संयोग, नयाँ वर्षको दिन मेरो छुटि परेछ। बिहीबारे छुटि।
के गर्ने? कान्तिपुर सिटी कलेजको नाउँमा बैतर्नीको साइत गर्ने।
कसरी? मार्टिन चौतारीमा जाने। मिडियासम्बन्धी बुक मज्जाले पढ्ने। अनि बैतर्नी तर्ने थालनी गर्ने। गएँ। बन्द थियो। दुईजना कमरेड पत्रिका पढ्दैथिए, बाहिरै बसेर। डेरामा बसम् भने बिजुली छैन। अब के गर्ने? सास फेर्नसमेत मेसिन (प्रविधि) नै चाहिने भइसक्यो ज्यान। बिजुलीबिना केही पनि नचल्ने गरी परनिर्भर भइसकेछ, हाम्रो जीवनशैली।
यसो गमेँ। कहाँ जाने? जाने विदाको दिन पनि साहूको घर? एउटा मनले भन्यो। बिजुली अरु ठाउँ कहाँ पाइन्छ त? मेरो लागि पाइने ठाउँ त्यहाँ मात्र हो।
चौतारीबाट निस्केर सिधै साहूको घर गएँ। जानेबित्तिकै ल्यापटप र मोबाइलमा बिजुली आगो झोसँेँ।
पुरानो वर्षको सास नजाँदै फोन र एसएमएस आउन थालेको, जारी थियो। आफू त नयाँ वर्ष नमनाउने परियो। तर फोनबाट 'विस' गर्ने र फर्काउने काम भने जारी रह्यो। फिनल्याण्डबाट सीताले फोन गरी। ऊ मेरी बहिनी। कान्तिपुर सिटी कलेजबाट कम्प्युटर इन्जीनियरि गरेर थप पढ्न गएकी छ। सबै ठीक छ, भनी।
उजीर कमरेडको फोन आयो। उनी रहेछन्, राई महोत्वसव टुँडीखेलमा। डल्ली भैसीको मही र बिजुली पानीको कुरा गरे। निम्तो दिए। जोक गरेका पनि होलान्। रामजाने। दुवैसित हिमचिम नभएकाले जाने मन गरिनँ। त्यसैले अलि बेरपछि गएँ जुनबेला उनी माओवादी बैठकको न्यूज गर्न पेरिसडाँडा लागिसकेका थिए।
टुँडीखेल मज्जाले िसंगारिएको थियो। राई कल्चर झल्काउने चिजले भरिएका स्टल। बीच भागमा साकेला। छेउतिर बनाइएको मन्चमा गीत र नृत्य फलिरहेका।
राईसम्बन्धी मिथक कलेक्सन किनेँ। रहेछ बतास उपनामका लेखकको। साह्रै महंगो। किताबको ज्यान सानो। मूल्य चर्को। आदिवासीका मिथक पढ्ने रुची, आफ्नो। प्रकाश राई भेटिए। उनले पचास घटाउन लगाए। एउटा कविताकिताब फोकटमै दिए। जुन जातीय मुक्तिका विषय समेटिएका कविता कलेक्सन रहेछ।
यसैबीचमा मन्चबाट नाम अनाउन्स भयो, उदय मनिला जोडीको। उदयका गीतका फ्यान म। यसअघि एकपालि मात्र लाइभ सुनेको थिएँ। फोकटमा सुन्न पाइने भयो भनेर बसियो।
क्यामेरामा ब्याटि रहेछ। साकेला त यसअघि नै देखिसकेको थिएँ। जातीय पहिरनमा राई यवा सजिएका थिए। यस्तो पहिरनमा यसअघि पनि देखिसकेको थिएँ। त्यति नयाँ लागेन। तर तिनका अनुहारमा चित्र भने पहिलोपालि देखेँ। अनुहारमा चित्र ठूला ठूला खेलकुदका क्रममा आफ्नो देशका, आफ्नो दिल बसेका क्लबलाई हौसला दिन कोरेको देखेको थिएँ। राई युवाका अनुहार ह्यापी न्यू इयर राई यायोक्खाको झण्डा र अरु के के चित्रले पोतिएका थिए।
ती अनुहारे चित्रको सामाजिक र सांस्कृतिक मूल्य के छ? केलाउनतिर लागिएन। नवीन सुब्बा, राजन मुकारुंग र चन्द्रवीर तुम्बापो भेटिए। तर यसबारेमा सोधखोज गरिनँ। उनीहरु पनि पनि आफ्नै तालमा मस्त थिए। मलाई पनि बात भन्दा फोटो खिच्न मज्जा लाग्यो।
राई युवाका अनुहारमा ती चित्र किन किन खुबै खुलेजस्तो लाग्यो। सुहाएजस्तो। मन्चमा उदय मनिलाले गाएपछि उनीहरु पनि गाउँदै नाच्ले। त्यसपछि झन् सुहाएजस्तो लाग्यो। 'वन्स मोर' भन्दै झण्डै दर्जन गीत गाउन लगाए। पहिलोपालि मैले यति धेरै 'अच्छा' गीत लाइभ सुनेको थिएँ, उदयको। उनको गायकी र शव्द छनौट मज्जा लाग्छ, मलाई। उनले बीचबीचमा रमाइला प्रसंग कोट्याउँदै गीतलाई थप मीठो बनाए।
महोत्सवको बिट मार्न आए, राजेशपायल राई। उनले खुबै नचाए अनुहारभरि चित्र पोतेका राई युवालाई। उनका फ्यान कति र कस्ता भन्ने पहिलोपालि लाइभ देख्दैथिएँ। उनीसँग हात मिलाउन मरिहत्ते गर्नेलाई र उनीसँग नाच्न मन्चमा पुग्नेलाई थाम्न राईले गीतसमेत रोके। उनका गीतमा झुम्दै ती चित्रवाल फ्यान पागलजस्तै भएर नाचे। उदयका जस्तै राजेशले गाउने गीतका गेडागेडा चित्रवाल राई युवाका मुखमा झुण्डिएका थिए। गाउँदागाउँदै झरेका पसिना र चित्रवाल फ्यानका पसिना टुँडीखेलमा यति धेरै पोखियो कि! भनम् भने गफ गरेजस्तो होला।
majja lutnubhaya6a. malai pani bolaunuparne ni
ReplyDelete