photo from faceobook |
विमल गौतम
'संवाददाताहरुलाई जानकार व्यक्ति (स्रोत व्यक्ति) का रुपमा किन प्रस्तुत गरिँदैन? कुनै खास विषयमा वर्षौंदेखि निरन्तर समाचार लेखिरहेको संवाददातालाई त्यस विषयमा जति ज्ञान हुन्छ अरुमा नहुन सक्छ। संवाददातालाई जानकार व्यक्तिका रुपमा छलफल र निर्णय प्रक्रियाहरुमा सहभागी गराउने हो भने सन्तुलित सूचना सम्प्रेषित हुन्छ।'
गुणात्मक सेवा दिन नसके पनि संख्यात्मकरूपमा छ्यासछ्यास्ती खुलेका एफएम रेडियो, टीभी र पत्रिकामा आजभोलि 'टक सो', बहस एवं अन्तर्वार्ताका नाममा थुप्रै कार्यक्रम सुन्न, हेर्न र पढ्न पाइन्छ। त्यस्ता 'टक सो' हरुमा बोलाइने 'गेष्ट' मध्ये धेरै त हामीजस्ता 'निरिह सञ्चारकर्मीको' बौद्धिक शोषण गरेर रातारात विज्ञ भएका कथित विद्वान् हुन्। त्यस्ता 'विज्ञ' ले अधिकांश समय हामी सञ्चारकर्मीले लेखेका समाचारलाई मात्रै आधार बनाएर आफ्नो धारणा तय गर्ने गरेका छन्। संवाददाताको समाचार पढेर आफ्नो धारणा बनाउने र त्यसैलाई भजाएर विज्ञ बन्नेको ज्ञान कति सतही हुन्छ भने भूलवस संवाददाताले कुनै गलत तथ्य समाचारमा लेखेको रहेछ भने पनि त्यस्ता 'विज्ञ' हरु त्यही गलत तथ्यको प्रचार गर्दै हिँडेका हुन्छन्। हिजोआज धेरैले यस्तो खेती चलाएका छन्। यस्तो खेती चलाउनेमा विशेष गरी विभिन्न एनजीओ/आइएनजीओमा काम गर्नेहरू छन्। उनीहरुले लेख्ने लेखमा यस्तै झल्कन्छ।
दोष कथित विज्ञको मात्र छैन। हाम्रै सञ्चारमाध्ययमको बढी छ। को कस्तो हो, त्यसको पृष्ठभूमि के हो, कुनै एनजीओ/आइएनजीओमा काम गर्छ/गर्दैन, उसको निहित स्वार्थ लुकेको छ/ छैन, ऊ वास्तविक विज्ञ हो/ होइन, उसले पत्रिकामा लेख छपाएर दातालाई रिझाउने वा प्रभाव पार्ने काम गर्न खोजेको छ/छैन भन्ने ख्यालै नगरी सञ्चारमाध्ययमले कार्यक्रममा निम्त्याउने र बोल्न लगाउने प्रवृत्ति छ। यस्तो प्रवृत्ति बन्द गर्ने हो भने यस्ता कथित विज्ञहरु त्यसै बिलाएर जानेछन् र त्यस्तालाई कसैले 'भ्यालु' दिने छैन।
कुनै व्यक्तिले पत्रिकामा छापिएको समाचार पढेर आफ्नो विचार बनाउनै पाउँदैन भन्न खोजेको होइन। पाउँछ। तर, त्यही समाचार सारेर, थोरै थपघट गरेर यो मेरो विचार हो भन्ने र त्यसैलाई प्रयोग गरेर आफ्नो एनजिओ खेती गर्ने काम पत्रकारिता र लेखकको आचारसंहिताभित्र पर्दैन। त्यसो गर्नु बौद्धिक ठगी हो। संवाददाताको चरम बौद्धिक शोषण हो।
सञ्चारमाध्ययमले सम्बन्धित बिटमा काम गरेको समाचारदातालाई नै ज्ञानको स्रोत व्यक्तिका रुपमा किन नस्विकारेका हुन्? वर्षौँदेखि एउटा क्षेत्रमा निरन्तर काम गरिरहेको संवाददाता विश्लेषक, स्रोत व्यक्ति वा विज्ञका रुपमा काम गर्न सक्दैन र? कुनै सार्वजनिक बहसमा त्यस्तो संवाददातालाई निम्त्याउन सकिँदैन? सकिन्छ। संवाददाताले विश्लेषकका रुपमा पनि काम गर्न सक्छ। तर, अवसर दिनुपर्छ। पत्रकार महासंघका सभापति गाउँलेले भनेजस्तो संवाददातालाई नै स्रोत व्यक्तिका रुपमा स्वीकार गर्ने हिम्मत गर्नु जरुरी भइसकेको छ। सञ्चार उद्योग राम्ररी फस्टाएको विदेशी मुलुकमा संवाददातालाई कसरी हेरिन्छ त?
केहीपहिले यो पंक्तिकार 'खोजमूलक पत्रकारिता' सम्बन्धित एक कार्यक्रममा भाग लिन संयुक्त राज्य अमेरिका पुग्दा त्यहाँ संवाददाताहरुलाई गरिने व्यवहारबारे सिक्न मद्दत मिलेको थियो। कार्यक्रम लामो थियो। खोजमूलक पत्रकारितासम्बन्धी थुप्रै छलफल, बहस, भेटघाट र कार्यक्रममा सहभागी हुनुपर्ने थियो। आफ्नो मुलुकमा र अमेरिकामा संवाददातालाई गरिने व्यवहारबीच के कति समानता र भिन्नता रहेछन् भन्ने जान्न मन लागेको थियो। अमेरिकामा संवाददाताहरुलाई स्रोत व्यक्तिका रुपमा स्वीकार गर्ने, छलफलहरुमा विषय हेरेर सम्बन्धित क्षेत्रको संवाददातालाई नै प्राथमिकता दिने चलन रहेछ। अमेरिकी चर्चित अखबारहरु द वासिंगटन पोस्ट, द न्यूयोर्क टाइम्स, द डलास मर्निङ, अमेरिकाका चर्चित रेडियोहरु नेसनल पब्लिक रेडियो (एनपीआर), भ्वाइस अफ अमेरिका (भोओए), सीएनएन, एबीसी टिभीजस्ता प्रतिष्ठित सञ्चार माध्यमका अनुसन्धान संवाददाताहरुले छलफलमा सहभागी पत्रकारलाई प्रशिक्षण दिए। आफ्ना अनुभव सुनाए। ज्ञानगुनका कुरा बाँडे। अमेरिकामा सरकार र गैरसरकारी पक्षले पनि संवाददाताको त्यस्तो उपस्थितिलाई प्राथमिकता दिने गरेका रहेछन्। अमेरिकी विदेश मन्त्रालय स्टेट डिपार्टमेन्टले बर्सनी निम्त्याइने विदेशी भिजिटरलाई प्रशिक्षण दिन संवाददाताहरुको सूची पहिले नै तयार पारेर राख्दो रहेछ। युरोप र अन्य विकसित मुलुकमा पनि संवाददातालाई यस्तै व्यवहार हुन्छ भन्ने पढ्न र सुन्न पाइन्छ।
प्रशिक्षणहरुमा मात्र होइन, विषय हेरेर संवाददातालाई सञ्चारमाध्ययले बहसहरुमा पनि निम्त्याउने र सहभागी गराउँछन्। कतिपय कुरा संवाददाताले समाचारमा लेख्न नमिल्ने तर बाहिर बहसमा ल्याउन सक्ने प्रकृृतिका हुन्छन्। कुनै विषय र त्यससँग सम्बन्धित अधिकारीलाई संवाददाताले वर्षौँदेखि नियालिरहेको, अध्ययन एवं अनुभव गरिरहेको हुन्छ। त्यस क्रममा उसले विभिन्न रोचक, प्रेरणादायी, कुरा सिकेको र अनुभव गरेको हुन्छ। कुनै विषय र व्यक्तिसँग संवाददाता धेरै हदसम्म परिचित हुन्छ। यति धेरै ज्ञान र अनुभव भएको संवाददातालाई छलफलमा, सञ्चार माध्यमका अन्तर्वार्ताहरुमा सहभागी गराउँदा वास्तविक र सन्तुलित सूचनाले ठाउँ पाउनेछ। जनता सूचित र शिक्षित हुनेछन्।
एकदमै चित्तबुझ्ने कुरा !!
ReplyDelete