Saturday, February 4, 2012

'यस्तो तरिकाले घर र्फकन मन थिएन’

लडाकु पाँचौं डिभिजन सहकमान्डर रामलाल रोकाले सम्मानजनक सेना समायोजन नहुने भएकाले आफूले अवकाश रोजेको बताएका छन् । नेताहरूका व्यवहारका कारण राजनीतिमा जान त्यति मन नभएको बताउने रोकाले आफू दुःखेको मन लिएर अवकाशमा जान लागेको जनाए । उनीसँग दाङस्थित संवाददाता दुर्गालाल केसीले गरेको कुराकानी:
माथिल्लो तहमा पुगेर पनि अवकाश रोज्नुभो नि ?

जति गर्दा पनि यस्तै हो जस्तो लाग्यो । सेनामा सम्मानजनक अवस्था नहुने देखेपछि घरमै बस्नु उपयुक्त देखेँ । लडाकुदल हुँदै हरेक तहमा कमान्डरको काम गर्दै यहाँसम्म पुगेँ । युद्ध सुरु भएदेखि नै घर छोडेको हुँ । ६० भन्दा बढी लडाइँमा भाग लिइयो । यस्तो तरिकाले घर र्फकन मन थिएन । नेताहरूले सहमति गरिदिएकाले चित्त दुखाएरै भए पनि जानुपर्ने बाध्यता छ ।

घर गएर के गर्नुहुन्छ ?

जीवन चलाउने केही उपाय गर्नुपर्ला । घर रोल्पामा भए पनि दाङतिरै व्यवसाय गर्न सकिन्छ । घरमा श्रीमती दुई छोरा र एक छोरी छन् । उनीहरूको हेरचाह र पालन पोषनका लागि समय दिन्छु ।

राजनीति नगर्ने ?

राजनीति गर्नलाई पार्टीले कत्तिको विश्वसनीय वातावरण बनाउँछ, नेताहरूको नीति र व्यवहार कस्तो हुन्छ, त्यसमा भर पर्छ । यही अवस्थामा गर्न गाह्रो हुन्छ ।

युद्धमा लाग्दा, देखेका सपना कति पूरा भए ?

हामीलाई गलत कुरा सिकाइयो वा नेताहरूले गलत गरे । हामीलाई जे सिकाइएको थियो, त्यसलाई फर्केर हेर्दा केही पाइएन । जनताले परिवर्तन महसुस गर्न नपाउँदै हामी घर र्फकदै छौं ।

लडाकुको बिदाइसँगै देशमा शान्ति होला ?

म त गाह्रो देख्छु । देशमा अराजकता व्याप्त छ । बेरोजगारी त्यत्तिकै छ । जनजिविकाका समस्या उस्तै छन् । देशमा अझै १५ वर्ष सहमतिको या एउटै दलको सरकार बन्दैन । नागरिकका गाँसबासका सवाल सम्बोधन नभए फेरि बन्दुक उठ्न सक्छ । हामीले या माओवादीले नउठाए पनि कुनै न कुनै समूहले उठाउँछ ।
from kantipur daily newspaper 

1 comment:

  1. first of all,i would like to salute your struggle-full life as well as personality .who want his one identity,can achieve meaningful result .as far as in my view ' life is struggle,struggle is life'

    ReplyDelete