काठमाडौं। जनयुद्धको उत्तराद्र्धतिर भारतविरुद्धविरुद्ध ‘सुरुङ युद्ध’को घोषणा गर्ने माओवादी अहिले आफ्नो प्रतिवेदनमा भारतबारे मौन छ। नेतृत्वको यो मौनताबारे महाधिवेशन प्रतिनिधिहरूले प्रश्न उठाएका छन्।
‘‘भारतबारे किन मौन भएको हो? मित्रमा फेरिएको हो भने पनि व्याख्या चाहियो,” बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष सुनाउने टोली नेताहरूलाई उद्धृत गर्दै गुलाफ मगरले भने।
एमसीसी पास गर्न हुन्न भन्ने मुद्दा माओवादी महाधिवेशनमा जति दोहोरिएको थियो, भारतबारे मौन बस्न हुन्न भन्ने सवाल पनि त्यति नै दोहोरिएको मगरले बताए।
पार्टीले भारतप्रतिको धारणा प्रष्ट पार्नुपर्ने र यसरी मौन बसेर धर नपाइने प्रतिनिधिहरूको तर्क थियो। “माओवादीको भारतप्रतिको धारणा के हो? किटान गर्नुपर्छ,” उनीहरूले भने।
भारतप्रतिको माओवादी चासो चुलिनुका केही कारणहरू छन्।
”बिस्तारवादी भारत”
विगतमा माओवादीलगायत नेपालका कम्युनिष्ट पार्टीहरुले भारत ”बिस्तारवादी” देश हो र यसले वरपरका साना देशलाई हेलाहोचो गर्छ भनेर पढाए।
जसकारण, कम्युनिष्ट कार्यकर्ताका दिलदिमागमा भारतप्रति नकारात्मक धारणा बनाउन सहयोग पुग्यो। कम्युनिष्ट पार्टीहरुले आफ्ना कार्यकर्तालाई यसरी पढाए कि– ‘‘भारत भनेको गरीबहरुको शत्रु हो। यसले नेपाललाई हेपेको छ। उत्पीडन गरेको छ। भारतले दादागिरी गरेको छ।’’
यस्तो पाठ पढाउनेमा अन्य कम्युनिष्ट पार्टीभन्दा माओवादी एक कदम अगाडि नै थियो। अहिले आएर अध्यक्षले आफ्नो प्रतिवेदनमा भारतबारे केही नबोल्दा माओवादी स्कुलिङका कार्यकर्ता छक्क पर्ने नै भए। नेपालका जनवादी गायक–गायिकाहरुले भारतविरुद्ध गीत नै गाएका थिए ः बिस्तारवादी भारतको नीति, बिगार्दैछ सबैको स्थिति।
यस्ता गीत माओवादीले जनयुद्धकालमा रोल्पा रुकुमका डाँडाकाँडा हुँदै देशभर गुञ्जाएको थियो। बिस्तारवादी भारत मुर्दावाद भन्ने नारा पोतेर माओवादीले यसअघि घरका र सडकका भित्ता रंगाएको थियो।
सुरुङ युद्ध
मोहन वैद्य किरण, चन्द्रप्रकाश गजुरेल, लोकेन्द्र विष्टमगर, कुलप्रसाद केसीलगायत दर्जन माओवादी नेता भारतमा पक्राउ परे।
अध्यक्ष प्रचण्ड भारतविरुद्ध सुरुङ युद्ध लड्ने घोषणा गर्दै नेपाल फर्के। त्यसपछि उनी रोल्पाको राङ्कोट, राङ्सी, इरिबाङ, लोसेबाङलगायतका ठाउँमा बसेका थिए।
छिमेकी
आउ–जाउमा भिसा पनि नलाग्ने भारत यस्तो छिमेकी हो, जसको आर्थिक, सामाजिक, सांस्कृतिक सबै सम्बन्ध नेपालसँग ठोकिन्छ।
दक्षिण मधेस तथा पूर्व–पश्चिम सीमा क्षेत्रका नेपालीको त भारतीयसँग पारिवारिक नाता नै जोडिएको छ।
भारतीय सुरक्षा निकायमा नेपाली छन्। भारतीय राइलफल्समात्र होइन, आसाम राइफल्समा पनि नेपाली कार्यरत छन्। रोजीरोटीका लागि भारतीय नागरिक नेपालमा छन् भने नेपाली नागरिक भारतमा।
भारतविरोधी मनोविज्ञान
तुलनात्मक रुपमा शक्तिशाली भारतले नेपाल र नेपालीलाई हेपेको छ भनेर नेपालमा भारतविरोधी मनोविज्ञान जबर्जस्त छ।
यस्तो मनोविज्ञान बनाउन माओवादीलगायतका कम्युनिष्ट पार्टीहरुले लगातार प्रचार–प्रसार गरिरहेका छन्।
सीमा विवाद
लिम्पियाधुरादेखि देशका थुप्रै ठाउँमा नेपाल र भारत सीमा विवाद कायमै छ।
विवाद हल गर्नका लागि नेपालका राजनीतिक दलहरू गम्भीर भएको देखिदैंनन्, जसकारण कुटनीतिक पहल फितलो छ।
सन्धी सम्झौता
माओवादीलगायत कम्युनिष्ट पार्टीहरुले नेपाललाई भारतले ठगेको छ भनेर प्रचार गरे। कोशी, गण्डकी, महाकाली जस्ता सम्झौतामा नेपाल ठगिएको प्रचार उनीहरूले गरे।
नेपाल र भारतबीचका सन्धी र सम्झौता असमान छन् भनेर ब्याख्या गर्ने मामिलामा पनि कम्युनिष्ट नै अग्रपंक्तीमा छन्।
नेपालको राजनीतिमा भारतीय प्रभाव
भारतमाथि नेपालको माइक्रो म्यानेजमेन्टमै हात हालेको आरोप लाग्दै आएको छ। भारतले आफ्नो चासो सम्बोधन नगरी नेपालले संविधान जारी भएको भन्दै नाकाबन्दी नै गरेको थियो।
स्मरणीय त के भने, राजा त्रिभुवनले भारतमै शरण लिएका थिए। वीपी कोइराला र पुष्पलाल श्रेष्ठ भारतमै बसे।
२०४६ को आन्दोलनताका चन्द्र शेखरको भाषण सन्दर्भ त छँदैछ। पछिल्लो उदाहरणको रुपमा माओवादीसँगको १२ बुँदे सम्झौता छँदैछ।
नेपालको राजनीतिक क्षेत्रमा भएका सकारात्मक र नकारात्मक दुबैमा भारतको प्रत्यक्ष वा परोक्ष प्रभाव देखिन्छ।
चुरे दोहन
भारतसँग जोडिएको अर्को सवाल चुरे दोहन पनि हो राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागु हुँदाहुँदै पनि चुरे दोहन जारी छ। यसमा भारतलाई पनि जोडेर हेर्ने गरिन्छ।
विविध
महाकाली पार गर्न तुइन तरिरहेको बेला नेपालका जयसिंह धामी बगे। भारत पक्षले तुइन काट्दा धामी महाकालीमा बगे।
यसबारेमा अहिलेसम्म देखिनेगरी कुटनीतिक पहल भएको छैन।
माओवादीले यसपालि किन दस्ताबेजमा भारत राखेन होला? राजनीतिक विश्लेषक एवं लेखक राजेन्द्र महर्जन भन्छन्,”छिमेकी मुलुक भारत र चीनलाई शत्रु व्यवहार गरेर सरकारमा त के विपक्षी भूमिकामा पनि रहन गाह्रो कति गाह्रो छ भन्ने यथार्थता बुझेर हो कि? भारतले नेपालमा कस्तो भूमिका खेल्छ भन्ने यथार्थ पहिलेभन्दा बढी बुझेर पनि हो कि?”
महर्जन थप्छन्, ”माओवादीसँगै अरु दल पनि बोल्न छाडे। सायल अब त मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवमात्र होला कि?”
No comments:
Post a Comment