Friday, January 7, 2022

कांग्रेसलाई सफल बनाउने गुमनाम सुवर्ण

कांग्रेसलाई सफल बनाउने गुमनाम सुवर्ण

२००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसको आह्वानमा देशैभर भएको हडतालले तत्कालीन राणा प्रधानमन्त्री पद्म शमशेरलाई नेपालको पहिलो संविधान जारी गर्न बाध्य बनाएको थियो। केही हदसम्म नरम दिल भएका ‘रुञ्चे महाराज’ पद्म शमशेरले एउटा कोशेढुंगा हालेका थिए। तर लगत्तै उनले राजीनामा दिए।

रोलक्रममा रहेका हार्डलाइनर मोहन शमशेर लगायतको दबाबले। मोहन शमशेर प्रधानमन्त्री भएपछि पद्म शमशेरले जारी गरेको विधान लागू गर्न आनाकानी गरे। उल्टो आन्दोलन दबाउन थाले। उता नेपाली राष्ट्रिय कांग्रेसमा विभाजन आयो, बीपी समूह र रेग्मी समूह गरी दुई दल बन्यो।

राणा शासन ढाल्ने शक्ति कमजोर भएपछि लोकतन्त्रप्रेमीमाझ निराशा छायो। राणा शासकले जनआवाज थुन्ने कारागार झन ठूलो बनाउन थाल्यो। त्यस्तो जटिल याममा केही युवाले भन्न थाले, ‘बन्दुकले अडेको राणा शासन सत्ता बन्दुकले मात्र ढाल्न सक्छ।’

तर, गर्ने कसरी?

भर्खरै भारतबाट अंग्रेज भागेको थियो। अंग्रेज भगाउन भारतमा आन्दोलन चलेका थिए। राणा ढल्ने बुटी भारतीय आन्दोलन नै काफी थियो। भलै अंग्रेज भगाउ आन्दोलन हिंसात्मक र अहिंसात्मक दुवै थिए।

एकदिन, राणा फाल्नुपर्छ भन्ने मन भएका र लोकतन्त्रको तिर्खा पालेका युवा भेला भए। कलकत्तामा भेला भएका तिनले पाँच सदस्यीय स्टेरिङ समिति बनाए। १५ पुस २००५ मा खोले, नेपाल प्रजातन्त्र कांग्रेस।

लोकतन्त्रको तिर्खालु राणा खलकीय पनि थिए। जो राणा शासकबाट प्रताडित थिए। भलै प्रताडनाको मात्रा घटबढी हुँदो हो। त्यो बेग्लै कुरा हो।

राणा शासनलाई बन्दुकले नै ढाल्न सक्छ भन्ने तिनै राणा खलकीय एक जर्नेल पनि थिए। ती थिए, सुवर्ण शमशेर। तिनै राणा खलकीय सुवर्णले राणा शासन ढाल्ने कामको कप्तानी सम्हाले। जसको कारण राणा ढाल्ने सशस्त्र क्रान्ति सम्भव भयो। राजाविरुद्ध पनि सशस्त्र क्रान्ति गरे। भलै राणा ढाल्ने क्रान्ति सफल भएजसरी राजाविरुद्धको सशस्त्र क्रान्ति बिफल भएको किन नहोस्।

०००

भीम शमशेरका नाति। हिरण्य शमशेरका पुत्र। जनरल सुवर्ण शमशेर। जुद्ध शमशेरले रोलक्रमबाट निकालेर ‘ग’ वर्गमा झारेपछि पिता हिरण्यसँगै सुवर्ण पनि काठमाडौंबाट कलकत्ता लागे। भारतमै स्नातकोत्तर गरे। भनिन्छ, उनी नै राणा परिवारका दोस्रो स्नातकोत्तर उत्तिर्ण हुन्। लेखक जगत नेपालका अनुसार स्नातकोत्तर सकी काठमाडौं फर्कंदा सुवर्णलाई बाजागाजासहित थानकोटबाट ल्याइएको थियो। सुवर्णले राजा महेन्द्रलाई पनि पढाए, भनिन्छ।

अचम्म त, राणा खलकीय सुवर्ण शासक राणाजस्ता थिएनन्। हुन त ती सी क्लासका राणा थिए। जो राणापीडित नै थिए। गज्जब त के भने, सुवर्ण लोकतान्त्रिक राणा थिए। प्रगति हुन लोकतन्त्र चाहिन्छ भन्थे। लोकतन्त्रप्रेमी थिए। सायद यसैले होला, राणा शासन फाल्ने अभियानको नेतृत्व उनै सुवर्णले सम्हाले। राणा शासन अन्त्य गर्ने आन्दोलनमा राणाकै भूमिका रह्यो।

उही राणा जुगको कुरा हो। बीपी कोइरालाको ‘नेपाल आह्वान’ पटनाबाट प्रकाशित हुने सर्चलाइट पत्रिकाले १६ असोज २००३ मा छाप्यो। कलकत्ताको अमृत बजार पत्रिकाले पनि छाप्यो (डा.राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग १, पेज ३९)

आह्वानमा राणा फाल्ने मन भएका नेपाली युवा भेला हुन गरिएको आग्रहवाल चिठी थियो। त्यसबेला सुवर्ण शमशेर भारतमै थिए। गणेशमान सिंह पनि भारतमै।

त्यतिखेर त सुवर्ण शमशेरले राणा शासकविरुद्ध लड्नलाई अंग्रेज विरोधी आन्दोलनमा सामेलिएकालाई लिएर गुरिल्ला तालिम गराउन थालिसकेका थिए। सुवर्णसँग अर्का राणा महावीर शमशेर पनि थिए। स्टेरिङ समितिमा दुई राणासहित सूर्यप्रसाद उपाध्याय, महेन्द्रविक्रम शाह र राजेश्वरीप्रसाद उपाध्याय पाँच जना थिए। राणाविरुद्ध बन्दुक नै बोक्नुपर्छ भनेर तिनीहरूले नेपाल प्रजातन्त्र कांग्रेस बनाए। जसको एउटै उद्देश्य थियो, बन्दुकले नै राणा शासन ढाल्ने।

मोहन शमशेरको राणा शासन झन् चर्को हुन थाल्यो। राणा शासन फाल्ने सशस्त्र संघर्ष नै हो भन्ने तर्कमा बीपी पनि सहमत भए। सुवर्णको सशस्त्र आन्दोलनको विचारमा बीपी सहमत भए।

२७ चैत २००६ मा बीपी र सुवर्णको पार्टी एक भयो। बन्यो, नेपाली कांग्रेस। कांग्रेसले राणा हटाउने सशस्त्र आन्दोलन थाल्यो। २००७ मा राणा शासन ढल्यो।

सभापति बने सुवर्ण

२००७ मा प्रजातन्त्र आएपछि संविधानसभाको सवाल उठ्यो। जनताले संविधान बनाउन संविधानसभाको माग गरेका थिए। राजाले भने सविधानसभा चुनाव गराउने छाँट देखाएनन्।

बीपी राजाका लागि ‘गरम’ मानिन्थे भने सुवर्ण ‘नरम’। बीपी कांग्रेस सभापति भएको बेला राजाले चुनाव गराउँदैनन् भन्ने आशंका चुलियो। बीपीलाई पनि सुवर्ण शमशेरलाई सभापति बनाए राजाले चुनाव गराउलान् कि भन्ने लाग्यो! कतिले सुझाए पनि, “बीपी, तपाईं हार्ड लाइनर हुनुहुन्छ। सफ्ट सुवर्णलाई सभापति बनाउनुस्। राजाले चुनाव गराउँछन्।”

२०१२ मा वीरगञ्जमा कांग्रेस महाधिवेशन भयो। सुवर्ण शमशेर सभापति उठे। उठे गणेशमान सिंह पनि। सुवर्णलाई सभापति बनाउन बीपी नै लागिपरे। एकथरी विश्लेषकका अनुसार यसो गर्नुको दुई कारण थिए।

एक, सुवर्णले हारे पार्टी फुटाउँछन्। त्यसैले सुवर्णलाई जसरी पनि जिताउनुपर्छ। सिंह त यसै पनि बीपी अनुयायी छँदैथिए। तर, बीपीले नै सिंहलाई सम्मानजनक भोट दिलाउन र सुवर्णलाई जिताउन देशैभरका कार्यकर्तालाई भने। सुवर्ण पार्टी सभापति भए।

दुई, बीपीले सुवर्णलाई सभापति बनाएर कांग्रेसको समाजवादी नीति अनुमोदन गराउन चाहन्थे। सुवर्ण नै पार्टी प्रमुख भएको बेला यसलाई पार्टीले आफ्नो बनाउन जति सजिलो थियो, उनी नहुँदा त्यति नै जटिल थियो। यसको कारण थियो, कांग्रेसमा सामन्त पनि थिए। कांग्रेसमा ठूलाठूला जमिन्दार थिए।

‘समाजवाद’ नीति लिएपछि सामन्त, जिम्दार कसरी कांग्रेसमा बस्नु त! तर, सुवर्ण नै पार्टी सभापति भएको बेला ती सामन्त, जिम्दार चुप हुन्थे। यसको एउटै कारण थियो, सुवर्णजति ठूलो जिम्दार र सामन्त कांग्रेसमा अर्को थिएन। त्यति ठूलो जिम्दार सुवर्णले नै समाजवाद मानेपछि साना जिम्दार यसै मान्छन् भन्ने थियो।

२०१२ माघमा वीरगन्जमा महाधिवेशन भयो। गणेशमान सिंहलाई पराजित गर्दै सुवर्ण शमशेर सभापति भए।

ध्रुव सिम्खडा लेख्छन्, ‘९-१३ माघ २०१२ सम्म वीरगञ्जमा छैटौँ महाधिवेशन सम्पन्न भएको थियो। उक्त महाधिवेशनमा सुवर्ण शम्शेर र गणेशमान सिंहबीच सभापतिमा प्रतिस्पर्धा भएको थियो। सुवर्ण शम्शेर २३६ मत ल्याएर विजयी भए भने गणेशमान १७२ मत पाएर पराजित भए। महाधिवेशनमा ६०० प्रतिनिधिहरू मतदाताका रूपमा सहभागी थिए।

बीपीलगायत शीर्ष नेताहरू सुवर्णको पक्षमा लागेका थिए भने गणेशमानलाई गिरिजाप्रसादले खुलेरै साथ दिएका थिए। यद्यपि, पार्टी पंक्तिमा डा. तुलसी गिरिले गणेशमानलाई भित्रभित्रै उक्साएको आरोप पनि लगाएका थिए। यसै महाधिवेशनबाट कांग्रेसले प्रजातान्त्रिक समाजवादी धारणा पारित गरेको थियो (ध्रुव सिम्खडा, सभापति बन्न इतिहासदेखि अहिलेसम्म उस्तै होडबाजी, कान्तिपुर, मंसीर १७, २०७८)।

हो, कांग्रेस महाधिवेशनले समाजवादी सिद्धान्तलाई अनुमोदन गर्‍यो। विधान प्रस्तावमा भनियो, “…सामाजिक र आर्थिक न्याय प्रत्येक नेपालीलाई प्राप्त हुनेछ र भेदभावरहीत समतापूर्ण प्रगतिशील समाजको निर्माण हुनेछ। यसको लक्ष्य प्रजातान्त्रिक पद्धतिद्वारा पूर्ण समाजवादी व्यवस्था स्थापना गर्ने हो (राजेश गौतम, भाग २, पेज २९०)।”

कांग्रेस समाजवादी पार्टी बन्यो। समाजवादी नीतिको प्रस्ताव सुवर्ण शमशेरले नै गरे।

सुवर्ण सभापति भए। तर, राजाले संविधानसभा चुनाव गराउने छाँट देखाएनन्।

२०१४ मा सम्पन्न विराटनगर महाधिवेशनबाट बीपी सभापति भए।

२०१५ सालको संसदीय चुनावबाट कांग्रेसले दुईतिहाइ मत ल्यायो। बीपी कोइराला नेतृत्वको सरकार बन्यो। राजा महेन्द्रले १ पुस २०१७ मा बीपी सरकारमात्र अपदस्त गरेनन्, संसदीय व्यवस्था नै ढाले। पञ्चायत व्यवस्था लागू गरे। बीपी जेल परे। बीपी जेल परेपछि २०१७ देखि २०३३ सालसम्म सुवर्ण शमशेर कांग्रेस कार्यवाहक सभापति भए।

सशस्त्र संघर्ष

कांग्रेस नेतृत्वमा भएका सशस्त्र संघर्षसँग सुवर्णको नाउँ जोडिएरै आउँछ। सुवर्णको सशस्त्र संघर्षको राजनीतिक लाइनमा बीपी सहमत भएपछि न २००६ सालमा नेपाली कांग्रेस बनेको थियो। बन्दुकको बलमा टिकेको राणा ढाल्न बन्दुक नै उठाउनुपर्छ भन्ने सुवर्ण शमशेरको सशस्त्र संघर्षको लाइन।

सुवर्णले त सेनाको अनुभव बोकेका व्यक्तिहरूको लडाकु दस्ता बनाए। भारतका विभिन्न भागमा फौजी तालिम गराए। हतियार संकलन गरेका थिए। बीपीसँग पार्टी एकीकरण गरी नेपाली कांग्रेस बनेपछि पार्टीले लिएको सशस्त्र क्रान्तिको लाइनलाई विधिवत् रुपमा अनुमोदन गर्न कांग्रेसले १०-११ असोज २००७ मा भारतको बैरगनियाँमा विशेष सम्मेलन डाक्यो। सम्मेलनले ‘सशस्त्र क्रान्तिको निर्णायक प्रारम्भ भयो’ (पुरुषोत्तम बस्नेत, नेपाली कांग्रेसको इतिहासको प्रारूप, पेज १८९) भन्यो।

त्यसैगरी, मातृकाप्रसाद कोइराला, बीपी कोइराला र सुवर्ण शमशेरको सर्वोच्च संकाय बन्यो। सम्मेलनले हतियार र सेनासम्बन्धी विषयको सम्पूर्ण जिम्मेवारी बीपी र सुवर्ण शमशेरलाई दियो (पुरुषोत्तम बस्नेत, नेपाली कांग्रेसको इतिहासको प्रारूप, पेज १८९)। कांग्रेसले बर्माबाट हतियार ल्यायो। मुक्ति सेना बन्यो। सेनाले वीरगन्ज आक्रमण गरी सशस्त्र संघर्ष थाल्यो। छोटो समयमा आधाभन्दा बढी राज्य कांग्रेसको कब्जा र नियन्त्रणमा आयो। अन्त्यमा १०४ वर्षे राणा शासन ढल्यो।

उनै सुवर्ण शमशेरको अगुवाइमै कांग्रेसले २०१८ को सशस्त्र संघर्ष गर्‍यो।

कांग्रेस नेता कार्यकर्ताका भरणपोषण र संघर्षका लागि सुवर्णले कलकत्ताको आफ्नो निजी सम्पत्ति र घर बेचे। २००७ को सशस्त्र क्रान्तिले जस्तो उचाइ लिन नसकेपछि आठ वर्षको निर्वासन पश्चात् २०२५ मा सुवर्ण नेपाल फर्के र जेलका नेता तथा कार्यकर्ता रिहा गराउन पहल गरे।

२००७ सालको क्रान्तिताका मुक्ति सेना र २०१७ पछि निर्वासनमा रहँदा सयौँ कांग्रेस नेता-कार्यकर्ताको जीवनजोहो सुवर्णले कसरी जुटाए होलान्? यज्ञनाथ आचार्यद्वारा लिखित ‘सुवर्ण शमशेर राणा र अप्रकाशित दस्तावेज (बिसं २०१७-२०३४)’ पुस्तकमा यसको बेलिबिस्तार लगाइएको छ।

पुस्तकमा उल्लेख भएअनुसार कलकत्तामा बसोबास गर्दैआएका अंग्रेजले आफ्नो सम्पत्ति बेच्दै स्वदेश फर्कन थाले। अंग्रेजले छाड्न चाहेका घरजग्गालगायतका सम्पत्ति निकै सस्तोमा किने। अंग्रेजका महंगा घरजग्गा निकै सस्तो दाममा। त्यसबेला अंग्रेजहरू भारतमा रहेको आफ्नो सम्पत्ति बेचेर बेलायत जाने क्रममा थिए। अंग्रेज भगाउने आन्दोलन भारतमा चर्केको थियो।

नेपाल छाड्ने क्रममा आफूसँग भएको सम्पत्ति लिएर गएका सुवर्णले अंग्रेजले छाड्न चाहेका घरजग्गालगायतका सम्पत्ति निकै सस्तोमा किने। त्यही सम्पत्तिले २००७ सालको क्रान्तिका लागि हतियार जुटाउने र उनको मृत्यु नहुँदासम्म निर्वासनमा रहेका कांग्रेस र नेता र कार्यकतालाई आर्थिक जोहो गरे। राणा शासन अन्त्यका लागि आफ्नै अग्रसरतामा गठन गरिएको मुक्ति सेनाका भरणपोषण र हातहतियारका लागि सुवर्णले खर्चे। सुवर्णले तिनै सम्पत्ति खर्चे, २००७ र २०१८ को कांग्रेस सशस्त्र क्रान्तिमा।

सुवर्ण शमशेरले सशस्त्र क्रान्ति र कांग्रेस नेता कार्यकर्ता पाल्न खर्चेका आर्थिक पाटोले भैरव रिसालको लेख अंश पनि सम्झाउँछ। रिसाल लेख्छन्, ‘नेपाली कांग्रेस संसदीय दलका तत्कालीन उपनेता सुवर्ण शमशेर २ जेठ २०१५ मा मन्त्रिपरिषद्का सदस्य भए, एक नम्बरका। त्यो सरकार गठन हुँदा अर्को व्यवस्था नहुँदासम्म सुवर्णले मन्त्रिपरिषद्का अध्यक्षको काम गर्नेछन् भनिएको थियो। तर, अर्को व्यवस्था गरिएन। भाषण वा बोलीबाट प्रभाव पार्न नसक्ने, तर व्यवहार र आर्थिक सहयोगमा उदार भएका हिसाबले राजनीतिक प्राणी थिए उनी। यसैले उनलाई आधा राजनीतिक चरित्रको मानेको हुँ (भैरव रिसाल, राजनीतिक चरित्रका ती चार प्रधानमन्त्री, हिमालखबर, २० वैशाख, २०७८)

बीपी-सुवर्ण संघर्ष

बीपी रिहा भए। त्यसपछि भारत गए। बीपीले ‘अब राजाले बन्दुकको आवाजमात्र सुन्छ’ भन्ने तर्क गर्दै सशस्त्र क्रान्ति गर्नुपर्छ भन्न थाले। २००७ र २०१८ सालको सशस्त्र क्रान्तिको लय समाएर बीपीलाई हिँडाएका सुवर्ण भने बीपीको सशस्त्र संघर्ष गर्ने कुराको विरोध गरे। बीपीले शान्तिपूर्ण आन्दोलन गर्ने भनेको बेला सुवर्णले सशस्त्र संघर्ष गर्ने भनेका थिए। उनले आफ्नो राजनीतिक लाइनमा बीपीलाई सहमत पनि गराएका थिए।

बीपीलाई सहमत गराउन सुवर्णले ‘राणाले बन्दुकको भाषामा बुझ्छ, मार्छ त्यसैले सशस्त्र नै गर्नुपर्छ’ भन्थे। तर, बीपीले सशस्त्र संघर्षको कुरा उठाएपछि सुवर्णले २०१८ को राजाविरोधी सशस्त्र आन्दोलन असफल भएको तर्क सार्दै भारतले पनि सहयोग नगर्ने बताए। बीपीले आफ्नो अडान छाडेनन्।

लेखक जगत नेपालका अनुसार बीपीले लण्डनबाट सशस्त्र क्रान्तिको घोषणा गरे। २०१८ सालमा सुवर्ण शमशेरले गरेको सशस्त्र क्रान्तिको हतियारबारे पनि बीपी र सुवर्णबीच कुरा बाझिएकै थियो। बीपी तिनै हतियारले फेरि राजाविरोधी आन्दोलन चर्काउन चाहन्थे। अन्ततः बीपीले फेरि पनि हतियार उठाए। तर, असफल भए। लेखक कृष्ण धराबासी भन्छन्, ‘२०३३ सालमा बीपी मेलमिलापको नीति लिएर नेपाल फर्के। बीपी त सुवर्णकै लाइनमा आए। मेलमिलापको नीति सुवर्णकै हो।’

सुवर्ण सम्झना

विश्लेषकहरू भन्छन्, ‘सुवर्ण शमशेर नभएको भए २००७ सालको क्रान्ति नै हुँदैनथ्यो।’

हुन पनि बीपी कोइराला सुवर्ण शमशेरको सशस्त्र क्रान्तिको नीतिप्रति पछिमात्र सहमत भएका थिए।

राणा र राजाविरोधी क्रान्तिको बेला सुवर्ण एक्लै जसोले आर्थिक जोहो गरे। मुक्ति सेनाको भरणपोषण, नेता कार्यकर्ता पाल्नदेखि हतियार किन्नेसम्म उनै सुवर्णले व्यवस्थापन गरे।

संयोग! २००७ क्रान्तिपछिको संयुक्त सरकारमा सुवर्ण शमशेर नै अर्थमन्त्री भए। अर्थमन्त्रीको हैसियतले बजेट ल्याए। त्यो नै नेपालको बजेट इतिहासमा पहिलो थियो।

राणा शासनकालमा र मुलुकको आम्दानी-खर्च जनतालाई थाहा हुँदैन थियो। प्रजातन्त्रको स्थापनापछि मात्र आम्दानी र खर्च सार्वजनिक गरिएको थियो। जनताको जीवनस्तर उठाउने उक्त बजेटको उद्देश्य थियो।

‘अन्तरिम सरकार खडा हुनुअघि सरकारी खर्च भई बाँकी रहन आउने राष्ट्रको सबै आम्दानी महाराजको निजामती धन सम्झिइन्थ्यो। राज्यकोष र महाराजको व्यक्तिगत धनमा स्पष्ट भेद थिएन। न त स्याहश्रेस्ता गर्दा सामान्य हिसाब र विशेष हिसाबको भेद राखिन्थ्यो (पुरुषोत्तम बस्नेत, नेपाली कांग्रेसको इतिहासको प्रारूप, पेज ४४१)।’

सुवर्णले नै नेपालमा करको कुरा ल्याए। एक सय साठी भारतीय रुपैयाँको ‘टाइअप’ पनि उनैले गरे।

२०१५ सालको चुनावी सरकारको मन्त्रिपरिषद् अध्यक्ष सुवर्ण शमशेर थिए। कांग्रेसका सभापति बीपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री भए। कांग्रेसको सरकारले २०१६ सालमा राजारजौटा र बिर्ता उन्मुलन नीति ल्यायो। बिर्ता उन्मुलन अभियानको शुरुवात अर्थमन्त्री सुवर्ण शमशेरले आफैबाट गरे। उनले आफ्नो नाममा भएको १२ हजार बिगाहा जग्गा सरकारलाई दिए।

१९ माघ २००८ मा नेपालको पहिलो बजेट प्रस्तुत गरेर सुवर्णले सिर्फ एउटा ऐतिहासिक दायित्व मात्र निर्वाह गरेनन्, उनले सिर्फ नेपाली कांग्रेसको घोषणापत्र र यसको नीति र उद्देश्यप्रति मात्र आफ्नो निष्ठा व्यक्त गरेका थिएनन्, उनले २००७ को ऐतिहासिक जनक्रान्ति र त्यस क्रान्तिबाट प्राप्त प्रजातान्त्रिक पद्धतिको लक्ष्यलाई आफ्नो गन्तव्यतिर डोर्‍याउने एक दरिलो पाइला अघि सारेका थिए (पुरुषोत्तम बस्नेत, नेपाली कांग्रेसको इतिहासको प्रारूप, पेज ४४३)

संविधानसभा लगायतको माग गर्दै कांग्रेसले २०१४ मा भद्र अवज्ञा आन्दोलनको दबाबपछि सुवर्ण शमशेरको अध्यक्षतामा सर्वदलीय चुनावी मन्त्रिपरिषद् गठन भएको थियो।

सुवर्णले लोकतन्त्रका लागि कहिल्यै सम्झौता गरेको देखिन्न। राजा महेन्द्रले प्रधानमन्त्री बनाउन चाहन्थे। सुवर्ण मानेनन्। नेपालमा भएको परिवर्तन र कांग्रेस पार्टीको लागि सुवर्णले गरेको योगदान जति भए पनि कांग्रेस र नेपाली राजनीतिक वृत्तमा भने बीपीको मात्र चर्चा परिचर्चा हुन्छ। सुवर्ण गुमनामजस्तै छन्।

कांग्रेसका सभापति-३: बीपी कोइरालाः जसको अनुहार देखाएर कांग्रेस बाँचिरहेछ

कांग्रेसका सभापति-२: मातृकाप्रसाद कोइरालाः संयोगले सभापति, क्रान्तिको कमाण्डर र प्रधानमन्त्री

कांग्रेसका सभापति-१: टंकप्रसाद आचार्य: जो जेलमै दुई पार्टीका सभापति भए

0
0
0
0
0
0

No comments:

Post a Comment