Sunday, February 12, 2012

चेक बुझेका लडाकुहरु भन्छन् ः'मिलेर भत्केको जीवन बनाउँछौं'

दुर्गालाल केसी
संक्राम -दाङ, माघ २८ -
दीर्घ स्मृति बि्रगेडका सहकमान्डर सविन पोख्रेल भत्केको घर, परिवार र जीवन पुनर्निर्माण गर्ने योजनासहित शिविरबाट बाहिरिँदै छन् । '१० वर्षे युद्धले हाम्रो घर, परिवार र जीवन भत्काएको छ । अब पहिलो काम यसलाई पुनर्निर्माण गर्ने नै हुन्छ,' पोख्रेलले भने, 'अबको समय बिग्रेको घरगृहस्थीलाई आर्थिक र भावनात्मक रूपमा सुदृढ बनाउने हो ।'
स्वैच्छिक अवकाश रोज्ने दाङका सविनजस्ता उच्च तहका कमान्डरहरू अहिले कसरी युद्धपछिको जीवन सहज बनाउने भन्ने योजनामा छन् । उनीहरू एक्लाएक्लै भन्दा सामूहिक रूपमा केही गर्न सकिन्छ कि भन्ने सरसल्लाहमा जुटेका छन् । पाँचौं डिभिजन अन्तर्गतका सबै कमान्डर बन्दुकपछिको यात्रा कसरी सम्मानजनक रूपमा बढाउने भन्ने योजनामा रहेका देखिन्छन् । सबै कमान्डर घरमै बसेर आयआर्जनको काम गर्दै राजनीतिक जीवनलाई पनि निरन्तरता दिने योजनामा छन् ।

'धेरैले अब यिनीहरूको राजनीति सकियो भनिरहेका छन्,' पोख्रेलले भने, 'तर हामी राजनीतिमा अयोग्य भएर घर जान थालेका होइनौं । सम्मानजनक तरिकाले सामाजिक र राजनीतिक जीवन बिताउन शिविर छोड्दै छौं ।' सेनामा सम्मानजनक स्थान नपाइने अवस्था देखेपछि अवकाश रोजेका कमान्डरहरू समाजमै आफूलाई स्थापित गर्ने चाहना व्यक्त गर्छन् ।

चेक वितरणको अन्तिम दिन संक्राम शिविरमा जुटेर डिभिजन सहकमान्डर रामलाल रोका, डिभिजन मुख्यालय दहवनका बि्रग्रेड सहकमान्डर दीपेन्द्रकुमार घर्ती, दीर्घ स्मृति बि्रगेड संक्रामका सहकमान्डर सविन पोख्रेल र डिभिजन मुख्यालय दहवनकी बि्रगेड सहकमान्डर होलिका केसी भावी जीवनबारे गहिरो छलफल गर्दै थिए । 

अब उच्च कमान्डरहरूको के योजना छ त ? पत्रकारको प्रश्नमा एकछिन घोरिँदै घर्तीले भने, 'एक्लै के गर्ने भन्ने भन्दा पनि सबै मिलेर के गर्न सकिन्छ भन्ने सल्लाह हुँदैछ । हिजो सँगै लडेका कमान्डरहरू अब पनि सामूहिक रूपमै केही गर्न चाहन्छौं ।' युद्धमा अस्तव्यस्त भएको घरपरिवार व्यवस्थित गर्दै कुनै आयआर्जनमूलक काम गर्न सकिने उनले बताए । 'आधुनिक कृषि प्रणालीमा काम गर्न सकिन्छ । पशुपालन, तरकारी खेती, पशुपालनजस्ता कुनै काम रोज्न सकिन्छ,' रोल्पा घर भएका घर्तीले भने, 'सबै मिलेर उपयुक्त स्थानमा काम थालियो भने यसले व्यावसायिक रूप लिन सक्छ ।'

रोल्पाकै केसी पनि व्यक्तिगत र राजनीतिक जीवन फलदायी बनाउने योजनामा रहेको बताउँछिन् । 'घरपरिवार व्यवस्थित गर्ने काम त छँदैछ । साथसाथै राजनीतिमा पार्टीले के जिम्मेवारी दिन्छ, त्यो पनि पर्खिरहेकी छु,' उनले भनिन्, 'यत्रो समय राजनीतिमा बिताएपछि अब एक्लै टाढिएर बस्न सकिँदैन । सेनामा सँगै रहेका साथीहरूसँगै नयाँ जीवन बनाइन्छ ।'

सुनिल स्मृति बि्रगेडका सहकमान्डर तुलसी डाँगी पनि अबको जीवन सामाजिक सेवामा समर्पित गर्ने बताउँछन् । '१५ वर्ष सेनाको जीवन बिताएपछि अब गाउँमै बसेर राजनीति गर्ने इच्छा जागेको छ,' दाङ नारायणपुरका डाँगीले भने, 'युद्धमा हुँदा यो परिवर्तन मेरो विचार र परमात्माले मात्र देख्छ जस्तो लाग्थ्यो तर बाँचियो । यो नाफाको जिन्दगी फेरि किन सेनामा लगाउने ? घरमा श्रीमती र छोरा छन् । अब घरपरिवारसँगै बसेर राजनीति गर्ने ।'

डिभिजन सहमान्डर रोका अब सैन्य जीवनलाई थप रचनात्मक काममा लगाउने बताउँछन् । 'अब सैन्य जीवन सकियो । युद्ध र शिविरको जीवनमा बन्दुकमात्र देखिएको थियो । अब अन्य विकल्प पनि देख्न थालिएको छ,' रोल्पा कुरेलीका रोकाले भने, 'दुई छोरा, एक छोरी र श्रीमती छन् । केही व्यवसाय गरेर उनीहरूको जीवनबारे पनि सोच्नु छ । आजसम्म राजनीति नै गरेकाले पार्टीले उचित जिम्मेवारी दिएमा त्यो बाटो पनि खुला छ । अवकाश रोजेका अन्य साथी र घर परिवारसँग बसेर गर्न सकिने धेरै काम छन् ।'

from kantipur daily newspaper 

No comments:

Post a Comment