राँचीबाङ (थबाङ, रोल्पा)
'लाल सलाम,' टाउको भन्दा माथिमाथि मुठी उठाउँदै एकै तालमा आवाज झर्यो, 'हाम्रो अजम्मरी जनकम्युनमा स्वागत् छ।'
आम रोल्पाली घरका तुलनामा केही ठूलो काँटीका दुईतले घरअगाडि थालमा अबिर र हातमा लालीगुराँसको माला लिएकाकाको एउटा लाइनबाट स्वागत्को ताली पनि झर्यो। लाइनमा उभिएका अनुहार समाबेसी छ –केही बूढी आमै, केही किशोर, केही युवा र केही बालबालिका।
लाइनमा सबैभन्दा अगाडि उभिएकी बूढी आमैले आगन्तुकका निधारमा अबिर लगाइदिइन्। त्यसपछि सनासोले चेपेजसरी चपक्क पारेर आगन्तुकसित हात मिलाइन्। कम्युनका अन्य सदस्यले आगन्तुकका गलामा लालीगुराँसको माला लगाइदिए। उनीहरुले पनि आफूभन्दा माथिमाथि हात उठाए र 'लाल सलाम' भन्दै आगन्तुकसँग चपक्क पारेर हात मिलाए।
'पाहुनालाई यसरी स्वागत् गर्ने हाम्रो पुरानै चलन हो,' अबिर लगाइदिएर आधा खाम र आधा नेपाली मिश्रित 'हाइब्रिड' भाषामा राममाया रोका मगर, ५९, ले भनिन्, 'लेक काटेर हाम्रो घर आँगनमा आउनुभयो, स्वागत् छ है।'
घाम रुकुमकोटमाथिको तीनबैनी लेकमा पुगेर विदाइको हात हल्लाउँदैछन्, बास बस्न हतारिएको हटारुजसरी। माघ महिना सकिएर जान थालेर होला, जलजलाको खोल्साखाल्सीमा मात्र हिउँका सिला देखिन्छन्। जलजलालाई माओवादीले चीनको चिङकाङ र पेरुको आयाकुचो पहाडसँग दाँज्छन्। र, यसैको नाउँमा चुनू गुरुङ, मणि थापालगायतले गीत मात्र गाएका छैनन् कृष्ण सेन इच्छुकलगायतले कविता पनि कोरेका छन्। घाम नेटोमा पुगेको देखेर मेलापात झरेका चरा आफ्नो बास फर्कने साइत गर्दैछन्।
'यो त पिए पनि हुन्छ,' चिया नपिउने आगन्तुकलाई पिउन कर गर्दै कम्युनकी एक युवती पद्मे (जडीबुटी) चियाले स्वागत गर्न आइन्, 'यो त काठमाडौंको चिया होइन, खास्सा रोल्पाली चिया हो।'
चियाका गिलास रित्तिन थालेपछि ल्याइएको ठूलो प्रातमा उसिनेको आलु। मज्जाले पिसेको नुन–टिमुरमा आलु चोब्दै मुखमा घान हाल्न थाले। काठमाडौंबाट आगन्तुकलाई डोर्याउँदै कम्युनमा आइपुगेका कम्युनकै सदस्य सभासद् सन्तोष बुढा मगर थबाङमा फल्ने आलु र स्याउको नाउँमा 'दुई शव्द' भन्दै प्रवचन दिए। लेकलेकमा आलु खोर्रे जान बर्खामास गाउँले बस्तुभाउ लिएर लेकतिर उकालिने रोल्पाली परम्पराको जानकारी गराउँदै दाया हातको चोर औलाले देखाए, 'उः मा...थि, तिनै लेकमा हो, हामीले आलु र स्याउ फलाउन झरीको तालमा जुकासँग दोहोरी गाउने ...।'
शुक्रबार र शनिबार पाँच दर्जनभन्दा बढीका लागि पाक्ने पाके पनि नियमीत तीन दर्जनका लागि पाक्ने कम्युनको चुलोमा आज डेढ दर्जन थपिएका छन्। आगन्तुकका लागि डोजर (सुँगुर)को मासु पनि पाक्यो।
खानुअघि कम्युन परिवारका सदस्य बैठक कोठामा, जो घरको भुइतलामा छ, भेला भए। जहाँ एउटा टिभी सेट पनि राखिएको छ।
'भोलिपल्टको दैनिक काम बाँडफाट गर्न प्रत्येक साँझ परिवारको बैठक बस्छ,' सुमन्ती रोका, २७ ले भनिन्, 'बाँडफाट त खाना पकाउने पालोदेखि नै हुन्छ।' बिहे भएको २० दिनमै जनयुद्धमा श्रीमान् गुमाएकी सुमन्ती, त्यस लडाइँमा श्रीमान्सँगै सहभागी थिइन्। सम्भि्कनसक्नुको कुरा, लडाइँबाट उनी एक्लै फर्किइन्।
सुमन्तीका अनुसार युद्धकालमा कम्युनको प्रत्येक महिना दुई गते समीक्षा बैठक बस्थ्यो। बैठकमा अजम्मरीबाहेकका अन्य कम्युन पनि सहभागी हुन्थे। ससानादेखि कम्युनका ठूला योजना पनि बुन्थे। कार्यान्वयन भए/नभएका लेखाजोखा पनि गर्थे। तर शान्तिप्रक्रियापछि कम्युनको समीक्षा बैठक 'बेठेगान' भएको छ।
सिंगो संसार नै एउटा कम्युन बनाउने सपना उनेर जनयुद्धकालमा माओवादीले थालेका चार कम्युनमध्ये अजम्मरी र जलजला रोल्पामा छन्। बलिदान रुकुमको छिपखोला र पहिलो कम्युन जुनी जाजरकोटमा छ जुन २०५७ मा थालिएको थियो। सभासद् सन्तोषका अनुसार जाजरकोटको जुर्क र निपाने गाउँमा एकै गाउँका १४ पुरुषलाई सुरक्षा फौजले मारेपछि सबैभन्दा पहिले जुनी नामक कम्युन गठन गरेको थियो।
थबाङको ठूलो गाउँबाट तर्केर हिंडे झण्डै आधा घण्टाको पैदल दूरीमा राँचीबाङस्थित अजम्मरी कम्युन पुगिन्छ। कम्युनका दुईवटामा खेतीपाती गर्नेहरु बस्छन्। उनीहरुले बस्तुभाउ पनि पालेका छन्।
Dancing Bhume, Rolpali folk dance. Samjhana Gharti Magar (L) and Sumanti |
रात तन्नेरी हुन थालेपछि आगन्तुकसहित सबै बैठक हलमा लहरै बसे। आलोचना र आलोचना गर्ने, रिपोर्टिङ गर्ने भन्ने माओवादी संस्कृतिमा हुर्केका कम्युन सदस्यले आगन्तुकबीच कम्युनका संचोबेसंचो बिसाउन थाले।
'आधाआधी त सहिद परिवार छौं। हामीले परिवारका सदस्यसँगै आफ्ना खुसी र सपना पनि गुमाएका छौं,' सुमन्तीले भनिन्, 'कम्युनमा बस्न थालेपछि एक्लोपन र दुख भुल्न सजिलो भएजस्तो लाग्यो।' २०६० जेठ १४ मा ६ परिवारले गठन गरेको अजम्मरी जनकम्युनमा उनीसहित नौ सहिद परिवार छन् भने दुईजना अंगभंग भएकाका र झण्डै दर्जन जनमुक्ति सेनाका परिवार। ३२ परिवारसम्म पुगेको कम्युनमा परिवार संख्या घटेर २२ पुगेको छ। कम्युन परिवारका सदस्यमध्ये सन्तोष रोल्पा –२ का सभासद हुन् भने मौसम रोका मगर पत्रकार महासंघ रोल्पाका अध्यक्ष।
सहिद साङपत्नी राममाया अजम्मरी कम्युन संस्थापक परिवारमध्येकी एक हुन्। बाबुआमासँग छोराछोरीसमेत टाढिदै गएको चरम व्यक्तिवादी संस्कृति हुर्किरहेको बेला एक दिन यस्तो दिन आयो रे। जुन दिन उनको बास तात्कालीन शाही नेपाली सेनाले जलायो। उनका छिमेकका घरसँगै थबाङको ठूलो गाउँमा लस्करै १३ घरसहित १८ वटा घर जलाएछ। आफ्नो घर जलेको आफ्नै आँखाले टुलुटुलु हेरिन्। हेर्न पनि कहाँ छुट थियो र, जंगलबाट लुकेर हेरिन्। गुडबाट आफ्नो बचेरा लान थालेपछि हाँगाहाँगा चाल्दै चरीले जसरी बिलौना गर्न पनि पाइनन् रे।
'आफ्नै घर जलेको पनि लुकेर हेर्नुपर्दा कस्तो भयो होला मन,' उनले ती दिन सम्झन पनि चाहिनन्।
'हामीले उः त्यै पारि जंगलमा लुकेर हेर्यौं। बन्दुक बोकेका दुश्मनले घरमा आगो झोसे। आफ्नै घर जलेको हेर्दा कस्तो हुन्छ होला मान्छेको मन,' जबर्जस्त ती दिन सम्भि्कइन्, 'सबै जलेको छोराछोरी काखमा च्यापेर टुलुटुलु हेरेँ।'
family members of Ajammari Commune |
'काँचै आँखामा रात काटेर भोलिपल्ट आइम', उनले भनिन्, 'ती सेना कति माथि माथिका डाँडामा बसे रे। कति सेना रुकुम सदरमुकाम मुसीकोटबाट आएका थिए र कति रोल्पा सदरमुकाम लिबाङबाट।'
घरसँगै जलेको मन लिएर भोलिपल्ट फर्कदा रंग नै बदलेका बचेखुचेका केही काठ र भत्केका गारो मात्र थिए। बाबु बाजेको पालादेखिका भाँडाकुँडा केही पनि थिएनन्।
खसी बाख्रा आफैसित लगेछन् सेनाले। गाई भैसी भकाराबाट छोडिदिएका थिए।
'आगो बलेपछि कराउँदै भागेका बस्तुभाउका चित्कार अहिले पनि कानमा गुन्जिरहन्छ,' उनले भनिन्।
यो ज्यादती उनले कसैलाई पनि सुनाइनन्। उनका लागि न अड्डा थियो न अदालत न कानुन। काठमाडौंमा सबै पत्रिका पनि तिनै सेनाका थिए।
'अहिले पनि पत्रिका पनि तिनै सेनाका भन्छन्। सबैथोक उनैका। हाम्रा त को छन् र काठमाडौंमा। नेता पनि काठमाडौं गएर उनकै भए भन्छन्,' उनको ठम्याइ छ, 'गएपछि यहाँ फर्केर आएका पनि छैनन्।'
'यै ठाउँमा बर्खे गोठ थियो। त्यै गोठमा ओत लाग्यौं। घरसँगै जे थियो ती सबै जलायो। घरसँगै हाम्रा बाबुबाजेका जे थियो त्यो पनि जल्यो। सबै जले। रहर जले। मन जले,' उनले भनिन्, 'कम्युन बनेपछि यो घर पनि बनायौं।'
सबै परिवार मिसिएर सँगै बसे कसो होला? कल्पना गरे रे। सँगै बस्ने। सुखदुख सँगै साट्ने। जति हुन्छ मिलेर गर्ने। सपना साझा। रहर साझा। जिनदगीका घामछाया साझा। पार्टीमा छलफल चलेछ। घर जलेका, मन जलेका सँगै बस्ने निधो भएछ।
'बर्खे गोठ भएको यै ठाउँमा यो घर बनायौं। कमरेडहरु मिसिदै आउनुभयो,' उनले भनिन्, 'कल्पना पनि थिएन, यै घरमा हामी यति धेरै हम्ला, बाहिरबाट धेरै मान्छे यहाँ हेर्न आउलान्।'
कम्युनमा परिवार संख्या मात्र थपिएनन् आउन थाले लुकीछिपीकन, मुसलमान मक्का मदिनामा गएजस्तो, हिन्दु धर्मालम्बी चार धाम गएजसरी कम्युनिष्ट विचारधारामा विश्वास गर्नेहरु। अनुसन्धाता पनि आउन थाले विभिन्न विश्वविद्यालयका। अमेरिकी पत्रकार लि अर्नेष्टोदेखि जापानी पत्रकार कियो ओगुरा पनि आए। डलर खेतीवाल एनजीओ/आइएनजीओ पनि आउन थाले।
कति धेरै आएर उनको र कम्युन परिवारका अन्तवार्ता लिए? कतिले फोटो लिएर गए? उनीसँग हिसाबकिताब छैन। कम्युन सदस्यहरुलाई चासो पनि छैन, उनीहरुका अनुहार खिचेर कति डलर कमाए कतिले। अजम्मरी जनकम्युनको आगन्तुक पुस्तिका देखाइन्। विदेशबाट पनि थुप्रै। अधिकांश विभिन्न देशका विश्वविद्यालयका विद्यार्थी र विभिन्न देशका कम्युनिष्ट पार्टी नेता र सदस्य। डलर खेतीवालहरु।
'आउँछन्, पुराना घाउ चलाएर जान्छन्,' उनले भनिन्, 'उनीहरुलाई हाम्रा आँसु र यी सुक्खा डाँडाजस्ता अनुहार खिचेर लान मन लाग्छ होला।' आँसुलाई डलरमा अनुवाद गरेकोमा, नेताले कुर्सीसँग साटेकोमा न उनले गुनासो गरिन् न त कुनै इर्ष्या नै।
उनले भनिन्, 'आफैलाई हेरेर, आफूजस्तैहरुलाई हेरेर मन बुझाउने त हो नि।'
कहिलेकाहीँ दुखी नै दुखी देख्दा कहिले त दुखैदुख चुलिएर जलजला भएजस्तो लाग्छ रे। कहिले भने एकै ठाउँमा हुँदा होचिएजस्तो।
'हामीसँग ३६ हलको बारी छ। खानलाई पुग्छ,' कम्युनकी रविकिरण रोका मगर 'योजना'ले जानकारी गराइन्, 'फुलीबन र थबाङको ठूलो गाउँमा होटल छन्। त्यहाँबाट लुगालत्ता र औषधीउपचारको खर्च आउँछ।' कम्युन परिवारका सदस्य कोही उद्योगमा काम गर्छन्। कोही व्यापारमा। कोही होटलमा कोही व्यापार। राँचीबाङस्थित कम्युनमा खेतीपातीमा लागेका बूढाबूढी, केटाकेटी, केही किशोर र केही युवा मात्र।
कम्युनको नियम छ। मिसिने परिवारले आफ्नो सम्पत्ति मिसाउँछ। छुट्न मन लागेर लिएर जान्छ। आफ्नो गच्छेअनुसार जति छ त्यति लिएर कम्युनमा मिसिएका छन्। कोही धेरै लिएर कोही थोरै। खेतीपातीका लागि टाढा गाह्रो हुने भएकाले राँचीबाङ क्षेत्रमा नै बारी किनेका छन्।
रविकिरणका अनुसार रक्सी, जाँड खान मनाही छ।
परिवारमा उब्जने ससानादेखि ठूला समस्या, मनमुताव आपसी छलफलबाट सुल्झाउँछन्। माओवादीले अपनाउने आलोचना आत्मालोचना पद्धतिबाट तिनलाई किनारा लाउँछन्। उनीहरुका लागि यो नै जीवनपद्धतिजस्तो लाग्छ।
कम्युनमा बालक, बूढा, युवा सबैले सजिलो महसुस गरुन भनेर नियम यसैअनुसार बनाउँछन्। त्यसैअनुसार आफ्ना जिम्मेवारी पूरा तोक्छन्। उनीहरु आउने समस्यालाई छलफलबाट हल खोज्ने बताउँछन्।
'कम्युनमा सजिलो लागेको छ। हामी बूढीहरु समय कटाउन पनि सजिलो,' बाँकी जिन्दगी कम्युनमा बिताउने बताउँदै राममायाले भनिन्, 'हामी यहाँ आफ्ना दुख बाँड्छौं। परिवार गुमाउँदाका पीडा, लडाइँका दुखाइ कम भएजस्तो लाग्छ। म अन्तिमसम्म पनि कम्युनमै बस्न चाहन्छु।'
नेपाली समाज पूजीवादी संस्कृतिले गाल्दै गएको बेला यसविपरीत कम्युन थालिएको थियो। परिवार संख्या पनि थपिदैथियो। तर एक दिन। यस्तो दिन पनि आयो। जुन दिन पार्टीले क्रान्ति पूरा नहुँदै सम्झौता गर्यो। बृहत् शान्तिसम्झौता। ठूला काँटीका नेता काठमाडौं पसे। मझौला काँटीका घोराही र जिल्ला सदरमुकाम लिबाङतिर। छोटे नेतासमेत वर्ष दिनको पर्वमा एकपालि चेली आएजसरी बाटो बिराएर मात्र आउन थाले।
पूजीवादका जीवनशैलीका याम पेन्डोराको बाकस खोलेजसरी कम्युन परिवारलाई समाउन आए। छलफलका लागि न नेता थिए गाउँमा न अरु। अझ तन्नेरी हुँदै गएको व्यक्तिवादी चरित्रको समाजको हावामा नेतासमेत बतासिएपछि के मतलब कम्युनको?
हेर्दाहेर्दै नेताका गाला पाकेका टमाटरजस्ता हुन थाले भने कार्यकर्ताका गाला टिबी लागेका रोगीका जस्ता। नेताका साला, साली, भाइ, भतिजा एकाएक साहू भए।
व्यक्तिवादी जीवनशैलीको हावा कम्युनले थाम्न सकेन। सभासद सन्तोष बुढाका अनुसार त्यसपछि कम्युनका सदस्यले कम्युन छोड्नेक्रम सुरु भयो। कम्युन परिवारका सदस्य किताब झाँक्री 'साहस'का अनुसार अजम्मरी कम्युन ३२ परिवारबाट अहिले २२ परिवारमा झयो।
'कम्युनमा आउन र जाने ढोका सधैं खुला हुन्छ,' योजनाले भनिन्, 'जसले कम्युनको अनुशासन र नियम पालना गर्दैन, बस्न चाहदैनन्, उनीहरुले छोड्न पनि पाउँछन्।' उनका अनुसार कम्युन छोड्न चाहने सदस्यले आफ्नो सम्पत्ति लिएर जान पाउँछ।
शान्तिप्रक्रियापछि एकाएक छाड्नुका कारणलाई कमरेड किताबले यसरी अर्थ्याए, 'केही कमरेड आफ्ना परिवारका सदस्य नलिइकनै पनि कम्युनमा आउनुभएको थियो। र, शान्तिप्रक्रियापछि उहाँहरुले छोड्नुभयो।'
'कम्युनका सदस्य आफ्नो इच्छा नलागेमा छोड्न पाउने कम्युनको नियम छ,' सभासद सन्तोषले भने, 'समाजको बनोट नै पूजीवादी छ। चिन्तन र व्यवहार त्यसबाट प्रभावित छन्। त्यसैले कम्युनलाई बचाउँदै सामूहिकरुपमा लानलाई चुनौती छन्।' सन्तोष चिन्तित छन् कम्युनको भविष्यप्रति। पार्टीले जनयुद्धलाई सम्झौतामा टुङ्ग्याएपछि कम्युन न गरी खाने न मरिजाने दोसोधमा छ।
'क्रान्ति सफल भएको भए यिनलाई संरक्षण र विकास गर्न सकिन्थ्यो। क्रान्ति अधुरो भएकाले पनि यसलाई जोगाउन र विकास गर्न गाह्रो छ,' सभासद सन्तोषले भने, 'यसको विकास कसरी गर्ने भन्ने बारेमा छलफल गर्दैछौं। कमसेकम पार्टी केन्द्रीय सदस्यले आफ्ना सम्पत्ति पार्टीकरण गरे भने पनि कम्युनका लागि, सबैका लागि राम्रो सन्देश जाने थियो।'
कम्युन परिवार अब पूजीवादी हावा मात्र होइन पार्टीभित्रको आन्तरिक कलह पनि थाम्न सकेन। अध्यक्ष प्रचण्ड र उपाध्यक्षद्वय किरण र बाबुराम भटराईको झगडाको असर कम्युनमा पनि पर्यो।
'पालुङटार बैठकपछि एकजना कमरेडको परिवार नै निस्किए,' सुमन्तीले भनिन्। पार्टीभित्रको गुटगत लडाइँका कारण कम्युनका परिवार दुखी छन्।
'पार्टी फुट्न लाग्यो रे, नेताका झगडाले भन्ने सुन्दा दुख लाग्छ,' योजनाले भनिन्। कम्युनप्रति नेताले वास्ता नगरेकोमा उनीहरुको दुखेसो छ। उनले भनिन्, 'पार्टीले कम्युनको बारेमा कुनै ठोस योजना दिएको छैन। शान्तिप्रक्रियापछि नेता न कम्युनमा आएका छन् न त वास्ता नै गरेका छन्।' पार्टीले ध्यान नदिए पनि आफूहरुो तर्फबाट लागिपरेको उनले बताइन्, 'आत्मनिर्भर हुने प्रयासमा छौं। विकास गर्न नसके पनि यसलाइृ बचाउन लागिपरेका छौं।'
'हामी अजम्मरी कम्युन जसरी एकै ठाउँमा नभई खेबाङ र जेलबाङको ठूलो गाउँमा बसेका छौ,' अजम्मरी कम्युन रहेको थबाङसँग जोडिएको अर्को गाविस जेलबाङस्थि जलजला कम्युनका इन्चार्ज धनबहादुर घर्तीमगर, जो थबाको कार्यक्रममा भेटिएका थिए, उनले भने, 'हामीले कम्युनलाई सहकारी बनाउने तयारीमा छौं। औपचारिक निर्णय गर्न भने बाँकी छ।' पार्टीबाट आर्थिक सहयोग नपाए पनि योजनाको अपेक्षा गरेका छन्।
बत्ती निभेको छैन। चार किलोवाटको बिजुली आफैले निकालेका छन्। काठमाडौंमाजस्तो लोडसेडिङ छैन। बाल्न मन लागे कुलोबाट पानी लगायो, बस्, झलल।
बेलुकी पख आगन्तुकसँगको छलफलपछि उनीहरु आआफ्नो कोठामा लागे –लहरै कोठामा बार्दलीबाट। कसैले कोठामा कम्युटर चलाउन थाले त कसैले बैठक हलमा टिभीमा फिल्म हेर्न। फरकफरक कोठामा बसेका उनीहरु एउटै सपना देख्न भनेर मिसिएका थिए, कम्युन परिवारमा।
भोलिपल्ट बिहानै हल्ला चल्यो। एकाविहानै बधाइ छ भन्दै कराउन थाले। फागुन १ जनयुद्धको १६ औं वर्षगााठको अवसरमा उनीहरु अबिर लिएर आगन्तुकका कोठामा पसे। पर्वमा जस्तै उनीहरु हर्षबढाइ गरे। केही समयपछि बाटो लाग्ने आगन्तुकलाई आमैले फेरि अबिर लगाएर विदा गरिन्। स्वागतमा जसरी कम्युन परिवारका सदस्यले सनासोले चेपेजसरी समाए। विदाइ गर्दै फेरि भने, 'पाइला फर्काउनु होला। माया नमार्नु।'
कम्युन नै रहन्छ कि रहन्न? अर्को वर्ष यी परिवारसित भेट हुन पाइने हो कि होइन? ढुकचुक ढुकचुक मनले फरक्क फकेर हेरेँ –कम्युन परिवारका सदस्यहरुले हात हल्लाउँदै थिए भने उनीहरुका घर बिहानपख झरेको शीत छानोबाट झार्दै घामको प्रतीक्षामा बसिरहेको थियो। मानौं बदलिएर आउने नयाँ युग कतिखेर आउँछ भनेर हतारिएर कुरिरहेछ। कम्युन हटारुले छाडेको बासजस्तो कम्युन घरले भनिरहेजस्तो लाग्थ्यो, 'भन्दिनू नेताहरुलाई, कि वार गर कि पार। काठमाडौं बसेर बेतालको स्वाङ नपार।'
चार वर्षअघि यै कम्युनमा भेटेका फूलमाया दिदी, रुकुम स्यालापाखाका खत्री परिवार नभेटेपछि अर्कोपालि आउँदा यो घर नै भेटिन्छ कि भेटिदैन भन्ने ढुकचुकसाथ बाटो लाग्दा घाम जलजलाबाट ओरालो लाग्दैथियो।
Ramro
ReplyDeletewow jiring bho comred sapana sapanai bho hamro
ReplyDelete