Friday, January 7, 2022

‘सरल र बौद्धिक’ नेताको आगमनले बूढो कांग्रेसमा पालुवा लाग्ला ?

829Shares
facebook sharing button
twitter sharing button
messenger sharing button
‘सरल र बौद्धिक’ नेताको आगमनले बूढो कांग्रेसमा पालुवा लाग्ला ?

काठमाडौं । चार कक्षामा पढ्ने स्कुले विद्यार्थीलाई धुलाबारी पुलिसचौकीले पक्राउ गर्‍यो। कुन अभियोगमा? स्कुले झोलामा किताबसँगै कांग्रेसको पर्चा पनि बोकेकाले। पक्राउ घटना झापा वरपर फैलियो।

यो घटना थियो, २०३६ सालको। स्कुले झोलामा पर्चा बोकेर हिँड्ने विद्यार्थी थिए, कांग्रेस नेता परशुराम भण्डारीका छोरा विश्वप्रकाश शर्मा। १० कक्षासम्म शर्मासँगै पढेका सहपाठी इन्द्रबहादुर बुढाथोकीले ‘विश्वप्रकाश शर्माको धुलाबारी पुलिसथुना किस्सा’ सुनाउँदा शर्मा कांग्रेस महामन्त्री बनिसकेका थिए।

संयोग, उनीजस्तै नेपाल विद्यार्थी संघका पूर्वसभापति धनराज गुरुङ शेखर कोइराला प्यानलबाट केहीबेर अघिमात्र उपसभापति चुनिएका थिए। शर्मा त उनै गुरुङ नेपाल विद्यार्थी संघको सभापति हुँदा शर्मा महामन्त्री थिए। त्यसैगरी, नेपाल विद्यार्थी संघकै अर्का पूर्वमहामन्त्री गगन थापा शर्मासँगै कांग्रेस महामन्त्री भएका थिए।

कुल ४६८२ मतमा शर्माले १९८४ मत ल्याए। नेपाली कांग्रेसका प्रवक्ता शर्मा युवापुस्तामाझ लोकप्रिय छन्। शर्मा प्रकाशमान सिंह समूहबाट महामन्त्री उम्मेदवार थिए। शेखर कोइराला प्यालनका गगन थापाले सर्वाधिक बढी ३ हजार २३ मत ल्याएर महामन्त्री बने।

देउवा प्यानलका डा प्रकाशशरण महत, देउवासँग समीकरण बनाएपछि कृष्णप्रसाद सिटौला समूहका प्रदीप पौडेलले १४०९ मत ल्याए भने डा मीनेन्द्र रिजालले ८०९ मत। विमलेन्द्र निधि प्यानलबाट महामन्त्री उठेका डा राजाराम कार्कीले १०७ मत पाए।

स्कुले झोलामा पार्टी पर्चा बोकेर शर्माले कांग्रेस राजनीति थालेका थिए। उनका बा र काका यामप्रसाद कांग्रेस राजनीति गर्थे भने बडाबा र काका वाम राजनीति। पार्टी पर्चा बोक्दाबोक्दै उनी त स्कुले नेता भए। नेपाल विद्यार्थी संघ धुलाबारी स्कुलको अध्यक्ष भए। त्यो थियो, २०४१ साल।

धुलाबारी स्कुलबाट शर्माले एसएलसी सके। मेची क्याम्पसमा भर्ना भए। विद्यार्थी राजनीति जारी राखे। नेपाल विद्यार्थी संघ मेची क्याम्पसको अध्यक्ष भए। स्ववियू चुनाव लडे। तर, हारे।

“शर्माको राजनीतिक परिवार हो, उनका बा परशुराम त झापाका गनिएका कांग्रेस नेता मानिन्थे, कांग्रेस प्रतिबन्धित अवस्थामा हुँदैका,” शर्माको छिमेकी वडा मेची नगर-१० का बुढाथोकीले भने।

शर्माकी आमा सावित्रा भण्डारी शर्मा धुलाबारी स्कुलकी नामी अंग्रेजी शिक्षिका थिइन्। बुढाथोकीका अनुसार शर्मा पटकपटक पक्राउ परे। चन्द्रगढी जेल बसे। आन्दोलनको नेतृत्व नै गरे।

२०४७ सालमा उनी नेविसंघ झापाका अध्यक्ष थिए। बुढाथोकीका अनुसार शर्मा एनपी साउद नेपाल विद्यार्थी संघका सभापति हुँदा २०४८ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा डेब्यु गरेका थिए। शर्मा २०५३ सालमा महामन्त्री र २०५७ मा नेविसंघको केन्द्रीय सभापति भए। २०७२ मा नेपाली कांग्रेस केन्द्रीय सदस्य बने। पार्टी प्रवक्ता पनि बने। स्मरणीय त के भने, शर्मा हालसम्म कुनै सरकारी लाभको पदमा बसेका छैनन्।

“नेपाल विद्यार्थी संघको सभापतिसँगै शर्मा केन्द्रीय राजनीतिमा छाउन थाले,” शर्माका स्कुले सहपाठी बुढाथोकीले थपे। कांग्रेसले शर्मालाई २०७० र २०७४ को संसदीय चुनावमा टिकट दियो। २०७० मा उनले एमालेका रविन कोइरालासँग हारे भने २०७४ मा माओवादीका राम कार्कीसँग।

झापा कांग्रेस राजनीति देखीजान्नेले शर्मालाई ‘सिटौलापीडित’ भन्छन्। वामका साथै आन्तरिक राजनीतिमा शर्मालाई हराउन कृष्णप्रसाद सिटौलाको भूमिका छ भनेर दाबी गर्छन्। शर्मानिकट अनुसार चुनावी क्षेत्र बनाउँदा नै शर्माको क्षेत्रतिर सिटौलाले वामपकड थलो थपिदिएको आरोपसमेत लगाए।

“हारेपछि कोइराला र कार्कीलाई माला लगाइदिएर सफलताको शुभकामना दिनुभयो। हारेपछि जित्नेको मुख पनि नहेर्ने दुश्मन चलन तोडेर शर्माले नयाँ संस्कार शुरु गर्नुभयो। हारलाई सहज रूपमा स्विकार्ने नयाँ संस्कार बसाल्नुभयो,” त्यसबेला हारेर पनि जितजत्तिकै शर्माले वाहवाही पाएको सम्झँदै बुढाथोकीले भने।

झापा कांग्रेस राजनीति देखीजान्नेले शर्मालाई ‘सिटौलापीडित’ भन्छन्। वामका साथै आन्तरिक राजनीतिमा शर्मालाई हराउन कृष्णप्रसाद सिटौलाको भूमिका छ भनेर दाबी गर्छन्। शर्मानिकट अनुसार चुनावी क्षेत्र बनाउँदा नै शर्माको क्षेत्रतिर सिटौलाले वामपकड थलो थपिदिएको आरोपसमेत लगाए।

“सिटौलाले त संसदीय चुनावमा मात्र होइन, यसपालि पार्टीको महाधिवेशनमा पनि शर्मालाई हराउन लागिपरेका थिए। तर, सकेनन्,” शर्मानिकट एक नेताले भने।
शर्माले कांग्रेस प्रवक्ताको जिम्मेवारी सम्हाले।

“धेरैले त देउवाको प्रवक्ता बन्नु हुँदैनथ्यो भने। तर शर्माको जवाफ थियो- बाहिर बसेर फोहोर देखाएर मात्र हुँदैन, सफा गर्न आफैं जानुपर्छ भनेर प्रवक्ता भएँ।” खासमा कांग्रेसको १४ औं महाधिवेशनमा कांग्रेसका दुई ठूला शेरबहादुर देउवा प्यालन र शेखर कोइराला प्यालनभन्दा सिंह प्यानल कमजोर थियो। प्यानल कमजोर भए पनि उनले महामन्त्री पद हात पारे। प्यानल भन्दा पनि व्यक्तिगत भोट पाए।

“पार्टीमा गणेश प्रवृत्ति हाबी छ। नवधनाढ्य वर्ग र ठेकेदारहरू पार्टीभित्र मौलाएका छन्। यसलाई उनले रोक्न सक्छन् कि सक्तैनन्? इमानदारले पनि अवसर पाउँछन् कि पाउँदैनन्? यी कुरा उनको जीवनशैली र कार्यशैलीमा कति झल्कन्छ? हेर्न बाँकी छ,” सहपाठी बुढाथोकीले भने, “राजनीतिक नियुक्ति, खर्चको पोको बोकेर मात्र पुग्न सक्नेलाई मात्र पद प्रतिष्ठा दिने संस्कृति सबै दलमा मौलाएको छ। पद खरिद गर्ने कुरा स्थापित छ। यसलाई कसरी तोड्न सक्छन्? यो ठूलो चुनौती छ।”

त्यसपछि बुढाथोकीले शर्मा चुनाव लड्दाका कुरा सुनाए। पुर्ख्यौली सम्पत्ति बेचेर लडेको प्रसंग उप्काए, “उनका दाजु राजीवप्रकाशको उस्ताको उस्तै छ, पाँच-छ बिगाहा। उनको अब छ कट्ठामात्र बाँकी छ।”

मेची नगर बुद्धचोकमा २०२७ मा जन्मेका शर्माको घर मेचीनगर-९ लीलाबस्ती हो। शर्मा सरल मानिन्छन्। बौद्धिक नेता पनि मानिन्छन्। कांग्रेस, एमाले, माओवादी दलका टुप्पातिर बूढापाका मात्र छन्। नेपालका मूलधारे भनिएका दलहरू बूढापाकाका क्लबमा परिणत भएका छन्। तिनले हाँकेका पार्टी र सरकार गतिहीन छन्। यस्तो बेलामा विश्वप्रकाशहरूको आगमनले बूढो कांग्रेसको पालुवा लाग्ला? अन्य मूलधारे दलमा नेतृत्व परिवर्तनको प्रकाश पर्ला?

राजनीतिक विश्लेषक झलक सुवेदी भन्छन्, “यसले दुई सन्देश दिएको छ। एक, नेतृत्व छनोट गर्न र नेतृत्व दाबी गर्न सहज, सरल खुला गरियो भने, संस्थापन भनिएको स्थापित नेतृत्वले सत्ता र शक्तिको प्रयोग गरेर कसैलाई निषेध गरेनन् भने आन्तरिक रूपमा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व परिवर्तन गर्न सकिन्छ।

दुई, देउवाको भन्दा गगनको भोट बढी छ। अर्को गुटबाट उठेका विश्वप्रकाश शर्मा र धनराज गुरुङहरूलाई पनि भोट हाले। २०६२/६३ को आन्दोलनले ‘पुरानो नेतृत्वको अब काम छैन’ भनेको हो। १५/१६ वर्षदेखि सर्वसाधारण जनताको जुन चाह हो, त्यसको सम्बोधन शुरु भएको छ।”

0
0
0
0
0
0

No comments:

Post a Comment