काठमाडौं। ३१ वर्षमा लागेको राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गएको बुधबारदेखि काठमाडौंमा एकता महाधिवेशन जारी छ। अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन भिड्दैछन्। गणतन्त्र र धर्म निरपेक्ष देशमा राप्रपा भने संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डासहित आफ्नो महाधिवेशन गर्दैछ। नेपालको राजनीतिमा राप्रपा अहिले कहाँ छ? पञ्चायतको विरासत बोक्ने पार्टी राप्रपा महाधिवेशनपछि कस्तो शक्तिको रूपमा उदाउला? मूलधारका राजनीतिक दलहरू दक्षिणपन्थतिर ढल्किरहेको बेला प्रश्न उठेका छन्।
पञ्चायतको विरासत
२०४६ को जनआन्दोलनले ३० वर्षे पञ्चायत ढाल्यो। बहुदल आयो। कति पञ्च कांग्रेस पसे। तर, सबै पञ्च कांग्रेस पस्न सम्भव थिएन। पञ्चहरू कम्युनिष्टमा पस्न पनि गाह्रो थियो।
“कांग्रेसमा कहाँ हो कहाँ हराइने डर। कम्युनिष्टहरू अनुदार,” राजनीतिक विश्लेषक जयनेन्द्र जीवनले भने, “२०४७ जेठ १५ गते पूर्व पञ्चहरूले एकै दिन दुई पार्टी खोले। दुई धारको एकै दिन दुई भेन्यूमा खुल्यो, राप्रपा। जो कहिले मिल्ने र कहिले नमिल्ने गरिरह्यो।”
२००७ को आन्दोलनले १०४ वर्षको राणा शासन ढल्यो। उही राणा शासनको विरासत बोकेर २००७ पछि गोर्खा परिषद् पार्टी खुलेको थियो।
“२०४६ को आन्दोलनपछि पञ्चहरूले पनि पार्टी बनाउनुपर्छ भन्ने कुरा भयो। २००७ पछि गोर्खा परिषद् त दोस्रो पार्टी भएको थियो भने हामी मिले एक नम्बर नै हुन्छौँ होला भन्ने लागेको थियो। एक नम्बर नभए पनि दोस्रो त हुन्छौं,” तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य तथा पत्रकार पदम ठकुराठीले भने। एकै दिन खुलेका दुई पार्टीमध्ये एउटा पार्टीको नेतृत्व सूर्यबहादुर थापाले गरे भने अर्को लोकेन्द्रबहादुर चन्दले। थापाको पार्टीमा उदारवादी पञ्च सामेल भए भने चन्दको पार्टीमा अनुदारवादी।
अलगअलग पार्टीले कसरी चुनाव जित्नु? राप्रपा एक नभएर कांग्रेस कम्युनिष्टसँग कसरी भिड्नु? त्यसैले पञ्चहरूमाझ अब राप्रपा एक हुनुपर्छ भनेर आवाज उठ्यो। ठकुराठीले किन पञ्चका दुई पार्टी बने भन्ने किस्सा सुनाउँदै भने, “थापा(सूर्यबहादुर)ले बोलाएको बैठकमा मैले एक हुनुपर्छ भनेँ। मेरो भनाइप्रति सबै साथीहरूले ‘ठीक हो’ भन्नुभयो। एकछिनपछि थापाले मलाई अलग्गै कोठामा बोलाए। त्यसपछि भने –
तपाईंहरूले कस्तो कुरा नबुझेको? राजा(वीरेन्द्र)ले नै दुईओटा पार्टी खोल्ने बक्सेको हो नि। किन दुईओटा? अनुदारवादी चन्दकहाँ बस्छन् र उदारवादी मकहाँ रहन्छन्। चुनावअघि एक बनाएर चुनाव लड्ने हो। हामीले दुई पार्टी त राजाबाट नै हुकुम भएर खोलेको हो।”
२०४८ मा संसदीय चुनाव भयो। राप्रपा अलगअलग नै चुनावमा होमियो। थापा नेतृत्वको राप्रपाले एक सिट त चन्द नेतृत्वको राप्रपाले तीन सिट जिते।
टुट्दै र जुट्दै राप्रपा
चुनाव हारेका दुई राप्रपा एक भए। पहिलो महाधिवेशन(२०४९)ले सूर्यबहादुर थापालाई अध्यक्ष चुन्यो। लोकेन्द्रबहादुर चन्द र राजेश्वर देवकोटा क्रमशः नेता र सहअध्यक्ष भए।
२०५३ मा एमालेसँग मिलेर राप्रपाले सरकार नेतृत्व गर्यो। राप्रपा र एमाले गठबन्धन सरकार। चन्द प्रधानमन्त्री भए। थापा समूहले भने कांग्रेससँग गठबन्धन गरे। राप्रपाको थापा समूह र कांग्रेस सरकार बन्यो। थापा प्रधानमन्त्री बने। सरकार बनाउने र ढाल्ने विवादमै राप्रपा फुट्यो, २०५४ मा। दोस्रो महाधिवेशन(२०५५) मा थापा पुनः अध्यक्ष भए। प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर जबरा र कमल थापा क्रमशः उपाध्यक्ष, महासचिव र प्रवक्ता भए। २०५७ मा फेरि राप्रपा एक भयो।
पोखरा(२०६०)मा सम्पन्न तेस्रो महाधिवेशनमा पशुपति शमशेर जबरा अध्यक्ष भए। पद्मसुन्दर लावती, कमल थापा र रोशन कार्की क्रमशः उपाध्यक्ष, महासचिव र प्रवक्ता बने।
२०६१ मा राप्रपा फेरि फुट्यो।
थापाले राष्ट्रिय जनशक्ति पार्टी बनाए। २०६३ पुस २६ गते कमल थापाको नेतृत्वमा राप्रपा नेपाल बन्यो। थापा अध्यक्ष रहेको जनशक्ति पार्टी र पशुपति शमशेर जबरा अध्यक्ष रहेको राप्रपाबीच २०७० मा एकता भयो। २०७३ मा राप्रपाले महाधिवेशन गर्यो। जसबाट सर्वसम्मत अध्यक्ष चयन गरे पनि ६ महीनामै पार्टी फुट्यो। २०७४ भदौ २२ गते पशुपति शमसेर जबराले अलग्गै पार्टी बनाए। ३७ सिटको राप्रपा गएको संघीय संसद चुनावमा एक सिटमा झर्यो। २०७६ मा फेरि पार्टी एकता भयो।
विश्लेषक जयनेन्द्र जीवनले भने, “नेता धेरै र कार्यकर्ता थोरै भएको पार्टी हो। एकले अर्काको नेतृत्व नस्विकार्ने। अहिले त अध्यक्ष नै तीनजना छन्।”
राजनीतिमा राप्रपा
वैचारिक कुरा जे दिए पनि राप्रपाले पनि कांग्रेस, एमाले र माओवादीले जसरी एजेण्डाको भन्दापनि ‘शक्ति राजनीति’ गरेको देखिन्छ।
राप्रपा एक भएपछि सम्पन्न २०५१ को मध्यावधि चुनावमा राप्रपाले २० सिट ल्याएर सत्ताको साँचो आफ्नो हातमा ल्यायो। एमाले र कांग्रेसमध्ये जुन शक्तिलाई राप्रपाले समर्थन गर्यो, उसैको सरकार बन्ने स्थिति सिर्जना भयो। अर्थात् राप्रपाले त्रिशंकु संसदमा सत्ताको साँचो हात पार्यो। मनमोहन अधिकारी नेतृत्वको एमाले अल्पमतको सरकार ढल्यो। कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर राप्रपा सत्तामा पुग्यो। पञ्चायत ढलेपछि पूर्व पञ्चको पार्टी सत्तामा गएको यो नै पहिलोपालि थियो।
पञ्चायतमा खाईखेली आएका थापा र चन्द नै फेरि मुलुकको प्रधानमन्त्री बने। एमालेले चन्दलाई २०५३ मा प्रधानमन्त्री बनायो भने कांग्रेसले २०५४ मा थापालाई। पञ्चायत गए पनि नेपालमा पञ्चायत विरासत बोकेको राप्रपा नेता चन्द र थापा देशको कार्यकारी प्रमुख बने। अन्य दलको नेतृत्वमा राप्रपा सरकारमा गइरह्यो।
“राप्रपाले वैचारिक नारा जे दिए पनि यसको अभ्यास त २०५३ देखि नै ठूला पार्टी भिड्दाखेरि आउने जुन अफर छ, त्यसलाई स्विकारेर मन्त्री खाएको छ,” विश्लेषक जीवनले भने।
राजा ज्ञानेन्द्रले सक्रिय शासन थालेपछि राप्रपामा विवाद चुलियो। २०५९ मा चन्दलाई राजाले प्रधानमन्त्री बनाए। त्यतिबेला थापा राप्रपा अध्यक्ष थिए। पछि चन्दलाई हटाएर राजाले २०६० मा थापालाई प्रधानमन्त्री बनाए। चन्द र थापाबीच विवाद चुलिदै गयो। २०६१ माघ १९ मा राजाले पूरै शासन हातमा लिए। राजाको कदमलाई अध्यक्ष पशुपति शमशेर जबरा र पूर्वअध्यक्ष थापा दुवैजना विपक्षमा उभिए। कमल थापा भने पक्षमा उभिए। बन्यो, थापा नेतृत्वको राप्रपा नेपाल।
मूर्तरूप नलिने मुद्दा
नेपाल गणतन्त्र र धर्म निरपेक्ष बन्यो। थापा र जबराहरूले गणतन्त्र माने। कमल थापा भने संवैधानिक राजतन्त्र र हिन्दु राज्यको नारा लिएर अलग पार्टी बनाए। यसअघि पञ्च पार्टी जति जुँगाकै लडाइँका कारण अलगअलग भएका थिए। कमल थापाले राप्रपा नेपाल बनाउँदा भने जुँगाको लडाइँसँगै वैचारिक मतभिन्नता पनि देखिन्छ। कमल थापाले हिन्दु धर्म र गएको राजसंस्था ब्युताएर संवैधानिक राजतन्त्रको नारासाथ राजावादी दक्षिणपन्थी शक्तिको साथ लिएर आफ्नो राजनीतिक अस्तित्व खोजे।
नेपालमा गणतन्त्र घोषणा भएपछि एकथरी पञ्चले गणतन्त्र माने। जसमा सूर्यबहादुर थापा, पशुपति शमशेर जबरा पनि थिए। तिनले गणतन्त्र माने। राजतन्त्र गएपछि फर्केर आउने भन्ने कुरा पुरानो भयो भने। तर जबरा र प्रकाशचन्द्र लोहनी कमल थापाको विचारमा सहमत भएर पार्टी एकता गरे। उही पार्टीको एकता महाधिवेशनलाई शुभकामना दिँदा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘राप्रपा र आफ्नो राष्ट्रियताको गोत्र एउटै हो’ भने। सीपी मैनालीले राजा महेन्द्रको प्रशंसा नै गरे। राप्रपा महाधिवेशन उद्घाटनथलोमा मैनाली र दाहालबीच राप्रपासँग नजिकिने होड नै चल्यो।
हिन्दु राष्ट्रको एजेण्डालाई मलजल हुनेगरी एमाले अध्यक्ष केपी ओली लामो समयदेखि नै राम बोकेर अभियान नै थालेका छन्। उनका आलोचकहरू ओली र उनको नेतृत्वको एमाले वामपन्थबाट रामपन्थमा गएको भनेर आलोचना गरिरहेका छन्। कांग्रेसको एउटा कित्ता पहिलेदेखि जबर्जस्त हिन्दु राष्ट्रको पक्षमा छँदैछ। विवेकशील साझा पार्टी अध्यक्ष रविन्द्र मिश्र त थापाकै एजेण्डा वकालत गरिरहेका छन्। कांग्रेस, एमाले, माओवादी पनि क्रमशः ‘दक्षिणपन्थ’तिर ढल्किरहेकै बेला नेकपा माओवादी केन्द्रका महासचिव मोहन बैद्य किरणले कम्बोडियाका राजकुमार नरोत्तम सिंहानुकको उदाहरण दिँदै नेपालमा ‘राजाको अस्तित्व’को कुरा उठाएर आलोचित भइरहेका छन्। जनतालाई दलहरूले सुशासन दिन नसक्दा अहिले दक्षिणपन्थी राप्रपालाई पछ्याइरहेको पश्चगमन देखिन्छ। भलै त्यो संस्थागत देखिन्न।
“राप्रपाले अहिले संवैधानिक राजतन्त्र र हिन्दु धर्मको एजेण्डा बोकेको छ। २०६३ पछि व्यापक असन्तुष्टि बढेको बेला यस्तो एजेण्डा लिएको हो,” विश्लेषक जीवनले भने, “यो त विरासतको पार्टी हो। धेरै ठूलो बैकल्पिक शक्ति बन्ने सम्भावना मैले देख्दिनँ। एजेण्डा तत्काल लागू गर्ने पनि देखिन्न। तर एजेण्डा जीवित राख्न भने राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र भन्न नछाड्ला।”
जीवनका अनुसार राप्रपाले आउने चुनावमा तीन प्रतिशत कटाएर राष्ट्रिय पार्टी होला कि नहोला? यसै भन्न सकिन्न। जे होस्, कुनै दलले एक्लै सरकार बनाउने हैसियत नहँुदा सरकार बनाउने र ढाल्ने खेलमा सामेल भएर सरकारमा जाने छ। वैचारिक हिसाबले भने अहिलेको सरकारले जनमुखी काम गर्न नसक्दा, जनतालाई सुशासनको अनुभूति गराउन नसक्दा जनस्तरमा असन्तुष्टि चुलिएको छ। जीवनले भने, “जसरी अहिले हिन्दु धर्म र राजतन्त्रबारे कुरा उठेको छ, यसले जनमत संग्रहसम्म लान नसक्ला भन्न त सकिन्न।”
No comments:
Post a Comment