Friday, January 7, 2022

पर्खंदैमा बित्यो समय, अझै छ न्यायको आश

शान्ति सम्झौताको १५ वर्ष

सरकार र माओवादीले शान्ति सम्झौता गरेको आइतबार १५ वर्ष पुग्यो। तर ओभाएका छैनन् पीडितका आँखा, न त न्याय नै पाउन सकेका छन्।


पर्खंदैमा बित्यो समय, अझै छ न्यायको आश

गयाप्रसाद थारू

बर्दिया राजापुर बूढीकुलो पुलसँग अडेसिएर एउटा ढेब्ली उभिएको थियो। कहिले मिलन त कहिले बिछोडको गीतिलयमा मुरैया हुँदै बग्ने कर्णालीले ढेब्लीलाई कहिलेकसो छोएर बाटो लाग्थ्यो।

त्यही ढेब्लीमा भुजिया, पानपराग, खैनी, चक्लेट, बिस्कुट बेच्ने एक सर्वसाधारण थारू दुख्न थालेको १८ वर्ष भयो। उनको दुःख उनलाई छोएरै बग्ने कर्णालीले पनि बगाएको थिएन। लगातार दुखेपछि पनि बगिरहेको कर्णालीसँगै उनले दुःखलाई कहिले थारू त कहिले खस नेपाली गीतमा सुनाइरहे। तर, उनको दुखाइ अहिलेसम्म बीसको उन्नाइस थिएन।

“म त उही ढेब्लीमै छु। कहिले मर्छु थाहा छैन,” गयाप्रसाद चौधरी (४४) ले आइतबार अर्थात् सरकार र माओवादीबीच शान्ति सम्झौता भएको ठीक १५ वर्ष पुगेको दिन फोनमा सुनाए, “औषधि खान छाडेकै एक वर्ष भयो। दुखाइ झन बढेको छ।”

गयाले त्यसबेला पनि त्यही कर्णाली किनारमै ढेब्ली थापेका थिए। जुन दिन बिहानै ढेब्लीबाट उनलाई उठाएर राजापुर बेस क्याम्प लगे। लग्दालग्दै उनले लगाएको ज्याकेट खोले। उनको अनुहार छोपिदिए। नबोले माओवादी ठान्लान् भन्ठानी स्पष्टीकरण दिन थाले। ‘बढी बोल्छ, कमाण्डर नै रहेछ” भन्दै अलग्गै कोठामा राखे। फननन तीन फन्का घुमाए। त्यसपछि फलामको पाइपले कुटे। १५-२० मिनेटपछि उनी बेहोस भए।

“मलाई मृत्यु दिएनन्, यातना मात्र दिए,” ढेब्लीमा अप्ठेरोगरी उभिएका गयाले पाँच वर्षअघि भन्दाखेरि गयापत्नी कृपालीदेवीका आँखा भिजिसकेको थियो।

अघिल्लो दिन अर्थात् २०६० पुस १ गते उनको गाउँ मुरैयानजिक बम पड्केको थियो। बम बिस्फोटनमा दुई शाही सेना मारिएथे। भोलिपल्ट एकाबिहानै राजापुर बेस क्याम्पबाट सुरक्षाफौज आएर गाउँ पसेको थियो। गयाको गाउँबाट मात्र ३५ भन्दा बढी गाउँले समात्यो। त्यसबेला गया २४ वर्षका थिए।

“रातदिन रोएर बस्छु। मलाई त चौबीसै घण्टा पीडा छ। खाँदा पनि यसरी घुँडा टेकेर खान्छु। मेरो खुट्टा सुकेर गयो। देब्रे हात सुक्यो। दाहिने खुट्टामा चिमोट्दा नि थाहा पाउँदिनँ। चप्पल निस्केको पनि थाहा हुन्न। बस्न, उभिन र सुत्न पनि सक्तिनँ। पिसाब पनि आफैं चुहिन्छ। जिन्दगी बाँच्न धेरै गाह्रो भयो। मर्न पाए हुन्थ्योजस्तो लाग्छ। मर्न पनि सकेको छैन,” त्यसबेला गयाले सुनाएका थिए। त्यसपछि सम्झेथे भोजलाल थारूलाई। जो उनीसितै पक्राउ परेका आफन्त थिए। रिहा भएलगत्तै मरे।

गयासँगै रिहा भएका अरू गाउँले पनि उनीजस्तै थिए। कोही ढाड दुख्यो भन्थे त कोही जिउ दुख्यो। “समातिएका एकजना पर्वते (पहाडी मूलका) थिए, उनलाई त तुरुन्तै छाड्यो,” आफूहरुलाई भने धेरै समयपछि तारिखमा छाडिएको सम्झिए।

कतैबाट पनि माओवादी पुष्टि नभएपछि गया रिहा त भए तर “न गरिखाने न मरिजाने” अवस्थामा।

साथ दिने पत्नी छिन्। तर उनको एउटा मात्र मिर्गौंला छ। त्यसैले बेलाबेलामा जाँच गराउनुपर्छ। ऋण गरेर पतिपत्नी औषधि खान्थे। न गया काम गर्न सक्छन् न त गयापत्नी।

“मलाई पनि अरूजस्तै बाँच्ने रहर त छ,” उनले सग्लो जिउ हुँदाखेरि मनमा साँचेको तिर्सना पोखे, “म मेहनत गर्ने मान्छे हुँ।”

शान्ति प्रक्रियापछि माओवादी, एमाले, कांग्रेसमा लागेका नेता/कार्यकर्ता र सरकारी मान्छेले द्वन्द्वपीडितको राहत पाए। उनकै गाउँका जिम्दारले पनि जग्गा फिर्ता पाए। राहत पाए। उनी भने न कांग्रेस थिए न एमाले न माओवादी न सरकारका मान्छे। त्यसैले उनले कुनै राहत पाएनन्।

“म कतै लागिनँ। कतै नलाग्नेलाई कसले हेर्छ र? हामीले यत्तिकै कुटाइ खायौं। सिकार भयौँ,” उनले भनेका थिए। स्थानीय सरकार बनेपछि आफूले कुनै राहत नपाएको दुखेसो पोखे।

दुई छोरा छन्- सुमन (२९) र रामजनम (२७)।

गया सुन्न न राजनीतिक दल पुगेका छन् न उनको गाउँको सरकारले सनुेको छ।

गया गमे, “सरकारले हामीजस्ता सर्वसाधारणलाई, स्कुल जाने बच्चालाई मारेर र यातना दिएर माओवादीको बदला लियो। कसले छानबिन गर्ने ? कसले न्याय दिने हामीलाई ?”

लोटनकुमारी थारू

लोटनकुमारी चौधरी (४१) बर्दिया, राजापुर, मंगलपुरस्थित आफ्नै घरमा कलमा लुगा सिलाउँदै थिइन्। टिनछाने पुरानो एकतले घरमा सिलाइ मेसिनमा कपडा सिलाउँदासिलाउँदै लोटन लोचन भने बनाउन सुरसार गरेको घरमा ठोक्किन्थ्यो। त्यसपछि पति पतिरामलाई अनचिनारले रातमा लगेका सम्झेर झस्किन्थिन्।

“छोराले जागिर खाएपछि बन्ला कि। कहिले बन्छ ? थाहा छैन,” निर्निमेष टोलाउँदै लोटनले पाँच वर्षअघि भनेकी थिइन्।

कहिले पढ्ने, कहिले जागिर खाने र घर उभ्याउने?  पतिराम बेपत्ता भएपछि त्यो अलमल अझ चुलिएको थियो। पतिसँगै लगिएका गाउँकै तीनजना पनि बेखबर थिए।

संकटकालीन एक रातको कुरा,

कसैले भन्यो, “कमरेड ढोका खोल्नुस्।”
चार वर्षीय छोरासहित पतिपत्नी गहिरो निद्रामा थिए।
कमरेड भनी बोलाउने को होला भनी आशंकाका डिलमा उभिएर उनले ढोका खोलिन्। त्यसैबेला हो लोटनले “कमरेड” सुनेको पनि। ढोका खोल्नेबित्तिकै तीनजना भित्र पसे। पतिरामलाई लिएर जान थालेपछि छोरा रुन थाले। “कहाँ र किन” भनी लोटनले सोधेको जवाफमा भने, “सोधपुछको लागि हो।”

घरभित्र पसेका तीनमध्ये दुईजना कम्ब्याट ड्रेसवाल थिए। त्यसरात अर्थात् २९ चैत २०५८ को रात तीन बज्दा नेपालमा संकटकाल लागेको थियो। रात उनको आँखामै ढल्यो। उज्यालो हुनेबित्तिकै हान्निएर राजापुर पुगिन्। शाही सेनाले भन्यो, “ल्याछैन।”

लोटन धुरुधुरु रुँदै फर्किइन्।

पति पतिराम टुप्लुक्क आइपुगिहाल्छन् कि भनी लोटन लोचन हरपल तिर्खाउँछन्। सपनामा पनि बिपनामा पनि पतिलाई पछ्याएरै रात ढल्छन्। दिन ढल्छन्।

पतिलाई शाही सेनाले लग्दा छोरा सागर भर्खर चार वर्षका थिए भने उनी २१ वर्षकी। बेपत्ता नपारिदासम्म त सीएमए पढेका पतिरामले गाउँमै औषधि पसल थापेका थिए।

२० वर्षयता लोटन लोचन चिसै छिन्।

आँशुले भिजेको लोटन बोली प्रश्न भएर निक्लन्छ, “मेरो श्रीमान् कहाँ लगे ? मारेको भए हड्डी देखाउन परो। बाँचेको भए जिउँदो लिनुपरो।”

इन्द्रकेशरी श्रेष्ठ

भक्तपुरकी इन्द्रकेशरी श्रेष्ठ (७१)का साइँलापुत्र गंगाराम (१४) लाई भक्तपुरस्थित गःहिटीबाट शाही नेपाली सेनाले समात्यो। त्यो थियो, २०५८।

सूर्यविनायकमा जेठा ज्वाइँको दायाँ हातमा गोली लाग्यो। केशरीले भेट्दा ज्वाइँ छटपटाउँदै थिए। न घर ल्याएर ज्वाइँ स्याहार गर्न पाइन् न अस्पताल लगी उपचार गर्न।

छोरा र माहिला ज्वाइँ बेपत्ता पारिएको घाउ निको नहुँदै जेठा ज्वाइँ अर्थात् नारायणदेवीपति वासुदेव सुवाल (२०६१) बेपत्ता पारिए। माइलीपुत्री रुवीपति राजेन्द्र माली २०६० असोज १५ मा बेपत्ता पारिएका थिए।

साइँला गंगाराम २०५८ मा बेपत्ता पारिँदा भर्खर १४ वर्ष लागेका थिए।

छोरा र ज्वाइँ खोजमा बटुलेका खोज–कहर कही नसक्नु थिए। न नेताले जीवित छन् भने न मारिए । न बेपत्ता नागरिकबारे केही कदम चाले।
“मारिएका भए, यहाँ छ चिहान भन। आफ्नो गच्छेअनुसार धर्म गर्छौं भनेँ । कोही नेता बोल्दैनन्,” केशरीले भन्दै थिइन्।

छोरा र ज्वाइ चिन्तैले पति मरे।

एक छोरा र दुई ज्वाइँ बेपत्ता पारिएपछि बचेका पनि भूमिगत भए । र, शोकमाथि सुर्ताजसरी तिनका चिचिला केशरीको काखमा आए।

एक दिन घरमा हजुरबा पुगे।

परिवारका सदस्य यसै सुख-दुःख सुसाउँदै थिए।

केशरी तनावमा थिइन्। कति छोराछोरी र ज्वाइँ लडाइँमा थिए भने कति बेपत्ता। कतिखेर को मारिने हो? जबर्जस्त जगजगी थपिएको थियो।
ठीक त्यसबेला हजुरबा पुगे।

“नानी!” भनिन्, “हजुर!”
हजुरबाः सुन त नानी।
केशरीः किन हजुरबा? माथि आउनुस् न।
हजुरबाः म माथि आउन हुन्न के। तँ नै तल आ।
हातमा आधा मानाजति मकै थियो। र, उनलाई थाप भन्दै थिए।
पटुका थापिन्। हजुरबाले आधा मानो मकै राखिदिए।

“मेरो हात यस्तो भएको थियो,” जमानामै ‘माथि’ लागेका हजुरबाले मकै दिँदा कसरी पटुका थापेकी थिइन्, अभिनय गर्दै इन्द्रकेशरीले भनिन्, “पटुकामा के थापेर बसेको होला भन्थ्यो के साइँलाले।”

कल्पेर भए पनि मान्छेले ‘अभाव पूर्ति’ गर्न खोज्छ भन्छन्। सायद त्यसैले पो केशरीले सम्झिइन् कि!

छोरा, दुई ज्वाइँ बेपत्ता भएपछि विरह यसै चौगुनियो । भगवान् पुकार्ने नेवारी गीत गाइन्। बयलिँदै छिमेकी र जोरीपारी कानमा पनि पुगे। तिनले गरेको टिप्पणी पनि उसैगरी उनको कानमा पुग्यो, “केको दुःख छ ? छोराले ब्याङ्का फोरेको पैसा पाएर गाएकी छ। सुख छ नि। दुःख त देखाएको मात्र हो। ऊ सुन त, कस्तरी गीत गाउँछे?”

माओवादीले ‘बैंक फोरे’को पैसा त परै छ, एक सुका पनि नखाएको भन्दै कसम खाइन्। बरु आफूले माओवादीलाई सुम्पेका समर्पण, सम्पत्ति र समय सम्झिइन्।

‘दुःखमा पनि भगवान् सम्झन नपाउने’ भन्दै गीत त उनलाई छाडेर बाटो लाग्यो ।

अचेल सपनामा आउन छाडेको गीत सम्झँदै उनलाई यस्तो लाग्छ, ‘पहिले धेरै गाएर हो कि ?’

करिब आधा दर्जनपालि केशरीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटिन्। जतिपालि भेटिन् उतिपालि दाहालले भने, “हुन्छ हेरिरा”छु। हेर्दै छु।”

नारायणदेवीले मःम पसल खोलेकी छन्। कान्छी गंगा दम्पती गार्मेन्ट चलाउँछन्। अहिले उनको जेठा पुत्र देवेन्द्रबाहेक कोही पनि सक्रिय राजनीतिमा छैनन्।

बेपत्ता नारायणदेवीपति भक्तपुर कटुन्जेका थिए भने रुवीपति ठेचोका।

केशरीमन जति निराश भए पनि उनका आँखामा भने हरेक रात सुत्नुअघि आउँछन्, छोरा र ज्वाइँहरू। र, कामना गर्छिन् कि, सपनामा भए पनि भेटौँ। एकैठाउँमा छोरा र दुई ज्वाइँलाई “सकुशल” देखौँ। हुन्छ भने त “विपना”मै देखौँ।

“यत्रो वर्ष भयो । कति सम्झेर सुत्छु । सुन्न र देख्न पाए कसो होला भनेर जहिल्यै सोच्छु। मेरा ज्वाइँ र छोरालाई सपनामा पनि देखाउँदैन। यत्रो वर्ष भयो, एकपालि पनि सपनामा देखाउँदैन। कति सम्झेर सुत्छु,” उनले भनिन्, “पहिले धेरै रोएर हो कि ? पहिले धेरै सपना देखेर हो कि ?”

यस्ता समाचारले मरुभूमिमा कान ठड्याउँदै पलाएको पालुवाजसरी आमामन पलाउँछ, “कुनै दिन मेरो छोरा र ज्वाइँ पनि टुप्लुक्क आइहाल्छन् कि !” छोरा र ज्वाइँ खोजीमा निक्लेको आमामन अझै फर्केको छैन।

सर्जना रोकामगर

रोल्पा थबाङ राचिबाङकी सर्जना रोकामगर। उनका एक मात्र छोरा लालमणि (कमरेड एटम) जनमुक्ति सेना थिए। सेनाको पनि उनी त अर्बान गुरिल्ला जसलाई माओवादीले नाम दिएको थियो, एसटीएफ। उनको कार्यक्षेत्र थियो, दाङ।

भर्खर २५ वर्षमा लागेका उनलाई शाही सेनाले समात्यो भनेर आमा सर्जनाकहाँ खबर पुग्यो। छोरा खोजमा घोराहीका ब्यारेक र पुलिसचौकी धाइन्।

समाएको भनिएको थियो, २०५९ साउन १ गते।

उनका पति दुतेका सहोदर दाजु आशबहादुरलाई पनि शाही सेनाले मार्‍यो। दुई भाइ वृद्ध फुपू घर चालाबाङ गएको बेला मारेको थियो। त्यसबेला रोकाबन्धूसहित पाँच सर्वसाधारण मारिएथे।

त्यसअघि नै हो, सर्जनाका कुष्टिम र राँचीबाङका दुई घर शाही सेनाले जलाएको। अजम्मरी जनकम्युन मास्तिर जलेर चोसेमोसे उभिएको घरमै सर्जना ओत लागेकी थिइन्, नातिनी (अजयक्रान्ति) र बुहारी (पूर्णा) का साथ।

अजम्मरी कम्युनले नै त्यो घर मर्मत गरिदिएको थियो। जनयुद्धकालमा माओवादीले चलाएका चार कम्युनमध्ये एक थियो, अजम्मरी जनकम्युन। बाँकी तीन ओटामा रोल्पा जेलबाङको जलजला कम्युन, रुकुम छिपखोलाको बलिदान कम्युन र जाजरकोट जुर्कनिपानेको जुनी कम्युन थिए।

“छोराका न लास भेटियो न सास,” माओवादीले सहिद घोषणा गरिसके पनि एकदिन छोरो आउँछ जसरी भनेकी थिइन्, “एक दिन त आउँछजस्तो लागिरहन्छ।” कतै बेपत्ता पारेको भए कुनै दिन आमा भन्दै टुप्लुक्क आइहाल्छ कि भन्ने आमामन आशमा हुँदाहुँदै तीन वर्षअघि सर्जनाले सदाका लागि आँखा चिम्लिइन्।

जनयुद्धकालीन रोल्पा र मिनी रोल्पा

सरकारी आँखामा जनयुद्धकालभर सर्जनाको रोल्पा र गया-लोटनको मिनी रोल्पा (बर्दिया)का ढुंगामाटो पनि माओवादी थिए। आतंककारी थिए। त्यसमा पनि सरकारले पहाडमा मगर र तराईमा थारूलाई माओवादी बिल्ला भिराउँथ्यो। त्यसैले रोल्पामा किलो सेरा टु, रोमियोजस्ता सरकारी अपरेशनका बेला माओवादीको नाउँमा सरकारले सर्वसाधारण मारिए। बेपत्ता पारिए। अंगभंग पारिए।

मिनी रोल्पाको पनि राजापुरमा धेरै थारू बेपत्ता पारिए। बलात्कृत भए। अंगभंग भए। मारिए।

बर्दियाबासीले भौराटप्पा (राजापुर)लाई श्रीलंका नाउँ दिएका छन्। कारण- राजापुरका भूभाग दुई भङ्गलामा बाँडिएको कर्णाली र गेँह्रुवाबीचमा छ। अर्थात् भौराटप्पा त श्रीलङ्काजस्तै टापु छ। भौराटप्पा अर्थात् श्रीलङ्कामा सरकारी चर्को दमन भयो। जनयुद्धमा सबभन्दा बढी बेपत्ता पारिएको बर्दियाको पनि भौराटप्पामा सबभन्दा बढी बेपत्ता पारिए।

थारूले गुल्जार बनाएका उब्जाउ र सामरिक महत्वको बर्दियामा राणाकालमा मौजा र बिर्तावाल “राज” चल्यो। मौजावाल छोटे राजा बिगबिगी बेहोरेपछि जिम्दार राज। भूमिपति र भूमिपुत्र थारू आफ्नै भूमिमा कमैयाँको रुपमा बँधुवा मजदुर भए। भौराटप्पा (राजापुर)ले भोगेको ‘छोटे राजा’ दमन र शोषण कसरी बयान गर्नू !

बर्दियाको कुल जनसंख्याको आधाभन्दा बढी थारू छन्। दाङ र देउखुरीबाट ‘भुरान’ जाने भन्दै कति खेदिएर त कति आफन्तसँगै बर्दिया पुगेका थिए। दाङ, देउखुरीदेखि बर्दियासम्म तिनका दारुण यात्रा सुनिनसक्नु थिए।

बर्दियासहित कैलाली, कञ्चनपुर र बाँकेलाई नयाँ मुलुक भन्छन्। सुगौली सन्धिमा गुमेका यी भूभाग ४२ वर्षपछि नेपालले फिर्ता पाएको थियो। अंग्रेजविरुद्ध सैनिक विद्रोह दबाउन राणा शासकले सैन्य सहयोग गरेकाले ती भूभाग नेपालले पाएको हो।

इन्सेकका अनुसार बर्दियामा २२० बेपत्ता छन् भने अपांगता भएका ३६। जुन संख्या सबभन्दा बढी हो अर्थात् सबभन्दा बढी बेपत्ता पारिएको जिल्ला बर्दिया हो। बर्दियाको पनि टापु जिन्दगी जिइरहेको थारू बाहुल्य भौराटप्पाबाट सबभन्दा धेरै बेपत्ता पारिएका छन्।

इन्सेक भन्छ- बर्दियामा बेपत्ता, मारिने र अंगभंग ८४ प्रतिशत अर्थात् १३५ जना थारू छन्। जसमा १२३ पुरुष छन् भने १२ महिला र २१ बालबालिका। पीडित महिला र बालबालिका सबै थारू समुदायका छन्।

पीडितलाई न्याय दिने आयोग !

सरकार र माओवादीले शान्ति सम्झौता गरेको आइतबार १५ वर्ष पुग्यो। सरकारको तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही माओवादीको तर्फबाट पुष्पकमल दाहाल प्रचण्डले बृहत् शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। हस्ताक्षरसँगै नेपालमा माओवादी नेतृत्वको १० जनयुद्धको औपचारिक अन्त भएको थियो।

रोल्पा र मिनी रोल्पा तथा भक्तपुरमामात्र होइन, देशभर जनयुद्धकालमा सयौं मारिए। बेपत्ता पारिए। अंगभंग भए। धनजनको क्षति भयो। तिनका लेखा लगाउन र पीडित न्याय दिलाउन दुई आयोग गठन गर्ने शान्ति सम्झौतामै उल्लेख गरियो।

जसलाई शान्ति प्रक्रियाका तीन मुख्य तीन काम भनियो। तीमध्ये सेना समायोजन मात्र सकिएको छ। बाँकी दुईमध्ये बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन हुन्, जसको काम अहिलेसम्म पनि सकिएको छैन।

शान्ति सम्झौतामा छ महिनाभित्रै आयोग गठन गर्ने भनिए पनि नौ वर्षपछि आयोग गठन भयो। ती आयोगका म्याद थपिँदैआएका छन्। बेपत्ता आयोगमा करिब तीन हजार उजुरी परेको छ भने सत्य निरुपण तथा मेलमिलाप आयोगमा करिब ६० हजार।

आयोगमा कांग्रेस, एमाले र माओवादी भागबण्डामा तिनका निकटका प्रतिनिधि छन्। स्मरणीय त के भने, अहिले द्वन्द्वका सरोकारवाला दुवै दल कांग्रेस र माओवादीकै सरकार छ। तर, तिनका चासो र सरोकार पीडितलाई न्याय दिलाएर सल्टाउनेप्रति देखिन्न।

सरकारको तर्फबाट नेतृत्वमा रहेका शेरबहादुर देउवा नै युद्धकालमा सरकारको नेतृत्व गरेका थिए। उनी नै प्रधानमन्त्री छन्। विद्रोही माओवादीको तर्फबाट माओवादी सुप्रिम कमाण्डर प्रचण्ड नै दुईपालि प्रधानमन्त्री भए। तर, तिनका प्राथमिकता र चासो पीडितलाई न्याय दिलाउनेमा देखिन्न।

सायद यसैले होला, आयोगले न्याय दिनेबारे पीडितका न ‘आश’ छ न त ‘भर’।

“पीडितलाई न्याय चाहिएको छ। सरकार त पीडितलाई परिपुरनको राहत दिन पनि तयार देखिन्न,” बेपत्ता परिवार राष्ट्रिय सञ्जाल महासचिव एवं द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष भागिराम चौधरीले भने, “सरकार, सरोकार राख्ने सरोकारवाला, डलरबादी, अन्तर्राष्ट्रिय समुदाय कसैले पनि पीडितको पक्षमा अघि सर्दैनन्। चुरो कहाँ छ, भेउ नपाउनेगरी गिजोलियो।”

गया, लोटन, इन्द्रकेशरी र सर्जनाहरू? आयोगले तिनलाई खोज्ला र न्याय दिलाउला? प्रश्न अनुत्तरित छ।

पीडितका पर्खाइ

न माओवादी नेता न त सरकारी अधिकारी नै गया, लोटन, इन्द्रकेशरीलाई भेट्न गएका छन्। शान्तिप्रक्रियापछि दल कार्यकर्ता र सरकारी मान्छेले द्वन्द्वपीडित राहत पाएका छन्। उनकै गाउँका जिम्दारले पनि जग्गा फिर्ता पाएका छन्। राहत पाएका छन्।

लोटन त गाउँका आफूजस्तै दिदीबहिनीसँग कुरिरहेकी छन्। उनका दिदीबहिनी कोही पतिलाई त कोही बाबालाई र कोहीले छोरा वा छोरी पर्खिरहेका छन्। यातनापीडित गयाहरू पनि न्याय पर्खिरहेका छन्।

“म त यातनाको कारणले मर्छु। हुन त हरेक मान्छे मर्छ। मरे भने बल्ल सरकारले राहत दिने हो त,” गयाले सोधे। पर्खौं। तर, पर्खनुपर्ने पो कति हो? पर्खंदापर्खंदै सर्जना बितिन्। गया आँखा न्याय पाउने बाटो हेर्दाहेर्दै पहेलिएका छन् भने इन्द्रकेशरी र लोटन लोचन बेपत्तालाई र न्याय पर्खेर।

पर्खनु छ। पर्खनुपर्ने पो कति हो? न गयालाई थाहा छ न त लोटन र इन्द्रकेशरीहरूलाई। कहिलेसम्म यसरी चुपचाप पर्खेलान्? यसरी चुपचाप पर्खेर न्याय पाउलान्? गया, लोटनकुमारी र इन्द्रकेशरी भन्दै थिए, “मरेपछि केको न्याय? केको स्याय। नमर्दै पाए पो न्याय!”

0
0
0
0
0
0

No comments:

Post a Comment