Friday, May 13, 2011

गृहमन्त्रीकी गृहमन्त्री

शब्द/तस्बिर : प्रमिला 
त्यसवेला छोरीले अक्षर चिने हुन्छ भन्थे । त्यसले कखरा पढ्न सक्ने भएपछि स्कुल छाड्नुपर्‍यो । उहाँलाई पनि मैले केही दिन सकेकी छैन । कहिलेकाहीँ लाग्छ पढेको भए अहिले उहाँलाई काममा त साथ दिन सक्थँे । सीतालाई पछुतो छ । 
पुल्चोक । मन्त्री क्वार्टर ब्लक 'डी' नम्बर चार  । यहाँ बस्छन्- गृहमन्त्री कृष्णबहादुर महरा । प्रधानमन्त्री झलनाथ खनालले आफ्नै दलसँग जोरी खोजेर माओवादीलाई गृह मन्त्रालय दिएका हुन् । तर, यी गृहमन्त्रीकी गृहमन्त्री -श्रीमती) सीता महरा भने साँच्चिकै गृहमन्त्राणी हुन पाउँदा त्यति खुसी रहिनछन् । 
क्वार्टरको भान्छातिर जाँदै गर्दा सीताले सुस्केरा हाल्दै गुनासो गरिन्, 'विकास-सिकास केही हुने होइन म त उहाँलाई यो मन्त्री-सन्त्री नहुनुहोस् भन्छु । बेकारमा मान्छेले गाली गर्ने मौका पाउँछन् ।'

०००
उनको अनुहारमा त्यति ऊर्जा देखिन्न । पोहोर सालको रोगले चमक लुटेको उनको ठम्याइ छ । 
सुरुमा पाइताला पोल्थ्यो । पछि ज्यान पनि पोल्न थाल्यो । त्यत्तिमै के रोकिन्थ्यो आँखा ठ्याम्मै देख्न छाडिन् । लपक्कै टासिन्थ्यो । रोग पत्ता लगाउने कसैले होइन । आँखामा जाँदा एलर्जी भन्दिन्छ । काठमाडांैका सबैजसो हस्पिटल सकिएपछि नर्भिकमा गएपछि रोग पत्ता लाग्यो । 'भारतमा अमिताभ बच्चनलाई लागेको रोग तपाईंलाई लागेछ,' सीताले डाक्टरले भनेका कुरा सुनाइन् । तीन दिन ढिला गरेको भए ज्यान जाने रहेछ । 
त्यसवेला महरा सञ्चारमन्त्री थिए । त्यसमाथि पार्टीको काम । यिनको हेरचाहमा के जान पाउनु । छोरा छोरी बस्थे कुर्न । 'छातीमा रोगले घर बनाएको छ सानो अप्रेसनले निको हुन्छ,' डाक्टरले भनेका थिए । 
दिल्ली जाँदा ठूलो छोरा एटमसँगै थिएँ । महरा भने जान पाएनन् । त्यसमा सीतालाई कुनै गुनासो छैन । साथमा लोग्ने भइदिओस् जस्तो पनि हुँदैन रे । 'उहाँको कामै त्यस्तो मैले नबुझेर कसले बुझ्छ ?' उनले भनिन् । 

०००

सीताका बुबा र महराका बुबा मामा फूपूका सन्तान । त्यसैले दुवैको अनुहारको मोहडा उस्तै लाग्छ, हाँसो पनि मिल्ने । 
महराकी हजुरआमा सीताको घरमा आउँदा भन्थिन्, 'तँलाई मेरो नातिसँग बिहे गर्छु ।'  सीतालाई त्यो सुनेर खासै रमाइलो लाग्दैनथ्यो, न त दिक्क नै । भेटिँदा पनि मेरो केटो यही हो लागेन रे । 'मलाई त जिस्काएजस्तो मात्र लाग्थ्यो,' सीताले सुनाइन् ।  
महराको मात्रै कुरा चलेको होइन उनीसँग अरू पनि आउँथे । तर, मनले खानेजस्ता कोही आएनन् । त्यसवेला एकमानो खान पाउनु सम्पन्नताको प्रतीक थियो । 'एकातिर अगतिलो केटो पर्ला भन्ने पीर अर्काेतिर मेलामा तानेर लाने । सबैभन्दा ठीक उहाँ लाग्यो,' सीता सम्भिmन्छन् । 

०००

बिहान नौ बजेको समय महरा रोटी खाएर पोखराका लागि निस्किएका छन् । एटमले मलाई आग्रह गरे, 'आज यतै खाना खाऊँ । आमा सोझी हुनुहुन्छ बोल्न अलि 
सजिलो होला ।'
दुई मिनेट जतिमा खाना लिएर एकजना युवक आए ।  स्टिलको प्लेटमा भातसँगै एकछेउमा तिलको छोप थियो अकर्ाेमा आलुमा सिमी र तीतोकरेला मिसाएको तरकारी । 
'उहाँ खानामा साह्रै सन्तोकी,'  सीताले  भातमा गहतको झोल खन्याउँदै सुनाइन्, 'तोरीको साग र ढिँडो भनेपछि हुरुक्कै हुनुहुन्छ । तर, मासको दाल र सुकाको साग पटक्कै मन नपराउने ।' 
आजकल महरा भात त्यति खाँदैनन्, सुगर भएकाले । साँझमा ढिँडो खान रुचाउँछन् । कि मकैको भात । बिहान चियाको सट्टा जौको सातु पानीमा हालेर पिउँछन् । 

०००

बिहे गर्ने वेला महरा रोल्पाको हाइस्कुलमा पढाउँथे । त्यसमाथि ट्युसन पढ्न आउने हुन्थे । व्यक्तिगत गफ गर्ने फुर्सद कहाँ पाउनु !  कति दिन त बोल्दै नबोली बित्यो । घरमा दुई ससुरा थिए । एक आफ्ना एक काका ससुरा । सासू महरा नौ वर्षको हँुदै मरेकी । त्यसपछि ससुराले बिहे गरेनछन् । ससुराहरूसँग भने कामको कुरा हुन्थ्यो । त्यसवेला 'भात खान आउनू ।' 'पानी दिम ?' जस्ता श्रीमान्-श्रीमतीका प्रसिद्ध गफमा पर्थे । सुरु-सुरुमा महरा सीतासँग सँगै हिँड्न खुबै लजाउँथे । 'सँगै माइत जानुपर्दा कतिपटक उहाँ एक घन्टा पिछाडि पुग्नुभएको छ । सीतालाई त्यो सम्भ“mदा अझै हाँसो लाग्छ । दुवैको कम बोल्ने बानी त्यसैले नजिकिन समय लाग्यो । 

०००

उपहार ल्याउने मामलामा पनि महरा कच्चा छन् । 'बिहेपछि शान्तिप्रक्रियामा आउने वेलासम्म उहाँले किनेको तीनवटा साडी लगाएँ ।' सीतालाई यसमा पनि गुनासो छैन । 'मलाई लुगा र गहनामा कहिल्यै रहर भएन । त्यसैले दुःख लाग्दैन ।' 
महरा कहिल्यै सीतासँग रिसाएनन् न सीता महरासँग । ठूलो आवाजमा बोलेको पनि याद छैन मलाई सीता सम्भिmन्छिन् । महरा फुर्सद हुँदा सीतालाई सघाउँथे पनि । उनी गाउँमा काममा जाँदा छोराछोरीको हेरचाह गर्थे । भात पकाउँथे, खुवाउँथे र भाँडा पनि माझ्थे । अनि आफ्ना लुगा आफँै धुन्थे । 
'उहाँको बाहिरको रिस घरमा आएर पोख्ने बानी छैन,' सीता भन्छिन् । 
सीताका बुबा गाउँमै मास्टर थिए । तर, यिनी तीन कक्षाभन्दा माथि पढ्न पाइनन् । पहिलो पढ्न मन थिएन । दोस्रो उनी सबैभन्दा जेठी त्यसैले घरको काममा हात वटाउनुपथ्र्याे । त्यसवेला छोरीले अक्षर चिने हुन्छ भन्थे । त्यसले कखरा पढ्न सक्ने भएपछि स्कुल छाड्नुपर्‍र्याे । 
'उहाँलाई पनि मैले केही दिन सकेकी छैन । कहिलेकाहीँ लाग्छ- पढेको भए अहिले उहाँलाई काममा त साथ दिन सक्थेँ,' सीतालाई पछुतो छ । 
उनको कान्छो भाइ थिए एसएलसीसम्म पढेका । माइली बहिनी र कान्छो भाइको मृत्यु भइसक्यो । बहिनी रोगले मरिन् । भाइ केलेे मरे ठ्याक्कै थाहा छैन । एकचालीस, बयालिस सालतिर हो, उनी सेनामा भर्ती हुन्छु भन्दै गएका थिए । गएको ६ महिना नहँुदै मरेको खबर आयो । 
'त्यसवेला गोली लागेर मर्‍यो भन्थे । केहीले जंगलमा रूखले किचेर मारेको भन्थे,' भाइ सम्झेर सीताका आँखा हल्का रसाए, 'लास पनि देख्न पाइएन । उतै अन्तिम संस्कार गर्‍यौँ भने ।' 
पञ्चायतको समय थियो । सोध्ने हिम्मत कसैको थिएन । त्यो यसै सेलायो । 

०००

लोग्ने नेता हुनुको पीडाको सीता राम्रो जानकार हुन् । ठूली छोरी जन्मिदा सात दिनमै महरा जेल परे  अनि त्यसको डेढ महिनामा फर्किए । त्यसवेला साथमा आमा थिइन् । त्यसैले उनलाई त्यति गाह्रो भएन । त्यसवेला गाउँका मास्टर खुबै भागाभाग गर्थे रे पक्रिने डरमा । 
०५१ फागुनमा महरा भूमिगत भए । त्यसअघि उनले भनेका थिए,  'कि मार्न कि मर्न हिँडेको छु । जे खबर आए पनि सुन्न तयार हुनू ।' 
त्यसअघि सीतालाई राजनीतिसम्बन्धी दुई कुरा थाहा थियो- मोटो मसाल र पातलो मसाल । महरा भूमिगत भएकोे २५ दिनपछि पुलिस घरमा आयो, छोराछोरीको किताब जलायो । केही दिनपछि उनलाई गाउँलेको आग्रहमा पुलिसले छाड्यो । लिवाङ छाडेर उनी छोराछोरीसहित मेवाङ पुगिन् । त्यहाँ पनि के सुख हुन्थ्यो र पुलिसका मान्छे पुगिरहन्थे । त्यसवेला छोराछोरी पढ्दै थिए । तर, त्यो पढाइभन्दा ज्यान ठूलो थियो । त्यसैले ०५४ मा चारतिरबाट भागेर दाङमा बस्न थालिन् । कहिलेकाहीँ त्यहा महरासँग पनि भेट हुन्थ्यो । दुई छोरा सेनामा लागे । छोरी पार्टीभित्रै नाचगानमा । सीता भने पार्टीले दिने झोला धोती बुन्ने काममा लागिन् । 
त्यसवेलाको जीवन सीतालाई खुबै रमाइलो लाग्छ । एकपटक महरा दिल्लीमा इन्चार्ज भएर पुगे थिए त्यसवेला सीता सँगै थिइन् । 
 'सबै उस्तै थिए एउटै लक्ष्य थियो । अहिलेजस्तो विवाद थिएन ।' सीताले सुनाइन्, 'दिल्लीमा उहाँसँग बिताएको समय मलाई खुबै याद आउँछ । अहिले मन्त्री हुनुभएको छ । तर, बोल्ने फुर्सद हुँदैन ।'    
खाना खाइसकेपछि हामी महरा सुत्ने कोठामा पुग्याँै । एउटा टेबलमा छरिएका केही फाइल देखिए । पूर्वपट्ट िटाँसिएको पलङ र त्यसको ठीक अगाडि लुगा झुन्ड्याउने हेङ्गर अनि त्यसमा टाँगिएका महराका केही र कोट थिए । पलङमा राखिएको टाबेल पर सार्दै सीताले भनिन्, 'राति १२ बजे आउनुहुन्छ । बिहान तीन बजे उठ्ने । पहिला घरका विषयमा छलफल हुन्थे, अहिले केही कुरै गर्न पाइँदैन् ।'  अहिले महराले समयमा खाइदिए मात्रै हुन्थ्यो जस्तो लाग्छ उनलाई । 

०००

सीतालाई महराका अधिकांश स्वभाव मन पर्छन् । त्यसमा पनि मिजासिलो बानी झनै मन पर्छ । 'छिमेकीसँग मिल्नुहुन्छ । अहिलेसम्म नमिठो बोलेको सुनेकी छैन । मैलेभन्दा माया छोराछोरीलाई गर्नुहुन्छ,' उनले सुनाइन् । यसो भनिरहँदा उनको अनुहारमा अनौठो चमक देखियो । 
 महरा  दुईपटक सञ्चारमन्त्री  र अहिले गृहमन्त्री छन् । तर, उनी एकपटक सँगै विदेश त के देशभित्रै पनि गएकी छैन । 'देशको खर्चमा डुल्न मलाई मन लाग्दैन । मान्छे त किन गइनस् भन्छन्,' उनले रातो सलको सप्को हाल्दै भनिन्, 'मन्त्री हँुदा डुल्यो भने देशको ढुकुटीमा डुली भन्ने हुन्छ, नहुँदा पार्टीको । बरु कतै नगएकै बेस ।'

No comments:

Post a Comment