Wednesday, May 18, 2011

मदन हत्यामा मैले गिरिजाबाबुमाथि शंका गरेको थिएँ

माधवकुमार नेपाल एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री 
जेठ ३ को सन्दर्भमा कुमारको कथा र माधवकुमारको वार्ता
तपाईंहरू सरकारमा पुग्नुभयो । तर, दासढुंगा काण्डको छानबिन किन गर्नुभएन् ?
सबैले समय बितेपछि मात्र कुरा उठाउँछन् (हाँस्दै) । म प्रधानमन्त्री भएको वेला यस्तो कुरा कसैले गरेनन् ।
आफैँले अनुसन्धान गर्नुहोला भन्ने आशा थियो होला नि ?
एक महिना आशा गर्न सकिन्छ, दुई-तीन महिनासम्म आशा गर्न सकिन्छ । २२ महिनासम्म म प्रधानमन्त्री रहेँ । कसैको दिमागमा पनि रहेन, जब समय बित्यो, तपाईंले पनि उठाउनुभयो ।
ओली आयोगको प्रतिवेदन कहाँ छ ? 
पार्टीमा हुनुपर्ने हो । 
छैन, पाइएन ?
त्यसो नहुनुपर्ने
ओली कमरेडले बैठकमा पेस त गर्नुभएको थियो ?
खोई अफ्ठेरो प्रश्न सोध्नुभयो त (हाँस्दै) । खोई बैठकमा सुनाउनु भो कि, सम्झनै गाह्रो भो ।
दासढुंगा काण्ड भएको पनि १८ वर्ष भइसक्यो । अहिले आएर तपाईंलाई के लागिरहेको छ, दासढुंगा नियोजित हत्याकाण्ड थियो कि दुर्घटना ?
त्यतिवेला हामीले यसलाई 'रहस्यमय' भनेका थियौँ । त्यो वेला बनाइएका आयोगको रिपोर्टबाट उठाइएका विषयलाई ध्यानमा राखेर थप छानबिनको आवश्यकता पनि महसुस गरिएको हो । छानबिनको आवश्यकता महसुस गरिए पनि त्यसअनुसार जुन ढंगले अगाडि बढ्नुपर्ने हो बढ्न सकिएन । नसकिएको एउटा कारण भनेको त्यसको प्रत्यक्ष साक्षी या प्रत्यक्ष संलग्न व्यक्ति भनौँ अमर लामाको हत्या हुनु । लामाको हत्या किन गरियो त भन्ने फेरि अर्को रहस्य थपियो । जुन व्यक्ति अनुसन्धानको दायरामा थियो, जो घटनामा प्रत्यक्ष संलग्न थियो त्यो मान्छेलाई माओवादीका मान्छेले किन हत्या गरे भन्ने प्रश्नहरू छन् । यसबारेमा हामीले माओवादीसँग कुरा पनि गरेका छैनौँ । यसलाई एजेन्डा बनाएर छलफल भएको छैन । त्यसो हुनाले कुनै घटना रहस्यमय छ भने त्यसको छिनोफानो गर्नैपर्छ । 
आजसम्म पनि तपाईंहरूलाई यो रहस्यमय लागिरहेको छ ?
किन मारियो त ? अमर लामालाई के कारणले हत्या गरियो ? मदन भण्डारीलाई किन हत्या गरियो भन्ने प्रश्न त छँदै थियो । त्यसमा फेरि हत्याकाण्डको एकमात्र सबुत भनिएका व्यक्तिको नै हत्या भयो । त्यसले घटना झनै रहस्यमय भयो । 
तर, ०५० देखि ६० बीचको एक दशकमा अमर लामा पााच वर्ष जेल बसेर बाहिर निस्केका छन् र खुलेआम कुनै दलको सदस्य भएर हिँडिरहेका थिए । सागै यो दुर्घटना थियो या हत्या भनेर एमालेले अझै निक्र्योल निकाल्न नसकेको अवस्था किन ?
कुन व्यक्तिले के भन्ने कुरालाई आधार मानेर निष्कर्षमा पुग्न सकिँदैन । व्यक्तिले के भन्ने भन्दा पनि संस्थागत निर्णय के छ भन्ने कुरा हो । हामी त्यो निर्णय (हत्या नै हो भन्ने) मा नै अडिग छौँ ।
चारवटा प्रतिवेदन आए । पछिल्लोपटक राणा प्रतिवेदन आएपछि चाहिँ तपाईंहरूले यसलाई त्यति अगाडि ल्याउनुभएको जस्तो देखिएन । राणा आयोगको प्रतिवेदनबाट सन्तुष्ट हो एमाले ?
सन्तुष्ट भइदिएको भए त हामी त्यो वेलामै सन्तोष व्यक्त गरिहाल्थ्यौँ नि । हामीले त्यो वेलामै प्रतिवेदनप्रति धेरै टिप्पणी र प्रश्नहरू एठाएका थियौँ । त्यो प्रतिवेदनले धेरै प्रश्न उब्जाएको छ । ती अनुत्तरित प्रश्नको जवाफ चाहियो भनेका थियौँ । 
 तर, त्यतिवेला तपाईंहरू माग गर्ने ठाउामा हुनुहुन्थ्यो । पछि त्यो पूरा गर्ने ठाउा सरकारमा पनि पुग्नुभयो । तपाईंहरूले छानबिन गर्ने ठाउामा पुगे पनि गर्नु भएन, बिर्सिएको हो कि नभ्याएको ?     
सबैले समय बितेपछि मात्र कुरा उठाउँछन् । (हाँस्दै) तपाईंले पनि समय बितेपछि प्रश्न उठाउनुभयो । म प्रधानमन्त्री भएको वेला यस्तो कुरा कसैले पनि गरेन । 
तपाईं आफैले अनुसन्धान गर्नुहोला भन्ने आशा थियो होला नि त ? 
होइन, होइन । एक महिना आशा गर्न सकिन्छ । दुई/तीन महिनासम्म गर्न सकिन्छ, २२ महिना म प्रधानमन्त्री रहेँ । यो कसैको दिमागमा पनि रहेन । तपाईंहरूको पनि दिमागमा रहेन । यो कुरा उठाउनेहरूको पनि दिमागमा रहेन । जब समय बित्यो, जेठ ३ आउन थालेपछि तपाईंहरूले पनि उठाउनुभयो । तर, त्यो पनि पोहोर सालको जेठ ३ मा आएन । परार पनि उठेन ।
दासढुंगा काण्डको छानबिन गर्नुपर्छ भन्ने कुरा एमालेका नेताहरूले नै कति छिटो बिर्सिएको ?
मलाई कसैले पनि यसरी कुरा उठाएन । कसैले भनेको भए त मैले पनि कुरा गर्थें होला सम्भवतः । तर, कसैले पनि कुरा उठाएन । त्यसमाथि सरकारको अरू प्राथमिकता हुन्छ शान्ति र संविधान । सरकारमा चाहिँ दसौँ किसिमका कामका बोझ हुन्छ । अहिले पनि सरकार एमालेको नेतृत्वमा छ । तर, गृह मन्त्रालय एमालेको छैन । गृह मन्त्रालय जसले लिएको छ उसकै पार्टीका मान्छेले अमर लामाको हत्या गरेको छ । यसैले छानबिन कति हुने हो कि नहुने हो ? तर, म खुसी हुन्थे त्यतिवेला कि म प्रधानमन्त्री भएको वेला तपाईंहरूले यो कुरा उठाइदिनुभएको भए ........।
अरूले उठाइदिने भन्दा पनि तपाईंहरू आफैँले गर्नुपर्ने होइन र यो ? त्योवेला गृह र रक्षा तपाईंहरूकै थियो ?
यस्तो गम्भीरतापूर्वक प्रश्न उठाउने तपाईंहरू पनि यो वेला निदाएर बस्नुभयो । 
अरूले बिर्सनु त स्वाभाविक देखियो । तर, तपाईंहरूको चाहिँ स्वाभाविक होइन नि ?
हाम्रो किन स्वाभाविक थिएन भने हाम्रो ध्यान नै शान्ति र संविधानमा थियो । छानबिन गर्ने समय र एजेन्डा नै थिएन । तत्कालको एजेन्डा बनाउने अवस्था थिएन । 
०६३ सालपछि त पुराना कुरामा लाग्ने ध्यान भएन ठिकै हो । तर, ०५१ पछि पनि त तपाईंहरू सरकारमा धेरैपटक हुनुभयो । गृह मन्त्रालय लिनुभयो, त्यो वेला घटना आलो थियो । एकमात्र सबुत अमर लामा पनि जीवित थिए । त्यो वेला तपाईंहरूले अनुसन्धान नगर्नु चाहिँ यसलाई कति उचालिरहनु भनेर छाडिदिएको हो कि ? 
यसमा छानबिन गर्नुपर्छ भनेर हामी लागेका पनि हौँ । ऊवेला गृहमन्त्री भएका केपी ओलीको नेतृत्वमा छानबिन समिति बनेको पनि हो । त्यसो हुनाले पूरै चुप लागेर बसेको होइन । यसबारे हामीले केही चासो र सरोकार राखेको हो । 
त्यो वेला तपाईंहरूले यी-यी संलग्न देखिए भने विभिन्न देशको नामै लिएर आरोप लगाउनुभयो, तर पछि त्यसलाई फलो गर्नु भएन । उनीहरूको संलग्नता थिएन भन्ने लागेर हो कि ? 
एउटा बिन्दुसम्म त हामी गर्‍यौँ । लागि नै पर्‍यौँ । भित्तोमै पुग्ने गरी कोसिस पनि गर्‍यौँ । रिपोर्टहरू आइसकेपछि हामीलाई खिन्नता भयो । प्रतिवेदनमा हामीले जस्तो अपेक्षा गरेका थियौँ, त्यो पाइएन । त्यसमा कतिपय प्रश्न अनुत्तरित रहे । केही कोसिस हामीले गर्‍यौँ । त्यसपछि हाम्रो ध्यान त्यसमा भन्दा पनि राष्ट्रिय विषयवस्तुमा गयो । 
अब यो पार लाग्दैन । खोज्दै गएर केही भेटिन्न भन्ने लागेको हो तपाईंहरूलाई ?
कतिपय कुरामा अनुकूल समय पछि घटनाक्रम ब्ााहिर आउँछन् नै । हामीलाई असर पारेको कुराचाहिँ के हो भने अमर लामाको हत्याले हो । छानबिन चलिरहँदा तथ्यहरू केही पनि आइरहेका छैनन् । इतिहासमा कतिपय घटना समयक्रममा बाहिर आउँछन् । केही क्लुहरू देखिए पनि तथ्य थाहा हुन्छ भन्ने कुराले पनि काम गर्‍यो । 
धेरैको भनाइ के छ भने यो विशुद्ध सडक दुर्घटना थियो, तर तपाईंहरूले राजनीतिक रंग दिनुभयो । यो विशुद्ध सडक दुर्घटना किन थिएन ?
यो विशुद्ध सडक दुर्घटना किन लागेन भने धेरै कुरा रहस्यमय थियो । जस्तो जुन ठाउँमा दुर्घटना भयो त्यो ठाउँ त्यस्तो दुर्घटना हुन सक्ने ठाउँ नै थिएन । सडकमा देखिएका भुस कहाँबाट आए । अर्को उहाँहरू दुईजना मात्रै पर्ने, ड्राइभरलाई चाहिँ केही पनि भएको छैन । यसले पनि हामीलाई आशंकित बनायो । 
प्रतिवेदनकै कुरा गर्दा चारवटा आयोग बने । पार्टीमै पनि केपी ओलीको नेतृत्वमा आयोग बन्यो । तर, खोज्दा यो प्रतिवेदनको भौतिक उपस्थिति कहीँ पनि पाइएन । कतिपयले यो माधव नेपालसाग हुनुपर्छ अन्त कहीँ पनि छैन भन्छन् । 
हैन पार्टी अफिसमा हुनुपर्ने हो त ?
छैन, पाइएन ।
त्यस्तो नहुनपर्ने ?
ओली कमरेडले बैठकमा पेस गर्नुभएको थियो त ?
खै......अप्ठेरो प्रश्न पो सोध्नुभयो त । (हाँस्दै) खै, बैठकमा सुनाउनु मात्रै भो कि...........सम्झनै  गाह्रो भो । 
हतारमा तयार नै हुन सकेन भन्ने पनि छ ?
त्योभन्दा पनि अन्तिम रूप बनाएर दिनु भनिएको हो कि । त्यो मलाई याद भएन । 
 आफैँले बनाएको ओली आयोगको प्रतिवेदनले पनि नियोजित हत्या नै हो भनेर किटान नगरेको हुनाले एमालेले त्यत्तिकै छाड्न चाहेकोजस्तो देखियो नि ? 
खास कुरा निकाल्नुपर्ने अमर लामाबाट हो । अनुमानको भरमा मात्रै गर्ने भन्ने कुरा पनि भएन । 
अमर लामालाई यहाहरूले हेर्ने दृष्टिकोण हिजो र आज एउटै छ ? 
यसमा हामी केन्दि्रत नै हुन सकेका छैनौँ । अमर लामासँग सम्बन्धित कुराहरू भनेको उसको व्यवहार, गतिविधि, उठबस शंकास्पद थियो नै । उसले दिने जवाफ पनि एउटै रहेन । जवाफ छिनछिनमा फेरिएको कुराले पनि अलिकति शंका-उपशंका भएको हो ।
त्यतिवेलासम्म एउटा परिपक्व कार्यकर्ता, दुर्घटनापछि एकाएक भिलेनका रूपमा बाहिर आए अमर लामा । खास के त्यस्तो सूचना थियो एमालेसाग त्यसले गर्दा घटनामा उसको हात छ, प्रलोभनमा परियो भनियो ?
अनुसन्धानको सुरु त जो बाँचेको छ उसबाटै हुने हो नि । सबै मर्नु, एउटालाई केही नहुनु । शंकाको सुरुवात त्यहीँबाट हुन्छ । खोजी त गर्नै परिगो नि । 
अमर लामालाई चाहिँ कसले मार्‍यो होला ? तपाईंले अघि माओवादीले भन्नुभयो । माओवादीले नै मारेको भन्ने भरपर्दो सूचना छ तपाइर्ंसाग  ?
पेपरमा आएको हो त । माओवादीका नजिकका मान्छेले हत्या गरे भन्ने त मिडियामा आएको हो नि । त्योभन्दा बढी मलाई थाहा छैन । 
मदन भण्डारीलाई जसले मार्‍यो उसले नै अमर लामालाई मार्‍यो भन्ने गरिन्छ । यसमा तपाइर्ंलाई के लाग्छ ?
दासढुंगा काण्डमा माओवादीकै हात छ त भन्न सकिँदैन । भन्न पनि हुँदैन । त्यतिवेला माओवादीलाई मदन भण्डारी थ्रेट पनि हुनुहुन्थेन् । मैले माओवादीले नै हत्या गरे भनेँ भने त आरोपमात्रै हुन्छ । तर, किन गरे त अमर लामाको हत्या ? त्यो कुरा उनीहरूले नै बाहिर ल्याउनपर्ने हो । 
दासढुंगा दुर्घटनाको अनुसन्धानमा 'प्रोफेसनल डिल' भएन भन्ने पनि छ । जस्तो अपराधशास्त्री, प्रहरीका मान्छे राखेर अनुसन्धान गर्ने भन्दा पनि अलि बढी राजनीतिक रूप दिएर घटनामाथि नै अन्याय भयो भन्ने लाग्दैन तपाइर्ंलाई ?
त्यही त हामीले छानबिन कमिटी मात्रै बनाइदेऊ न त भनेका थियौँ सुरुमा । कुनै आरोप लगाएर सुरु गरेको होइन । तर, एउटा छानबिन समिति बनाउन हामीले माग गर्दा धेरै मान्छेको ज्यान गएको छ । धेरै समय त्यसमै लागेको छ । 
अमर लामा जेलबाट निस्के, पछि राजनीतिमा लागेर खुलेआम हिँडे । त्यतिवेला उनीमाथि अनुसन्धान गरिएन । थप अनुसन्धान गर्ने र निष्कर्ष निकाल्ने विषयमा त तपाईंहरूको त्यतिखेरै रुचि देखिएन नि ? 
छानबिनबाट आएको प्रतिवेदनले पनि हाम्रो उत्साहलाई घटाएको हो । अमर लामासँग बयान लिन पनि हाम्रै सरकार चाहिन्छ । नत्र यथार्थ आउँदैन भन्ने लाग्यो । जतिखेर हामीले हाम्रो सरकार बन्ला भनेर कुरिरहेका थियौँ, त्यतिवेलासम्म अमर लामाको हत्या भइसकेको थियो । 
 सम्भव छ फेरि अनुसन्धान गर्न ? 
अब कहाँ सोध्न जानुहुन्छ ? अब सोध्ने एउटै कुरा भनेको जसले अनुसन्धान गरेको छ उसलाई सोध्ने हो । त्यसमाथि अब त मान्छेको मेमोरीमा मात्र होला । कसैको त मेटिइसकेको होला । 
तपाईंको कुरा सुन्दा अब तथ्य पत्ता लगाउनै सकिँदैन, बेकार किन कोट्टयाइरहने भन्ने जस्तो छ । यो कुरा तपाईंहरूले कार्यकर्तालाई किन भन्न नसक्नुभएको ? हत्या थियो वा दुर्घटना, यी दुईमध्ये एक भन्न सकिँदैन ?
पार्टीले संस्थागत रूपमै यसमा छलफल चलाउनु उपयुक्त हुन्छ । यस्तो संवेदनशील विषयमा कसैले पनि व्यक्तिगत रूपमा धारणा बनाउनुभन्दा संस्थागत रूपमा आउनु राम्रो हुन्छ । त्यो पनि उपयुक्त समय हुनुपर्‍यो । अब अहिले संविधान निर्माणको कुरामा लाग्ने कि यसमा लाग्ने ? तर, पार्टीले यस विषयमा उपयुक्त समयमा एउटा निर्णयचाहिँ गर्नुपर्छ ।
हिजो तपाईंहरूले भारतले हत्या गर्‍यो भन्नुभयो, आज त्यही भारतको सहयोगमा मदन भण्डारी फाउन्डेसनलगायतले स्कुल कलेज र अस्पताल चलाइरहेका छन् । हिजोआज त मदन-आश्रति 'बिजनेस टुल्स' जस्ता भए है ?
किन भारतको मात्र कुरा ? अरू देशको पनि नाम आएको थियो । मैले त गिरिजाबाबुमाथि नै शंका गरेको थिएँ । तपाइर्ं किन छानबिन गर्न तयार हुनु भएन ? किन यत्रो मान्छेको हत्या हुन दिनुभयो ? कसैले भारत भनेका होलान्, कसैले अमेरिका भनेका होलान् आ-आफ्ना राजनीतिक अडानका आधारमा आएको होला । तर, के-कति छानबिनले देखाएको छ, त्यतिसम्म मात्र भन्न सकिन्छ, त्योभन्दा अगाडि केही भन्न सकिन्न । 
जहाँसम्म मदन भण्डारीको स्मरणलाई ताजा राख्नका लागि विभिन्नले विभिन्न तरिकाले स्कुल, कलेज खोलेका होलान् । अब आफूले पनि नगर्ने अरूले गरेको पनि डाहा गर्ने गरेर त भएन नि । 
अन्तर्वार्ता सौजन्य: धर्मराज भुसाल र मिलन तिमल्सिना/अनलाइन खबर डटकम

2 comments:

  1. उन्कै पालाँ बाकाइदा फिलिमै बनार देखाथे मनोज पण्डितले, अन्तरबार्तां त 'मेरा पालाँ कसैले दासढुंगा काण्डको कुरै अरेनन्' पो भनेचन मा......कुनेले

    ReplyDelete