Thursday, May 19, 2011

टिबी लागेपछि हलियाको उठिबास

बाबुले ४० वर्ष, छोराले १६ वर्ष, भाइले ८ वर्ष र श्रीमतीले ६ महिना हरुवाचरुवा बस्दा पनि पाँच हजार ऋण चुक्ता भएन, पैसा उठाउन हलियाको घर जमिनदारले उखेलिदिए, भाँडाकँुडा पनि लगे

भोला पासवान/नयाँ पत्रिका
सप्तरी, ४ जेठ
सप्तरी दौलतपुरका एक गरिब किसानलाईर् टिबी लागेपछि परिवारकै उठिबास भएको छ । उनी स्थानीय जमिनदारको घरमा ४० वर्षदेखि हलिया बस्दै आएका थिए, टिबी लागेर काम गर्न नसकेपछि जमिनदारले उनको झुप्रो थामसहित उखेलेर लगेका छन् । 
दौलतपुर-२ लक्ष्मीपुरका जमिनदार (गिरहत) सूर्यनारायण यादवले स्थानीय मुसहर मौजै सदालाई ४० वर्षदेखि हलिया राखेका थिए । जमिनदार यादवले हलिया सदाको जस्ताले छाएको दुईकोठे घर, खम्बा, भाँडाकुँडा र लत्ताकपडासमेत लुटेर लगेका छन् । 
मौजै सदाको सम्पत्तिको नाममा ओत लाग्ने एउटा सानो घरबाहेक केही थिएन । त्यही घर पनि रेडक्रसले बनाइदिएको हो । जीवनभर सेवा पाएका मालिकले बुढेसकालमा बासै लुटेर लगेपछि सदा ससुरालीमा शरण लिएर बसिरहेका छन् ।
छोरीको बिहेमा चार मन धान र छोराको उपचार गर्न पाँच हजार ऋण लिएका थिए सदाले । जमिनदार यादवकै घरमा चरुवा -बाख्रा चराउने) भएर बसेको वेला सात वर्षको उमेरमा छोराको हात भाँचिएपछि उपचारका लागि सदाले उनै जमिनदारसँग पाँच हजार ऋण लिए, त्यसअघि र पछि गरेर छोराले पनि उनको घरमा १६ वर्ष सेवा गरे, सदा आफैँले ४० वर्षसम्म काम गरे पनि पारिश्रमिक मागेनन्, भाइले आठ वर्ष सेवा गरे, श्रीमतीले ६ महिना काम गरिन् । तर पनि सदाको ऋण घटेन, बरु ब्याजको स्याज जोडेर झन् धेरै भयो । त्यही ऋण उठाउन भनेर जमिनदारले सदाको झुप्रो उखेलेर लगेका छन् । 
'छोरीले पनि मालिकको घरमा काम गर्थी, तर उनले छोरीमाथि गलत नजर राखेपछि मैले उमेरै नपुगेकी छोरीको बिहे गरिदिएँ, छोरीको बिहे गर्दा चार मन धान ऋण लिएको थिएँ,' उनले भने, 'दुईपटक लिएको ऋण चुक्ता गर्न सबैले जिन्दगीभर काम गर्‍यौँ, तर मालिकको चित्त बुझेन ।'
'सूर्यनारायण यादवकै घरमा हलिया रहेका मेरा बाबु, म तीन वर्षको हुँदा बिते, बाबु बितेपछि तीन वर्षकै उमेरदेखि म 'मालिक'को घरमा चरुवा भएर बसेँ । र, ठूलो भएपछि हलिया भएर हलो जोत्न थालेँ ।' पीडित सदाले भने, 'जिन्दगीभर मैले र मेरो परिवारले मालिकको सेवा गर्‍यौँ, तर अहिले यो गति भयो ।'
मालिकको घरमा हलिया बसे पनि गतिलो खान नपाएकाले आफूलाई टिबी लागेको सदाको गुनासो छ । उनको खोकीमा रगत आउन थालेपछि उनी अस्पताल गएका थिए, डाक्टरले अहिले गाह्रो काम नगर्नु, आराम गर्नु र नियमित औषधि खानु भनेको छ । 'अब न खाने अन्न छ, न बस्ने वास छ, कसरी गर्नु आराम ?'
गत ११ चैतमा बिरामी परेर सुतेका सदाको घरमा जमिनदार आएका थिए, जोत्न हिँड् भन्ने उनको आदेश थियो । तर, सदाले अस्पतालको कागज र औषधि देखाउँदै भने, 'मालिक म अहिले काम गर्न सक्दिनँ, औषधि खान्छु, निको भएपछि मात्र काम गरौँला ।' तर, सदाको दुःखेसोले जमिनदार आक्रोशित भए, उनको घर उखेलेर लगिदिए । 
जमिनदारले सदाको घर छाएको टिन, सिमेन्टको खम्बा, भाँडाकुँडा, लत्ताकपडा सबै लुटेर लग्दा पनि छिमेकी कोही बोल्न सकेनन् । असहाय सदा अहिले कदमाहास्थित ससुरालीमा शरणागत छन् । 
त्यसो त मौजै सदाले स्थानीय प्रहरी प्रशासनदेखि जिल्ला प्रश्ाासनसम्म आफ्नो लुटेको सम्पत्ति फिर्ता गर्न गुनासो गरेका छन् । तर, न्याय कतैबाट पाएनन् । हर्दिया गाविसस्थित इलाका प्रहरी कार्यालयले एक सातापछि यादवलाई पक्राउ गरे पनि तत्कालै छाडिदिएको थियो । ऋण उठाउन घर उठाएको यादवले दाबी गरेपछि प्रहरीले सदालाई क्षतिपूर्तिस्वरूप दुई हजार दिलाइदिएको छ । 'दुई हजारमा कहाँ बन्छ घर, तर मिलापत्र गर्न बाध्य पारियो,' सदाले भने । 
सप्तरी जिल्लाका सहायक जिल्ला अधिकारी होमबहादुर खड्काले हरुवाचरुवालाई उठिबास लगाउने कार्य गर्नेलाई आवश्यक कारबाही गर्ने सरकारी नीति रहेको बताउँदै दोषी यादवलाई कारबाही गर्ने बताए । 'दोषीलाई कारबाही हुन्छ, पीडित सदालाई क्षतिपूर्ति दिलाइनेछ,' खड्काले भने । 
'हरुवाचरुवाको उठिबास लगाउनेलाई कारबाही गर्ने कानुन बनेको छ, तर जमिनदारको अन्याय रोकिएको छैन,' दलित जनचेतना संगम सप्तरीका निर्देशक गणेश राम भन्छन्, 'जिल्ला प्रशासन कार्यालय सप्तरीमा पटक-पटक आन्दोलन गरेपछि प्रमुख जिल्ला अधिकारी, हरुवाचरुवा अधिकार मञ्च र दलित जनचेतना संगमबीच हरुवाचरुवालाई उठिबास गर्नेउपर कारबाही गर्ने सहमति भएको छ । तर, त्यो सहमति पनि पालना भएको छैन ।' सप्तरी जिल्लामा मात्रै करिब २६ हजार परिवार हरुवाचरुवा रहेको जनचेतना दलित संगमका निर्देशक रामले बताए ।

४० वर्ष सपरिवार सेवा
गरेँ : मौजै सदा
बुबा बितेपछि म मालिकको घरमा पेट भातमा हरुवा बस्न थालेँ । मालिककै हरुवाइ गरेर मैले त्यहीँबाट बिहेवारी गरेँ । हरुवा काम गर्दा मेरा तीन छोरी र एक छोरा भए । हामी स-परिवार मालिककै घरमा काम गथ्र्यौं । मेरो छोरा चार वर्षको हुँदा मैसँग चरुवा बस्न थालिसकेको थियो । मालिकको घरमा चरुवाका रूपमा काम गर्दै गर्दा सात वर्ष हुँदा छोराको हात भाँचियो । औषधोपचार गर्न पैसा नभएर मालिकसँगै पाँच हजार रकम 'ऋण' लिएर औषधि गराएँ । 
अहिले छोरा २० वर्षको भयो । छोराले १६ वर्ष मालिकको घरमा काम गर्‍यो । उसको ज्यालाको अत्तोपत्तो छैन । तर, छोराको हात भाँचिदा उपचार गर्न लिएको पाँच हजार 'ऋण' अहिलेसम्म ज्युँका त्युँ छ ।
म र मेरो छोरामात्र मात्र होइन, मेरीे श्रीमती बेचनीदेवी सदाले पनि मालिकको घरमा काम गर्नुपर्दथ्यो । काम गर्नेक्रममा सानोतिनो गल्ती हुँदा पनि मैले र श्रीमतीले कुटाइ खानुपर्दथ्यो । उनलाई मालिकले कुटपिटमात्र होइन, नाजायज फाइदा पनि लिन्थे । पछि श्रीमती काम गर्दागर्दै बिरामी भई । तर, मालिकले औषधि गरेनन् । अस्पताल लगेँ, तर, रुपैयाँ नहुँदा अस्पतालबाट फर्काएर ल्याएपछि बेचनीको मृत्यु भयो ।
श्रीमतीको मृत्युपछि मालिकको काम गर्न छोरीलाई लगाएँ । मेरो छोरीले पनि तीन वर्षसम्म काम गर्दा पनि केही ज्याला पाएन । बरु मालिकले छोरीसँग गलत काम -यौनकार्य) पनि गरे । 
डरले १८ वर्ष नपुग्दै मैले छोरीको बिहे गरिदिएँ । छोरीको बिहेमा चार मन धान फेरि 'ऋण' लिएँ । र, सो धान र पहिलेको पाँच हजारको सयकडा पाँचको दरले ब्याज जोड्न थाले । ऋण चुक्ता गर्न छोरालाई मालिककोमा काम गर्न लगाएँ । छोराले १६ वर्ष काम गर्‍यो । मेलै बिहे गरेर ल्याएको दोस्रो श्रीमतीले समेत ६ महिना काम गरी । भाइ हरिचन सदाले पनि आठ वर्ष काम गरे । तर, मेरो छोराको उपचारका लागि लिएको नगद पाँच हजार र चार मन धानको 'ऋण' चुक्ता भएन । 
सानो काम बिग्रँदा पनि छोरालाई हातखुट्टा सुन्निने गरी मालिकले कुटपिट गर्थे । छोरा काम छाडेर पन्जाब भाग्यो । छोरो भागेपछि पनि मलाई नै दोष दिए मालिकले । छोरा काम छाडेर भागेपछि दैनिक रूपमा मालिकले गाली बेजती गर्न थाले । तै पनि सहेको थिएँ । 
फुसको छानो भएको घर थियो, बाढीले बगाइदिएपछि रेडक्रसले टिनको छाना भएको घर बनाइदिएको थियो । सो घरको पनि गएको चैतमा मालिक सूर्यनारायण यादवले छाना खम्बा, भात पकाउने भाँडाकुँडासमेत लुटेर लगिदिए । अब, मजस्तो घरविहीन हरुवाकहाँ बस्ने ?

No comments:

Post a Comment