Friday, January 7, 2022

गिरिजा : पहिले ‘खलनायक’ पछि ‘महानायक’

कांग्रेस सभापति-६

 

नवीन विभास

गिरिजा : पहिले ‘खलनायक’ पछि ‘महानायक’

पिताजीले सोध्नुभयो, ‘तँ नौटंकी हेर्न गएको थिइस्?’ म धर्मसंकटमा परेँ। पिताजीले थाहा पाइसक्नुभएको थियो। झुटो बोले पनि साँचो बोले पनि मार खाइने पक्का भइसकेको थियो। मलाई अब पिताजीले दुई थप्पड हान्नुहुन्छजस्तो लाग्यो। चुपचाप बसेँ। पिताजीले फेरि सोध्नुभयो, “तँ गएको थिइस्, होइन त?” म बोलिनँ।

आफ्नो आदेशविपरीत नौटंकी हेर्न जानुको सजायस्वरूप पिताजीले भन्नुभयो, “ल आजदेखि बगैचामा कोही माली जाँदैनन्, कोही नोकर जाँदैनन्। १५ दिनसम्म तैले पानी बगैचामा पानी पटाउनुपर्छ।”

नियमित पानी पटाउने काम शुरु भयो।

एकदिन पिताजीलाई भनेँ, “बरु दुई थप्पड लगाएको भए हुन्थ्यो। मलाई साथीहरूले हेप्ने काम किन लगाउनुभयो?”

पिताजीले भन्नुभयो, “हेर मैले रिसमा आएर दुई थप्पड हानेको भए मेरो रिस तेरो गालामा पोखिन्थ्यो। तर पानी हाल्न लगाएर बगैंचा राम्रो भयो। फूल फुले-गिरिजाप्रसाद कोइराला, आफ्नै कुरा, पेज १८)।”

नौटंकी हेर्न गएर सजाय पाउने अरू कोही थिएनन्, थिए, बीपी कोइरालाका कान्छा भाइ तथा कांग्रेस पूर्वसभापति र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला। पिता त कृष्णप्रसाद कोइराला भइहाले।

कान्छा कोइरालाले पनि संसदीय चुनावबाट चुनिने दोस्रो प्रधानमन्त्री हुने मौका पाएँ। पहिलो त बीपी छँदैथिए। बीपी २०१५ को पहिलो संसदीय चुनावबाट प्रधानमन्त्री बनेका थिए। अर्का दाजु मातृका पनि प्रधानमन्त्री भए।

९७ वर्षअघि कोइराला जन्मँदा कृष्णदम्पती भारतमा निर्वासित थिए। उनकी आमा दिव्याको गर्भमै हुँदा नै कृष्ण दम्पतीले उनको नाम जुराइसकेका थिए, गिरिजा। छोरी भए पनि छोरा भए पनि नाउँ गिरिजा।

मजदुर आन्दोलनबाट कोइरालाले राजनीतिमा डेब्यु गरेका थिए। त्यो पनि आफ्नै गृहनगर विराटनगरबाट। त्यो थियो, २००३ को विराटनगर जुट मिलको मजदुर आन्दोलन।

बीपी कोइराला लेख्छन्, “१९४७ मार्चको कुरा हो। मार्चमा त्यो आन्दोलन शुरु भयो। त्यो आन्दोलन गिरिजाको नेतृत्वमा भएको थियो। मजदुरको हक अधिकार थिएन। मील मालिकले जे मान लाग्यो, गथ्र्यो। गिरिजाहरू त्यस मीलमा कारिन्दाको रूपमा काम गर्थे। गिरिजा, तारिणी, मनमोहन अधिकारी, युवराजहरू त्यस मिलका कर्मचारी थिए (बीपी कोइराला, आत्मवृत्तान्त, पेज ४२)।

आन्दोलन भएपछि मील मालिक र राणा सरकार एक भए। मजदुर पनि एक भए। मजदुर गलामा गला मिलाउन भारतीय पनि थपिए। आन्दोलनलाई सहयोग गर्ने मुख्य व्यक्तिहरूमा भारतीय उपन्यासकार फणीश्वरनाथ रेणु र डाक्टर कुलदीप झा पनि थिए(राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग १, पेज ७८)।

त्यो आन्दोलनले हलचल मच्चायो। त्यसको कति परेको थियो भन्ने कुरामा बीपीले लेखेका छन्, “मजदुर आन्दोलन नेपालको भूमिबाट भएको पहिलो राजनीतिक आन्दोलन थियो, त्यो। कत्रो स्पन्दित गर्‍यो देशलाई र कति अनुकूल प्रतिक्रिया आयो यसको (बीपी कोइराला, आत्मवृत्तान्त, पेज ४३)।

आन्दोलनसँगै मजदुर सभा गठन भयो। जसको अध्यक्ष गिरिजाप्रसाद कोइराला भए भने महासचिव बने, मनमोहन अधिकारी (राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग १, पेज ८०)।

२००७ को सशस्त्र क्रान्तिमा होमिए। २००७ पछि कांग्रेस मोरङ कांग्रेस सभापति भए।

राजनीतिक विश्लेषक कृष्ण खनाल भन्छन्, “कोइरालाले बीपीसँगै राजनीति गरेको भने पनि हुन्छ। तर उनको राजनीति बीपीमा आश्रित थियो। बीपी रहुन्जेल उनले पार्टीमा आफ्नै छुट्टै भूमिका खोजेको देखिन्न (गिरिजाप्रसाद कोइराला, आफ्नै कुरा, च)।” भलै उनले पार्टी सत्तामा भने रहे। झण्डै एक डेढ दसक त कांग्रेस महामन्त्री भए। २०४६ को आन्दोलन हुँदा उनी महामन्त्री थिए।

कोइराला खलकीय तेस्रो सभापति हुने अवसर भने कोइरालाले केही समय कुरे। उनी त्यस्तो बेलामा पार्टी सभापति भए जुन बेला कांग्रेसभित्र झगडा चुलिएको थियो। माओवादीले जनयुद्ध भर्खरै थालेको थियो। वाम खेमाबाट कोइरालाको चर्को विरोध पनि भइरहेको थियो।

२०४६ सालको आन्दोलनले जनतामा आएको परिवर्तनको भोक मेटाउने नसक्दा सरकारमा जाने दल र तिनका नेताका आलोचनाको ग्राफ बढिरहेको थियो।

त्यस्तो परिवेशमा २०५३ वैशाख २७–३१ गतेदेखि काठमाडौं नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कांग्रेसले आफ्नो नवौं महाधिवेशन आयोजना गर्‍यो। गिरिजाप्रसाद कोइरालालाई टक्कर दिन चिरञ्जीवी वाग्ले र रामहरि जोशी सभापति तम्से।

वाग्लेलाई गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतको साथ र सहयोग थियो। यति हुँदाहुँदै पनि कोइराला भारी मतले विजयी भए।कोइरालाले १ हजार १ सय ४४ मत पाएका थिए भने वाग्लेले २५४ मत। जोशीले १२ मतमात्र पाएका थिए (ध्रुव सिम्खडा, सभापति बन्न इतिहासदेखि अहिलेसम्म उस्तै होडबाजी, कान्तिपुर, मंसिर १७, २०७८)।

कोइरालालाई अर्को दसौं महाधिवेशनमा चुनौती दिन उनै जोशीसँगै शेरबहादुर देउवा पनि थपिए। २०५७ माघ ६-१० गतेसम्म पर्यटकीय नगरी पोखरामा सम्पन्न उक्त महाधिवेशनबाट कोइरालाले ९३६ मत ल्याएर जिते।

देउवाले ५०७ मत ल्याए भने जोशीले १० मत। यसै महाधिवेशनदेखि सभापतिमा विजयी हुन खसेको मतको ५० प्रतिशत कटाउनुपर्ने विधानमा व्यवस्था गर्‍यो (ध्रुव सिम्खडा, सभापति बन्न इतिहासदेखि अहिलेसम्म उस्तै होडबाजी, कान्तिपुर, मंसिर १७, २०७८)।

आफ्नो जीवनको उत्तरार्धतिर कोइरालाले अर्का कोइराला सुशीललाई कार्यवाहक दिए।

कोइरालाको सिंह-भट्टराईसँग टकराव

बीपी गए। गणेशमान सिंह, कृष्णप्रसाद भटराई र गिरिजाप्रसाद कोइरालाले कांग्रेसको काँध हाले। बीपीले यी तीनजनालाई नै कांग्रेस जिम्मा लगाएर गएका थिए।

हरि शर्मा भन्छन्, “मलाई सम्झना छ, हामी चाबहिलको घरमा बीपीलाई भेट्न लाम लागेर बसेका थियौं। उहाँ आफ्ना कार्यकर्ता र शुभेच्छुकहरूसँग समूह-समूहमा भेट्दै हुनुहुन्थ्यो। ती सबैसँग आफू उपचार निम्ति जान लागेको र फर्केर आउँदा कस्तो परिस्थिति होला भनेर कुराकानी गर्नुहुन्थ्यो। कम्पनयुक्त मसिनो स्वरमा उहाँ भन्नुहुन्थ्यो, ‘तपाईंहरू सबै मिलेर बस्नुहोला। मैले पार्टी तीन जना योग्य नेताहरूको हातमा छाडेको छु।’ यसो भन्दा उहाँले तीन नेताको नाम क्रमैसँग लिनुभयो – गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला।

शर्माका अनुसार पार्टीमा योगदान र सम्मानका दृष्टिले पनि यी तीन नेताको नाम यही क्रममा आउँथ्यो। विद्यार्थीहरू नारा लगाउँदा सबभन्दा पहिला सिंहको नाम लिन्थे। त्यसपछि भट्टराई र आखिरीमा कोइरालाको नाम आउँथ्यो। कुनै सभा-समारोहमा आसन ग्रहण गराउँदा यी तीन जनालाई यही क्रमअनुसार राखिन्थ्यो भने कुनै कार्यक्रमको पोस्टर वा पर्चामा यही क्रमअनुसार तस्बिर छापिन्थ्यो।

शर्मा थप्छन्, “कृष्णप्रसाद भट्टराईले जिन्दगीभरि नेपालभित्र बसेर राजनीति गर्नुभयो। उहाँ विद्रोही र विनोदी स्वभावको हुनुहुन्थ्यो। गाह्रोभन्दा गाह्रो प्रश्नमा सजिलोसँग जवाफ दिनुहुन्थ्यो। गणेशमान सिंह बीपीसँग लामो संगत भएको व्यक्ति हुनुहुन्थ्यो। उहाँलाई संघर्ष, बलिदान, अटल साहस र विश्वासको प्रतीक मानिन्थ्यो। उहाँकै नेतृत्वमा चाक्सीबारी घरबाट २०४६ सालको जनआन्दोलनको बिगुल बज्यो।

त्यही भएर उहाँको घर लोकतन्त्रमा विश्वास गर्नेहरूको निम्ति आस्थाको केन्द्र थियो। गिरिजाप्रसाद कोइरालाले भने सशस्त्र आन्दोलन, जहाज अपहरणदेखि विभिन्न संगठनात्मक गतिविधिमा सक्रिय नेतृत्वको भूमिका निर्वाह गर्नुभयो। बेग्लाबेग्लै विशेषता र फरक क्षमताका कारण उहाँहरू एकअर्काका परिपूरक हुनुहुन्थ्यो। बीपीले यही देखेर संयुक्त रूपमा पार्टी जिम्मा लगाउनुभएको थियो

२०४६ सालको आन्दोलनले राजनीतिक परिवर्तन ल्यायो। कांग्रेस राजकीय सत्तामा राज भयो। त्यसपछि तीन नेतामा टकराव शुरु भयो।
२०४७ वैशाख ३ गते राजासँग सिंहको भेट भयो। सिंहले आफू प्रजातन्त्रको वाचडग हुने र कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन सिफारिस गरे। त्यही अनुसार राजाले भट्टराईलाई राजाले प्रधानमन्त्री बनाए (राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग ८ पेज ७३)।

सिंह-भट्टराईसँग कोइराला द्वन्द्व काठमाडौं ५ को उपचुनावमा चुलीमा पुग्यो।

मदन भण्डारी दासढुंगामा मारिए। रिक्त काठमाडौं ५ को उपचुनावमा भण्डारीपत्नी विद्या भण्डारीलाई एमालेले उठायो। २०४८ को चुनावमा भण्डारीले काठमाडौं १ र ५ बाट जितेका थिए। उनले १ छाडेपछि एमालेबाट नारायण ढकालले जितेका थिए। काठमाडौं ५ को उपचुनावमा भट्टराईको उम्मेदवार भए। भट्टराई उम्मेदवार भएपछि कोइराला गुटलाई लाग्यो कि, भट्टराई चुनाव जितेर प्रधानमन्त्री हुन चाहन्छन्। त्यसैले उनलाई हराउन पर्छ। कुनै हालतमा जिताउन हुन्न।

भट्टराई पक्षधरले कोइरालाले कांग्रेसलाई बदनाम गराएको, राम्रा काम गर्न नसकेको भन्दै राजीनामा माग्दै थिए।

गणेशमान सिंह, महेन्द्रनारायण निधि, जगन्नाथ आचार्यलगायतका नेताले चुनाव प्रचारमा भाषण गरे, “भट्टराईले चुनाव जितेमा उनी नै प्रधानमन्त्री हुनेछन् (राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग ९, पेज १८४)। बदलामा कोइरालाले भट्टराईलाई किन जिताउने भनेर विज्ञप्ति नै जारी गरे।

झगडा अक्कासियो। अन्तमा सिंह, कोइराला र भट्टराई तीन नेताबीच सम्झौता भयो। विज्ञप्ति पनि जारी गरे। तर सम्झौता कामयावी भएन। भट्टराईले चुनाव हारे। भट्टराई पक्षले कोइरालाको अन्तर्घात भन्यो। यसले बिकराल रूप लियो।

राजनीतिशास्त्री शर्माले भनेका छन्, “गणेशमान सिंहले आफूलाई अभिभावकको भूमिकामा सीमित गरेका बेला दोस्रो मर्यादाका नेता कृष्णप्रसाद भट्टराई पनि चुनाव हारेपछि मर्यादाक्रमको सबभन्दा तल्लो स्थानमा रहेका गिरिजाप्रसाद कोइराला एकाएक प्रधानमन्त्रीको सर्वोच्च पदमा आसीन हुन पुग्नुभयो।”

उनले भनेका छन्, “यसले अनौठो परिस्थिति निर्माण गर्‍यो। जुन बेला कोइराला प्रधानमन्त्री हुनुभयो, त्यो बेला संसदीय दलको बैठकधरि बसेन, बरू संसदीय बोर्डको बैठक बस्यो। केन्द्रीय कमिटी र बोर्डले कोइरालालाई प्रधानमन्त्री चयन गर्‍यो। उहाँको नाम प्रस्ताव गर्ने गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई नै हुनुहुन्थ्यो। सांसद नै नरहेका यी दुई व्यक्तिबाट कोइराला प्रधानमन्त्री चुनिएको घटना अहिले असहज लाग्न सक्छ, तर त्यो बेला कांग्रेसले सहज रूपमा लिएको थियो।”

शर्माका अनुुसार कोइराला प्रधानमन्त्री भएपछि कांग्रेसभित्र लामो समयदेखि रहेको मर्यादाक्रमको मनोविज्ञान भंग भयो। गणेशमान, कृष्णप्रसाद हुँदै गिरिजाप्रसादलाई तेस्रो मर्यादाक्रममा हेर्दै आएका नेता तथा कार्यकर्ताले कोइरालालाई प्रधानमन्त्री पदमा सजिलै स्विकार्न सकेनन्।

यसका कारण थिए। सिंह, भट्टराई र कोइराला र तिनका वरिपरिका समूह पनि भिन्नभिन्न मनोविज्ञान र पृष्ठभूमिका थिए। शर्मा कथन छ, “कोइराला निकटका मान्छे धेरैजसो उहाँसँगै संगठनमा काम गरेकाहरू थिए।

भट्टराई निकटका नेता-कार्यकर्ता काठमाडौंमै रहेर राजनीति गरेका र नेविसंघको राजनीतिबाट आएकाहरू थिए। अनुभव, संगत र विचार विनिमयका आधारमा उनीहरू एकअर्कासँग भिन्न थिए। यसलाई म अन्यथा लिन्न, तर यस्तो सामाजिक परिस्थितिले पार्टीभित्र एक किसिमको विग्रहको सूत्रपात भने गरायो। यसले राजनीतिक संस्थाहरूको केन्द्रबाट पहिलेका मान्छे सबै हटे र यस्तो समूहको प्रवेश भयो, जसलाई राजनीतिक संस्थाहरूले चिनेकै थिएनन्, वा काठमाडौंले चिनेको थिएन।

कोइराला काठमाडौंको निम्ति ‘आउटसाइडर’ हुनुहुन्थ्यो। उहाँलाई बीपीको भाइका रूपमा मात्र काठमाडौंले चिन्थ्यो। उहाँको रहनसहन, उठबस र लवाइखवाइ पनि काठमाडौंसँग मेल खान्थेन। काठमाडौंको त्यो बेलाको राजनीतिलाई ‘इन्साइडर भर्सेस आउटसाउडर’ का रूपमा लिने गरिन्छ।

यसरी ‘आउटसाइडर’ व्यक्ति राजनीतिक संस्थाको केन्द्रमा आएकाले पनि पार्टीभित्र र बाहिर गतिरोध उत्पन्न भएको हो कि भन्न सकिन्छ।

बिग्रह मौलायो। अन्ततः कांग्रेसभित्र ३६ जना सांसदको असन्तुष्ट समूहले संसदमा अनुपस्थित रहेर कोइराला सरकारको नीति तथा कार्यक्रम फेल भयो।

पार्टीभित्रको असन्तुष्ट छत्तीसे समूह कोइरालाको विपक्षमा उभियो। प्रतिपक्षी एमालेले पटक-पटक प्रधानमन्त्री कोइरालाको राजीनामा माग्दै संसद अवरुद्ध गरेको थियो। चाहे त्यो निजामती कर्मचारीको आन्दोलनमा होस् वा टनकपुर सम्झौता, मदन मण्डारीको दुर्घटनापछि होस् वा नयाँबानेश्वरमा भारतीय प्रहरीको आगमनमा।

लेखक जगत नेपालका अनुसार कांग्रेसमा दुईवटा ‘स्कुल अफ थट’ छ।

एक, २००७ सालको क्रान्तिपछि भारतमा निर्वासनमा बसेको समूह।

दुई, नेपालमै बसेको समूह। लेखक नेपालका अनुसार काठमाडौंमा बसेको तर निर्वासनको अनुभव नभएको भट्टराईहरूको समूह थियो।निर्वासनबाट आएको तर लडाकु जमात गिरिजाप्रसाद कोइराला गुट थियो। तिनका बुझाइमा फरक थिए। पृष्ठभूमिका कारणले पनि ती समूहमा मतान्तर थियो।

यसैलाई अर्को तरिकाले पनि भन्न सकिन्छ।

एक, काठमाडौंभित्रकोे इन्साइडर। दुई, काठमाडौं बाहिरको आउटसाइडर। इन्साइडरको नेतृत्व गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले गरे भने आउटसाइडरको नेतृत्व गिरिजाप्रसाद कोइरालाले।

यही मतभेदलाई अर्को तरीकाले पनि हेर्न सकिन्छ। बीपी कोइरालाको राष्टिय मेलमिलाप मर्मअनुसार राजासँग नजिकिएर जानुपर्छ भन्थे गिरिजाप्रसाद कोइरालाले। नेपाल कथन थियो भने, “राजदरबार छेवैबाट जुलुस निकालेर राजालाई देखाइदिनुपर्छ भन्ने भट्टराई थिए।”

कोइरालासँगको मतभेदका कारण २०५० को अन्ततिर यति चुलियो कि, सिंहले जनजागरण अभियान नै थाले। अभियानको उद्देश्य थियो, नेपाली कांग्रेसको संस्थागत विकास गर्नु, कार्यकर्ताका सेवा र त्यागको कदर गर्नु, आन्दोलनकारीको मूल्य कायम गर्नु र निष्ठावान कार्यकर्तालाई प्रोत्साहित गर्नु (राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग ९, पेज २४०)।

अन्तमा सिंहले यति लेखेर पार्टी त्यागे, “म किन पार्टीमा बस्ने? पार्टीमा मेरो कुनै महत्व छैन। कुनै कदर छैन। अपमान, अपमान, त्यसपछि फेरि पनि अपमान। मलाई पार्टीको सर्बोच्च नेता भन्छन्। अपजस मैले भोग्नुपर्ने तर कामचाहिँ मनपरी हुने। म किन बसूँ पार्टीमा? पार्टीमै नबसेपछि अपसजको भागी त हुनुु पर्दैन। अपसमान त सहन पर्दैन। प्रजातन्त्र मासिएको म कसरी हेरूँ? आफू बसेको पार्टी प्रजातन्त्र हत्यामा सहभागी भएको म कसरी हेरिरहूँ? बरु आफू अलग हुन्छु (राजेश गौतम, भाग ९, पेज ३०४)।”

२०५१ भदौ ३१ गते सिंहले कांग्रेस त्यागे। भट्टराई र कोइरालाबीचको टकराव नसेलाई भट्टराई सक्रिय राजनीतिबाट अलग भए। अन्तमा कांग्रेस नै छाडे।

राजनीतिक विश्लेषक कृष्ण खनालका अनुसार २००३ सालमा सार्बजनिक राजनीतिक प्रारम्भ गरेका कोइराला २०४६ पछि दुई दशक नेपाली राजनीतिको केन्द्रविन्दु बने। चौथो कार्यकालमा कोइराला तथा सात दलका नेताहरूले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) सँग मिलेर माओवादी जनयुद्धको अन्त भयो।

२०६३ मङ्सिर ५ गते कोइराला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)) सँग विस्तृत शान्ति सम्झौता भयो। माओवादी जनयुद्ध सकियो। माओवादीलाई संसदीय धारमा ल्याएपछि कोइराला सत्ताआरोहनसँगै आलोचना चुलिने टनकपुर, धमिजा, लाउडा र चेज एअरजस्ता काण्ड पनि छायामा परे।

कांग्रेसका सभापति-५: सन्त नेताको कांग्रेस बहिर्गमन

कांग्रेसका संस्थापक, जो जीवनको अन्त्यमा पार्टीमै रहेनन्

कांग्रेसका सभापति-४: कांग्रेसलाई सफल बनाउने गुमनाम सुवर्ण

कांग्रेसका सभापति-३: बीपी कोइरालाः जसको अनुहार देखाएर कांग्रेस बाँचिरहेछ

कांग्रेसका सभापति-२: मातृकाप्रसाद कोइरालाः संयोगले सभापति, क्रान्तिको कमाण्डर र प्रधानमन्त्री

कांग्रेसका सभापति-१: टंकप्रसाद आचार्य: जो जेलमै दुई पार्टीका सभापति भए

0
0
0
0
0
0

No comments:

Post a Comment