनै खास करिष्माको आधारमा नभएर पार्टी ब्युरोक्रेसीको आधारमा बनेको नेतृत्व हो। …सुशीलको कुनै विलक्षण प्रतिभा नभई पारिवारिक विरासतबाट नेपाली राजनीतिको उचाइमा पुगेका राजनीतिककर्मी हुन् (सरलतामा दृढता सुशील कोइराला, पृष्ठ ४८)।”

उसो भए, पार्टी सभापति भए त, कसरी ? के थियो त्यस्तो चिज जसले सुशीललाई पार्टी सभापति र प्रधानमन्त्री बन्न भर्‍याङको काम गर्‍यो ? सुशील उदयका चार कारण छन्।

पहिलोे, कोइराला परिवारको विरासत। कांग्रेसमा कोइराला परिवारको विरासत सबभन्दा ठूलो प्रतिभा हो, गुण हो, संयोग हो। त्यो अवसर सुशीलले पाए। कोइराला विरासतकै आधारमा यसअघि पार्टीमा शशांक कोइराला महामन्त्री चुनिए। चौधौं महाधिवेशनमा शेखर कोइराला सभापति पदमा शेरबहादुर देउवासँग भिडे।

दोस्रो, बीपी र गिरिजाका विश्वासपात्र र निरन्तर संगत। बीपी र गिरिजाका नजिक रहेर र सहयोगीको रूपमा कति काम गरेका थिए? माथि पनि चर्चा भइसकेको छ।

तेस्रोे, संगठक। लेखक तिवारीले लेखेका छन्, “धीर शमशेरका १७ भाइ छोराजस्तै सुशीलका पनि १७ भाइ भित्रीय सदस्य थिए। उनीहरूमार्फत नै सुशीलले गिरिजाप्रसाद कोइरालालाई पार्टीभित्र पकड राख्न सघाएका थिए (तिवारी, उही, पृष्ठ १९)। को को थिए, १७ भाइ त्यो भने व्याख्या गरेका छैनन्। सायद उनले उनै १७ भाइका सहयोगमा आफ्नो पकड कांग्रेसमा राखे।

चौथोे, सुशीलको सादगीपन। अविवाहित सुशील कोइरालाले सरल र सादगी नेताको परिचय बनाए। त्यसैमा आफूलाई स्थापित गरे। उपभोक्तावादले गाँजेर ठहरै पारेको याममा कोइरालाको सादगी सायदै देखिने र भेटिने चिज थियो। जसले कहीँ न कहीँ प्रत्यक्ष वा परोक्ष उनको राजनीतिक व्यक्तित्व फुल्न बल दियो।

०००

सादगी, सरल त हुन् नै सुशील। योभन्दा पनि कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील सम्झन एउटा यो सुखद् संयोग सम्झे पुग्छ होला। जो नेपालमा संविधानसभाबाट संविधान बनाउनेसँग सम्बन्धित छ। सुशीलको संविधानसभाबाट नेपाललाई संविधान दिने संजोग जुर्‍यो। भलै छिमेकी भारत नाराज भएको किन नहोस्। भलै मधेस असन्तोष छ। नेपालका आदिवासी जनजाति बेखुसी छन्।

संयोग जो यो हो– सिन्धुलीको दुम्जाहुँदै विराटनगर पुगेर देशभर छरिएका कोइराला परिवारमा एक सदस्य बीपी कोइरालाको सात दसकअघि शुरु गरेको संविधानसभाबाट संविधान बनाउने उद्घोषलाई त्यही परिवारका अर्का सदस्य सुशील कोइरालाले पूर्णता दिए (शंकर तिवारी, उही, पृष्ठ ६२)।

यी पनि पढ्नुहोस्ः

कांग्रेसका सभापति-६ः पहिले ‘खलनायक’ पछि ‘महानायक’

कांग्रेसका सभापति-५: सन्त नेताको कांग्रेस बहिर्गमन

कांग्रेसका संस्थापक, जो जीवनको अन्त्यमा पार्टीमै रहेनन्

कांग्रेसका सभापति-४: कांग्रेसलाई सफल बनाउने गुमनाम सुवर्ण

कांग्रेसका सभापति-३: बीपी कोइरालाः जसको अनुहार देखाएर कांग्रेस बाँचिरहेछ

कांग्रेसका सभापति-२: मातृकाप्रसाद कोइरालाः संयोगले सभापति, क्रान्तिको कमाण्डर र प्रधानमन्त्री

कांग्रेसका सभापति-१: टंकप्रसाद आचार्य: जो जेलमै दुई पार्टीका सभापति भए

0
0
0
0
0
0

No comments:

Post a Comment