Sunday, February 5, 2012

वितरण स्थलमा अयोग्य लडाकुद्वारा तोडफोड

मोतीलाल पौडेल
सुर्खेत, माघ २२ -
दशरथपुरस्थित छैटौं डिभिजनमा अवकाश लिएका लडाकुलाई रकम वितरण हुँदै गर्दा प्रवेश गरेका अयोग्य लडाकुको तोडफोडले बिदाइ प्रक्रिया अवरुद्ध भएको छ ।

अयोग्य लडाकुको माग सम्बोधन नगरी स्वैच्छिक अवकाश रोजेकालाई बिदाइ गर्न नहुने भन्दै छिरेको डेढ सय जनाको समूहले बिदाइ कार्यक्रम स्थलमा तोडफोड गरेको डिभिजन सहायक कमान्डर दुर्गाप्रसाद चौधरीले बताए । 'उनीहरूको माग हामीसँग थिएन, सरकारसँग थियो, जुन पूरा नभएको भन्दै तोडफोडमा उत्रिए,' उनले भने ।
लडाकु बिदाइ कार्यक्रमका लागि खटिएका सेना समायोजन विशेष समिति सचिवालयका सदस्य दीपकप्रकाश भट्टले तोडफोडले बिदाइका काम स्थगित भएको बताए । भट्टका अनुसार तोडफोडबाट तीनवटा ल्यापटप कम्प्युटर, बिदाइ कार्यक्रमका लागि बनाइएका सबै टेन्ट क्षति हुनुका साथै कर्मचारीमाथि समेत हातपात भएको छ । 'कागजपत्र सबै च्यातिए, हातपात पनि भयो,' उनले भने ।

घटनाका प्रत्यक्षदर्शी एवं विशेष समितिको स्थानीय शिविर अनुगमन समितिका निमित्त प्रमुख प्रेम गौलीले पहिला उनीहरूले बिदाइ प्रक्रिया भएको ठाउँ अगाडि गेटमा हानेर तलतिर गए पनि सुरक्षा नबढाएकाले पछि आक्रमण भएको बताए । 'मूलगेटबाट जबर्जस्ती भित्र पसे अनि तलको गेटमा चार जना मात्रै प्रहरी सुरक्षाकर्मीले थेक्न सकेनन् र तोडफोड भयो,' उनले भने ।

शिविरमा जबर्जस्ती भित्र पसेका अयोग्य लडाकुले बिदाइ कार्यक्रम भएको स्थलअगाडि रहेको माओवादी लडाकुको पोस्टमा रहेको हतियार खोस्ने प्रयाससमेत गरेको उनले बताए । 'हतियार खोस्ने प्रयास भयो तर पछि खोसिएन,' उनले भने । डिभिजनका कमान्डरहरूलाई गालीगलौज गर्दै एक्कासि छिरेका उनीहरूले बिदाइ कार्यक्रमका लागि बनाइएका सबै संरचना तोडफोड र नष्ट गरेका थिए ।

तोडफोड भए पनि चेक र नगदलगायत कागजपत्र भने सुरक्षित राखिएको उनले बताए । उनले लडाकुले कुर्सी उठाएर हान्दा स्थानीय शिविर अनुगमनमा खटिएका जनपद प्रहरीका प्रहरी निरीक्षक विश्व ढकाललाई सामान्य चोट लागेको बताए ।

५० पक्राउ शिविरमा बिदाइ अवरुद्ध तथा तोडफोडमा संलग्न ५० जना बढी अयोग्य लडाकुलाई नियन्त्रणमा लिएको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय छिन्चुका निरीक्षक कमल रजौरेले बताए । बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिका केन्द्रीय सदस्य लालचन्द्र वीसीले कमान्डरहरूसँग छलफल गर्नका लागि भित्र जान खोज्दा रोकेपछि प्रतिवाद गर्नुपरेको बताए । 'डिभिजनले दिँदै आएको मासिक भत्ता लिन र आफ्ना मागबारे छलफल गर्न भित्र जान खोज्दा रोकेपछि झडपसमेत भयो,' उनले

कभने । पूर्वलडाकु संघर्ष समितिका केन्द्रीय सहसंयोजक राजु गहतराजले समस्याको सुनुवाइ नहुँदा आक्रोशमा आई तोडफोड गर्नुपरेको बताए । उनले आफूसहित १ सय ५० जनाको संख्यामा डिभिजन कार्यालय भित्र प्रवेश गर्न खोजेका बताए ।

चेक खोसियो डिभिजनबाट स्वैच्छिक अवकाशमा घर जना चेक बुझेका पूर्ण झरना स्मृति बि्रगेडअन्तर्गत १२ नम्बर बटालियनका २६ जनाको चेक खोसिएको सेक्सन सहायक कमान्डर मानबहादुर चन्द -सन्दीप) ले बताए । उनले आफ्ना बटालियन सहायक कमान्डर एटमले चेक खोसेको जनाएका छन् । आफूहरूले पाएको पहिलो किस्ताबापतको २ लाख ५० हजारमध्ये पछि छलफल गरेर ५० हजार मात्र दिने बताइएकाले चित्त दुखेको र आफूहरू अन्यायमा परेको बताए ।

त्यस्तै आफूले बुझेको चेक खोसिएको बताउँदै उक्त बटालियनका अर्का सेक्सन कमान्डर शशिनाथ कुँवरले बटालियन सहायक कमान्डरले चेक खोसेको र पकेट खर्च बापतको रकम मात्रै आफूसित भएको बताए । उनले भने, 'हामीसँग बाटो खर्चको नगद मात्रै छ, चेक खोसियो, दुःख लागेको छ ।'

आफूहरूप्रति भएको यस्तो अन्यायको राज्यले न्याय दिनुपर्ने सेक्सन सहायक कमान्डर कुँवरले बताए । उनका अनुसार चेक खोसिनेको संख्या धेरै छ । सेना समायोजन समितिको टोलीले दिएको चेक बुझ्नेबित्तिकै आफूहरूको चेक खोसिएको अर्का लडाकु पौरख मल्लले बताए । तोडफोड हुनुअघिसम्म आइतबार अबेरसम्म २ सय ८० जनालाई चेक हस्तान्तरण गरिएको टोलीका प्रमुख भट्टले बताएका छन् ।
from Kantipur daily newspaper 

No comments:

Post a Comment