Sunday, February 12, 2012

४४ वर्षपछि दाजुभाइको भेट

प्रताप विष्ट
हेटौंडा, माघ २८ -
'तिमी मेरो दाइ हो । म अन्तरे भाइ हुँ,' जलप्रसाद एक वृद्धलाई सोध्दै थिए, 'मलाई चिन्यौ !'
'मैले ठम्माउनै सकिन,' भीमप्रसादले उत्तर दिए ।
जलप्रसादले फेरि भने, 'तिम्रो बुबाको नाम लोकनाथ होइन ?'
उनले भने, 'हो''तिम्रो दाजुभाइ ६ जना होइन ?'
उत्तरमा भने, 'हो'
भीम र जलप्रसाद तिमल्सिनालाई शनिबार साँझ आफूहरू साख्खै दाजुभाइ भएको पुष्टि गर्न निकै गाह्रो भयो । ढुङखर्क ८, काभे्रका यी दाजुभाइबीच भेट नभएको ४४ वर्ष पुगेको रहेछ । जलप्रसाद फेरि दाइलाई सम्झाउँदै भने, 'तिमीले भाउजूलाई घरमै छाडेर हिँडेको होइन ?'
उनको जवाफ थियो, 'मैले बिहे नै गरेको याद छैन ।'
'तिमी बिहे गरेको दुई वर्षपछि हिँडेको होइन,' उनले फेरि सम्झाए ।
भीमप्रसाद एकछिन अकमक्किए । चुरोटको लामो सर्को तान्न थाले । 'अब मलाई पुरानो कुरो नसम्झाऊ,' ६१ वषर्ीय भीमप्रसादले आँसु झार्दै भने, 'तिमीहरू मेरा भाइभतिजा ।'
यति भन्नसाथ दुई दाजुभाइबीच अंकमाल भयो । सँगै रहेका आफन्त, प्रहरीको अनुहारमा समेत मुस्कान झल्कियो । २०२४ वैशाख १९ मा भीमप्रसादले घर छाडेका थिए । त्यसपछि कहिल्यै फर्केनन् । जोगीको भेषमा जिन्दगी जिउन थाले ।
यी दाजुभाइबीच पुनर्मिलन गराउने काम भने हर्के हवल्दारका रूपमा परिचित हेटौंडाका विष्णु सापकोटाले गरे । ढुङखर्क मावली भएका सापकोटालाई आफ्नी आमाले मावली गाउँका एक जना बेपत्ता भएको र उनी जोगीका रूपमा हेटौंडा बस्ने अनुमान गरेको कुरा सुनाएकी थिइन् । त्यसैको आधारमा सोधखोज गर्दा फेला परेका हुन् ।
मकवानपुरको नामटार गाविसका माधव पराजुलीको घरमा ३५ वर्ष बसेका तिमल्सिना पराजुलीको बाबुसँग विन्द्रावनमा गएका थिए । पराजुलीको बुबाको मृत्यु भएको १३ औं दिनको पुण्यतिथिमा आउँदा सापकोटाले फेला पारे । 'भीमप्रसाद अहिले घर र्फकन चाहेका छैनन्,' भन्छन्, 'जोगी भइसकेको छु । घर लैजाने कुरा नगर ।' भाइ भने जसरी पनि घर लैजाने ध्याउन्नमा छन् । सम्झाउँदै दाइलाई भने, 'बिहे गरेर दुई वर्षमै छोडेकी भाउजूले तिमीलाई पर्खिरहेकी छन् ।'

from Kantipur daily newspaper

No comments:

Post a Comment