म सडक, गल्ली, डाँडाकाँडा, अरुको घर, बसपार्क, हवाई अड्डा जहीँतहीँ रोएको छु। लाज मानी मानी, मन नलागी नलागी रोएको छु। क्यामेरा हुन्छ। एक्सन-कट हुन्छ। रोएको मिलेन भने दोहोर्याएर, तेहर्याएर रुनुपर्छ। म त्यहाँ जति पल्ट पनि रुन सक्छु। त्यहाँ अर्कैको श्रीमती वा छोरी मेरी श्रीमती हुन्छिन्। उनलाई अँगालो मारेर आफ्नी श्रीमती सम्झी रुनुपर्छ। कपालमा सेतो रङ लगाएर वृध्दा बनेकी महिलालाई आमा भन्नुपर्छ। खुट्टा समातेर, भावविभोर भएर रुनुपर्छ। आँसु नआउँदा आँखामा ग्लिसिरिन हालेर निकाल्नु पर्छ। यो त मैले लेख्ने चलचित्रको स्क्रिप्ट हो।मैले धेरै चलचित्रको स्क्रिप्ट लेखेको छु। मेरो जीवनको स्क्रिप्ट भने अर्कोले लेख्दोरहेछ। भावीले लेखेको स्क्रिप्टमा रुन झन् सजिलो हुँदोरहेछ। न आँखामा ग्लिसिरिनको सहारा चाहियो, न मुड नआएर एक छिनपछि रुन्छु भन्न पर्यो, न लाज लाग्दोरहेछ। त्यसै भित्रैदेखि कोक्याई कोक्याई रुन सकिँदोरहेछ। आफूले लेख्ने स्क्रिप्ट लेख्न कति गाह्रो हुन्छ। धेरै बेर घोरिएर बस्नुपर्छ। सिलसिला मिलाउनुपर्छ। तर, भावीले लेखिदिएको स्क्रिप्टमा रुन कति सजिलो! सोच्नै नपर्ने, डाँको छाडेर सजिलैसँग रुन पाइने।
झन्डै २७ वर्ष जीवन संगिनी रहेकी श्रीमती, श्रीमतीमात्र नभएर आमा पनि हुँदी रहिछिन्। अभिभावक पनि हुँदी रहिछन्। कृष्ण धरावासीलाई पनि मलाई जस्तै वज्र परेको रहेछ। उहाँकी धर्मपत्नी र मेरी पत्नी कतै परलोक रहेछ भने सँगै यात्रा गर्दै हुनुहोला। मेरी श्रीमतीले भर्खरै धरावासीजीको "राधा" पढेकी थिइन्। त्यसैबारे कुरा गर्दै होलिन्। सीता बहिनी मेरो तारिफ गर्दै हुनुहोला। कृष्ण धरावासीजी, तपाईँले भन्नुभएको थियो, हरिवंशजी खुब रोऔँ। आफ्नी श्रीमती मरेको बेला नरोए कहिले रुने? त्यही सम्झेर पनि मलाई रुन झन् सजिलो भएको छ। कोक्याई कोक्याई रुन्छु। सुन्ने गरी पनि रुन्छु। नसुन्ने गरी पनि रुन्छु। भित्रभित्रै रुन्छु, मान्छेहरुबीच पनि रुन्छु। अरूलाई दुःख होला भनेर एक्लै बसेर पनि रुन्छु।
आमा मर्दा म १२ वर्षको थिएँ। १३ दिनभित्र मेरा आफन्त, इष्टमित्रले मलाई सहानुभूति दिए। फलफूल, मिश्री ल्याइदिए। घरमा त्यत्रा मान्छे आएको देख्दा, आफूलाई सबैले हेरिरहेको देख्दा म त फुर्केछु। सधैँ यस्तै भए हुन्थ्यो। सधैँ यत्तिकै मान्छे आए हुन्थ्यो भन्ने लाग्थ्यो। १३ दिनपछि मान्छेको आगमन बिस्तारै कम हुन थाल्यो। घर शून्य हुन थाल्यो। त्यसपछि पो मैले आमा मरेको महसुस गर्न थालेँ। अनि आमा सम्झेर दिदीहरुसँगै म रुन थालेँ।
मेरो श्रीमतीको पनि १३ औँ पुण्य तिथि सकियो। यो व्यस्त सहरमा मैले सधैँ अरुको समय पाइरहन्छु भन्ने आशा धेरै गर्न हुँदैन। त्यो साध्य छैन। मलाई विपत्ति पर्दा जति साथीभाइ, आफन्त, छिमेकीबाट सहयोग पाएँ, जीवनमा कहिल्यै म त्यसको ऋण तिर्न सक्दिनँ। अझै सहयोग पाउँछु, सहानुभूति पाउँछु। जति नै जे पाए पनि आखिर जीवन त मेरो हो! तातो पानी मैमाथि घोप्टिएको छ।
म श्रीमतीसँगको प्रेमकथाको स्क्रिप्ट पनि आफैँ लेख्न सोच्दै थिएँ। उनलाई कलिलै उमेरदेखि जटिल स्वास्थ्य समस्याले घेर्दै ल्याएको थियो। हाम्रो प्रेमले मात्र होइन केही यन्त्र र उनी स्वयंको आत्मबलले बचाइरहेको थियो। उनी कहिलेकाहीँ भन्थिन्, "बाबा केही गरी म पहिले मरेँ भने हजुरले दुःख पाउनुहुन्छ।" मलाई थाहा थियो, मैले भन्दा उनले मलाई लाखौँ गुणा बढी माया गर्थिन्। उनको सट्टा मेरो मृत्यु भएको भए उनी सहन सक्दिन थिइन्। त्यसैले म मनमनै आफ्नो प्रेमको स्क्रिप्ट सोच्दै थिएँ। मभन्दा पहिले मेरी श्रीमती बित्नुपर्छ। उसलाई मेरो बिजोग सहन नपरोस्। मैले सोचेको मेरो जीवनको स्क्रिप्ट मिल्न त मिल्यो तर १० वर्ष चाँडो भयो।
जीवनको स्क्रिप्ट पनि आफैँले लेख्न सक्ने भए श्रीमती र म सँगै मर्ने 'ह्याप्पी एन्डिङ' बनाउँथेँ। भावीले धरावासीजी र मलाई यस्तै स्क्रिप्ट लेखिदिएछ।
अब फेरि मैले फिल्मको स्क्रिप्ट लेख्नैपर्छ। मन नलागी नलागी आँखामा ग्लिसिरिन हालेर क्यामरा साक्षी राखी जहीँतहीँ रुनैपर्छ। भावीले लेखिदिएको हाम्रो जीवनको स्क्रिप्टमा घर फर्केर जीवनभरि रुनुपर्छ। धरावासीजी, एक दिन हामी दुवै भेटेर सँगै रोउँला।
No comments:
Post a Comment