Sunday, February 12, 2012

लडाकुलाई चेक साट्नै डर

कहाँ छन् साढे ८ सय चेक?
कलेन्द्र सेजुवाल, छिन्चु (सुर्खेत), माघ २६- प्रायः व्यक्ति चेक पाउनेबित्तिकै बैंकमा गएर पैसा निकाल्न हतार गर्छन्। स्वैच्छिक अवकाश रोजेका माओवादी लडाकुहरू भने चेक साट्न डराइरहेका छन्।  कृषि विकास बैंकको 'एसी पेयी' चेक बुझेका दशरथपुरस्थित छैठौं डिभिजनका ८ सय ३७ लडाकुमध्ये अत्यन्तै कमले मात्र बैंकमा व्यक्तिगत खाता खोलेर भुक्तानी लिएका छन्।

केही लडाकुका चेक कमान्डरहरूले नियन्त्रणमा लिएका छन् भने केहीले रकम खोसिने डरले साट्न चाहेका छैनन्। बैंकको छिन्चुस्थित उपशाखा कार्यालयका अनुसार बुधबारसम्म ७८ जनाले मात्र व्यक्तिगत खाता खोलेर २ करोड ३० लाख रुपैयाँ जम्मा गरेका छन्। तीमध्ये २१ जनाले ४५ लाख भुक्तानी लगेका छन्।
'शिविरबाट धेरै चेक वितरण भए पनि अत्यन्तै कमले मात्र व्यक्तिगत खाता खोलेर भुक्तानी लिएका छन्,' उपशाखा प्रमुख गंगाप्रसाद चौलागाईंले भने, 'यसको कारण के हो हामीलाई थाहा हुन सकेन।'
सरकारी निर्णयअनुसार एसी पेयी चेकलाई व्यक्तिगत खाता खोलेर जम्मा गर्न सकिन्छ। व्यक्तिगत खातामा रकम जम्मा हुनेबित्तिकै शिविरबाट खटिएका लडाकुले जबर्जस्ती माग्न थालेपछि अधिकांश लडाकुले खाता नखोलेका एक ब्रिगेड सहायक कमान्डरले बताए। 'खातामा जम्मा हुनेबित्तिकै जबर्जस्ती चेक काट्न लगाएर पैसा माग्छन्,' उनले भने, 'त्यसैले धेरै साथीले विस्तारै जम्मा गर्ने भनेर चेक आफैंसँग राखेका छन्।'
खाता खोल्न तोकिएका अन्य दुई बैंक राष्ट्रिय वाणिज्य र नेपाल बैंक लिमिटेडमा पनि अहिलेसम्म लडाकुहरूले खाता खोलेका छैनन्। वाणिज्य बैंक सुर्खेत शाखा प्रबन्धक यज्ञबहादुर बस्नेतले 'लडाकुहरूको खाता खोल्नेबारे कुरा गर्दा डिभिजन मुख्यालयले छिन्चुमा कृषि विकास बैंकको उपशाखा रहेकाले यतै खोल्ने जानकारी दिएको' बताए।
मंगलबार चेक लिएर बैंकमा पुगेका तीनजना लडाकुबाट जबर्जस्ती रकम खोस्ने प्रयास भएपछि उनीहरू छिन्चु इलाका प्रहरी कार्यालयको शरणमा पुगेका छन्। बुधबार साँझसम्म उनीहरूलाई कसैसँग भेट्न दिइएको छैन। हुम्ला घर भएकी कम्पनी सहायक कमान्डर कर्मा रावत लगायत तीन लडाकु प्रहरी सुरक्षामा छन्।
कमान्डरबाट चेक खोसिएका कतिपय लडाकुले बैंकमा 'चेक हराएको' भन्दै खाता रोक्का गर्न निवेदन दिएका छन्। निवेदनअनुसार बैंकले खाता रोक्का गरेको छ। आर्थिक सुरक्षाका लागि कर्माको खाता पनि रोक्का गरिएको बैंक प्रमुख चौलागाईंले जानकारी दिए। 'आफ्ना ग्राहकको रकम सुरक्षा गर्नु बैंकको कर्त्तव्य हो,' उनले भने, 'त्यसैले विवादित व्यक्तिको खाता रोक्का गरेका छौं।'
बैंकमै चेक र रकम खोसिन थालेपछि स्थानीय प्रशासनले समेत बैंकमा प्रहरी खटाएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले असुरक्षाको कारण बैंकिङ कारोबार गर्नबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले प्रहरी खटाएको बताए।
लडाकुसँग भेटघाट प्रतिवन्ध
बुधबार बिहानै सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले प्रहरी सुरक्षामा रहेका तीन लडाकुको मागअनुसार पत्रकार र मानवअधिकारकर्मीलाई भेटघाटको निम्ति खबर गरे। प्याकुरेलले खबर गरेपछि वीरेन्द्रनगरबाट पत्रकार र अधिकारकर्मीको एक टोली छिन्चु पुग्यो। तर, पीडित लडाकु भेट्न इलाका प्रहरी कार्यालय पुगेकाहरू दिनभर बाहिरै बस्नुपर्‍यो। प्रहरीले 'कसैलाई भेट्न नदिनू भन्ने माथिको आदेश छ' भन्दै भेट्न दिएन।
स्रोतका अनुसार बुधबार शिविर भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुनको आदेशमा लडाकुहरूसँग कसैलाई भेट्न नदिइएको हो। जिल्ला प्रहरीप्रमुख एसपी गोविन्दराम परियारले 'अहिलेलाई भेट्न नदिने आदेश भएको' बताए।
एसपी परियारको सल्लाहअनुसार मध्यपश्चिमका प्रहरीप्रमुख डिआइजी पार्वती थापालाई फोन गर्दा उनको भनाइ थियो, 'माथिको आदेश छ, अहिलेलाई भेटाउन सकिन्न।'
स्थानीय प्रहरी/प्रशासनले शिविरबाट आएका लडाकुलाई समेत उनीहरूसँग भेट्न नदिएको 'कम्प्लेन' गरेपछि मन्त्री पुनले पत्रकार र अधिकारकर्मीलाई पनि भेट्न बन्देज गरेको एक प्रहरी अधिकृतले बताए।

No comments:

Post a Comment