Saturday, February 4, 2012

चित्त दुखाएर र्फकंदैछन् लडाकु

दुर्गालाल केसी
दहवन -रोल्पा, माघ २१ -
पाँचौं डिभिजन मुख्यालय दहवनमा चेक बुझ्दै गरेकी रोल्पा जुंगारकी तुलसा सुनार शनिबार निकै दुःखी थिइन् । ५ हजार बाटो खर्च र २ लाख ५० हजारको कृषि विकास बैंकको चेक हातमा लिँदा उनले निकै आत्मग्लानि भएको बताइन् । '१० वर्षको कमाइ यही हो त ?,' उनले भनिन्, 'यसले के गर्न सकिन्छ ?'

सुनारजस्तै स्वैच्छिक अवकाशको चेक बुझेका कसैको मुहारमा पनि हाँसो थिएन । १० वर्षे युद्ध र ५ वर्षे शिविरको बसाइ उपलब्धिहीन भएको उनीहरूले गुनासो गरे । 'आजसम्म देश र जनताका लागि लडियो', कपिलवस्तु शिवगढीकी सीता बुढाथोकीले भनिन्, 'तर अहिले के भयो त ? हाम्रो समाज त्यस्तै छ । फेरि उही असमान समाजमा र्फकंदै छौं । जीवनका १५ वर्ष त्यत्तिकै खेर गयो । न पढाइ, न कुनै काम ।'

माओवादीले माघ २८ गते डिभिजन मुख्यालयमा कार्यक्रम आयोजना गरी बिदाइ गर्ने योजना बनाए पनि अधिकांश लडाकु त्यसअघि नै घर र्फकने मनस्थितिमा छन् । 'जति बसे पनि उही हो, किन बस्नु ? अब के बाँकी छ र ?,' रुकुम स्यालाखदीका धनबहादुर बोहराले भने, 'अब घरमा गएर बूढा बाआमा पाल्नु छ । बिदाइको के आवश्यकता छ र ? जे भयो भयो ।'

युद्ध लड्दा अपेक्षा गरेअनुरूप उपलब्धि हासिल नभएको सुनील स्मृति बि्रगेडका सहकमान्डर तुलसी डाँगीले बताए । 'जनताले चाहेको अझै पूरा भएको छैन, नेताहरूले जनतालाई धोका दिन पाउँदैनन्,' उनले भने, 'शान्ति र संविधानका लागि पाँच वर्ष शिविर कुरेर पार्टी र सेनाको अनुशासनमा बसियो । अब यी काम पूरा नभए हाम्रो योगदान खेर जान्छ ।'

दहवनबाट पाँचौं डिभिजन सहकमान्डर रामलाल रोकासहित बि्रगेड, कम्पनी, प्लाटुनलगायत उच्चस्तरका कमान्डरहरू अवकाशमा जाँदैछन् । कमान्डरहरू राजनीतिक नेताहरूले सही तरिकाले काम नगरे फेरि पनि बन्दुक उठ्ने खतरा रहेको बताउँछन् । पार्टीले लडाकुलाई सम्मानका साथ बिदाइ नगरेकामा उनीहरूको दुखेसो छ । 'बिदाइ प्रक्रिया ठीक भएन,' डिभिजन सहकमान्डर रोकाले भने, 'नेताहरूले सहमति गरेपछि चित्त नबुझे पनि जानुपरेको छ । जनताले चाहेअनुसार संविधान नबने फेरि पनि संकटपूर्ण अवस्था आउन सक्छ ।'
from Kantipur daily news paper 

No comments:

Post a Comment