Saturday, February 4, 2012

'लडाकुबाट नागरिक भयौं’

लडाकु तेस्रो डिभिजनका डिभिजन सहकमान्डर उदयबहादुर चलाउने सैन्य जीवन त्यागेर अवकाश लिई गाउँ र्फकने तयारीमा छन् । समायोजन नरोजी अवकाश लिनुमा आवश्यकता र बाध्यता दुवै भएको उनी बताउँछन् । जाजरकोट पजारु ग्ााविस-१ का उनी बाँकी जीवन राजनीतिमा लगाउने प्रतिबद्धताका साथ गाउँ र्फकंदै छन् । चार लाखको चेक बुझिसकेपछि विरोधका लागि विरोध गर्नुको कुनै अर्थ नहुने तर्क राख्ने चलाउनेसँग चितवन संवाददाता विनोद त्रिपाठीले गरेको कुराकानी ः
 घर जान चेक बुझ्नुभयो, कस्तो लागिरहेको छ ?

यो चेक आवश्यकता र बाध्यता दुवै हो । हाम्रा लागि घर र्फकन दुई विकल्प थिए, समायोजनमा जाने वा अवकाश रोज्ने । मेरा लागि अवकाश नै उपयुक्त भएकाले चेक बुझ्नु सामान्य लागेको छ । तर जनयुद्धको अधुरो सपना बोकेर गाउँ र्फकंदै छौं ।


अधुरो सपना भन्नाले फेरि बन्दुक उठाउन चाहनु हुन्छ ?

हामीलाई पार्टीभित्र र बाहिर फेरि हिंसा गर्छन् कि भनेर शंका गरिन्छ । विद्रोह भनेको बन्दुक उठाउनु मात्र होइन । त्यो कुनै बेला सान्दर्भिक थियो, अब त्यसको महत्त्व र मान्यता सकियो । व्यक्तिगत रूपमा भन्नुपर्दा अब बन्दुक उठाउने म कल्पनासमेत गर्न चाहन्नँ । आन्दोलन र विचारमार्फत पनि विद्रोह गर्न सकिन्छ ।

स्वैच्छिक अवकाशमा जाने काम सकिएपछि शान्ति प्रक्रिया टुंगिएला त ?

टुंगिनुपर्छ । यसले शान्तिका लागि राम्रो गति लिने विश्वास लिएको छु । शान्ति ल्याउने एउटा अंश पूरा भएको छ ।

अब गाउँमा के गर्नुहुन्छ  ?

म अन्याय, अत्याचार सहन नसक्ने भएकाले न्यायको खोजी सधैंभर गर्नेछु । त्यो कुनै प्रकारको विद्रोह हुन्छ भने होस् । तर हतियारको हिंसामा लागेर अब विद्रोह सम्भव छैन । शान्ति कायम गर्न म मेरो क्षमताले भ्याएसम्म लागिपर्छु । देश र जनताको सेवामा लाग्नेछु । राजनीतिक पृष्ठभूमिबाट आएकाले पार्टीकै काममा खटिने छु । त्यसैले राजनीतिबाट शान्ति कायम गर्न भूमिका खेल्नेछु ।

तपाईंले खुलेरै माओवादी संस्थापन पक्षको विरोध गर्नुभयो, के यो समायोजन प्रक्रिया न्यायोचित छैन र ?

छैन । किनभने दलहरूले समायोजनका लागि गरेको सहमतिमा जनमुक्ति सेनालाई भेदभाव गरिएको छ । सेनामा दिनुपर्ने पद, सम्मानपत्र, घाइते तथा सुत्केरीका लागि थप सुविधा तोकिएको छैन । त्यो हाम्रा मुख्य आवश्यकता थियो । अहिले संस्थापन पक्षमा लागेका साथीहरूले बल्ल कुरा बुझ्दै हुनुहुन्छ । उहाँहरूले पनि यही माग राखेर यो प्रक्रियालाई अवरोध गरेको देखेको छु । तर, सहमति भइसकेपछि न्याय खोज्नुले खास अर्थ राख्दैन ।

आफ्नै पार्टी माओवादीले कसरी हेरिदेओस् भन्ने अपेक्षा गर्नुभएको छ ?

लडाकु जीवनपछि अब हामी नागरिकमा बदलिएका छौं । आम नागरिकलाई झैं व्यवहार गरियोस् र पार्टीले जनयुद्धको मर्म र हामीले योगदान पुर्‍याएको धर्म नभुलोस् भन्ने चाहन्छु ।

शान्ति प्रक्रियाका लागि दलहरूको भूमिका कस्तो हुनुपर्छ ?

दलहरूले निषेधात्मक राजनीति त्याग्नुपर्छ । हरेक दलमा अल्पमतको सही कुरालाई बेवास्ता गर्ने प्रवृत्ति छ । सबै दलका शीर्ष नेतृत्व इमानदार हुनुपर्छ । राजनीतिका आदर्शले मात्र केही उपलब्धि हुँदैन, ठोस कार्यनीति र गतिशील निर्णय आवश्यक छ । यसले पार्टीलाई निरंकुशतातर्फ डोर्‍याउँछ । त्यसैले सबै पक्षलाई समेटेर मूल उद्देश्यमा विचलन नहुन दलहरूसँग मेरो आग्रह छ ।

अब नेपालमा फेरि हतियार उठ्न सक्छ ?

मलाई त्यस्तो लाग्दैन । हामीले त्यतिबेला उठाएको हतियार बाध्यात्मक थियो । अहिले राजनीतिक अवसरको ढोका खुलेको छ । यसलाई सदुपयोग र सन्तुलनको जरुरी छ । जनताको आधारभूत आवश्यकता पूरा गर्न सकियो भने कुनै पनि वर्गले अब नेपालमा हतियार उठाउने कोसिस गर्दैन ।
from Kantipur daily newspaper  

No comments:

Post a Comment