Monday, May 23, 2011

'प्रचण्डको दिमागमा क्रान्ति छैन’

from Nepal Weekly कुनैबेला एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का निकट मानिने स्थायी समिति सदस्य नेत्रविक्रम चन्द यतिबेला उनका आलोचक भएका छन् । गत महिना अध्यक्ष प्रचण्डले जनविद्रोह छोडेर शान्ति र संविधानको बाटो अँगालेपछि उनीहरूबीचको दूरी झन् बढेको छ । यही सेरोफेरोमा प्रस्तुत छ, चन्दसँग भोजराज भाटको कुराकानी : 

अध्यक्ष प्रचण्डले हालै जनविद्रोहलाई स्थगित गरेर संविधान बनाउने लाइन लिनुभएको छ, त्यसबारे के भन्नुहुन्छ ?
पहिलो त सिंगो पार्टीले जनविद्रोहलाई स्थगित गरेको होइन, बहुमतले गरेको निर्णय हो त्यो। स्वाधीनता र जनसंविधानजस्ता राजनीतिक कार्यक्रम मिल्यो भने सहकार्यमा जाऔँ भनेर हामीले भनेका छौँ। यसर्थमा सिंगो पार्टीले विद्रोहको लाइन स्थगित गरेको भन्ने साँचो होइन। चार महिनाअघि त्यही बहुमतले विद्रोहको अनुकूल वातावरण देख्ने, त्यस अनुसारको तयारी पनि गर्ने तर संविधानसभाको म्याद थप्ने मुखैमा विद्रोहको लाइन किन स्थगित गरिएको ?
यसका पछाडि दुइटा कारण छन्। पहिलो, प्रचण्ड कमरेडले पालुङटारमा विद्रोहको पक्षमा जसरी मत जाहेर गर्नुभएको थियो, हुन सक्छ, उहाँलाई त्यतिबेला पनि विद्रोह हुँदैन भन्ने लागेको थियो होला। तर, माओवादीभित्रको बहसले उहाँलाई त्यो स्वीकार्न उत्प्रेरित गर्‍यो। नेतालाई आत्मैबाट 'कन्भिन्स' नभएपछि थेग्न सम्भव हुँदैन। र, अहिले आएर पाँच महिनाअघि वा पहिलेदेखि प्रचण्ड कमरेडलाई लागेको धारणा अभिव्यक्त भएको हुनसक्छ। दोस्रो, अहिलेको परिउपस्थिति जुन चापमा आएको छ, त्यसलाई विद्रोहले थेग्न सक्दैन भन्ने लागेर पनि उहाँ -प्रचण्ड)ले अर्को लाइन लिएको हुनसक्छ। बाबुराम -भट्टराई) कमरेड पहिलेदेखि नै यस लाइनमा हुनुहुन्थ्यो, त्यो मिल्न जाँदा बहुमत भएको हो।
यसको अर्थ अब प्रचण्डको दिमागमा क्रान्ति छैन भन्ने पार्टीभित्र र बाहिरको भनाइ केही हदसम्म सही हो ?
सधैँका लागि हो कि होइन, त्यो म अहिल्यै भन्न चाहन्न तर पालुङटारको योजनामा, तत्काल जेठसम्मको उपस्थितिमा उहाँको दिमागमा क्रान्ति छैन।
तीन महिनाअघिसम्म पनि जनविद्रोहको अनिवार्य आवश्यकता महसुस गरिरहनुभएको थियो, जब निणर्ायक बेला आयो, त्यतिखेर अध्यक्षले अर्कै कार्यदिशा ल्याउनुभयो । त्यसका पछाडि अन्य निणर्ायक तत्त्वहरू पनि छन् कि ?
त्यो अहिलै ठ्याक्कै भन्न सकिँदैन। तर, एउटा नेता वा नेतृत्वले विचार, लाइन र योजना बदल्दा मनोगत ढंगले मात्र निर्णय गर्छ भन्ने साँचो होइन। त्यसका पछाडि वस्तुगत कारणहरू, उत्प्रेरित गर्ने शक्तिहरू, दबाब दिने शक्तिहरू सबैको सम्बन्ध हुन्छ।
चार महिनायता अध्यक्ष प्रचण्डले गरेका सिंगापुर, मलेसिया र थाइल्यान्डका सिलसिलेवार भ्रमणको पनि परिणाम हो कि यो ?
त्यसको पनि निश्चितै रूपले प्रभाव होला भन्ने लाग्छ। तर, त्यस्तो प्रभावमा कस्तो प्रवृत्ति, कस्तो पक्ष हाबी भयो या बढी जिम्मेवार भयो, यो कुरा अध्यक्षलाई नै थाहा होला। निर्णय बदल्नुको पछाडि राष्ट्रिय राजनीतिको प्रभाव पनि छ। पार्टी वा विभिन्न शक्तिहरूको प्रभाव पनि हुन्छ।
प्रचण्ड बारम्बार सिंगापुर, मलेसिया र थाइल्यान्ड जाने तर पार्टीकै शीर्षस्थ नेताहरूलाई समेत थाहा नहुने त्यो कुनचाहिँ शक्ति हो, जसले अध्यक्षलाई प्रभावित पारिरहेको छ ?
त्यसबारे म बोल्न चाहन्नँ। किनभने, त्यसको विस्तृत कुरा हाम्रो पार्टीमा/हामीलाई जानकारी छैन। थाहा नभएको कुरामा अनुमानित तर्क गर्दाखेरी चीजहरू ठीक ठाउँमा पुग्दैन।
नयाँ कार्यदिशा आएपछि भारतलाई हेर्ने दृष्टिकोण फेरिएको हो ?
त्यो स्वीकार गर्नुपर्छ हामीले। तर, त्यसको मतलब सिंगै पार्टीले त्यस्तो लाइन फेरेको होइन। बहुमत फेर्ने लाइनतिर गएको छ। यसमा हाम्रो सहमति छैन। हामीले भनेका छौँ, भारतले जुन स्केलमा नेपालमा चासो राखेको छ, हस्तक्षेप गरेको छ, त्यो नेपाली जनताको हितभन्दा बाहिर छ।
त्यो विस्तारित बैठकको म्यान्डेटविपरीत भएन र ?
अध्यक्षले ल्याउनुभएको कार्ययोजनाले त्यही भन्छ। उहाँले भन्दै आउनुभएको छ, अहिले विद्रोह हुँदैन, क्रान्ति पनि सम्भव छैन, त्यही भएर एउटा संविधान बनाएर जानुपर्छ। नमिलेकालाई अनुसूचीमा राखेर पनि जानुपर्छ। त्यसको उद्देश्य पनि त्यही देखिन्छ।
अर्थात्, अध्यक्षको दिमागमा क्रान्ति सम्भव छैन भन्ने कुरा ०५७ सालको दोस्रो सम्मेलनदेखि नै सुरु भएको हो त ? किनभने, त्यसबेलादेखि माओवादीले वार्ता, अन्तरिम संविधान, अन्तरिम सरकार, संविधानसभाको नारा अघि सारेको थियो ।
घटनाक्रमले त्यो क्रमश: प्रमाणित भइरहेको छ। ०५७ सालमा गोलमेच सम्मेलन, अन्तरिम सरकार आदिको प्रस्ताव ल्याउँदा मैले त्यतिबेला प्रश्न गरेको थिएँ कि जनयुद्धले अघि सारेको राज्यसत्ताको मामिला र तपाईंले अहिले सारेको कार्यनीतिमा भेट कसरी गराउन सकिन्छ ? छलफल पनि चलेको थियो त्यतिबेला। जनयुद्धले अघि सारेका प्रस्तावहरू त्यो लाइनमार्फत समाधान हुन्छ भन्ो ठीक भन्नेमा सबै सहमत भएका हुन्। तर, जनयुद्धका प्रस्तावलााई छोडेर यो मामिला मात्रै टुंग्याएर नेपालको राजनीतिक समस्या हल हुँदैन भन्ने दृष्टिकोण थियो, त्योबेला। त्यो अहिले पनि सही छ। त्यसैले, अहिले संविधान लेख्नमा मात्रै केन्दि्रत गर्दा जनयुद्धको औचित्यमा प्रश्न उठ्छ।
५ जेठको स्थायी समिति बैठकले नेपाली सेनाको समायोजन खाकामा सहमति जनाउने निर्णय गर्दार् तपाइर्ंहरूले नोट अफ डिसेन्ट लेख्नुभयो नि, किन ?
त्यो ०५२ सालमा जनयुद्ध सुरु गर्दाखेरी अगाडि सारेको अवधारणा, दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको नीति, शान्ति प्रक्रियामा आउँदा गरिएको विश्लेषण र शान्ति प्रक्रियापछि राज्यलाई रूपान्तरण गर्न खोजेको हाम्रो उद्देश्य कतै पनि मेल खाँदैन। त्यसकारणले हामीले 'नोट अफ डिसेन्ट' लेखेका हौँ।
समसामयिक प्रसंगतिर जाउ“, अबको एक सातामा संविधानको एकीकृत मस्यौदा आउँछ  ?
त्यसमा पनि हाम्रो पार्टी विभाजित छ। प्रचण्ड-बाबुराम कमरेड एकीकृत मस्यौदा बनाई नमिलेका कुरालाई अनुसूचीमा राख्दै जानुपर्छ भन्नेमा हुनुहुन्छ। त्यो एमालेको ०४७ सालको मान्यता हो भन्ने हाम्रो भनाइ छ। असहमति राखेर थोत्रो संविधान लेख्ने पुरानो मान्यता हो, त्यसमा हामी जान सक्दैनौँ भनेका छौँ।
त्यो भयो भने के हुन्छ ?
अहिले हामीले भन्ने यत्ति हो, त्यो भयो भने ठीक हुँदैन। हामीले उठाएको मान्यताविपरीत हुन्छ। यो कुरालाई गम्भीरतापूर्वक लिनूस् भनेर सबैलाई भनेका छौँ।
यदि प्रचण्ड-बाबुराम यसैगरी अगाडि बढेको उपस्थितिमा के हुन्छ ?
हामी माओवादी हौँ। कम्तीमा माओवाद छोड्न सकिँदैन, जनयुद्धका प्रस्ताव छोड्न सकिँदैन। क्रान्ति र क्रान्तिकारी पार्टीको आदर्शलाई छोड्न सकिँदैन।
प्रचण्ड-बाबुरामले हदैसम्मको लचकता देखाउने कुरा गरिरहनुभएको छ, त्यतिखेर तपाइर्ंहरू के गर्नुहुन्छ ?
हामी गम्भीर तरिकाले अध्यक्षसँग छलफल गरिरहेका छौँ। र, भन्दै पनि आएका छौँ, यदि त्यस्तो अनुसार गयो भने गलत हुन्छ। यदि सहमतिमा म्याद थप भए त्यो प्रचण्ड-बाबुरामले ०५२ सालमा जनयुद्ध थाल्दा भनेको कुराभन्दा उल्टो हुन्छ। नेपाली जनतासँग गरेका संकल्प र प्रतिबद्धताभन्दा बाहिर हुन्छ। त्यसको अर्थ उहाँहरूले क्रान्ति छोडेको, माओवादी छोडेको र जनता छोडेको ठहर्छ।
भनेपछि तपाईं अझै पनि जनविद्रोह हुन्छ, क्रान्ति हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ?
म पूरै विश्वस्त छु। नेपाली समाजले त्यही माग गरेको छ। विद्रोह भन्नासाथ अहिल्यै बन्दुक, गोलाबारुद आदिको परिकल्पना होइन। तर, अहिले नेपाली राजनीतिमा एक थान संविधान दिएर टालटुल पार्ने सोच देखिरहेको छ, त्यो समाधान होइन। त्यो इतिहासको भूललाई दोहोर्‍याउनु हो। जुन भूल कांग्रेस, एमालेले गर्‍यो, त्यो भूल माओवादीले दोहोर्‍याउने मात्रै हुन्छ। त्यस कुरामा सहमत हुन सकिँदैन।
तपाईंहरू जहिल्यै विद्रोहको कुरा गर्ने तर सत्तामा पठाउने आफ्ना मान्छेको सूची दिएर दबाब दिने गरिरहनुभएको छ, यो त द्वैध चरित्र भएन र ?
यो द्वैध चरित्र होइन, पार्टीको लाइन अनुरूप नै हो। माओवादीले क्रान्तिकारी कोणबाट जुन विश्लेषण गरेको छ, त्योसँग मिल्छ।
त्यो भनेको सत्तामा गएर विद्रोह गर्ने हो ?
राज्यलाई पुन:संरचना गर्ने, राज्यलाई रूपान्तरण गर्ने अहिले जुन कुरा छ, त्यसका लागि प्रचण्ड-बाबुराम कमरेडले पहिल्यै गल्ती गरिसक्नुभएको छ। शक्ति बाँडफाँटको सिद्धान्तलाई उहाँहरूले पहिल्यै छोडिदिनुभयो। सभासद् पाएपछि दौडिहालेजस्तो भयो। हाम्रो प्रशासन, न्यायालय, अर्थतन्त्र निर्माण गर्ने ठाउँमा मान्छे छैन। राज्यको पुन:संरचना गर्ने कुरामा सबै ठाउँमा माओवादी हुनुपर्छ। अनि, राज्यलाई बदल्ने सवालमा कसरी अन्तरविरोधी हुन्छ र ?
पालुङटार बैठकमा मोहन वैद्यले प्रस्टै भन्नुभएको थियो, यदि पार्टीले विद्रोहको लाइन पारित गर्दैन भने पार्टीमा बसिन्न, फुटाइन्छ । अहिले तपाईंहरू अल्पमतमा पर्नुभएको छ, तपाईंका आवाजको खासै सुनुवाइ नहुने र प्रचण्ड-बाबुरामले बहुमतबाटै निर्णय पारित गराइराख्ने हो भने पार्टी एक भइराख्छ त ?
पार्टीभन्दा ठूलो कुरा क्रान्ति हो, जनता हो, राष्ट्र हो। जुन पार्टीले क्रान्ति, जनता र राष्ट्रप्रतिको औचित्य सावित गर्न सक्दैन, त्यो पार्टी हुनु, नहुनु र फुटका झमेला कुरा गर्नु वा एकताका कुरा गर्नुमा केही अर्थ छैन।
अब व्यक्तिगत प्रसंग, कुनैबेला तपाईंलाई प्रचण्डको खास मान्छे भनिन्थ्यो, द्वन्द्वका बेला रणनीतिक ठाउँमा तपाईंलाई जिम्मेवारी दिइएको थियो तर अहिले सबैभन्दा बढी आलोचक तपाईं नै देखिनुहुन्छ । कहिलेदेखि तपाईंहरूको सम्बन्ध बिगि्रएको ?
म प्रचण्डको खास मान्छे कहिल्यै भइनँ। हो, युद्धका बेला पार्टीले पनि खास जिम्मेवारी दिएकै हो। उहाँ अध्यक्ष भइहाल्नुभयो, म विशेष आधारक्षेत्रको इञ्चार्ज। हामीले सँगै काम गर्न पायौँ। एउटा संयोग वा विश्वासको सहकार्य हामीले बनाएका थियौँ। त्यो कुरामा हामीलाई कुनै पश्चाताप छैन।
कुरो कहाँबाट बिगि्रयो त ?
हिजोको सम्बन्ध दृष्टिकोण, विचार र योजनासँग सम्बन्धित थियो, आज पनि त्यही हो। जहाँनेर अध्यक्षले हामीसँग मेल नखाने दृष्टिकोण लिएर आउनुभयो, त्यहीँ समस्या हो।
अहिले पनि खासखास छलफल गर्दा प्रचण्डले तपाइर्ंलाई बोलाउनुहुन्छ रे, पालुङटारको दस्तावेजमा पनि त्यो कुरा लेख्नुभएको छ । होइन र ?
अध्यक्षले लेख्नुभएको कुरा साँचो हो, नमिलेको कुरा पनि त्यहीँ लेख्नुभएको छ नि ! पछिल्लो समयमा अध्यक्षले क्रान्ति गर्ने र हामीले गर्ने तरिकामा अन्तर परेको हो। संविधानको कुरा, सेना समायोजनको कुरा, स्वाधीनताको कुरा, पार्टीसँगको सहकार्यको कुरामा अन्तरविरोध भएको हो।

No comments:

Post a Comment