घटना कपोकल्पित हुनसक्ने प्रहरीको शंका
नयाँ पत्रिका
प्रेम बास्तोला
सुनसरी, ८ वैशाख
देशैभरि अनुजा बानियाँको इमानको बखान छ, तर सुनसरी प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको छ । उनले बसमा भेट्टाएको ९१ लाख रुपैयाँ र हिराको हार फिर्ता दिएको दाबी गरेकी छन्, तर पैसा फिर्ता लिने र प्रत्यक्षदर्शी नभेटिएकाले घटना कपोकल्पित हुनसक्ने प्रहरीको शंका छ ।२६ चैतमा इटहरीबाट धरान जाने बसमा अनुजाले पैसाको झोला भेटेको बताएकी छन्, घर पुगेर हेर्दा पैसा देखेपछि झोलाकै खल्तीमा भएको कागज हेरेर सम्बन्धितलाई फोन गरेको उनको दाबी छ । अनुजाका अनुसार पैसा हराएपछि सीधै काठमाडौं आएका पुरुषोत्तम पौडेल पाँच दिनपछि धरान पुगेर पैसा बुझी फर्किएका थिए । तर, समाचार यति धेरै फैलिँदा पनि पौडेल सम्पर्कमा छैनन् । उनको फोन नम्बरसमेत गल्तीवश 'डिलेट' भएको अनुजाको भनाइ छ ।
'कोही व्यक्ति ९१ लाख रुपैयाँ बोकेर बसमा हिँड्नु र झोला छाडेर जानु आफैँमा आश्चर्यहो,' इलाका प्रहरी कार्यालय धरानका डिएसपी दीपक रेग्मीको भनाइ छ, 'फेरि त्यति धेरै पैसा हराएपछि प्रहरीमा उजुरी गर्नुपर्ने हो, तर सम्बन्धितले पैसा हराएको पाँच दिनसम्म पनि उजुरी गरेको देखिएको छैन ।' फेरि बसमा कसैले बिर्सेर गएको करिब २० किलोको झोला उठाएर घर जानुलाई पनि प्रहरीले शंकास्पद भनेको छ । तर, अनुजाले आजभोलि प्रहरीको इमान बिग्रँदै गएकोले पैसा आफूले चौकीमा नदिई घर लगेको बताएकी छन् ।
अनुजाले पत्रकारहरूलाई दिएको विवरणअनुसार पौडेलले २६ चैतमा आइएमईको इटहरी शाखाबाट पैसा निकाली धरान जाँदै गरेको बताएका थिए । तर, आइएमईले २६ चैत र त्यसको आसपासमा पुरुषोत्तम पौडेलको नाममा काठमाडौं र धरानबाट कुनै कारोबार नभएको जनाएको छ । 'आइएमईबाट एउटै व्यक्तिले त्यति धेरै पैसा निकालेको थियो भन्ने समाचार आएपछि मैले आज -बिहीबार) दिनभर बुझेँ । त्यस्तो नाममा कुनै कारोबार भएको छैन,' आइएमईका कार्यकारी निर्देशक योगेश्वर ढकालले बिहीबार साँझ नयाँ पत्रिकासँग भने, 'इटहरीबाट अरू कुनै व्यक्तिका नाममा पनि त्यो दिन ९१ लाखको कारोबार भएको छैन, फरक-फरक नामबाट धेरैले पैसा निकालेको भए फरक कुरा हो ।'
पैसा फिर्ता दिने प्रचारमा आइरहे पनि फिर्ता पाउने कतै नदेखिएपछि जिल्ला प्रशासनले शंका व्यक्त गरेको थियो । बिहीबार नै प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले घटना साँचो हो कि मनगढन्ते हो भनेर अनुसन्धान गर्न धरानका डिएसपी रेग्मीलाई निर्देशन दिएका थिए ।
रेग्मीले बिहीबार बिहान फोन गरेर अनुजालाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय आउन भनेका थिए । तर, अनुजाले पछि फोन गरेर 'आज आउन सकिनँ, भोलि (शुक्रबार) आउँछु' भनेकी छन् ।
प्रहरीले बोलाउँदा पनि नआएको खबर पाएपछि प्रजिअ थपलियाले बिहीबार साँझ आफैं अनुजालाई फोन गरेका थिए । 'हेर नानी तिमीले साँचो बोलेको हो भने त धेरै महान काम गर्यौ, त्यसको सम्मान पनि पाउनुपर्छ, तर झूट बोलेकी रहेछौ भने त फँस्छौ है,' उनले अनुजालाई भने । तर, जवाफमा अनुजाले आफूले साँचो नै बोलेको दाबी गरेको थपलियाले बताए । बिहीबार दिनभर टेलिभिजन, पत्रपत्रिका र रेडियोका पत्रकारलाई लाइन लगाएर पालैपालो अन्तर्वार्ता दिएकी अनुजा साँझ भने सम्पर्कमा आउन चाहिनन् । उनको मोबाइलमा फोन गर्दा भिनाजु चक्र विष्टले उठाए । 'पैसा त फिर्ता नै गरेको हो, तर दुःखको कुरा हामीसँग प्रमाण भएन । त्यसैले अप्ठेरो पर्यो,' विष्टले भने । उनले बिहीबार साँझदेखि परिवार नै चिन्तामा परेको पनि बताए ।
यता अनुजाले ९१ लाख र हिराको हार फिर्ता गरेको दाबी गरेपछि देशभरि उनको प्रशंसा भइरहेको छ । कसैले बोलेर, कसैले लेखेर त कसैले भेटेरै उनलाई प्रशंसा दिइरहेका छन् । राष्ट्रपति डा. रामवरण यादवदेखि बिदामा बसेका प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले समेत उनलाई फोन गरेर धन्यवाद दिएका थिए । राष्ट्रपतिको निम्तोमा अनुजा काठमाडौं आउने तयारीमा छिन् ।
दिनभर अन्तर्वार्तामा व्यस्त
इमानको अतुलनीय उदाहरण पेस गरेपछि २२ वर्षीया अनुजा बाँनियालाई प्यास लागेको वेला पानी खानेसम्मको फुर्सद छैन । उनको घरमा जम्मा भएका पत्रकारलाई पालैपालो अन्तर्वार्ता दिइरहेकी छन् । उनीमात्र होइन, दिदी, भिनाजु र दिदीका ससुरालाई पनि अन्तर्वार्ता दिन भ्याइनभ्याई छ ।
'यतिको व्यस्त भएको जीवनमा पहिलोपटक हो । मैले त ठूलो काम गरें र यतिका पत्रकारहरू आउँछन् । तर, २४ घन्टामा २० घन्टासम्म अन्तर्वार्ता दिन र बधाई थाप्न व्यस्त भइएला जस्तो लागेको थिएन । तर, आज नसोचेको भयो,' उनले भनिन् ।
नयाँ पत्रिकाकर्मी बिहीबार बिहान उनको भिनाजु चक्र विष्टको डेरामा पुग्दा सोफा सेटमा बसेर एक टेलिभिजन पत्रकारलाई अनुजाले अन्तर्वार्ता दिइरहेकी थिइन् । इटहरीमा रहेका भिनाजुको घरमा अनुजा भएको चाल पाएपछि पत्रकारहरूको घुइँचो नै लागेको थियो । विष्टको घर पुगेका पत्रकारहरू आफ्नो पालो कतिखेर आउँछ भन्दै अधैर्यपूर्वक बसेका थिए ।
टेलिभिजन पत्रकार भैरव आङलाले अन्तर्वार्ता लिइसकेपछि पालो आयो हिमालयन टेलिभिजनका पत्रकार हिमाल दाहालको । उनले पनि आफ्नो 'एङ्गल' अनुसार अनुजासँग विविध पाटोबाट प्रश्नहरू राखेका थिए ।
पत्रकार दाहालको पालो सकिनासाथ इमेल च्यानलका धु्रव भट्टराईले क्यामेरा सोझ्याएर प्रश्न गर्न थालिहाले । उनले पनि २० मिनेट जति कुराकानी गरेपछि बिबिसी नेपाली सेवाकी सीता मादेम्बाको पालो आयो । उनले आफ्नो पालो आएपछि अनुजालाई भनिन्, 'मेरो त तपाईसँग धेरै प्रश्नहरू छन् । निकै समय लाग्छ नि ।' उनले त्यसो भनिनसक्दै अनुजाले भनिहालिन, 'तपाईंहरूकै कारण आज मैले यो देशको राष्ट्रपतिबाट धन्यवाद र बधाई पाएको छु । तपाईं भन्नुहोस् मात्र, म दिनभरि भए पनि समय दिन तयार छु ।'
बिबिसीमा करिब ३० मिनेट कुराकानी गरिसकेपछि पालो कुरेर बसेका आधा दर्जन छापामाध्यमका पत्रकारहरूको पालो आयो । छुट्टाछुट्टै अन्तर्वार्ता लिएर भ्याइने समय थिएन, त्यसैले छापाका सबै पत्रकारले सामूहिक रूपमा प्रश्न राखे ।
यता छापाका पत्रकारहरूसँग कुराकानी गरिरहँदा मोबाइलमा रेडियो पत्रकारहरूको फोन आएको आई थियो । उनीहरू अन्तर्वार्ताका लागि समय मागिरहेका थिए । उनी आफू बसेको घरको लोकेसन बताउन पनि भ्याइरहेकी थिइनन् ।
टेलिभिजन पत्रकारहरूको आग्रहपछि भने उनले अन्तर्वार्ताका वेला मोबाइल उठाइनन् । त्यसपछि उनले मोबाइल दिदी अनिता विष्टलाई दिइन् । त्यसपछि बहिनी अनुजा पत्रकारलाई अन्तर्वार्ता दिन व्यस्त भइन् भने दिदी अनिता फोनमा बहिनीको बधाई, धन्यवाद थाप्न र पत्रकारहरूलाई समय मिलाउनमा व्यस्त भइन् । त्यही बीचमा उनलाई प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले फोन गरी धन्यवाद दिएका थिए । अनुजा थप उत्साहित भइन् ।
श्रेष्ठले आफू पनि गाउँदेखि नै इमान्दार काम गरेकाले पनि प्रधानन्यायाधीश बन्न सफल भएको बताएका थिए । अनुजालाई उनले इमान्दार मान्छेको एक दिन मूल्यांकन हुने भन्दै हौसला दिएका थिए ।
अनुजाका दिदीका ससुराले पनि यो बीचमा पत्रकारहरूलाई प्रतिक्रिया दिए । 'प्रत्येक परिवारमा एक-एकजना मात्र इमान्दार सन्तान भइदिएको भए, प्रत्येक पार्टीमा केही इमान्दार नेताहरू भइदिएको भए आज उनीहरूले पनि अनुजाले जस्तै यो राष्ट्रका जनताबाट धन्यावाद र बधाई थाप्ने थिए,' दिदीका ससुरा देवराज विष्टले भने । अनुजाका भिनाजु चक्र विष्टले देशमा इमान्दारिताको खडेरी लागेका वेला मानवताका हिसाबले अजुजाले देखाएको इमान देशका हरेक नागरिकले सिक्नुपर्ने बताए ।
यसरी फिर्ता गरें पैसा
२६ चैतमा इटहरी दिदीको घरबाट धरानस्थित दाजुको घर जान बसमा थिएँ, धरान पुगेपछि अर्को सिटमा कालो ब्याग देखेँ । ब्याग फेला पार्नासाथ होहल्ला गरेँ, कोही दाबी गर्न नआएपछि बम पो छ की भन्दै डराएँ, तर ब्याग लिएर धरानस्थित दाईको घर गएँ । दाजु र भाउजु हलेसी दर्शन गर्न गएकाले दाजुको छोरासँग बसेँ । खाना पकाएर खाइसकेपछि राति ११ बजे मात्र झोला खोलेँ । त्यसवेलासम्म भाइ निदाइसकेको थियो । झोला खोलेर हेरेको, त्यहाँ त पैसा रहेछ ।
यो कसको पैसा होला ? सम्पर्क भए पनि अहिले नै फोन गरेर बोलाई दिउँ जस्तो लाग्यो । त्यसपछि एउटा कार्टुनभित्र ब्याग राखेर माथिबाट कपडाले छोपेर राखेँ । भोलिपल्ट राति पैसा गनेँ । त्यस राति ५० लाख मात्र गन्न भ्याएँ । फेरि भोलिपल्ट बाँकी गनेँ ,जम्ममा ९१ लाख रहेछ ।
म र सानो भाइ मात्र घर भएकाले कसैले थाहा पाएर लुटेर पो लग्ने हो कि भन्ने डर लाग्न थाल्यो मलाई । एक मनले प्रहरीलाई खबर गरौँ की भन्ने लाग्यो । तर, फेरि प्रहरीको पनि इमान्दारिता गुमिरहेको सम्झना भयो र फेला परेको पैसाबारे कसैलाई नभनिकन चुपचाप बसे ।
तेस्रो दिन सोही ब्याग हेर्ने क्रममा साइडको गोजीमा केही कागजपत्र फेला पर्यो । जसमा पुरुषोत्तम पौडेल सितापाइला काठमाडौं लेखिएको रहेछ । त्यसमा घरको ल्यान्डलाइन फोन नम्बर पनि लेखिएको रहेछ । चौथो दिन सो नम्बरमा फोन गरेर उनकै घर हो होइन, भनेर चलाखीपूर्वक सोधखोज गरेँ । उनकै घर रहेछ । पहिले उनको श्रीमतीसँग कुरा भयो । वहाँले पुरुषोत्तम धरान जानुभएको सुनाउनु भयो ।
पाँचौँ दिनमा फोन गर्दा पुरुषोत्तमले नै फोन उठाउनुभयो । वहाँले कसलाई खोज्नुभएको भन्नुभयो । मैले पुरुषोत्तमलाई भने, वहाँले निन्याउरो स्वरमा मै हुँ भन्नुभयो । मैले पुनः तपाईंलाई सन्चो छैन कि क्या हो भने । होइन नानी भन्नुभयो । मैले नढाँटी भन्नुहोस् न सन्चो छैन भने मलाई उपचार गर्ने मौका त दिनुहोस् भने । त्यसपछि उपचार गर्ने रोग होइन, अरू नै भएको छ भन्नुभयो ।
मैले तपाईं धरान आउनुभएको थियो ? तपाईंले गाडीमा आफ्नो सामान छोड्नुभएको थियो ? भनी प्रश्न गर्दा होे भन्नुभयो । अनि मैले तपाईंको सामान मसँग सुरक्षित छ । म पुर्याउन आउँ कि तपाईं नै आउने भनेँ । वहाँले म आफैँ आउँछु भन्नुभयो । मेलै तपाईं मात्र नआउनुहोला परिवारका अन्य सदस्यलाई पनि लिएर आउनुहोला भने । वहाँ त्यहीअनुसार २९ चैतमा धरान आउनुभयो ।
मैले सोही दिन कसैले देख्ला नि भनेर सलले छोपेर धरानको भानुचोकस्थित घन्टाघरमा पुगेर पैसा र हिरासहितको ब्याग जस्ताको तस्तै वहाँकै हातमा फिर्ता दिएँ । त्यसवेला वहाँको अनु्हारमा चमक थिएन । हातमा ब्याग पर्नसाथ वहाँ थर्थर काम्नुभयो । मेरो टाउकोमा हात राखेर रुनुभयो र मलाई उपहारस्वरूप दुई लाख झिकेर दिन खोज्नुभयो । मैले लिइनँ । बरु यस्तो भीडमा यत्रो पैसा ब्याग नखोल्न आग्रह गरेँ । त्यसपछि हिराको हार दिन खोज्नुभयो । मैले त्यो पनि लिन मानिनँ ।
वहाँले काठमाडौं आउँदा सितापाइलामा रातो रङको घर छ, निकस्नु भन्नुभयो, मैले हुन्छ भने । त्यसपछि वहाँहरू आफ्नो बाटो लाग्नुभयो, म पनि दाइको घरतिर लागेँ । तर, वहाँले आजसम्म फोन भने गर्नुभएको छैन । कम्तीमा वहाँ र मसँगै थियौँ भने यो कुराको पुष्टि गर्न थप प्रमाण मिल्थ्यो होला । म वहाँसँग एकपटक भेट गर्न चाहन्छु । किन सम्पर्कमा नआउनु भएको हो भेटेर कुरा गर्न चाहन्छु । मेरो यही पत्रिकाबाट आग्रह छ । एकपटक मेरो सम्पर्कमा आइदिनुहोला ।
Fatik Thapa
ReplyDeletechorlaai chautaari...sajjanlaai suli huneta hoina...??
Amar Thapa Magar
ReplyDeleteRastrapati samet muchhiyo
Bharat Saud
ReplyDeletehawaka pa6i dagur6au hami nepali sarale
hami sabai lai bebakuf pari6an unle ta
ReplyDelete