Tuesday, February 7, 2012

शक्तिखोरमा रातभर तनाव

विनोद त्रिपाठी
शक्तिखोर -चितवन, माघ २४ -
चेक बुझ्ने लडाकुसँग पार्टीले तोकेको रकम दिनुपर्ने कमान्डरहरूले बताएपछि शक्तिखोस्थत तेस्रो डिभिजन सोमबार रातभर तनावग्रस्त बन्यो ।

रकम दिन नमान्ने अवकाश रोजेका लडाकुले मंगलबार दिउँसो ज्यान असुरक्षित भएको भन्दै पत्रकार भेलासमेत गरे । शिविरका कम्पनी कमान्डर हिमबहादुर खड्कालगायत लडाकुले सञ्चार माध्यमार्फत जीवनरक्षाको अपिल गरेका हुन् ।
उनी शिविरभित्र सुरक्षा नभएको भन्दै रत्ननगरको सोमबार राति वाईसीएल क्याम्पमा पुगेका थिए । माघ मसान्तसम्म शिविरमा बस्ने सोचाइमा भए पनि उनी मंगलबार साँझै घरतर्फ लागेको स्रोतले बतायो । पत्रकार भेलामा खड्काले शिविरको आर्थिक हिसाब पारदर्शी गर्न पटकपटक आवाज उठाउँदा डिभिजन कमान्डर धनबहादुर मास्कीको नेतृत्वमा सोमबार साँझ आक्रमण भएको बताए । 'अवकाशमा भएका सबैसँग पार्टीलाई रकम दिन भन्दै ४०  प्रतिशत मागे,'  उनले भने, 'मलगायत साथीले त्यसको प्रतिवाद गर्‍यौं । तर उनीहरू हामीमाथि जाइलागे ।'

मंगलबार बिहान ८ बजे स्वैच्छिक अवकाश लिएकाहरूले कमान्डरसँग भेट्ने तयारी गरेकामा राति आक्रमण भएको उनले बताए । 'म सुतिरहेको बेलामा कमान्डर मास्कीको नेतृत्वमा मनबहादुर श्रेष्ठ र अर्जुन कार्कीसहितका १०/१२ जनाको संख्यामा आएका लडाकु साथीहरूले आक्रमण गरे' उनले भने, 'आर्थिक हिनामिना भयो भन्दै हिँड्ने तैं होइनस् भन्दै कुट्न थाले म ज्यान जोगाएर राति शिविरबाट भागेर कयरखोला पुगेँ । नभागेको भए मलाई जे पनि गर्थे ।'

आफूले आफ्नो ३९ हजार ३ सय ८ रुपैयाँ र आफ्नो सामग्री समेत लिन नभ्याएको र सबै उनीहरूले नै लुटेको उनले जनाए ।

पत्रकार भेलामा डिभिजन सहकमान्डर उदयबहादुर चलाउनेले कमान्डरलगायतको मिलोमतोमा आर्थिक अनियमितता भएको खुलासा गरे । दुई वर्ष अगाडिदेखि शिविरमा कुनै पनि आर्थिक हिसाब किताबको विषयमा जानकारी नदिएको उनले बताए । 'भागेर गएका सयौं साथीहरूको रकम कमान्डर आफैंले बुझेका छन्,' उनले भने,  'हामीले धेरैपटक  खर्चको  पारदर्शी माग गर्दा सुनुवाइ भएन ।' उनले १२ देखि १४ करोडसम्म आर्थिक हिनामिना भएको बताए । शिविर स्थापना भएदेखि हरेक लडाकुसँग मासिक १ हजारका दरले लिने गरेको लेबी शुल्क, अनुपस्थित ६ सय लडाकुको रकम, जीटीजेडमार्फत हुने तालिमबापत आउने रकमलगायत करोडौंको आर्थिक हिनामिना भएको चलाउनेले खुलाए ।

आर्थिक पारदर्शिताको आवाज उठाएका चलाउने, विष्णु परियार, अस्मिता, नेत्र वली, हिमबहादुर खड्कालगायतले बस्नसक्ने अवस्था नभएपछि मंगलबार नै शिविर छोडिसकेका छन् । डिभिजन कमान्डर धनबहादुर मास्कीले भने शिविरलाई वदनाम गर्ने नियत भएकाहरूले यस्तो प्रचार गरेको दाबी गरे । एक अर्का लडाकुले भने अधिकांश कमान्डरहरूले अवकाशमा परेका लडाकुलाई रकमबारे मिडियामा खबर नगर्न धम्की दिएको बताए । सोमबार  र मंगलबार शिविरभित्र प्रवेश  गर्ने पत्रकारलाई समेत अवकाशमा परेका लडाकुसँग प्रतिक्रिया लिन खोज्दा कमान्डरले निगरानी गरेका थिए ।

'मेरो चेक राज्यले नै राखोस्’ -लक्ष्मी चौलागाईं, महिला लडाकु
आमाको उपचार गर्नुपर्ने भएकाले बिदामा शिविरबाहिर गएकी थिएँ । पछि र्फकंदा शिविरमा पस्न दिइएन । बाहिरै बस्नुस् राज्यले दिने रासन, भत्ता सबै पाउनुहुन्छ भनियो । तर केही दिइएन । एकैपल्ट वर्गीकरणका बेला गएको मंसिरमा शिविरमा पस्न दिए । जबर्जस्ती स्वैच्छिक अवकाश रोज्न लगाइयो । अहिले मैले पाउने ५ लाखमध्ये पहिलो किस्ताबापतको आधा रकम साढे २ लाखको चेक बुझेकी थिएँ । कमान्डरहरूले २ लाख हामीलाई दिनुपर्छ, ५० हजार लिएर जानु भने । त्यसपछि म सचिवालय टोलीको शरणमा आएर बसेकी छु । यहाँबाट पनि लतारेर लान खोजिएको थियो, सचिवालयका सदस्यले रोक्नुभयो । ५० हजारले मेरो केही पनि हुँदैन । बरु यो चेक राज्यले नै राखोस्, राज्यको ढुकुटीमा जाओस् । म कमान्डरहरूलाई दिन चाहन्नँ । मलाई राज्यले सुरक्षा दिनुपर्‍यो ।
(सुर्खेतबाट चौलागाईंले कान्तिपुरलाई फोन गरी दिएको अभिव्यक्ति)

from kantipur daily newspaper

No comments:

Post a Comment