Friday, April 15, 2011

नयाँ वर्षमा करोडभन्दा बढी एसएमएस

mobile
नयाँ वर्ष रोल्पाको मेरो गाउँमा अहिलेसम्म मनाएको मलाई याद छैन। आफू त नयाँ वर्ष र जन्म दिनजस्ता दिनलाई पर्वको रुपमा नमनाउने संस्कृतिमा हुर्केको मान्छे! त्यसैले यी दिन आउँदा अहिलेसम्म पनि मलाई पर्व आएजस्तो लाग्दैन। तर साथीभाइ भने मरिहत्ते गर्छन्। घर छाडेदेखि नयाँ वर्ष पर्वको रुपमा मनाउने कुरा सुन्दैआएको छु, तर, अहिलेसम्म मनाइएको छैन। सायद मनाइदैन पनि होला। 
साथीभाइले 'विस' गर्छन्। आफूले पनि 'विस' गhयो। बस् यत्तिमै। सकिन्छ मेरो नयाँ वर्ष। जन्म दिन त अहिलेसम्म मनाएकै छैन।
चिठी संस्कृतिलाई फोन र एसएमएसले विस्थापित गरेपछि चिठी अब चराको दूध भइसक्यो। साइबर पुस्तालाई चिठी के हो? भनेर बुझाउन कठिन छ। हिजो गयो, २०६७ । नयाँ वर्ष सुरु भएछ। के के भए नयाँ वर्षमा? अरु त थाहा भएन तर, एसएमएस भने खुबै गरेछन्। कान्तिपुरले यसको हिसाबकिताब निकालेको रहेछ। त्यही हिसाबकिताब यहाँ राखेँ है।  

योगेश खतिवडा, काठमाडौ, वैशाख २ - नया वर्षको शुभ कामना 
आदान प्रदान गर्न एक करोडभन्दा बढी एसएमएस आदान प्रदान भएका छन् । नेपाल टेलिकमका जिएसएम उपभोक्ताले बिहीबार मात्र ५० लाखभन्दा बढी एसएमएस आदानप्रदान गरेका छन् । बुधबार पनि टेलिकमका उपभोक्ताले सामान्य अवस्थामा भन्दा धेरै ३० लाख एसएमएस पठाएका थिए । यसअनुसार शुभकामना सन्देश पठाउन मात्रै टेलिकमका उपभोक्ताले दुई दिनमा १ करोड रुपैयाँ खर्च गरेका छन् । सामान्य अवस्थामा दैनिक १२ लाखको औसतमा सन्देश आदानप्रदान हुन्छ ।
बिहीबार टेलिकमका एक उपभोक्ताले औसतमा एक एसएमएस पठाएका छन् । टेलिकमका हाल ४७ लाख जिएसएम प्रयोगकर्ता छन् । अन्य कम्पनीका उपभोक्ताले पनि औसतमा एउटा सन्देश पठाउँदा बिहीबार मात्र १ करोड एसएमएस आदानप्रदान भएको छ । प्राधिकरणको तथ्यांकअनुसार टेलिकम, एनसेल र युटिएलका कुल मोबाइल प्रयोगकर्ता १ करोड ४१ हजार छन् ।
टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेका अनुसार नयाँ वर्षको अघिल्लो दिन बुधबार करिब ३० लाख एसएमएस पठाइएको छ । नयाँ वर्षको पहिलो दिन बिहीबार साँझ ४ बजेसम्म ४६ लाख एसएमएस आदानप्रदान भएको छ । राति अबेरसम्म यो संख्या ५० लाख नाघ्ने उनको भनाइ छ  ।
बिहीबार पठाइएको सन्देश सामान्य अवस्थामा हुने सन्देश आदानप्रदानभन्दा चार गुणा बढी हो । 'शुभकामना आदानप्रदान भएकाले एकै दिन एसएमएसको संख्या उच्च दरले बढेको हो,' थिकेले भने । उनका अनुसार बुधबार पठाइएको सन्देश अन्य बेलाको भन्दा अढाइ गुणा र बिहीबारको सन्देश अन्य बेलाको भन्दा चार गुणा बढी हो ।  
टेलिकमका उपभोक्ताले हाल एउटा सन्देश पठाएको १ रुपैयाँ शुल्क र अन्य करसहित करिब १ रुपैयाँ २५ पैसा तिर्नुपर्छ । यस आधारमा उपभोक्ताले दुई दिनमा १ करोड रुपैयाँभन्दा बढी पैसा खर्च गरेका छन् ।
सबै कम्पनीको उपभोक्ताको खर्च पनि जोड्ने हो भने दुई दिनमा २ करोड रुपैयाँ पुग्ने देखिन्छ । उपभोक्ताले भ्यालेन्टाइन डे, दसैं तिहार, नेपाली नयाँ वर्ष, अंग्रेजी नयाँ वर्ष, नेपालका अन्य नयाँ वर्षजस्ता समयमा धेरै एसएमएस पठाउँछन् ।
'एकैपटक धेरै एसएमएस पठाइने भए पनि समस्या आउँदैन,' थिकेले भने, 'एसएमएसको भिन्दै बाटो हुने भएकाले असर नदेखिएको हो ।' एसएमएस पठाउँदा अर्कोमा जान ढिला भएको गुनासो उपभोक्तबाट नआएको उनले बताए । तर उपभोक्ताले भने पठाएको धेरै समयपछि जाने समस्या भोगेको गुनासो गरेका छन् ।
मोबाइल उपभोक्ताको संख्यामा भएको वृद्धिसँगै एसएमएस पठाउने बानी बढेकाले पनि संख्या बढेको हो । विकासित मुलुकमा भ्वाइस (फोन गर्ने) भन्दा डाटा -एसएमएस र इन्टरनेटको प्रयोग) मा धेरै आकषिर्त भएको अवस्थामा नेपाली पनि एसएमएसलाई सन्देश प्रवाहको सहज माध्यमका रूपमा लिने थालेका छन् । 
यसो त एसएमएस पठाउनेको संख्या विश्वव्यापी रूपमै बढेको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियनका अनुसार विश्वभरका मोबाइल प्रयोगकर्ताले सन् २०१० मा प्रतिसेकेन्ड २० लाख एसएमएस पठाए, जुन २००७ को भन्दा तीन गुणा बढी हो ।



 

1 comment:

  1. Nabin Lochan Magar
    ho dai tara rolpali hunuma hamilai garba 6

    ReplyDelete