Tuesday, May 17, 2011

मदन भण्डारीलाई बचाउन खोज्ने युवा २० वर्षदेखि पक्षघात पीडित

  जसले बचाएका थिए मदन भण्डारीलाई 
कुमार गुरुङ

- रामशरण बजगाईं , from Naya Patrika
'दासढुंगा' कुमारको एकोहोरोपनलाई घरिघरि ब्युँझाउने शब्द रहेछ । उनी एक्कासि बोले, 'लाइफ खत्तम भयो, देश बर्बाद भयो ।' ०५० साल जेठ ३ गते मदन भण्डारी चढेको जिप नारायणी नदीमा खसेर हराउँदाको साँझ कुमार भोकै बसेका थिए । उनी  राति नै पुगे दासढुंगा । खुब रोए, आफ्ना पि्रय नेताको वियोगमा । 
गोरखाको थालाजुङबाट कुमार गुरुङ ३४ वर्षअघि देशको राजधानी काठमाडौं छिरेका थिए । एमएस्सी पास गरेका उनीसँग आफ्नो विगतबारे त्यत्ति धेरै सम्झना बाँकी छैनन् । कारण उनी मस्तिष्कको पक्षघातबाट थलिए, आफ्नो वाणी र पुराना सम्झना गुमाए । सम्झना फर्काउन अहिले अक्कुपंचर विधिबाट उपचार गराइरहेका छन् र केही सम्झना र्फकेको पनि छ । कुमार जीवनमा भोगेका दुःख र करुणासँग चुकचुकाउँछन् अनि खुसीसँग अट्टालिन्छन् बेपत्तासँग । कुनै घटनाका विषयमा कुरा गर्दा अनुहारको भाव हेरेर बुझ्नुपर्छ । अनुहारको रंग र भाव हेरेर गरिने संवादबाहेक उनको जीवनबाट केही खोतल्न सकिँदैन । नेपालका चर्चित कम्युनिस्ट नेता एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई आफूले बालबाल बचाएको सम्झनाबाट उनी खुबै हाँसे संवादका क्रममा । बुझियो उनी आफ्नो त्यो पुरुषार्थबाट खुबै खुसी छन् । त्यसैक्रममा उनी चुकचुकाए- दासढंुगा सवारी दुर्घटनामा भण्डारीको देहान्त भएको घटना सम्झेर ।
भण्डारी उनको जीवनसँग गाँसिएका राजनेता हुन् । उनको आफ्नै परिवार र अरू धेरै विषयमा गरिएका प्रश्नका उत्तर उनीसँग प्रायः पाउन सकिँदैन, घोरिएर सम्झेजस्तो मात्र गर्छन् र केही भन्दैनन् । तर, मदन भण्डारीको नाम उच्चारण गर्नासाथ उनी चुकचुकाउँछन् ।  'दासढंुगा' कुमारको एकोहोरोपनलाई घरिघरि ब्युँझाउने शब्द रहेछ । 'उफ्, मेरो त्यो दिन, सबै बर्बाद भयो,' यत्ति भन्छन् कुमार । लाग्थ्यो- मानिससँग आफ्ना भावना सम्प्रेषण गर्न शब्द नभए पनि हुन्छ, जेले उसको हृदय छोएको छ, त्यसको सम्झना मात्र उसको अनुहारमा भावगंगा बग्न थाल्छ । शब्दहरू बुन्न सक्ने भए कसरी व्यक्त गर्थे होलान् उनी दासढंुगालाई । दासढुंगा दुर्घटनामा मदन भण्डारीको देहान्त हुनुभन्दा दुई वर्षअघि सांघातिक हमलाबाट मदनलाई उनैले बचाएका थिए ।
 त्यसवेला कुमार अस्कल क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापति थिए । ०४८ सालको पहिलो आमनिर्वाचनमा मदन भण्डारी काठमाडांको १ र ५ दुवै क्षेत्रबाट उम्मेदवार थिए । क्षेत्र नं १ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई कांग्रेसका उम्मेदवार थिए । मदन भण्डारीको चुनावी घरदैलो अभियानमा कुमार सँगसँगै हिँड्थे । खाइलाग्दो ज्यान र फुर्तिला कुमार मदनको अंगरक्षकझैँ खटिएका थिए चुनावी मैदानमा सधैँ । वैशाख महिना थियो, बानेश्वरको भीमसेनगोलामा मदन भण्डारी घरदैलो अभियानमा थिए । भण्डारीको साथमा एउटा पार्टी झन्डा र अरू चुनाव चिह्न सूर्यअंकित झन्डा बोक्ने करिब दर्जन कार्यकर्ता थिए । मदन अघि-अघि मतदातालाई नमस्कार गर्दै र पछि-पछि कार्यकर्ता हिँडिरहेका थिए । भीमसेनगोलामा त्यत्तिकैमा मानिसको जमात आयो । कसैका हातमा लाठी थियो, कसैका हातमा छुरी र तरवार । सीधै हान्निएर आएको जमातको एउटाले मदन भण्डारीलाई ताकेरै लाठीले हान्यो । मदनको ठीकपछि कुमार थिए । उनले मदनलाई आफ्नै कुमले घचेटे र मदनको टाउकामा बजारेको लाठी कुमारको टाउकामा बजि्रयो । कुमार त्यही ढले अरू केही कार्यकर्ता भीडसँग जुध्न लागे र यत्तिकैमा आक्रमणकारी भागे । मदन भण्डारीमाथिको प्रहार आफ्नो टाउकामा थापेका कुमार वीर अस्पताल लगिए । 
मदन भण्डारीलाई कुमारले बचाएको त्यो घटनाब्ाारे कुरा हुँदै गर्दा कुमार हाँसिमात्र रहे । घटनाका विषयमा कुमारका दाजु दिलबहादुर बताउँदै थिए । दाजुसँग कुरा हुँदै गर्दा कुमार आफ्नै सुरमा पुराना सम्झना भन्दै थिए, 'आज देश यस्तो भयो, त्यस्तो नेतालाई बाँच्न दिएनन् ।' दिलबहादुरसँग कुमार र मदन भण्डारीको सम्बन्धबारे कुरा हुँदै गर्दा ठमेलको गल्कोपाखास्थित डेराभित्र पसेर कुमारले फ्रेममा सजाइएको मदन भण्डारीको तस्बिर लिएर बाहिर आए र हाँस्न थाले । घरिघरि कुमारका मुखबाट अपेक्षा नगरिएका शब्दहरू खुस्कन्थे । सामान्य प्रश्नमा पनि घोरिएर जवाफ दिने कुमार भन्दै थिए, 'मनमा पनि त्यही कुरा, बोली र व्यवहारमा पनि त्यही कुरा भएको नेता मदन भण्डारी ।'
 उनका दाजु दिलबहादुर दासढुंगाका विषयमा बोल्दै थिए । कुमार एक्कासि बोले, 'लाइफ खत्तम भयो, देश बर्बाद भयो ।' ०५० साल जेठ ३ गते मदन भण्डारी चढेको जिप नारायणी नदीमा खसेर हराउँदा त्यस साँझ कुमार भोकै बसेका थिए । दाजु दिलबहादुरले त्यस दिनका कुमारको कुरा गर्दा उनी छेउमा टोलाउँदै थिए । उनको भावमुद्राले बकेझैँ लाग्थ्यो, 'गुँडमा बचेरालाई चारा लिएर र्फकेको पक्षी बाटैमा व्यधाको सिकार भयो, कुमार पक्षीको त्यही गुंडको असहाय बचेरा हुन् ।' मदन भण्डारी र जीवराज आश्रति चढेको जिप नारायणी नदीमा हराएपछि कुमार राति नै पुगे दासढुंगा । उनी खुबै रोए, आफ्ना पि्रय नेताको वियोगमा । 
मदन भण्डारीमाथि बजारिएको लाठी आफ्ना टाउकामा बज्रेपछि कुमार त्यतिवेलै त निको भए, तर त्यसपछि उनलाई टाउको दुख्ने समस्याले गाँज्दै लगेको थियो । नियमित औषधि नखाएकाले उनलाई पछि पक्षघात भएको उनका दाजु दिलबहादुरको अनुभव छ । ६ वर्षपछि ०५४ सालको तीजको दर खाने दिन, उनको बोली एक्कासि बन्द भयो र हात-खुट्टा पनि चलेनन् । पक्षघातले उनी थलिए । अहिलेसम्म उनको दाहिने अंग चल्दैन । त्यसवेलादेखि गुमेको स्मरणशक्ति केही मात्र कभर भएको छ । उनलाई ब्ल्युक्रस अस्पतालमा उपचारका लागि लगियो । डा. उपेन्द्र देवकोटाले उनको उपचार प्रयास गरे, तर सफल भएनन् । तत्कालीन सरकार र गृहमन्त्री वामदेव गौतमको सहयोगमा उनलाई भेलोर लगियो । वामदेव गल्कोपाखास्थित कुमारको डेरामै आएका थिए । तत्कालीन सरकारले उनलाई उपचारका लागि दुई लाख रुपैयाँ सहयोग पनि गरेको थियो । पछि शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारले पनि उनलाई एक लाख रुपैयाँ उपचार खर्च दिएको कुमारले सम्झे । 'शेरेले पनि दिएको छ,' उनको उपचारका विषयमा दाजु दिलबहादुरले कुरा गर्दा कुमार प्याक्क बोले । उनलाई भारतको एपोलो अस्पतालमा पनि उपचारका लागि लगियो । तर, अक्कुपंचर विधिबाट नियमित उपचार गरेपछि उनमा बिस्तारै सुधार आएको छ ।
मदन भण्डारीको चुनावी अभियान चल्दा कुमार अखिलको कार्यकर्ता थिए र त्यसवेला अखिलको अध्यक्ष हालका एमाले सचिव शंकर पोखरेल थिए । पोखरेल आफैँ कुमारको डेरामा गएर उनको रेखदेख गर्थे । अहिले एमालेको युवा नेतृत्वपंक्तिमा रहेका नेताहरू योगेश भट्टराई, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी र काठमाडौंका पूर्वमेयर केशव स्थापित उनका साथी हुन् । ती नेताहरूसँग प्रायः उनको निरन्तर सम्पर्क रहेको छ । उनको डेरा अहिले पनि गल्कोपाखामै छ, जहाँ उनी ट्रेकिङ व्यवसायी दाजुहरूसँग बस्छन् । दिनभरि चिनेका राजनीतिक साथीहरूसँग आफ्नै सुरमा हिँड्नु उनको दिनचर्या हो । आफ्नै सुरमा कहिलेकाहीँ राजनीतिक कुराकानी पनि गर्छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न उनी यसअघि सिंहदरबार गएका थिए । को साथीसँग गएर माधव नेपाललाई भेटेको भन्नेचाहिँ उनले बताउन सकेनन् । 
'ठीक हुँदै छ, राम्रो हुँदै छ, सेन्स आयो,' उनका विषयमा राखिएको चासोमा कुमार यसै भन्छन् । पछिल्लोपटक उनी पत्रपत्रिका पढ्न र हिँडडुल गर्नसम्म सक्ने भएका छन् । आफ्नो उमेरका विषयमा पनि उनले ठीक हिसाब निकाले, '४२ वर्ष भएँ ।' उनले अचेल नियमित भेट्नेमा त्रिविका पूर्वउपकुलपतिदेखि एमालेका नेता र उद्योगपतिसम्म छन् । स्ववियु सभापति हुँदा त्रिविको सभासद्समेत रहेकाले उनीहरू सबैसँग कुमारको राम्रो सम्बन्ध छ । पूर्वउपकुलपति केदारभक्त माथेमा, उद्योगपति रूपज्योति, काठमाडांैका महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले कुमारलाई उनको नाममा ट्रस्ट खोल्न सल्लाह दिएका रहेछन् । त्यसैका लागि पनि सहयोग जुटाउन उनी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न गएको रहस्य कुमारले खोले । उनले व्यक्त गरेका एक/दुई शब्दले मात्र कुमार के गरिरहेका छन्, उनका दाजु थाहा पाउँदा रहेछन् । एमालेको गोरखा-काठमाडौं सम्पर्क मञ्चका सल्लाहकार र पार्टीको पर्यटन इलाका कमिटीका सदस्यसमेत रहेका कुमारका दाजु दिलबहादुर कुमारकै कारण ५६ सालको आमनिर्वाचनमा गोरखा क्षेत्र नं २ बाट तत्कालीन नेकपा मालेको उम्मेदवार बनेका थिए । ०४५ सालमा एमालेमा भएको विभाजनमा वामदेव गौतमसँगको घनिष्ठ सम्बन्धका कारण कुमार मालेतिर लागेका थिए । एमाले उपाध्यक्ष गौतम अहिले पनि दिलबहादुरसँग भेट हुँदा कुमारको विषयमा चासो राखेर सोध्छन् । एक बिहान मदन भण्डारीको विषयमा कुरा गर्दा कुमार आफ्ना विगतको सम्झना अझै रिकभर हुने आशामा थिए र मदन भण्डारीप्रति घोरिएर सम्झना दर्शाइरहेका थिए । 
bajagain.ramsharan@gmail.com

No comments:

Post a Comment