Thursday, April 21, 2011

राष्ट्रपति रामवरणले भने, 'स्याबास् अनुजा !'

From Kantipur Daily
'स्याबास् अनुजा’

एक्कासि राष्ट्रपतिले टेलिफोन गरी धन्यवाद भनेपछि उनी फुरुङ्ग परिन्
बालकृष्ण बस्नेत,हर्ष सुब्बा
काठमाडौ, वैशाख ७ -
'अनुजा नानी, म रामवरण यादव । नेपालको राष्ट्रपति । चिन्यौ मलाई ?'
साँझ ६ बजे नसोचेको फोन आएपछि इटहरीमा रहेकी २२ वषर्ीया अनुजा बानियाँ फुरुङ्ग भइन् । राष्ट्रपतिले स्याबासी दिन फोन गरेको थाहा पाएपछि उनले तत्काल नमस्ते गरिन् । अरू बोल्न सकिनन् ।
बसमा फेला परेको ९१ लाख रुपैयाँ र एक हीराको हार अनुजाले सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको समाचारले गद्गद भई राष्ट्रपतिले फोन गरेका थिए । 'आज मैले कान्तिपुरमा तिम्रो बारे समाचार पढें । अहिले देशमा नैतिक खडेरी परेका बेला तिमीले जुन इमान्दारिता देखायौ, म धेरै खुसी छु,' सर्वसाधरणसँग टेलिफोनमा पहिलोपल्ट संवाद गरेका राष्ट्रपतिले अनुजाको कामको प्रशंसा गर्दै भने, 'सम्पूर्ण नेपाली जनताको तर्फबाट म तिमीलाई मुरीमुरी धन्यवाद र बधाई दिन चाहन्छु ।'

भोजपुर भुल्के घर भई धरान बस्दै आएकी अनुजाले चैत २६ गते धरानमा उक्त सम्पत्तिसहितको झोला फेला पारेकी थिइन् । झोलामा रहेको कागजपत्रमा उल्लेख सम्पर्क नम्बरबाट उनले उक्त सम्पत्तिको धनी काठमाडौं सीतापाइलाका पुरुषोत्तम पौडेललाई खबर गरी बुझाएकी थिइन् । यससम्बन्धी समाचार बुधबार सार्वजनिक भएपछि चारैतिरबाट अनुजालाई फोनको ओइरो लागिरहेको बेला राष्ट्रपतिले स्याबासी दिएका थिए ।

'यसअघि सर्वसाधरणसँग यस्तो संवाद भएको थिएन,' राष्ट्रपतिका स्वकीय सचिव ललितबहादुर बस्नेतले कान्तिपुरलाई जानकारी दिए । राष्ट्रप्रमुखबाट स्याबासी पाएपछि अनुजाले त्यसको प्रतिक्रिया भने सामान्य तरिकाले दिएकी थिइन् । 'मैले त्यत्रो ठूलो काम गरेकी होइन । जसको सामान हो, उसैलाई बुझाएको मात्र हो,' राष्ट्रपतिसँग भएको कुराकानी उद्धृत गर्दै अनुजाले कान्तिपुरसँग भनिन् । एसएलसी परीक्षामा सहभागी भएर पनि स्वास्थ्यका कारण पूरा गर्न नसकेकी उनले यसअघि पनि यस्ता काम गरेको बताइन् । 'यो रकम ठूलो भएर चर्चामा आएको मात्र हो । मैले पहिले पनि यस्ता काम गरेकी छु,' उनले भनेकी थिइन् ।

राष्ट्रपति यादवले उनलाई काठमाडौं आई भेट्न निमन्त्रणा समेत गरे । 'यही इमान्दारिताले तिम्रो उन्नति र प्रगति होस्,' छोटो कुराकानीका क्रममा राष्ट्रपतिले अनुजाका भोजपुरमा रहेका माता, पिताका बारेमा समेत जानकारी लिएका थिए । 'तिमीजस्तो इमान्दार र नैतिकवान छोरी जन्माउने आमाबाबुप्रति पनि मेरो विशेष धन्यवाद छ । सुनाइदेऊ ल,' स्वकीय सचिव बस्नेतले राष्ट्रपतिको संवाद सुनाए ।

अनुजाले भोजपुरको भुल्केस्थित पञ्चकन्या उच्च माविमा अध्ययन गरेकी हुन् । उनका पिता सोही माविमा शिक्षक छन् । पौडेलले हराएको पैसा पाएपछि पुरस्कारस्वरूप अनुजालाई २ लाख रुपैयाँ र हीराको हार लिन आग्रह गरेका थिए । त्यसलाई अनुजाले सहज रूपमा अस्वीकार गरेकी थिइन् । छोरीको घर किन्न पौडेलले उक्त रकम लिएर धरान गएको बेला झोला बसमा छाडेका थिए ।

No comments:

Post a Comment