Sunday, February 5, 2012

कमान्डरले चेक खोसेपछि झडप

बेचु गौड
परासी, माघ २२ -
अवकाशमा जाने लडाकुले पाएको रकमको ४० प्रतिशत पार्टीलाई दिनुपर्ने माओवादी नेतृत्वको निर्देशन भन्दै कमान्डरहरूले चेक खोस्न खोजेपछि चौथो डिभिजनमा लडाकु र कमान्डरबीच झडप भएको छ ।

आफूले पाएको चेक लडाकुहरूले बैंकमा बुझाउन जान खोज्दा कमान्डरहरूले 'त्यो रकम यहीं बुझाउनुपर्छ' भन्दै अडान लिएपछि बढेको विवाद हात हालाहालमा पुगेको थियो । प्रत्यक्षदर्शीका अनुसार कुटपिटका क्रममा एक लडाकु रक्ताम्य भएर शिविरबाट निस्केका थिए ।

लडाकुले बुझेको चेक कमान्डरहरूले आफैंले लिने र पछि साटेर ४० प्रतिशत रकम कमान्डरलाई नै बुझाउनुपर्ने भन्दै नियन्त्रण गर्न थालेपछि विवाद भएको थियो । प्रतिवाद गर्ने केही लडाकु कुटिए । एक लडाकुका अनुसार विवाद हुँदै गर्दा रणदीप नाम गरेका कमान्डरले पिट्न सुरु गरेका थिए ।
उक्त विषयमा रिपोर्टिङ गर्न पुगेका पत्रकारलाई केही बेरभित्र छिर्न दिइएन । विशेष समिति सदस्य सदानन्द कुर्मीलाई फोन गरेपछि मात्र भित्र प्रवेश गर्ने वातावरण मिलाइएको थियो । शिविरभित्र रकम कटौती र पिटाइबारे कसैले बोल्न चाहेनन् ।

'ज्यानको बाजी लगाएर पार्टीका लागि काम गरियो', अरुणखोला घर भएका धनबहादुर लामाले भने, 'हामी लडाकुमाथि ठूलो अन्याय भइरहेको छ ।'

पार्टीको देखाउने दाँत र खाने दाँत फरक-फरक रहेको बल्ल थाहा पाएको उनले बताए । 'यति रकम त हात्तीको मुखमा जिरा जस्तै हो,' उनले भने, 'यति जाबो पैसालाई पनि पार्टीले कटौती गरेकामा आश्चर्य लागेको छ ।' सिपाहीभन्दा माथिल्लो दर्जामा रहेको बताउँदै उनले अहिले पहिलो किस्ता तीन लाख पाएको तर यसमा पनि पार्टीका नाममा कटौती हुने भएकामा चित्त दुखेको उनले बताए ।

'पार्टीका लागि गरिएको बलिदानको परिणाम यही हो ?,' कास्की जिल्लाका सेक्सन कमान्डर रहेका भीमले भने, 'यतिसम्म शोषण गर्न पार्टी चुकेन ! जुन सपना देखेर जनमुक्ति सेनामा भर्ना भइएको थियो, त्यसको उल्टो यतिसम्म देखियो ।' त्रसित मुद्रामा रहेका लडाकु उनले यहाँ -शिविर) सबै कुरा भन्न नसकिने बताउँदै शिविरबाट निस्केपछि आफूहरूमाथि गरिएको अन्यायबारे पत्रकार सम्मेलन गरेर नै जानकारी गराउने बताए । धेरै लडाकुको रकम कटौती गरी अन्याय गरिएको उनले जनाए ।

अनमिनले अयोग्य ठहर्‍याएका लडाकुलाई दिनका लागि रकम कटौती गरिएको हो भने त्यो लडाकुका लागि अन्याय भइरहेको लडाकुले बताएका छन् । 'अयोग्यलाई पनि केही व्यवस्था गर्ने हो भने त्यो राज्यसँग नै माग गर्नुपर्छ,' एक लडाकुले भने ।

अवकाश लिन लगाएर सेनामा भर्ना हुनबाट वञ्चित गरिएको र त्यसमा पनि पाएको थोरै रकम पार्टीका नाममा कटौती गरिँदा हदैसम्मको अन्याय भएको गुनासो लडाकुहरूले गरे । केही कमान्डरले उक्त रकम पछि आफूहरूले नै खानका लागि कटौती गर्न लागेको आरोप पनि लगाए ।

रकम कटौतीबारे आफूकहाँ कुरा नआएको रकम बुझाउन डिभिजनमा पुगेका विशेष समिति सदस्य सदानन्द कुर्मीले बताए । टोलीले प्रत्येक लडाकुलाई बैंकमा खाता खोलेर मात्र चेक भुक्तानी हुने खालको -एसी पेयी) चेक हातमै बुझाउँदै आएको उनले जनाए । डिभिजन कमान्डर तेजप्रसाद ओली -प्रतीक) ले रकम कटौती हल्ला मात्र भएको र हात हालाहाल तथा कुटपिटको घटना निराधार भएको दाबी गरे ।

घाइते तथा अपांगले चेक बुझेनन् परासीस्थित चौथो डिभिजन शिविर र रोल्पा दहवनस्थित पाँचौं शिविरका घाइते तथा अपांग र पछि बढुवा भएका लडाकुले रकम बुझेका छैनन् । चौथो डिभिजनका ३५ जना र पाँचौं डिभिजनका २० जनाले चेक नबुझेका हुन् ।

उनीहरूले माग पूरा नभए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । सपांग र अपांगलाई हेर्ने एउटै दृष्टिकोणको विरोधसमेत गरेका छन् ।

चौथो शिविरमा आइतबार अन्तिम दिनसम्म ४ सय ७ जना लडाकुले मात्र चेक र रकम बुझे ।

पाँचौं शिविरमा आइतबार १ सय ५८ लडाकुले चेक बुझे । शनिबार २ सय ३३ लडाकुले बुझेका थिए । यस डिभिजनबाट ५ सय ४ पुरुष र ३ सय ९४ महिला गरी ८ सय ९८ लडाकु स्वैच्छिक अवकाशमा जाँदै छन् । रोल्पास्थित पाँचौं डिभिजनका १ सय २४ लडाकुले आइतबार चेक पाए । यहाँ ९ सय ९८ ले अवकाश रोजेका छन् ।

यस्तै पहिलो डिभिजनअन्तर्गत इलामको दानाबारीस्थित सहायक शिविरमा आइतबार ८७ जना स्वैच्छिक अवकाश रोजेका लडाकुलाई चेक हस्तान्तरण गरिएको छ । १ हजार ९ सय २२ जना रहेको शिविरका ७ सय २१ जनाले स्वैच्छिक अवकाश रोजेका छन् । शक्तिखोरस्थित तेस्रो डिभिजन शिविरमा अवकाश पाएका ४ सय २१ जनाले चेक बुझेका छन् । आइतबार २ सय ६, शनिबार १ सय ४० र शुक्रबार ७५ जनाले चेक बुझिसकेका हुन् ।

ँविवाद थाती’ सिन्धुलीको दुधौलीस्थित दोस्रो डिभिजनमा तहगत विवादलाई थाती राख्दै अवकाश लडाकुको बिदाइ सकिएको छ । मुख्य र तीन सहायक शिविरमा गरी यहाँ अवकाश रोज्ने लडाकु संख्या ४ सय ९० छ ।
from Kantipur daily newspaper 

No comments:

Post a Comment