Saturday, April 23, 2011

अनुजाको खबर शंकास्पद देखिएपछि झस्कियो शितल निवास


नागरिक 
रोहित राई, धरान, वैशाख १०- बस यात्राको क्रममा ९१ लाख रुपैयाँ र हिराको हार भेटे पनि सम्बन्धित ब्यक्तिलाई बुझाएर इमान्दारिताको नमूना प्रस्तुत गरेको भनेर एकाएक चर्चामा आएकी अनुजा बानियाँ र सो घटनाको विश्वसनियता माथि प्रश्न उठेपछि राष्ट्रपति कार्यालय शितल निवास झस्किएको छ। विभिन्न सञ्चारमाध्यममा शुक्रबार सो घटनाको विश्वासनियतामा शंका रहेको समाचार प्रकाशित भएपछि राष्ट्रपतिका स्वकीय सचिव ललित बस्नेतले मोरङका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरी घटनाबारे यथार्थ बुझ्न आग्रह गरेका थिए। 

मोरङका प्रजिअ सुरेश अधिकारी यसअघि राष्ट्रपति कार्यालयमा रहेकोले स्वकीय सचिव बस्नेतले व्यक्तिगत सम्बन्धको आधारमा अधिकारीलाई घटनाबारे यथार्थ बुझ्न आग्रह गरेका हुन्। ‘राष्ट्रपतिले अनुजालाई राम्रो काम गर्‍यौ भनेर स्याबासी दिएको पत्रपत्रिकाहरुमा महत्वका साथ छापियो, अहिले त्यस घटनाप्रति शंका रहेको खबर आएकोले राष्ट्रपति कार्यालयलाई नैतिक संकट परेकोले झस्किएको छ'-स्रोतले भन्यो-‘त्यसैले राष्ट्रपति कार्यालयबाट मोरङका सिडिओलाई घटनाबारे यथार्थ बुझ्नु भन्ने निर्देशन आएको हो।'

यसअघि, भोजपुर भुल्के गाविस घर भई धरानमा बस्दै आएकी २२ वर्षीया अनुजाले  ९१ लाख रुपैयाँ र हिराको हार भेटेर सम्बन्धित व्यक्तिलाई बुझाइदिएको समाचार पत्रिकाले गत बुधबार छापेपछि राष्ट्रपति डा.रामवरण यादवले बिहीबार टेलिफोन गरी अनुजालाई बधाई दिएका थिए। राष्ट्रपतिका स्वकीय सचिव बस्नेतले सुनसरी प्रशासनसँग आफ्नो सम्बन्ध नरहेको भन्दै मोरङका प्रजिअलाई सम्पर्क गरेको र मोरङका प्रजिअले आफ्नो कार्यक्षेत्र नपर्ने भन्दै सुनसरीका प्रजिअ रामप्रसाद थपलियालाई घटनाको सत्यता बुझ्न आग्रह गरेको स्रोतले जनायो।
मोरङका प्रजिअ अधिकारीले भने राष्ट्रपतिका स्वकीय सचिवले दुई दिन अघिमात्रै सम्पर्क गरेको स्वीकार गरे पनि शुक्रबार भने त्यस्तो निर्देशन नआएको बताए। सुनसरीका प्रजिअ रामप्रसाद थपलियाले पनि सो घटनाबारे कतैबाट सम्पर्क नभएको दाबी गरे। राष्ट्रपतिका स्वकीय सचिव ललित बस्नेतले पनि आफुले प्रजिअ अधिकारीलाई टेलिफोन सम्पर्क नगरेको बताए।
राष्ट्रपतिका स्वकीय सचिव, मोरङ र सुनसरीका प्रजिअले घटनाबारे सत्यतथ्य बुझ्न निर्देशन दिएको अस्वीकार गरे पनि अनुजाका भिनाजु चक्र बिष्टले भने विराटनगरस्थित राष्ट्रिय अनुसन्धान विभागबाट घटनाबारे बुझ्न आएको स्वीकार गरे। ‘नकरात्मक हल्ला चलेर पनि होला, अनुसन्धान विभागबाट बिहान एकजना आएर थप कुरा बुझेर गएका छन्'-इटहरी निवासी विष्टले भने। उनले अनुसन्धान विभागबाट आएका व्यक्ति र उनीसँग भएको कुराकानी बारे भने खुलाउन चाहेनन्। पैसा लिने पुरुषोत्तम हालसम्म पनि सार्वजनिक नभएकोले गर्दा समस्या भएको र धेरै नकरात्मक हल्ला चलेको अनुजाका भेना चक्रले बताए। अनुजाले चैत २६ गते राति एनसेल मोबाइलबाट पुरुषोत्तमलाई धेरै पटक फोन सम्पर्क गरेकोले आफूले प्रहरीलाई सम्पर्क गरी त्यसको आधारमा पत्ता लगाउन आग्रह गरेको उनले बताए।
चैत २६ गते इटहरीबाट धरान आउँदा अनुजाले बसमा ९१ लाख र एउटा हिराको हार भएको झोला भेटेको र २ दिनपछि चैत २८ गते सो झोलाधनी काठमाडौँ निवासी पुरुषोत्तमलाई बुझाएको समाचार प्रकाशित भएपछि उनलाई बधाई दिनेहरुको ओइरो छ। तथापि, अनुजाले घटना पुष्टि हुने गरी थप कुरा खुलाउन सकेकी छैनन्। उनीसँग पुरुषोत्तमको स्पष्ट ठेगाना र टेलिफोन नम्बरसमेत नहुनुले घटनाको विश्वसनितामाथि शंका उब्जेको छ। यसअघि, समाचारमा पौडेलले इटहरीस्थित आइएमइबाट सो रकम झिकेको उल्लेख भएपनि इटहरीस्थित आइएमइले भने त्यत्रो परिमाणमा उक्त दिन कसैले पनि रकम नझिकेको जनाएको छ।


 
अनुजाको फोटोसमेत गलत-
बुधबार र बिहीबार पत्रिकामा छापिएको अनुजाको फरक फरक तस्बिर। दायाँको फोटो बुधबार छापिएको हो।
 अनुजाको बारेमा पहिलो पटक बुधबार प्रकाशित समाचारमा छापिएको तस्वीर पनि उनको आफ्नो नभएको पत्ता लागेको छ। उक्त तस्बिर उनकै साथी भोजपुर भुल्के १ घर भएकी २० वर्षीया ममता अधिकारीको भएको खुलेको छ। अधिकारी हाल धरान ९ बगैचा लाइनमा डेरामा बस्दै आइरहेकी छिन्।
अनुजाले किन आफ्नो तस्बिर पत्रिकामा छपाउन दिइन् भनेर उनी आफै पनि आश्चर्यमा छिन्। ममताले नागरिकन्युजसँग भनिन्-
'वैशाख २ गते साँझ अनुजा मेरो कोठामा आएर भोलि रेडियोमा समाचार आउँछ, सुन्नु है भनिन्। के समाचार हो भनेर निकै केरकार गरेपछि मात्रै अनुजाले सबै कुरा भनिन्।

'पत्रिकामा छपाउन मोबाइलबाट फोटो लगेको छ,तिम्रो पर्‍यो कि मेरो पर्‍यो भनिन्। भोलिपल्ट समाचार कतै नआएपछि हावा कुरा रैछ भनेँ, तर केही दिनपछि छापियो'-उनले भनिन्।
अनुजाको दाजुको कोठा नजिकै दुई साता अघि सरेपछि मात्रै अनुजासँग उनको सम्पर्क भएको उनले बताइन्।
‘पत्रिकामा मेरो फोटो छापिएपछि चिन्नेजतिले मलाई नै बधाई दिएका दियै गरे, म त के हो के हो, अहिले पनि अलमलमा छु'-उनले भनिन्।
 

हावादारी कुरा होः अनुजाको दाजु

अनुजाका दाजु कुमार बानियाँ
भेटिएको रकम फर्काएर सबैतिरबाट बहिनीले  वाहवाह लुटिरहेकी भए पनि दाजु कुमार बानियाँ र छिमेकीहरु भने अनुजाको कुरा हावादारी भएको दावी गर्छन्। अनुजाले रकम फिर्ता गरेको बारे कसैलाई पनि नभनेको र पत्रपत्रिकामा पनि एक्कासी आएको बताँउदै आए पनि  डेरा गरी बसेका वरपरका छिमेकीहरुलाई भने उनले पत्रपत्रिकामा छापिँदैछ भनेर सुनाउँदै हिँडेको भेटिएको उनकै दाजु बताउँछन्। छिमेकमा रहेकी भीमा बानियाँलाई पत्रिकामा छापिएपछि जेलमा रहेको श्रीमानलाई निकालिदिन्छुसमेत उनले भनेकी रहिछिन्।
‘मेरी छोरीलाई कान्तिपुरमा समाचार आएपछि ज्वाईँ निकालीदिन्छु भनेकी रहिछ, हामी त पत्रिकामा उसको समाचार छापिएपछि खुशीले गदगद भयौं'-भीमाकी आमाले भनिन्। तर, अहिले भने अनुजाको कुरामा विश्वास गर्ने कुनै आधार नरहेको उनले बताइन्।
आफू श्रीमतिसँग हलेसी दर्शन गएको बेलामा यस्तो घटना भएको र आफू आएपछि अनुजालाई सोधपुछ गरेर पुरुषोत्तमको सम्पर्क नम्बर माग्दा उनले छैन भनेको अनुजाका दाजु कुमारले बताए। उनी अनुजाका ठूला बाका छोरा हुन्। अनुजा करिब डेढ महिनादेखि उनीसँगै धरान ९ बगैँचालाइनमा बस्दै आएकी थिइन्।
डोनोट फ्याक्ट्री सञ्चालन गरिरहेका कुमारका अनुसार अनुजाले ५, ६ कक्षा भन्दा बढी अध्ययन गरेकी छैनन्। डोनोट पसलमा ग्राहकसँग लेनदेन गर्न नसक्ने अनुजाले ९१ लाख रुपैयाँ गनिन् भनेर उनी विश्वास नै गर्दैनन्।  ‘पसलमा हिसाब गर्न नजानेर बढी-बढी पैसा फिर्ता गर्नेले त्यत्रो पैसाको हिसाबकिताब गर्‍यो होला भनेर पटक्कै विश्वास गर्दिनँ'-उनले भने। आफूहरु हलेसी दर्शनमा जाँदा घरमा भर्खरै एसएलसी दिएका आफ्नो छोरा विवश पोख्रेल पनि भएको तर ५ दिनसम्म अनुजाले घरमा त्यत्रो पैसा ल्याएर गनेको बारे उसले कुनै सुँइको समेत नपाएकोले विश्वास गर्नै नसकेको उनले बताए।
‘मैले पुरुषोत्तम र उसकी मित छोरी अनिता कार्कीको नम्बर देऊ, हो रैछ भने तिमीलाई मै फूलमाला लगाएर पत्रकारहरुसँग भेटाउला पनि भनेँ, छैन भनी, अनि कसरी पत्याउनु? पत्रिकाले पनि पैसा फिर्ता लैजानेलाई नभेटी लेखेर हुन्छ?'-असन्तोष व्यक्त गर्दै उनले भने। पत्रिकामा समाचार छापिएपछि बुधबार विराटनगरबाट पत्रकारले भेट्न बोलाएको छ भनेर घरबाट गएर हालसम्म अनुजा सम्पर्कमा नआएको उनले बताए।
पत्रकार खोज्दै आएकी थिइन् : छिमेकी
अनुजाका डेरा नजिकै रहेको किराना पसल गर्ने सुरेश कार्कीका अनुसार ‘राम्रो कुरा हो, पत्रिकामा छपाउनु छ' भन्दै अनुजा उनीकहाँ पुगेकी थिइन्। 'मैले नै भानुचोकमा रहेको पत्रिका बेच्ने ठाउँमा जाऊ भनेर पठाएको हुँ,' उनले बताए।
‘विज्ञापन हो भने पैसा लाग्छ, समाचार हो भने छापेको पैसा लाग्दैन भनेको थिएँ'-कार्कीले भने। केही दिनपछि आफ्नै किराना पसलमा भएको टेलिफोनबाट पत्रकारलाई फोन गरेर 'समाचार किन छापिएन' भन्दै सोध्ने गरेको उनले बताए।

No comments:

Post a Comment