Sunday, February 12, 2012

दाहालको 'घरबेटी' सुमार्गीकी जेठीसासु


किरण भण्डारी, काठमाडौं, माघ २९ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल हालै 'डेरा' सरेको सुविधासम्पन्न घर उनका निकट व्यापारी अजय सुमार्गीकी जेठीसासुको नाममा रहेको खुलेको छ। लाजिम्पाटमा तीन रोपनी कम्पाउन्डसहितको आधुनिक बंगला केही महिना अघिमात्र शिशु अर्यालको नाममा पास गरिएको मालपोतको अभिलेखमा छ। उक्त बंगलाका पूर्व धनी नवलकिशोर अग्रवाल हुन्।

आलिसान बंगलाकी ती 'घरबेटी' महिला को हुन् भन्दै पार्टीभित्रैका कार्यकर्ताले खोजीनीति गरेर सुमार्गीको नाता पत्ता लगाएका हुन्। पार्टी उपाध्यक्ष मोहन वैद्य निकट एक केन्द्रीय सदस्यले नागरिकसँग भने, 'लामो अनुसन्धानपछि हामीले त्यो घर केही महिनाअघि मात्र शिशु अर्यालको नाममा पास भएको फेला पार्‍यौं।'
उनका अनुसार शिशु सुमार्गीकी श्रीमती अस्मिताकी दिदी हुन्। उनीहरू कुपण्डोलका रैथाने अर्याल परिवारका छोरी हुन्।
मालपोत कार्यालय डिल्लीबजार स्रोतका अनुसार त्यो घर ५ करोड २० लाख रुपैयाँमा पास गरिएको थियो। चल्तीको भाउअनुसार त्यो कम्तीमा १५ करोड पर्ने स्थानीयको दाबी छ। अर्याल अहिले नेपालमा छैनन्, अमेरिका गइसकेकी छन्।
अर्यालले लाजिम्पाटमा त्यत्रो महँगो घरजग्गा कसरी किनिन् भन्ने लेखाजोखा पनि दाहालइतर कार्यकर्ताले गरिरहेका छन्। 'हामीलाई शिलु अर्याल डमी घरभेटी हुन् भन्ने लाग्छ,' ती केन्द्रीय नेताले भने, 'शिशुको वा उनको परिवारको करोडौंको जग्गा किन्ने हैसियत देखिन्न।'
आफूहरू सामान्य घरमा बस्ने अनि १ लाख ३ हजार रुपैयाँ भाडामा लगाउन कसैले पनि करोडौं लगानी गर्दैन भन्ने दाबी ती नेताले गरेका छन्।
शिशुको विवाह नुवाकोट थानसिङ पुर्ख्यौली घर भएका भण्डारी परिवारसँग भएको थियो। लामो समय नेपाली कांग्रेसका जिल्ला सभापति रहेका बद्रीराम भण्डारीका भतिजा गृष्मराम उनका श्रीमान हुन्। उनीहरूको बसोबास वर्षौंदेखि ठमेल गल्कोपाखामा छ।
माओवादी कार्यकर्ताले यो घर दाहालकै हुनसक्ने भन्दै उपाध्यक्ष वैद्यसमक्ष उजुरबाजुर सुरु गरिसकेका छन्। 'अध्यक्ष र सुमार्गीको गहिरो हिमचिम हुनु र उनकै जेठीसासुको नाममा किनिएको घरमा सर्नुले स्वामित्वमा शंका जन्माएको छ,'
स्थायी समितिका एक सदस्यले भने, 'पहिले गठन भएर सुस्त रहेको सम्पत्ति छानबिन आयोगको यसमा ध्यान जाला।'
पञ्चायतकालमा 'थाहा' अभियान चलाएका रुपचन्द्र विष्टको कार्यकर्ता हुँदै हेटौंडा निवासी सुमार्गी राप्रपा नेपालका अध्यक्ष कमल थापासँग नजिकिन पुगेका थिए । राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा उनका ज्वाइँ राजबहादुर सिंहको व्यावसायिक साझेदार पनि बने।
हेटौंडा नगरपालिकाको सामान्य पराजुली परिवारका यी युवा शान्ति प्रक्रिया सुरु भएपछि एकाएक माओवादी अध्यक्ष दाहालको विश्वासपात्र बनेका हुन्। पार्टीभित्रको विवाद सुल्झाउन होस् वा कांग्रेस, एमालेका नेताहरूसँग बैठक बस्न, दाहालले सुमार्गीको बानेश्वरको घरलाई धेरैपटक रोजेका छन्।
दाहाल प्रधानमन्त्री रहेकै बेला उनको नेपाल स्याटलाइट टेलिकम कम्पनीले नाममात्रको रोयल्टी तिरेर मोबाइल फ्रिक्वेन्सी सुविधा हात पारेको थियो।
from Nagarik daily news paper

No comments:

Post a Comment