Tuesday, February 7, 2012

चेक खोस्न लागेपछि प्रहरी शरणमा

मोतीलाल पौडेल
छिन्चु -सुर्खेत, माघ २४ -
स्वैच्छिक अवकाश रोजेर पाएको रकम बैंकबाट झिकेर निस्कन नपाउँदै आफ्नै कमान्डरहरूले खोस्न लागेपछि एक महिला लडाकु सुरक्षा गुहार्दै प्रहरी कार्यालय पुगेकी छन् ।
साटाखानी-२ की कर्मा रावत -विपना) ले मंगलबार छिन्चुस्थित कृषि विकास बैंकमा आफ्नो नामको चेक साटेर नगद लिन लाग्दा सँगै आएका कमान्डरबाट उक्त चेक खोसिने र हातपात हुने स्थिति आएपछि रकम पुनः खातामै जम्मा गरी सुरक्षाका लागि प्रहरी चौकी पुगेकी हुन् ।कम्पनी सहायक कमान्डर कर्मा ३ लाख रुपैयाँको चेक बैंकमा जम्मा गर्न गएकी थिइन् । 'कमान्डरले पूरै रकम लैजाने भनेका थिए । मैले  १ लाखसम्म लैजाने भए दिन तयार छु भन्दा पूरै मागेपछि पैसा बैंकमा फिर्ता गरी सुरक्षाका लागि प्रहरीमा आएको हुँ,' उनले भनिन् ।
'लामो समयदेखि पार्टीमा लागेका गरिब/दुःखीले पाएको रकम लैजान दिनुस् भन्दासमेत मानेनन्,' उनले भनिन्, 'कमान्डरले पैसा खोस्ने स्थिति भएपछि बैंकमै जम्मा गरें ।' पछि पाउने ३ लाख रुपैयाँ लैजानु भन्दासमेत अहिल्यै दिनुपर्‍यो भन्दै कमान्डर बैंकसम्मै आएकाले सुरक्षार्थ प्रहरीमा गएको उनले बताइन् ।
उनलाई छुटाउन कमान्डरहरू प्रहरी कार्यालयमै पुगेका थिए । सुरक्षाकर्मीले जीउज्यानको सुरक्षा माग्दै आएको नागरिकलाई त्यत्तिकै पठाउन नमिल्ने भनेपछि उनीहरू फर्केका थिए ।
कमान्डरले स्वैच्छिक अवकाशबापतको चेक जबर्जस्ती खोसेपछि भुक्तानी रोक्न चेक हराएको भन्दै तीन माओवादी लडाकुले यसअघि कृषि विकास बैंक छिन्चुमा निवेदन दिएका छन् । चेक हराएको भन्दै बैंकमा निवेदन दिएका नोखबहादुर वलीले आफूसँग कमान्डरले २ लाख रुपैयाँ माग गरेकाले भुक्तानी रोक्न निवेदन दिएको बताए । उनले भने, 'मलाई ५० हजार मात्र दिन भनेपछि भुक्तानी रोकेको हो ।'
अनमिनले प्रमाणीकरण गरेपछि २०६६ मंसिर १ देखि शिविर छोडेर मटेलास्थित माध्यमिक विद्यालयको राहत दरबन्दीमा कार्यरत भएको बताउँदै वलीले भने, 'जागिर खाए पनि केही हुन्न भनेर वर्गीकरणमा बोलाए, अहिले पूरै पैसा मागे । जागिर खाएका कारण अख्तियारले नसमात्ने हो भने पूरै पैसा मैले पाउनुपर्छ, नत्र अरूले दुरुपयोग गर्नुभन्दा राज्य कोषमा रकम जम्मा हुनुपर्छ भन्ने मेरो मान्यता हो ।'
स्वैच्छिक अवकाशको चेक बुझेकामध्ये पाम्का-९ सुर्खेतका नोकबहादुर वली, रत्नबहादुर चलाउने र मानबहादुर चन्दले चेक हराएको भन्दै निवेदन दिएको कृषि विकास बैंक उपशाखा कार्यालयका प्रमुख गंगाप्रसाद चौलागाईंले बताए । डिभिजन सहायक कमान्डर दुर्गा चौधरीले भने, 'माथिको आदेशअनुसार यो सबै भएको हो ।' उनले थप अरू बताउन भने चाहेनन् ।
कमान्डरले चेक खोसेर लडाकुले पाएको रकम दुरुपयोग भएको जानकारी गराएपछि एकाउन्ट पेयी चेक जम्मा गर्दा र भुक्तानी लिँदा परिचयपत्रसहित आफैं उपस्थित हुन अनिवार्य गरिएको उपशाखा प्रमुख चौलागाईंले बताए ।
सुर्खेतको दशरथपुरस्थित छैटौं डिभिजनबाट स्वैच्छिक अवकाशमा घर जान चेक बुझेका सेक्सन सहायक कमान्डर मानबहादु चन्द -सन्दीप) ले चेक बुझेकै दिन पूर्ण झरना स्मृति बि्रगेडअन्तर्गतको १२ नम्बर बटालियनका सहायक कमान्डरले खोसेको बताए । उनले आफूले पाउने पहिलो किस्ताबापतको २ लाख ५० हजारमध्ये आफूहरूलाई ५० हजार मात्र दिने भनेको पनि जनाए ।
पुनर्वर्गीकरणमा आएका तर शिविरमा नबसेका लडाकुमध्येबाट त्यस्तो रकम असुल गरिएको हुन सक्ने डिभिजन कार्यालयका एक कमान्डरले कान्तिपुरलाई बताए । ती कमान्डरले भने, 'विगतमा अनुशासनको कारबाहीमा परेकामध्येबाट त्यस्तो रकम लिएको हुन सक्छ, तर यकिन संख्या आउन बाँकी छ ।'
अर्का कमान्डरले भने स्वैच्छिक अवकाशमा गएका लडाकुहरूबाट लिएको रकम सदुपयोग हुन्छ/हुन्न भन्ने हेर्न बाँकी रहेको बताए । त्यस्ता करिब १ सय ५० लडाकु रहेको उनको अनुमान छ । 

from kantipur daily newspaper

No comments:

Post a Comment