
By Salokya from Mysansar
फोटो पत्रकार क्लबले आयोजना गरेको नेपाल कै सबैभन्दा ठूलो फोटो प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट फोटोहरुको घोषणा आज भयो। कुन फोटो राम्रो, कुन ठीक, कुन झुर- त्यो हेर्नेको आँखामा भर पर्ने कुरा हो। करिब छ सय जना सौखिन र व्यवसायिक फोटोग्राफरहरुबाट प्राप्त झण्डै पाँच हजार फोटोलाई छान्नु चानचुने काम थिएन। निर्णायकहरुले त्यसमध्येबाट १४३ वटा उत्कृष्ट फोटो छानेर त्यसमा पनि विभिन्न विधाका उत्कृष्ट फोटो चयन गरेका थिए। एउटा फोटोलाई वर्षको सर्वोत्कृष्ट घोषणा गरिएको थियो र एक लाख रुपैयाँ बराबरको पुरस्कार दिइएको थियो। माथिको फोटो त्यो एक लाख जित्ने सर्वोत्कृष्ट फोटो हैन। तर मेरो मनलाई भने चसक्क पारेको फोटो हो यो। एकछिन टक्क अडिएर धेरै सोच्न बाध्य बनाउने छ यो फोटो। समाचार विधातर्फ पहिलो पुरस्कार पाएको यो फोटो कपिलदेव खनालले खिचेका हुन्।
फोटोमा माध्यमिक विद्यालयका यी विद्यार्थीहरु समूहमा तुइनबाट त्रिशुली नदी तर्दैछन्। उनीहरुको बुद्दसिन गाउँमा माध्यमिक विद्यालय नभएकोले दिनहुँ दुई पटक यसरी तुइन तर्नुपर्ने बाध्यता रहेछ।
माथिको फोटो भने पर्यटन विधा अर्थात् नेपाललाई चिनाउने, नेपालको प्रवर्द्धन गर्ने फोटोहरु मध्ये उत्कृष्ट ठहरिएको हो। यसलाई लमजुङमा रमेश तामाङले खिचेका रहेछन्।

प्रकृति र वन्यजन्तु विधामा पहिलो ठहरिएको यो फोटो काठमाडौँमा राजेन्द्र मानन्धरले खिचेका हुन्।

एक पल्ट म पनि तुइनमा यसरी नै झुण्डिएको थिएँ। निकै गाह्रो भएको थियो मलाई। मेरो त्यो रहरमात्र थियो। दार्चुला, राप्लाकी यी महिलाको त बाध्यता हो यसरी तुइनबाट महाकाली नदी तरेर बजार जानु। दैनिक जीवन विधातर्फ उत्कृष्ट भएको यो फोटो विक्रम गिरीले खिचेका हुन्।

र, यो फोटो चाहिँ प्रतियोगिताका लागि प्राप्त कूल ४ हजार ९ सय ८९ वटा फोटो मध्ये सबैभन्दा राम्रो ठहरिएर एक लाख पुरस्कार जितेको फोटो हो। चाबहिलको पशुपति क्याम्पसमा प्रहरी र विद्यार्थीबीच भएको झडपमा फँसेकी स्कूले छात्रा डराउँदै भाग्दै गरेको यो फोटो यलु जोशीले खिचेकी हुन्।
तपाईँहरुलाई चाहिँ माथिका फोटो मध्ये कुन फोटो राम्रो लाग्यो त ?
र, अन्त्यमा यो फोटो प्रतियोगिताले नेपाल कतिको अनलाइन फ्रेन्डली भइसकेको छ भन्ने पनि देखाएको छ। प्रतियोगिता संयोजक विकास कार्कीका अनुसार सबै नेपाली नागरिकका लागि खुला गरिएको यो प्रतियोगिताका लागि देशभरबाट फोटो पठाउन सजिलो होस् भनेर धेरै सहरका कलर ल्याबहरुमा फोटोको सीडी कलेक्सन सेन्टर राखिएको थियो। ‘लोडसेडिङ होला, इन्टरनेट सुविधा नहोला भनेर यस्तो गरेका थियौँ, तर एउटा सीडीमात्र हामीले उपत्यकाबाहिरबाट पायौँ, सबले अनलाइनमा फर्म भरेरै फोटो पठाएका थिए,’ विकासले सुनाए। उनका अनुसार प्रतियोगिताका लागि भनेर जम्मा १२ वटा सीडी प्राप्त भएको थियो- एउटा वीरगञ्जबाट र बाँकी ११ वटा काठमाडौँबाट। देशभरका करिब ६ सय जनाले फोटो पठाएका थिए, अधिकांश सौखिन फोटोग्राफर हुन्।
No comments:
Post a Comment