
काठमाडौं। महाधिवेशन कमाण्डर रामबहादुर थापा ‘बादल’ अबको एमालेमा के बन्लान्? अब बन्ने अध्यक्ष केपी ओलीले उनलाई अहिलेकै हैसियतमा कायम राख्लान् कि त्योभन्दा माथिको पद देलान्?
गोदावारी विधान महाधिवेशन र चितवन राष्ट्रिय महाधिवेशनमा ‘कमाण्डर’ बनाएजसरी बादलमाथि ‘ओली कृपा’ जारी रहला? चितवनमा शुक्रबारदेखि जारी एमाले महाधिवेशनमा ओलीको ‘सर्वसम्मति’ नामक अधिकनायकत्वमै ओझेल परेको छ।
एमाले र माओवादी एक हुँदा सचिवालय सदस्य बादल एमाले पूर्ववत् अवस्थामा आएपछि भने स्थायी समिति सदस्य हुन्। माओवादी बहुपदीयमा गएपछि बादल महासचिव थिए।
एमाले गोदावरी विधान महाधिवेशन र चितवन राष्ट्रिय सम्मेलनका बादल कमाण्डर हुन्। उनकै नेतृत्वमा विधान महाधिवेशन सकिएको छ भने राष्ट्रिय महाधिवेशन पनि सकिँदैछ।
के ओलीले बादललाई यस्तै सम्मानजनक हैसियत दिन ओली तयार होलान्? एमालेमा बादलको जस्तो हैसियत रहे पनि ओलीले बादललाई नकारेर जान सक्ने स्थिति भने छैन। यो जान्न ओलीले बादललाई गोदावरी विधान महाधिवेशन र चितवन राष्ट्रिय महाधिवेशनको कमाण्डर किन बनाए? भन्ने जान्न जरुरी छ। जसका कारण छन्।
एक, माओवादीविरोधी नेताका रूपमा स्थापित ओलीले पूर्व माओवादीको सेन्टीमेन्ट जित्न।
दुई, पूर्वमाओवादीलाई एमालेमा तान्न।
तीन, बादललाई कमाण्डर बनाएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रतिको ‘ओली रिस’ पोख्न।
चार, बादल चितवनबाट राष्ट्रियसभामा निर्वाचित थिए।
पाँच, चितवनकै अर्का सांसद १० बुँदेवाला सुरेन्द्र पाण्डेलाई ओलीले कमाण्डर बनाउने कुरा भएन। आफ्नो कोटरीकैलाई बनाउँदा (नबन्नेवाला रिसाउने) झमेला झेल्नुपर्ने थियो। कहीँबाट पनि विवाद नहुने उपयुक्त अनुहार बादल नै थिए।
अब बादल एमाले के पदमा देखिएलान्? के होला उनको भविष्य? बादललाई ओलीले पदाधिकारीमै लाने हुन्। तर कुन पद? कार्यकारी पद अध्यक्ष बादललाई दिने कुरा भएन। ओली नै दोहोरिने भएपछि अध्यक्ष बादल हुने कुरा भएन। अर्को कार्यकारी पद महासचिवमा ओली किचन क्याबिनेटकै विष्णु पौडेल र शंकर पोखरेलबीच मारामार छ।
वरिष्ठ उपाध्यक्षमा पनि ओली कोटरीकै ईश्वर पोखरेल र सुवासचन्द्र नेम्बाङको हानथाप भएपछि बादलले पाउने कुरा भएन। माओवादी महासचिव भइसकेका बादल एमाले उपमहासचिव र सचिव त हुने कुरै भएन। उसो भए बादलको कुन पद हो त? ओलीले बादललाई दिने उपाध्यक्ष हो। बादल उपाध्यक्षमै चित्त बुझाउँछन्।
यसैगरी, ओलीले बादललाई नकारेर जाने स्थिति पनि छैन। तर, बादलका लागि भन्दा पनि ओलीले आफ्नै स्वार्थपूर्तिका लागि बादललाई एमालेमा सम्मानजनक स्थानमा राख्नेछन्।
यसका कारण त माथि उल्लेख गरेका पनि दोहोरिन्छन्। तीमध्ये केही कारण यी हुन्ः
एक, ओली संकटको बेला बादलले काँध थापे। खासगरी तत्कालीन नेकपा (नेकपा)को सात सदस्यीय सचिवालयमा पुष्पकमल दाहाल र ओलीबीचको पद विवादमा बादलले ओलीलाई साथ दिएका थिए। बादल नहुँदा ओली लज्जास्पद अल्पमतमा पर्थे। प्रचण्ड पक्षमा माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ उभिँदा ओलीतिर उभिने बादल, ईश्वर पोखरेल थिए। वामदेव गौतम कहिले प्रचण्ड त कहिले ओलीतिर उभिए।
दुई, बादल देखाएर ओलीले पूर्वमाओवादीलाई एमालेमा पार्ने बल्छी थाप्नु छ। जसका लागि ओलीसँग दुई विधि अपनाउने छन्। एक, एमाले बनेका पूर्वमाओवादीलाई एमालेमै थाम्नु। नआएका पूर्वमाओवादीलाई एमालेमा तान्नु।
चितवन महाधिवेशन उद्घाटनमा ओलीले पूर्वमाओवादी (विशेषगरी पूर्वजनमुक्ति सेना) तान्न कोशिस गरे। एमालेमा न्याय दिने भनेर पूर्वजनमुक्ति सेनालाई एमालेमा आउन निम्तो दिए।
तीन, बादललाई देखाएरै ओलीले नेपालको तेस्रो जनसंख्यावाल मगर समुदायलाई प्रभावित पार्नु छ। एमाले आदिवासी जनजातिमैत्री पार्टी हो भनेर दाबी प्रस्तुत गर्नुछ।
त्यसैले ओली बादललाई पदाधिकारीमा सम्मानजनक पद दिन बाध्यात्मक स्थितिमा छन्।
एमाले गोदावरी विधान महाधिवेशन र चितवन राष्ट्रिय महाधिवेशनजस्ता दुवै महाधिवेशनमा ओलीले बादललाई कमाण्डरको भूमिका दिए। दुवै महाधिवेशनमा बादल नै कमाण्डर भएपछि पूर्वमाओवादी रहन सजिलो भयो। नेतृत्वको रूपमा बादललाई देखेर नै उनीहरू एमालेमा अडिएका छन्।
सर्वसम्मत् नभएर चुनावमा जाँदा आफूहरूलाई जिताउने कुरामा पूर्वमाओवादी आशंकित छन्। यसको कारण हो, गोप्य मत भएकाले भोट नदिने सम्भावना पनि छ। पूर्वमाओवादीको मात्र भोटले जित्ने अवस्था छैन। अध्यक्ष ओलीको प्यानलमै भए पनि पूर्वमाओवादीमा चुनिने कुरामा संशय बाँकी नै छ।
“हाम्रो लागि त यो नयाँ अनुभव हो। भोट हामीलाई दिन्छन् कि दिन्नन्? यसै भन्न सकिन्न। भोट हाल्दा त अध्यक्ष ओलीको निर्देशन नमान्न पनि सक्छन्,” रोल्पाबाट प्रतिनिधि बनेका पूर्ण बुढामगर (विमर्श) ले भने।
अहिलेसम्म कुरा नमिलेको ओलीकै दुई गुटको हो। तिनका कुरा मिलेपछि ओली १० बुँदेवाला १० जनाहरूलाई पेलेरै लाने देखिन्छन्। माओवादी त रमितेमात्र देखिन्छ।
“त्यस्तो दाबी गर्ने अवस्था (गणितको हिसाबले) मा हामी (पूर्व माओवादी) छैनौँ। फेस सेभिङ भए स्विकारेर जाने हो,” स्थायी समिति सदस्य मणि थापाले भने, “समग्र पार्टी मिलाउने बेला बादल र अरू पनि पदाधिकारीमा हुन सक्नुहुन्छ।” फेस सेभिङ भनेको पूर्वमाओवादीको कुनकुन तहमा कुन पद हो? त्यो भने उनले खुलाएनन्।
बादलका लागि उपाध्यक्ष दिन ओली तयार देखिन्छन्। तर, पदाधिकारीमा पूर्वमाओवादीका अरूलाई दिन्छन् कि दिन्नन्? यसै भन्न सकिन्न। स्थायी समितिमा बादल, थापासहित टोपबहादुर रायमाझी र लेखराज भट्ट छन्।
स्थायी समितिमा नरहे पनि प्रभाव र प्रत्यक्ष चुनाव जितेका पूर्वमन्त्रीद्वय प्रभु साह र गौरीशंकर चौधरी छन्। साह मधेशी नेतामात्र होइनन्, माधव नेपालको गृहजिल्लाका भएकाले ओलीको साहप्रति कृपा दृष्टि रहन सक्छ। नेपालको रिस पोख्न पनि साहलाई पदलाभ हुन सक्छ।
त्यसैगरी, थारू समुदायका मन जित्न चौधरीलाई ओलीले राम्रै पद दिलाउन सक्छन्। पूर्वजनमुक्ति सेनाबाट सबैभन्दा ठूलो ओहोदाका विवेक कुँवर मगर र दुर्गाबहादुर थारू छन्। ती दुवै जना पूर्वजनमुुक्ति सेना डिभिजन सहकमाण्डर हुन्। पूर्वजनमुक्ति सेनालाई एमालेमा तान्न पनि तिनलाई केन्द्रमा तान्ने सम्भावना छ।
No comments:
Post a Comment