Saturday, February 4, 2012

हजार लडाकुको बिदाइ

चेतन अधिकारी,राजकुमार कार्की,विनोद त्रिपाठी,बेचु गौड,मोतीलाल पौडेल,माहेन बुढाऐर,गणेश चौधरी
चुलाचुली/सिन्धुली/ शक्तिखोर/ झ्याल्टुङडाँडा/दशरथपुर/तालबन्द, माघ २१ -
दोस्रो दिनसम्म स्वैच्छिक अवकाश रोजेका सात सिवरका १ हजार १ जना माओवादी लडाकुलाई सरकारले उपलब्ध गराउने पहिलो किस्ता रकम वितरण गरिएको छ । तेस्रो र चौथो डिभिजनमा शुक्रबारबाटै वितरण गरिए पनि अरूमा शनिबारबाट थालिएको हो ।

छैटौं डिभिजनमा घाइते तथा अपांग लडाकुको विषयमा विवाद भएपछि ढिलो सुरु भएको थियो । साँझ साढे ६ बजे सुरु गरी २४ जनालाई वितरण गरियो । दोस्रोमा भने तहगत बिदाइमा विवाद भएपछि वितरण रोकिएको छ ।

पहिलो डिभिजनका ९५ जना, दोस्रोका ३२, तेस्रोका २ सय १४, चौथोका २ सय २७, पाँचौंका २ सय ३३, छैटौंका २४ र सातौं डिभिजनका १ सय ७६ जनाले पहिलो किस्ता र बाटो खर्च बुझेका छन् ।

लडाकु समायोजन विशेष समिति सचिवालय सदस्य शम्भूराम सिंखडाका अनुसार इलामको चुलाचुलीस्थित पहिलो डिभिजनमा शनिबार ९५ लडाकुलाई चेक हस्तान्तरण गरिएको छ । पहिलो डिभिजनमा ७ सय २१ जनाले स्वैच्छिक अवकाश रोजेका छन् ।

तहगत बिदाइमा विवाद भएपछि सिन्धुलीको दुधौलीस्थित दोस्रो डिभिजनमा स्थगित भएको छ । ३२ लडाकुको बिदाइ भने शनिबार भएको छ । हालका बिग्रेड कमान्डर सरोजलाई पहिलाको बटालियन कमान्डरको पदमा नै बिदाइ गर्न खोजिएपछि विवाद भएको हो ।

छलफल चलिरहेको र पदमा धेरै साथीको गुनासो रहेकाले सहमति नहुन्जेलका लागि स्थगित भएको डिभिजन सहायक कमान्डर उत्तमले जानकारी दिए । उनका अनुसार धेरैलाई पहिला अनमिनले प्रमाणीकरण गरेको अवस्थाकै पदमा अवकाश गर्न लागिएका कारण असन्तुष्टि आएको हो । 'धेरै साथीहरू बढुवा हुनुभएको छ,' उत्तमले भने, 'पहिलाकै पदमा चित्त बुझाएर अवकाश होउ भन्ने कुरा पनि आएन, सहमतिबाटै समस्याको समाधान हुनुपर्छ, साथीहरूको बिदाइ हुने बेलामा चित्त दुखाउनु राम्रो होइन ।' आइतबारबाट बिदाइ प्रक्रिया पुनः सुरु हुनसक्ने उनले जनाए । स्वैच्छिक अवकाश रोजेका लडाकुलाइ तहअनुसार ५ देखि ८ लाखसम्मको आधा रकम चेकमार्फत दिई बाटो खर्च दिएर बिदाइ गरिएको छ ।

शुक्रबारबाटै सुरु हुने भनिएको बिदाइ प्रक्रिया डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल आइनपुगेर रोकिएको थियो । घाइते, अपांगहरूले समेत राज्यले बेवास्ता गरेको गुनासो गरिहेकाले अप्ठ्यारो परेको डिभिजन कमान्डर शुकबहादुर रोकायाले बताए । दोस्रो डिभिजनअन्तर्गत ४ सय ९० जना लडाकुले स्वैच्छिक अवकाश रोजेका छन् ।

शक्तिखोरस्थित तेस्रो डिभिजनमा लडाकुका गुनासो र मागलाई जोडदार रूपमा सरकारसँग राख्ने सचिवालयले आश्वस्त पारेपछि १२ बजेदेखि चेक वितरण सुरु भएको थियो । कमान्डरले घाइते, सुत्केरी र अपांग लडाकुलाई चेक नलिन आदेश दिएका छन् । उनीहरूलाई सरकारले थप सुविधा दिएपछि मात्र चेक बुझ्ने तेस्रो डिभिजनका कमान्डरले बताएका छन् । अवरोधका बाबजुद दुई दिनदेखि शक्तिखोर शिविरमा अवकाशमा जाने सबलांग लडाकुलाई धमाधम चेक वितरण भइरहेको छ ।

लडाकुले माग पूरा नभएपछि चेक वितरण रोक्ने बताएर सचिवालयका कर्मचारीलाई बिहान २ घन्टा काम गर्न दिएनन् । सेना समायोजन विशेष समिति सचिवालय संयोजक बालानन्द शर्माले प्रधानमन्त्री लगायतसँग आइतबार यस विषयमा कुरा गर्ने आश्वासन दिएपछि काम सुचारु भएको हो । 'हामीले भोलिसम्मलाई म्याद दिएका छौं, हाम्रा माग पूरा हुनुपर्छ,' बि्रगेड सहकमान्डर धनञ्जय शर्माले भने । तेस्रो शिविरमा १ हजार १ सय ३३ लडाकुले स्वैच्छिक अवकाश रोजेको सचिवालय उपसचिब मधुविलास पण्डितले जानकारी दिए ।

नवलपरासीको झ्याल्टुङडाँडा स्थित चौथो डिभिजनमा शनिबारसम्ममा दुई सय २७ लडाकुले पहिलो किस्ता रकम र बाटो खर्च बुझेका छन् । लडाकुको अवरोधका कारण दोस्रो दिन पनि ढिलोमात्रै सुरु गरिएको थियो । त्यसमध्ये ६ मृतक लडाकुको रकम परिवारले बुझेका छन् । डिभिजनका एक हजार ३ सय ४२ जनाले स्वैच्छिक अवकाश रोजेका थिए ।     

लडाकुको अवरोधपछि दुई बजेदेखि मात्र वितरण सुरु भएको विशेष समितिका सदस्य सदानन्द कुर्मीले जनाए । लडाकुले नयाँ बढुवा दर्जाअनुसारको रकम पाउनुपर्ने, रकमसँगै सम्मान प्रमाणपत्र पाउनुपर्ने र अपांगहरूका लागि विशेष  व्यवस्था हुनुपर्ने माग गर्दै अवरोध गरेका थिए । अवरोधबारे पार्टीका केन्द्रीय नेताहरूसँग फोनसम्पर्क गराएर आश्वासन पाएपछि मात्र चेक वितरण सुरु भएको डिभिजन कमान्डर तेजप्रसाद ओली (प्रतीक) ले बताए ।

रोल्पाको दहवनस्थित पाँचौं डिभिजनमा दुई सय ३३ जनाले चेक बुझेका छन् । डिभिजनबाट ८ सय ९८ लडाकु स्वैच्छिक अवकाशमा जाँदैछन् । शनिबार ३ सय ८५ लाई चेक वितरण गर्ने कार्यक्रम भए पनि ढिला सुरु भएका कारण नसकिएको सेना समायोजन विशेष समितिले जनाएको छ । बाँकी लडाकुलाई आइतबार वितरण गरी टिलास्थित ज्वार स्मृति बिग्रेडमा जाने कार्यक्रम रहेको समितिले जनाएको छ ।

सुर्खेतको दशरथपुरस्थित छैटौं डिभिजनका बटालीयन कमान्डरले घाइते, अपांग तथा सुत्केरीको अवस्था, हालको दर्जा अनुसारको रकम, घाइते अपांगका बालबच्चाको शिक्षाको ग्यारेन्टी, समायोजनमा जानेको दर्जा, सरकारी सम्मानपत्रजस्ता नौ बुँदे माग राखेपछि दिनभर रोकिएको बिदाइ प्रक्रिया साँझ साढे ६ बजेबाट सुरु गरिएको

छ । उनीहरूले माग पूरा नभए सोमबारदेखि प्रक्रिया अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

आन्तरिक छलफल र बहसका कारण ढिलो गरी सुरु भएको बिदाइ कार्यक्रमको पहिलो दिन झरना स्मृति बिग्रेडअन्तर्गतका २४ लडाकुको बिदाइ सकिएको टोलीले जनाएको छ । शनिबार बिहानैदेखि गर्ने भनिएको बिदाइ तथा चेक हस्तान्तरण दिनभर बहस भएपछि साँझ अबेरमात्रै थालिएको थियो ।

कैलालीको तालबन्दस्थित सातौं बिभिजनमा एक सय ७६ जनालाई बिदाइको चेक बितरण गरिएको छ । डिभिजनमा स्वैच्छिकतर्फ जाने लडाकुको संख्या १ हजार ३ सय ७२ छ ।
from kantipur daily news paper 

No comments:

Post a Comment