Friday, April 8, 2011

खोलाका यादमा



त्रिशुली उसैगरी बग्थ्यो । फरक यत्ति हुन्थ्यो कि यसको अनुहार मौसमअनुसार तलमाथि । प्रायः जसो देख्थेँ बसको झ्यालबाट, गतिवान् त्रिशुलीमा कुइरे मामामाइजू पानी छ्यापाछ्याप गर्दै रमाइरहेका । 
कहिले ? 
रोल्पाबाट काठमाडौं छिर्दा होस् या काठमाडौंबाट रोल्पा निस्कदा । दांबाट काठमाडौं जाँदा होस् वा काठमाडौंबाट दांग फिर्दा । त्रिशुलीमा मस्तराम ‘मामामाइजू’लाई बसको झ्यालबाट देखेर यो बाजो मन कल्पन्थ्यो, ‘कठै बरै नि, कहिले यस्तरी बग्न पाइएला ? आफ्नै देशमा बग्ने आफ्नै खोलामा पनि यसरी बग्ने दिन कहिले आउला ?’
एक मनले भन्थ्यो, ‘मस्ती गर्न कहाँ रहेछ र लेखेको रैछ र ? साहूको काम गर । एक पेट भर्नलाई रातदिन खट । बस् । अर्को मनले थप्थ्यो, जाबो भूँडीकै लागि सारा समय खर्चनु परेपछि मनोरञ्जन कहिले गर्नु र ?

मामामाइजू बगिरहेको त्रिशुलीमा लहरिएको देख्दा आँखामा बल्झिन्थे घरछेवैबाट बेतालले बग्ने माडीखोला । कुइरीमण्डली पार्दै बग्ने साङ्राखोला । चुनबाखोला ।
यी प्राणी ती बेतालका खोलामा बग्न पाए कति रमाउँदा हुन् ? कल्पेर आफै चक्राउँथेँ ।
त्रिशुली नकाटुन्जेल जन्मथलोका खोलाका हरक्क माया लागेर आउँथ्यो । हतारहतारमा बग्ने मेरा ती बेफुर्सदिला खोला त्यस्सै खेर गएको देखेर मन नौचिरा चिरिन्थ्यो । 
एक दिन यस्तो दिन पनि आयो । जुन दिन ४०० जनाको टोली काठमाडौंबाट एकाबिहानै बाटो लाग्यो, त्रिशुलीसँगै बग्न । त्यो दिन थियो, शनिबार चैत १२ ।
एकाबिहानै लैनचौरस्थित स्काउट भवननेर प्रधानमन्त्री झलनाथ खनालले रिबन काटे । खनाल जाने भएकाले ‘जागिर पनि पकाउन हुन्छ’ भनेर हाकिमले काजमा खटाएका थिए । आयोजकले प्रचण्ड र सुशील कोइराला पनि जाने हल्ला चलाएका थिए । तिनका पार्टीबाट आएछन् –केही थान मसिना काँटीका सभासद् र केन्द्रीय सदस्य । 


बस गुडेपछि थाहा भयो, माधव नेपाल र केपी ओली पो जाँदैछन् । 
टोली पुग्यो धादिङको चरौदी । यताउति यसो नजर डुलाइयो । चिनेजानेका कोही भए पो । राजनीति बिट हेर्ने एक्लै परिएछ । 
चरौदी पुग्दा १२ बजिसकेको थियो । खानाको साटो एउटा अन्डा, पुरी र तरकारी खाइयो । चिल्लोको त के कुरा गर्नु । 
टोली पुगेको केही समयपछि नेपाल र ओलीको टोली होटलमा छि¥यो । नेपालले फोटो खिच्न थाले । अनौपचारिक पहिरनमा औपचारिक कार्यक्रममा फोटो खिच्दै हिंंड्ने भारतीय राजदूत राकेश सूद र उनको तालमा तलमाथि थिएन । नेपाललाई सूदले यिनलाई सिकाए कि यिनले सूदलाई ? उनै जानून् । दर्शकका फोटो भ्याएपछि जुरुक्क उठे । श्रीमती गायत्री र ओलीलाई छोडेर यतातिरको सोफामा सरे । उनले आफ्नै श्रीमतीतिर क्यामेरा सोझ्याए । 
सायद फोटो खिच्ने धित नमर्दै ओली र उनको लागि नयाँ हाफ्पेन्ट ल्याइयो । खेतका गराजस्ता ससाना ढिक थिए त्रिशुली ओर्लन । ओर्लन साँच्ची नै गाह्रो परेर हो कि कसो कुन्नि ? भीरमा जसरी कार्यकर्ताले उड्न नजानेका बचेरालाई आमा चरीले पखेटाबाट उचालेजसरी उचाले ।
र्याफ्टि गर्दा लाउने कार्यकर्ताले ल्याइदिएको जाँगे लगाएका नेपालले भाषण थाले । पर्यटन, आर्थिक बिकासका व्याख्यानमा यसअघि नै आफूले ¥याफ्टिङ गर्दाका अनुभव पनि मिसाए । यसो उसो भनेर यति बोले कि उनकै कार्यकर्तासमेत छक्क परे । 
‘कहिल्यै उप्रधान, प्रधानमन्त्री नै भएनन्जसरी के बोलेका,’ कार्यकर्ता एकअर्कामा भन्न थाले, ‘आफू प्रधानमन्त्री भए त देशै झलमल्ल पारम्लाजसरी के बोलेका ?’ 
प्रधानमन्त्री हुँदा बिकास र पर्यटनबारेमा उनले साँच्ची के गरे ? भनेनन् । गरेको भए पो । सायद ती कार्यकर्ता खनाल खलकका थिए कि । 
७२ वटा ¥याफ्टिंग बोट हामीलाई कुरिरहेका थिए । 
बोटका क्याप्टेन बलिमान तामाङ भाइ केही समयपछि भारतको मनाली जाँदैरहेछन् । तीन किलोमिटर दूरीसम्मको चलाउनुपर्ने मनालीमा याफ्टि यहाँभन्दा हजार गुना खतरा र रमाइलो हुन्छ रे । हिउँ पग्लदैजाँदा पानीको सतह ह्वात्तै बढ्छ रे । रोल्पातिरबाट पहिलेपहिले कुल्लु मनाली खुबै जान्थे । उनका दाजु पनि यै काम गर्दारहेछन् । 
हामी चढेको बोटमा तीन समूह एकअर्काबीच देखाभेट नै नभएका । म त झन एक्लो न परेँ । देखेभेटेका टिभीका साथीहरु र केही फोटो पत्रकारले अरु बोट प्याक भइसकेका थिए । 
बोटमै चिनजान भो । आरएनएसीका एक जागिरे पहारी थरका रहेछन् । पछि थप थाहा भयो, मगनी गरेकी चेलीसँग त्रिशुली आएका रहेछन् । नसुनेको एउटा म्यागजिनमा काम गर्ने दुईवटी बहिनी थिए । र, बाँकी रहेछन् टुरिजम बोर्डका कर्मचारी । 
हामी चढेको बोट बग्दैजाँदा थाहा भयो, विभिन्न ठाउँबाट सङालिएको यो समूह बडा मज्जाको रहेछ । 
ठाउँठाउँमा झोलुंगे पुल भेटिए । पुलमा उभिएर त्रिशुलीमा पौडिरहेकालाई गाउँलेले हेरिरहेका थिए । 
त्रिशुलीभर नै पौडन नजानेका माछाजस्ता बोट केही हाम्रा अघि र केही पछि थिए । कसरी बाटो बनाए होलान् ? अचम्म लाग्दा । चट्टान र सडकमा गाडी गुडिरहेको बोटबाट अचम्म देखिदोरहेछ । अँ, सडकमा उसैगरी गाडी दौडिरहेका थिए । रोल्पा जाँदा वा फर्कदा हेरेजस्तै झ्यालबाट यात्रुले हामीलाई हेर्दै सोचिरहेका होलान्, ‘यी मूला पनि कुइरे मामामाइजू नै त होलान् नि ।’
यसो कल्पेँ । 
मज्जा लाग्यो त्रिशुलीमा बग्दा । छालसँग लुकामारी खेल्दा । छाल आउँदा अरु चिच्याउन थाल्थे तर छालले भिजाउँदा चिसो नै किन नहोस् अर्कैखाले आनन्द आयो । फेरिफेरि छाल भेटियोस्जस्तो लागिरह्यो । नाम पनि छालका अनभाँतीका रहेछन् । एउटा छालको नाम नै लेडिज डाइ । 
अँ, त्रिशुलीमा बग्दैजाँदा गजबका ठाउँ आउँथे । भाँतीभाँतीका ढुंगे आकृति । चट्टान ।
‘पौडी खेल्न पाइन्न भाइ ?’
सोध्यौं । 
‘अझ तल हो,’ बलिमान भाइले भने ।
केही समयपछि बोटबाट ओर्लेर खेलेको देखियो । खोलामा बेताले बगिहेका मान्छेलाई देखेर बच्पनमा भैसीलाई पानी खुवाउने पोखरीमा हाम फालेको सम्झिएँ । ती पोखरीमा हिलो र पानी सरोबर हुन्थे । हामीलाई पोखरीमा वा खोलाका ससानामा तालमा पौडी खेल्नुलाई भौ खेल्ने भन्छौं । र, खोलाका तालिएका ठाउँलाई रह ।

अँ, बेतालले त्रिशुलीमा बोटबाट मान्छे झरिरहेको देखेर हाम फालेँ । पौडी खेल्न आउने भएकाले पनि आँट आयो होला । तर जाकेट भएपछि पौडी जान्नु र नजान्नुमा खासै अर्थ नलाग्दोरहेछ । दुई ठाउँमा गरी झण्डै आधा घण्टा पौडिएँ । 
पछिल्लो पटकको पौडीमा अर्को बोटवालाले यहाँ थामिन सकिन्न भन्दै जाम् भन्दैथिए । कात्तिकतिरको चुनबाङखोलाजस्तै यति बलियो थियो । थामिन नै मुश्किल । हामी चढेको बोट कुर्न बाह्र बज्यो ।
अँ, अलि सलल नबगेको ठाउँमा हाम्रो बोट अडिन लाग्यो । यसो क्यामेरा झिकेँ । केपी ओली र माधव नेपाल चढेका बोट कतै नि देखिएनन् । सम्झनामा आए, मदन भण्डारी र जीवराज आश्रित । ‘यी दुई’ले नै ‘ती दुई’लाई त्रिशुलीमा खसालेका भनेर बेलाबेलामा पत्रपत्रिकामा ‘टिएन प्रधान’को नाउँमा आएका समाचार र टिप्पणी पनि सम्झनामा आए । आरोपित यी दुई माधव–केपी कहाँ गए बोटमा ? कतै पनि देखिएनन् । ‘खनालले रिबन काटेर यी दुईलाई त्रिशुलीमा पठाएको’ भनेर कार्यक्रममा एक सहभागीले भन्दैथिए, ‘हिजो माधव केपीले भण्डारी र आश्रितलाई त्रिशुलीमा पठाए आज खनालले । के हुने हो है ।’ उनले यति भनेपछि हलमा हाँसो गुञ्जिएको थियो । 
अँ, हाम्रा वरपर बेलाबेलामा काइक आउँथे । र, यसोउसो चर्तिकला देखाउँथे । काइक भनेका कोही डुबिहाले बचाउने उद्धारकर्ता रहेछन् । 
ए एउटा कुरा, याफ्टि बोट बग्नुअघि बलिमान भाइले कोचि क्लास नै दिए । कसरी बस्नेदेखि कसरी पन्यूजस्तो त्यो भाँडो चलाउने भनेर । उनका खास दुईवटा कासन थिए, ‘फरवार्ड’ र ‘स्टप’ । रमाइलो कुरा के भने, बोटमा यस्ता साथी थिए कि कुनै बेला स्टप झरिसके पनि रोक्दैनथे भने कुनै बेला स्टप नभनिकनै रोकिसक्थे । 
बेलाबेलामा अर्को बोट छेउछाउमा आउनेबित्तिकै भिषण लडाइँ हुन्थ्यो । ‘अट्याक’ भन्दै पानी छ्यापाछ्याप हुन्थ्यो । अनुभवीवालाले त बाल्टिन नै लिएर आएका हुन्थे । कहाँ बाल्टिन कहाँ बोट चलाउने पन्यूजस्तो भाँडोले छ्यापाछ्याप ।  
हाम्रो समूहमा सबैभन्दा रमाइलो पात्रा थिइन्, माया लिम्बू । शंंखमूलस्थित एउटा फाइनान्समा काम गर्ने माया पलपलमा खित्का छाड्नेगरी हँसाउँथिन् । उनलाई टक्कर दिने एक मात्र थिए, क्याप्टेन बलीमान तामाङ । औंशीपूर्णिमा जसरी बोल्ने त्यसमाथि मज्जाले तौलेर । बलीमान बोलेपछि हाँसो थामिन केही बेर लाग्थ्यो ।


मायालाई गीत गाउन असाध्यै रहर रे । जहिल्यै गाउन मन लाग्ने रे । तर उनको रहर र स्वरबीच जात्तिबित्ति तलमाथि रे । गीतकै कारणले उपाधिसमेत पाएकी रे । 
‘लताको गीत गाएको सुनेर दाइले मलाई गायिका नै बनाएको छ । नाम पनि राखिदिएको छ,’ उनले यति भनेपछि नाम सोधे । 
‘लाटा मंगेसकर ।’ 
उनले यति भनेपछि त्रिशुलीको छालमा हाँसो पनि मिसियो । 
‘मैले गाएको गीत ‘लता’को जस्तो नभई ‘लाटा’को जस्तो भयो रे के,’ उनले भनिन् । यति थपेपछि डुंगा नै हाँस्यो । 
के सम्झिए कुन्नि ? बलीमान भाइ मुख नखोलिकनै हाँसे । ‘फरवार्ड’ र ‘स्टप’ भन्ने बलीमानले गाउने स्वरबारेमा गमे कि ? किन ‘लाटा मंगेस्कर’ भइन् ? भन्ने कुराको रहस्य उनले खोले ।  
‘ए तपाईंको स्वरमा भाइरस लागेको रहेछ,’ बलिमानले यति भनेपछि फेरि हाँसो पोखियो । 
चरौदीदेखि कुरिनटारसम्मको २५ किलोमिटरको दूरी पार गर्न तीन घण्टा लाग्यो । कुरिनटार पुगेर थाल थाप्दा चार बजिसकेको थियो ।
पौडी खेलेर र हाँसेर हामी थाकेछौं । बलीमानले ‘स्टप’ भने पनि ‘फरवार्ड’ भने पनि ‘स्टप’मै रहे । 
कार्यक्रम बिसाउनीमा केपी ओलीले पानी र पर्यटनबारे बोले । र, ‘ढंग नपुगेर देश विकास हुन नसकेको’ प्वाक्क भने । सुनेर उनकै कार्यकर्ताले भने, ‘आफू उपप्रधानमन्त्री र गृहमन्त्री हुँदा गुच्चा खेले ?’ 
फर्कंदा नागढुंगामा उस्तै जाम छ । गाइजात्रे शासनको अनुहार ‘टाफिक’मा पनि देखिनु स्वाभाविक थियो । जाममा फसेपछि पनि हतारहतारमा दौडिरहेका खोलाको याद बल्झियो, ‘हजारौं खोला र पहरालाई काम दिए कस्तो हुँदो हो नेपालको अनुहार ?’ 
सम्झेर खोला र सम्झेर देशको सुन्दर अनुहार, अत्यास लाग्यो ।

1 comment:

  1. मेरा पनि केही साथिहरुले यो टोलीसँग र्याफ्टिङ गएको फोटो फेसबुकमा राखेका थिय। केपी ओली र माधव नेपाल सँग खिचेका फोटो। तपाईं पनि जानु भएको रैछ। पुरै घट्ना विवरण नै राख्दिनु भयो। धन्यबाद्। मेरो पनि रहर छ र्याफ्टिङ गर्ने। हेरम कहीले पुरा हुने हो।

    ReplyDelete